यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मन्त्रीजी,
सलाम !
एमालेको विद्यार्थी सङ्गठनबाट अगाडि आउनुभएको तपाईँ पार्टी विभाजनपछि अहिले नयाँ गठन भएको एकीकृत समाजवादी पार्टीबाट सहरी विकासमन्त्री हुनुभयो । मलाई कुनै आश्चर्य लागेन किनभने पुँजीवादी पार्टीहरूमा हरेक नेता कार्यकर्ताले सरकारमा जाने, अकुत सम्पत्ति कमाउने र सौखिन जीवन बिताउने उद्देश्य राखेका हुन्छन् । त्यसको निम्ति पार्टी फुटाएर होस् या जुटाएर, जे गर्दा व्यक्तिगत फाइदा हुन्छ नेता कार्यकर्ताले त्यही गर्छन् । पार्टीको नीति र सिद्धान्त गौण हुन्छ । अहिले तपाईँले त्यही गर्नुभयो र मन्त्री बन्ने अवसर पाउनुभयो । त्यसमा मेरो भन्नु केही छैन । मन्त्रीहरूको लाइनमा सिंहदरबारमा तपाईँको एउटा तस्बिर थपिने भयो । बस् यति हो ¤
एमालेमा छँदा नै तपाईँले युवा नेतृको परिचय बनाइसक्नुभएको थियो । म पनि समाजवादप्रति आस्था राख्ने फरक पार्टीमा आबद्ध छु । एमालेभित्र युवा नेतृत्वको विषयमा बहस चल्दै गर्दा मैले तपाईँ लगायतका सम्भावित युवाहरूको बोली, व्यवहार र कार्यशैली नजिकबाट हेरिरहेको थिएँ । तपाईँको टाउको फुटेको तस्बिर सार्वजनिक हुँदा होस् या अनेरास्ववियुको अध्यक्ष हुँदा, तपाईँको हरेक गतिविधि नियालिरहेको हुन्छु ।
तपाईँले सांसद भइसकेपछि पनि विद्यार्थी पारा छोड्नुभएन । तपाईँका त्यस्ता शैली र व्यवहार एकपटक होइन थुप्रै पटक देखेको छु । एकपटक तपाईँले टेलिफोन वार्तामा एक जना मान्छेलाई अत्यन्त अमर्यादित, निम्नस्तरको घटिया शब्दको प्रयोग गरी जथाभावी गाली गरेको सामाजिक सञ्जालमार्फत सुनेको थिएँ । ती शब्दहरू लेख्न त के कसैसामु व्यक्त गर्न सक्ने अवस्थाका समेत छैनन् । तपाईँसँग कुरा गर्ने व्यक्ति सम्भवतः फरक विचारको हुनुपर्छ भन्ने मेरो अनुमान हो । जोसुकै होस्, सबैको मानवीय मूल्य र मान्यता हुन्छ । एकजना राजनैतिक कार्यकर्ता, देशको सर्वोच्च निकायमा पुगेको व्यक्तिबाट त्यस्ता शब्दहरू व्यक्त हुनु राम्रो होइन ।
एमाले अध्यक्ष केपी ओलीको विरोधमा ठाउँ—ठाउँमा भाषण गर्दै हिँड्दा तपाईँले पार्टी अनुशासन, मर्यादा, पार्टी नेतृत्वप्रतिको सम्मानलाई पूर्णतः बेवास्ता गर्नुभयो । हुन त यो तपाईँहरूको आन्तरिक मामिला हो । मैले टाउको दुखाउनुपर्ने कुनै कारण छैन । तर, एमाले जस्तो देशको सबभन्दा ठूलो पार्टी र त्यसमा युवा पुस्ताको छवि बनाएको तपाईँले फिल्मी शैलीमा मुखमा टेप टाँसेर फ्याँकेको, लुगा फालेको, नेतृत्वप्रति जथाभावी शब्द प्रयोग गरेको देख्दा एमालेले युवा पुस्तालाई कसरी प्रशिक्षण गरेको रहेछ भन्ने बुझ्न सहज भयो । गोरखामा गएर तपाईँले आफ्नै पार्टीका नेता केपी ओलीप्रति तथानाम गाली गरेको मात्र होइन राष्ट्रपति विद्यादेवी भण्डारी समेतलाई अपमानजक शब्दहरू प्रयोग गर्नुभयो । अरूले के भन्दा हुन् मलाई थाहा छैन तर तपाईँ यति निम्नस्तरको नेतृ हुनुहोला भन्ने सोचेको थिइनँ । पार्टी विभाजनको क्रमसँगै ठाउँ—ठाउँमा भएका सभाहरूमा बोलेको सुनेर तपाईँको बौद्धिक र राजनैतिक उचाइ प्रस्ट भयो ।
तपाईँ राष्ट्रपति भण्डारीप्रति आक्रोशित हुनुको कारण बुझ्ने कोसिस गरेँ । पछि थाहा भयो, २०७० सालको संविधानसभा सदस्यमा समानुपातिकबाट तपाईँको नाम सुनिश्चित थियो तर पार्टीले तपाईँलाई नराखी बिराटनगरकी एक धनाढ्य राज्यलक्ष्मी गोल्छालाई सदस्य चयन ग¥यो । त्यसमा राष्ट्रपति भण्डारीको हात रहेको भन्ने तपाईँको बुझाइ रहेको तपाईँका मित्रहरूबाट सुनेको छु । त्यो कति सत्य हो थाहा छैन तर गोल्छालाई एमालेले अनुशासनको कारबाही गर्ने कुरा उठाउँदा पत्रकार सम्मेलन गरेरै सभासद् हुन सात करोड खर्च गरेको भनी एमालेका मुख्य—मुख्य नेताहरूलाई पैसा बुझाएको जानकारी दिइएपछि छर्लङ्ग भयो ।
एमाले विभाजनमा महत्वपूर्ण भूमिका खेल्नेहरूमध्ये एक भनी तपाईँको नाम पनि चर्चामा छ । भाद्र २ गते पार्टी दर्ताको क्रममा निर्वाचन आयोग परिसरमा माधव नेपालको हात समातेर तानेर लगेको दृश्यले त्यस भनाइलाई थप पुष्टि गरेको छ । पार्टी विभाजनको क्रममा तपाईँको छाडा बोली, छुद्र व्यवहार, अनुशासनहीनताको पराकाष्ठा सबै नेपालीले देखे । तर, आज मैले तपाईँलाई त्यसबारे लेख्न चाहेको होइन । तपाईँको पार्टीको भविष्य के होला त्यो भविष्यले देखाउने नै छ ।
तपाईँले समाजवादका धेरै ठूल्ठूला कुरा गर्नुभयो । समाजवाद के हो तपाईँले बोलेर हिँड्ने विषय होइन । अहिले त तपाईँ नीति निर्माणमा मात्र होइन कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । सबै कुरा निजीकरण गरेर कस्तो समाजवाद निर्माण गर्न खोज्नुभयो कुुन्नि, मैले बुझ्न सकिनँ । उत्पादनका मुख्यमुख्य साधनहरू सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क, रोजगारीको सुनिश्चितता यी नै समाजवादका विशेषताहरू हुन् । निजीकरणको पक्ष लिनेहरू कुनै पनि हालतमा कम्युनिस्ट हुन सक्दैनन् । यति भने म तपाईँलाई सम्झाउन चाहन्छु ।
कुनै पनि पार्टी आफ्नो घोषणापत्र कार्यान्वयन गर्नका लागि सरकारमा जाने गर्छ । तर, तपाईँको पार्टीले अहिलेसम्म कुनै ठोस आकार लिएको छैन । तपाईँको कार्यशैलीमा कुनै समाजवादी सोच र शैली देख्दिनँ । मैले त सोचेको थिएँ, अब एमालेले भन्दा विकास निर्माणमा फरक शैली अपनाइनेछ, समाजवादी मोडलले कामको थालनी गरिनेछ । तर, त्यो त हाम्रो आशा मात्रै भयो ।
तपाईँ सहरी विकासमन्त्री हुने बित्तिकै उपभोक्ता समितिलाई निषेध गर्ने निर्णय गर्नुभयो । एकजना निरंकुश शासकले झैँ देशभरका ७५३ वटै स्थानीय तहहरूमा उपभोक्ताबाट कुनै पनि काम नगराउनु भनी निर्देशन जारी गर्नुभयो । देशमा त्यसको असर कति पर्छ भन्ने कुरा के तपाईँले सोच्नुभएको छ ? त्यो निर्णय ठेकेदारहरूको प्रभावमा परेर गरेको हो भन्ने बुझ्न मलाई केही गा¥हो भएन । स—साना कामहरूसमेत ठेक्कामा दिएर निजी क्षेत्रलाई पोस्ने तपार्इँको कस्तो समाजवाद हो ? आज देशभरका स्थानीय तहहरूले स्थानीय जनतालाई परिचालन गरी गरिरहेका विकास निर्माणका काम रोकेर अलपत्र पार्नु गैरजिम्मेवार नभए के हो ?
म तपार्इँलाई विनम्रतापूर्वक सम्झाउन चाहन्छु संसद्ले बनाएको कानुन सबै नागरिकले पालना गर्नुपर्छ । मन्त्री साधारण नागरिकभन्दा माथि होइन र हुनसक्दैन । ल हेर्नुहोस्, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४४ ले उपभोक्ता समिति वा लाभग्राही समूहबाट काम गराउनसक्ने अधिकार प्रदान गरेको छ । त्यस्तै, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ मा रु. १ करोडसम्म लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समिति वा लाभग्राही समूहबाट गराउन सकिने व्यवस्था गरिएको छ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी सार्वजनिक खरिद कार्यविधि २०७२ को दफा १४ (१) मा क्षतिग्रस्त सार्वजनिक भवन, संरचनाहरू दुई करोडसम्म उपभोक्ता वा लाभग्राही समूहले गर्न सक्ने स्पष्ट कानुनी व्यवस्था छ । तपाईँलाई यी कानुनहरूबारे थाहा नभएको होला भनेर मैले कसरी सोचूँ ? कानुनविपरीत स्थानीय तहलाई आदेश दिन लगाउने ती को—को ठेकेदार हुन् ? तपार्इँ त्यस्ता व्यक्तिहरूबाट सचेत रहनमात्र मैले यो कुरा उठाएको हुँ ।
मन्त्रीजी, अहिले पनि सङ्घ र प्रदेश सरकारका अधिकांश काम ठेक्कामै हुने गरेका छन् । आव २०७८।७९ को पाँच महिनामा जम्मा पुँजीगत खर्च ११ प्रतिशतमात्र भएको जनाइएको छ । स्मरण रहोस् उपभोक्ता समितिमा जोड दिने भनपाले यस अवधिमा चालु २८ र पुँजीगत २० प्रतिशत गरी कुल २४ प्रतिशत बजेट खर्च गरिसकेको जनाइएको छ । सरकारले यो आर्थिक वर्षमा हरेक महिनामा १० प्रतिशतका दरले विकास बजेट खर्च गर्ने दाबी गरेको थियो । सहरी विकास मन्त्रालयको पत्रले त झन् विकास बजेट खर्चमा कमी आउने निश्चित छ । बजेटको सफलता र असफलता वार्षिक खर्चको आधारमा मूल्याङ्कन गरिन्छ । विगतका वर्षहरूमा भन्दा यो वर्ष बजेट खर्चमा कमी आए कसरी तपाईँ सफल मन्त्री हुनुहोला ?
सहरी विकास मन्त्रालयको आयोजनामा उपत्यकाका मेयरहरूको बैठकबारे समाचार सार्वजनिक भयो । समाचारमा भक्तपुर नगरपालिकाले अधिकांश विकास निर्माणको काम उपभोक्ता समितिमार्फत अत्यन्त कम खर्चमा गुणस्तरीय र पारदर्शी तरिकाले गरिरहेको जानकारी दिएको उल्लेख छ । तपाईँले बैठकमै भक्तपुर नगरपालिकाको कामको प्रसंशा पनि गर्नुभएको रहेछ । तर, तपाईँले अन्य ठाउँहरूको उदाहरण पेश गर्दै उपभोक्ता समितिबाट हुने काम ९९.९९ प्रतिशत गलत भएको पनि टिप्पणी गर्नुभएको पनि सुनियो । जे होस् भक्तपुरबारे राम्रो जानकारी राख्नुभएकोमा तपार्इँलाई धन्यवाद !
मन्त्रीजी, तपाईँले त्रिविविबाट स्नातकोत्तर गर्नुभएको छ । नौ जना अपराधीहरू छुटून् तर एकजना निरपराधीले सजाय नपाओस् भन्ने कानुनी मान्यताबारे तपाईँलाई थाहै होला ¤ नराम्रो काम गर्नेहरूलाई सजाय दिने अधिकार त तपार्इँसँग छ नै । अरूले नराम्रो काम ग¥यो भनेर राम्रो काम भइरहेको ठाउँमा पनि काम रोक्नु कुनै पनि दृष्टिले न्यायोचित होइन । राम्रा र नराम्रा जहाँ पनि हुन्छन् । राम्रोलाई प्रोत्साहन र नराम्रोलाई दण्ड दिनु नै न्याय हो ।
ठेक्का दिँदैमा राम्रो काम हुन्छ भन्ने होइन । अहिले अधिकांश काम ठेक्कामा हुने गरेका छन् । ठेकेदारहरूले यति धेरै योजनाहरू अलपत्र पारेका छन् कि भनी साध्य छैन । पुल बनाउँदाबनाउँदै भत्किएको, वर्षाँैसम्म सडक, पुल र अन्य संरचनाहरू अलपत्र छाडेर राज्यको अरबौँ रुपियाँ ठेकेदारले लुटेको दृश्य सम्झँदा त त्यस्तालाई ल्याएर एकएक गरी फाँसी दिऊँ झैँ लाग्छ तर के गर्नु कानुनमा मृत्युदण्डको व्यवस्था नै छैन, र त समस्या ।
यो अवसरमा म तपाईँलाई भक्तपुर नपाले गरेका कामबारे केही जानकारी पनि दिन चाहन्छु । भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रष्त ११८ वटा सम्पदाहरू पुनःनिर्माण र जिर्णोद्घार सम्पन्न गरिसकेको छ । अन्य धेरै योजनाहरू सम्पन्न गरिसकेको छ । ती सबै सम्पदाहरूको पुनःनिर्माण स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्फत भएका हुन् । कामको गुणस्तर, स्थानीय सीप र प्रविधिको प्रयोग एवम् स्थानीय जनताले रोजगारी पाएको हिसाबले ‘उपभोक्ता मोडेल’ अत्यन्त उपयुक्त मोडल हो भन्ने हामीलाई लाग्छ । भक्तपुरको प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिर भनपाले उपभोक्ता समितिमार्फत १ वर्षअघि जीर्णोद्धार सम्पन्न ग¥यो । त्यसमा ४ हजार २ सत्र्न्दा बढीले श्रमदान गरे भने १६ लाख रुपियाँभन्दा बढी आर्थिक र ५ लाखभन्दा बढी रुपियाँ बराबरको जिन्सी सहयोग प्राप्त भयो । उपभोक्ता समितिले अधिकांश योजनामा १ लाखदेखि ५० औँ लाखसम्म आर्थिक सहयोग र श्रमदान जुटाई काम गरेका थुप्रै उदाहरण छन् । फेहरिस्त निकै लामो छ । नगरपालिकाको आन्तरिक स्रोतबाट हुने विकास निर्माण अधिकांश उपभोक्ताबाट हुनेहुँदा भक्तपुरको मोडल अन्यत्र पनि लागु गर्ने प्रयास मन्त्रीजीमार्फत हुनु जरुरी देख्छु ।
तपाईँ किन यति छिट्टै ठेकेदारहरूबाट प्रभावित हुनुभयो होला भनी सोच्न म बाध्य भएँ । पछि थाहा भयो, तपाईँको त ठेकेदारहरूसँग साँठगाँठ पो रहेछ ! तपाईँ आफ्नो मन्त्रालयअन्तर्गतको बागमती नदीको मुहानको ड्याम अवलोकनमा जानुहुँदा शिवपुरी रिसोर्टमा कति लाख खर्च गर्नुभयो ? ती सबै ठेकेदार पवन महत्तोले तिरेको सार्वजनिक भएको छ । यस्ता समाचारहरू सुनेर हामी आश्चर्य चकित भयौँ ।
अझ तपाईँ मन्त्री भइसकेपछि पनि गुन्डा र डनकै शैलीमा जिन्स पाइन्ट लगाएर योजना अवलोकनमा गएको समाचारले त हामीलाई लाजमर्नु बनायो । मन्त्री कुनै पार्टीविशेषको नभई सारा जनताको साझा व्यक्तित्व हुनुपर्छ । सरकारमा बस्नेले सरकारको इज्जत राख्न पनि जान्नुपर्छ । एमाले डनवाद र धनवादमा डुबेको भनी बदनाम भइरहेको बेला तपाईँको पार्टीको भविष्यमाथि प्रश्न उठ्छ । नेपालको लागि अर्को एमाले पार्टी आवश्यक छैन ।
नयाँ विचार र सोचका साथ अगाडि बढ्न सकिएन भने तपाईँको पार्टी पनि पहिले वामदेव नेतृत्वको माले पार्टीझैँ एमालेमै कुनै बहाना बनाएर आत्मसमर्पण गर्न पुग्नेछ । यो मेरो अनुमान हो । खैर त्यो भावी दिनले बताउने नै छ । तपाईँ सार्वजनिक पदमा रहेको हुँदा तपाईँको जीवनशैली र व्यवहारबारे आलोचना एवम् सुझाव राख्ने हरेक नागरिकलाई अधिकार छ । कुनै सुधार भएमा तपाईँ र देशकै निम्ति फाइदा हुन्छ भन्ने लाग्छ । पत्र लेख्दै जाँदा लामो भयो । बाँकी अर्को पत्रमा लेख्छु ।
उही तपाईँको मित्र
सुजन
Leave a Reply