भर्खरै :

मङ्गलबारदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

काठमाडौँ, २६ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसको आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । “हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणसमेत बढ्न थालेकोले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ”, जारीे विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले बिदाको उक्त अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन पनि अभिभावकमा अनुरोध गरेको छ ।
बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्थाबमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ ।
मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना हुनेगरी जेट आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्न सुझाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *