भर्खरै :

सहकारी संस्थाले स्थानीय युवाहरूलाई दक्ष बनाउन आवश्यक

भक्तपुर, २४ पुस । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्थाको चौधौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभामा उद्घाटन मन्तव्य राख्दै सचिव सुवालले कोभिड–१९ को परिवर्तित रूप नेपालमा बढ्दै गएको र विज्ञहरूले सङ्क्रमणको तेस्रो लहर फैलिने अनुमान गरेको हुँदा मास्क लगाउने, हुल जम्मा नहुने, बरोबर साबुन–पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्नु जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाले सदस्य र सदस्यका परिवारलाई प्लम्बर, डकर्मी, सिकर्मी, बिजुली जडान, पानी तान्ने पम्प र लुगा धुने मेसिनमर्मत तालिम सञ्चालन गर्नु जरूरी छ । कपाल काट्ने, लुगा सिउने, स्वेटर बुन्नेलगायत तालिम सञ्चालन गरेर स्थानीय युवाहरूलाई दक्ष बनाउनु आवश्यक छ ।”
काठमाडौँ उपत्यकामा आवश्यक ४० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको हुँदा कृषि लगानीमा ब्याज कम बनाएर देशलाई आत्मनिर्भर बनाउनु जरूरी रहेको धारणा राख्दै सचिव सुवालले भारतीय एकाधिकार पुँजीले नेपालको विकास गर्न नदिने बताउनुभयो ।
दाल, चामल, तरकारी, लुगा, कपडा सबै आयातमा भर पर्दा नेपालीलाई दुःख हुनेछ, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “सहकारीका सदस्यहरूलाई मानव जातिको सेवाको निम्ति त्याग, तपस्या र बलिदान गरेका महामानवहरूको जीवनी अध्ययन गराएर, तिनीहरूको जीवनबारे अन्तरक्रिया गराएर शिक्षित–दीक्षित गर्नु जरुरी छ ।”
प्रतिक्रियावादी सरकारहरूको कानुनी शासन र शक्ति पृथकीकरणको सिद्धान्त झूटा हुन्छ । त्यसैले सर्वोच्च अदालतको परमादेशमा प्रम देउवा नियुक्ति गरियो र व्यवस्थापिकाको अधिकारमाथि हस्तक्षेप भयो, उहाँले भन्नुभयो ।
भारतीय रक्षामन्त्रीले नेपाल–भारत सम्बन्ध बिगार्न केही तत्व लागेको आरोप लगाए । भारतले नेपालको सीमा अतिक्रमण गरेपछि नेपाली जनताले विरोध गर्नैपर्छ । यसलाई भारतले नेपालीलाई कसैले उक्साएको ठान्नु गलत हो, सचिव सुवालले थप्नुभयो ।
उहाँले सहकारी संस्थाका सदस्यहरूलाई देश विदेशका विषयहरूबारे जानकारी दिनु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थालाई अप्ठेरो ऐन संशोधन गराउन सल्लाह गर्नु जरूरी छ । शासक दलहरूकै संरक्षणमा ओरियन्टल, सिभिललगायत केही खराब सहकारीहरूले साधारण बचतकर्ताको अर्बौँ रूपियाँ ठगी गरेको पुष्टि भइरहेको छ ।”
संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले संस्थाले गरेको सामाजिक गतिविधिहरू प्रशंसनीय भएको चर्चा गर्दै सदस्यहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी गराउन नियमित कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरू विश्वराम कवां, लक्ष्मीभक्त कवां, भक्तपुर जिल्ला बचत तथा सहकारी सङ्घका प्रतिनिधि बालकृष्ण ध्वजू, पूर्वअध्यक्ष आशाकुमार चिकंबन्जार, निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछालगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष बलराम गोसाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक रत्नवीर किसी, सञ्चालक अनिता सिंख्वाल, उपाध्यक्ष नारायणप्रसाद कवांलगायतले बोल्नुभएको थियो ।
सभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र बजेट तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो ।
कार्यक्रममा अतिथि सुवालले संस्थाबाट सञ्चालन गरेका बाँसुरी, पछिमाय्, धिमाय बाजाका प्रशिक्षक गुरूहरूलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *