भर्खरै :

“सहकारीले समाजका बेथितिविरुद्ध अभियान चलाउनुपर्छ”

ललितपुर, २६ पुस । ललितपुर मनपा वडा नं २६ सुनाकोठीमा अवस्थित राम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले सहकारीको मूल उद्देश्य समुदायको आर्थिक स्तर उकास्ने भए तापनि समाजमा हुने बेथितिविरुद्ध अभियान चलाएर सचेत र सजग पार्ने काम गर्नुपर्ने विचार राख्नुभयो ।
जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरूमार्फत सर्ने र नसर्ने रोगहरूको बारेमा पनि जनतालाई प्रशिक्षित गर्नुपर्ने विचार राख्नुभयो ।
अधिवक्ता शङ्कर लिम्बुले समाजको हरेक समस्यासँग जुध्न सहकारीमार्फत एक मन बनाएर अघि बढ्नुपर्ने र विकासको बहानामा आदिवासीहरूको भूमि तथा सांस्कृतिक सम्पदा मास्ने कार्यको विरोध गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष अशोक महर्जनले सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षहरूमा उत्पादनशील क्षेत्रमा लगानी गर्दै जाने र दैनिक उपभोग्य खाद्य सामग्रीको गुणस्तरयुक्त उत्पादन तथा प्रशोधन गरी शेयर सदस्यहरूलाई केही छुटमा बिक्री गर्ने कुरा राख्नुभयो । ७७ वर्ष ७ महिना ७ दिन पुगेका ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गर्ने कार्यको निरन्तरता दिने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि उत्तम थापा र स्वर्ग बहुउद्देश्यीय सहकारी लिमिटेडका प्रतिनिधि श्यामकृष्ण महर्जनलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *