भर्खरै :

उपभोक्ता सहकारीबारे अन्तरक्रिया सम्पन्न

भक्तपुर, २४ पुस । सर्वसुलभ उपभोक्ता सहकारी संस्थाको आयोजनामा उपभोक्ता सहकारीबारे अन्तरक्रिया कार्यक्रम संस्थापकहरूको भेलाबीच सम्पन्न भयो ।
भेलामा भक्तपुर नगरपालिकाका पूर्वउपप्रमुख चैत्यराज शाक्यले बजारमा प्रतिस्पर्धी व्यवसायीहरूले आफ्नो नाफाको लागि अरूको कमी कमजोरी औँल्याउने कार्य एक किसिमको पुँजीवादी आचरण हो भन्नुभयो ।
बजारको उपभोक्ताहरूलाई सचेतनाको लागि यस संस्थामा कार्यरत व्यवस्थापन तथा सञ्चालक समिति अति चनाखो हुनुपर्ने उल्लेख गर्र्दै उहाँले बजारमा उपभोक्ताहरूलाई सकारात्मक प्रभाव पार्ने खालको क्रियाकलाप गर्दै संस्था अगाडि बढाउनुपर्ने चर्चा गर्नुभएको थियो । लगानीकर्ताहरूलाई बजारको मूल्यमा प्रतिफल दिने गरी गुणस्तरीय सामग्री वितरण गरी सुलभ तरिकाबाट उपभोग्य सामान बिक्री गर्ने उद्देश्यका साथ अगाडि बढेको संस्थाका शेयर सदस्यहरूले नै सहकारी पसलबाट उपभोग्य वतुहरू खरिद गरी सहयोग गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपाका साविक ४ का पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले सहकारी संस्थाले बजारमा कृत्रिम अभावलाई अन्त गरेको, सर्वसुलभ तरिकाले उपभोक्ता सामानहरू उपलब्ध गराउने कार्य गरेको छ भन्दै यसमा संस्थाका सञ्चालक र संस्थापकहरूको इमानदारीता र व्यवहार महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा संस्थामा सल्लाहकार कृष्णभक्त लवजुले उपभोक्ता सहकारी संस्था नियमितको लागि सम्पूर्ण सदस्यहरूले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । संस्थापक अध्यक्ष एवं सल्लाहकार कृष्णगोविन्द लाखाजुले सर्वसुलभ उपभोक्ता सहकारी संस्थाको आर्थिक पक्ष संस्थाको कमी कमजोरीहरू सुधार गर्दै अगाडि बढाउनुपर्ने र उपभोक्ता सहकारी संस्थालाई दिगो विकास गर्दै अगाडि बढाउनुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखाजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव नारायणमान वनमालाले संस्थाको आर्थिक कारोबारबारे तथा कोषाध्यक्ष शिवराम साँढले आर्थिक स्थितिबारे जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *