भर्खरै :

जिल्ला प्रशासन कार्यालय भक्तपुरद्वारा आदेश जारी

भक्तपुुर, २८ पुस । राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरू सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, पटक–पटक साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पुस २७ गते राति १२ बजेदेखि लागु हुने गरी आदेश जारी गरेको छ ।
उक्त आदेशमा सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगराउने र अत्यावश्यक काममा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी व्यवस्था मिलाइने उल्लेख छ ।
२५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै किसिमको मेला, भेला तथा महोत्सव एवं सामाजिक कार्य नगर्न आग्रह गरिएको उक्त आदेशमा सार्वजनिक स्थानहरू (कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क) मा प्रवेश गर्दा माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्न र जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने व्यवस्था गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई एक हप्ताभित्र कोभिडविरुद्धको खोप लगाइसक्ने, पुस २७ देखि माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने र पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाको स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइको व्यवस्था गर्न पनि जिप्रकाले आग्रह गरेको छ ।
सेवाग्राहीको बढी चाप हुने कार्यालयहरू (जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैङ्क तथा वित्तीय संस्था) मा स्वास्थ्य मापदण्डको आधारमा सेवा प्रवाह मिलाउने, जिल्लाभित्र रहेका कोभिड–१९ उपचार केन्द्र र आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउन तयारी अवस्थामा राख्न पनि जिप्रकाले आग्रह गरेको छ ।
आदेश पत्रमा अक्सिजन सिलिन्डरहरू सम्बन्धित अस्पताल, उद्योग वा स्थानीय तहमा हस्तान्तरण गर्ने, सार्वजनिक सवारी साधनमा स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, सहज आपूर्तिमा अवरोध गर्नेहरूउपर कारबाही गरिने व्यहोरा उल्लेख छ ।
औद्योगिक तथा व्यवसायिक संस्था, फर्म तथा पसलहरूले स्वास्थ्य मापदण्ड पालना गरी औद्योगिक तथा व्यवसायिक गतिविधि गर्ने र कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमित सम्पर्क ९ऋयलतबअत त्चबअष्लन० मा परेका व्यक्तिहरूले सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पीसीआर परीक्षणको लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी स्वास्थ्य मापदण्ड पालना गराउने व्यहोरा पनि सो आदेश पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *