भर्खरै :

सक्वको म राजदास –११९ / नेपालमा मँर्बल उद्योगको सम्भावना

नेपालको धादिङ्ग जिल्ला जोगीमारा क्षेत्रमा सञ्चालित एक चुनढुङ्गा खानी
सन् १९७६ मा तत्कालीन सोभियत सङ्घबाट ढुङ्गा माटोसम्बन्धी खनिज पदार्थहरूको विषयमा केमिकल इन्जिनियरिङ्ग पढेर फर्केपछि सबभन्दा पहिले मैले काठमाडौँ लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा एक अनुसन्धान अधिकृतको रूपमा केही महिना काम गरेको थिएँ । मेरो केमिकल इन्जिनियरिङ्गको विषय ‘इन अर्गानिक केमिकल सिलिकेट टेक्नोलजी’ थियो । त्यसमा पनि विशेष गरेर चुनढुङ्गाबाट सिमेन्ट चुनजस्ता निर्माण सामग्री उत्पादन गर्ने प्रविधि अथवा ‘सिलिकेट टेक्नोलोजीस्ट’ मा मेरो विशेषता थियो ।
सिलिकेट भन्ने शब्द अङ्ग्रेजीमा बालुवाजन्य पदार्थ जनाउने शब्द ‘सिलिका’ अथवा ‘स्यान्ड’ हो ।
प्रकृतिमा विभिन्न प्रकारका खनिज तथा अखनिज पदार्थहरू (धातुहरू) पाइन्छन् । सुन, फलाम, चाँदी, तामा आदिलाई ‘मेटालिक’ अथवा धातुजन्य पदार्थ भनिन्छ । बालुवा, ढुङ्गा, स्लेट माटो आदि पदार्थलाई ‘नन् मेटालिक’ अथवा अखनिज पदार्थ भनिन्छ । सुन, चाँदी, फलाम आदि खनिज पदार्थ सबै निर्जीव पदार्थमा गनिन्छ । त्यसकारण, तिनीहरूलाई ‘इन अर्गानिक मेटल’ (धातु) मा राखिएको छ भने कोइला, पेट्रोल आदि खनिज पदार्थहरू जैविक पदार्थबाट बनेका हुनाले यिनीहरूलाई अर्गानिक मिनरल भनिन्छ । यिनीहरूको मूल स्रोत ‘कार्बन’ हो । ‘कार्बन’ मुख्यतया वन जङ्गलमा पाइने ठूल्ठूला रुखहरूमा हुन्छ ।
ठूल्ठूला घना वनजङ्गलका काठदाउराहरू लाखौँकरोडौँ वर्ष पृथ्वीको सतहमुनि विभिन्न भौतिक परिस्थितिमा थिचिएर, मिचिएर रहँदै गर्दा पत्थर, कोइला, पेट्रोलियमजस्ता ठोस र लेदो आकारमा रहेको हुन्छ । जसलाई हामी कोइला र क्रुड आयल भन्छौँ । त्यही पदार्थ पृथ्वीको सतहमुनि विशाल भण्डारणको रूपमा प्राकृतिक ग्यासको रूपमा पाइन्छ ।
यसरी प्राकृतिकरूपमा रहेका पत्थर, कोइला, पेट्रोलियम पदार्थ अनि प्राकृतिक ग्यास आज हाम्रो मानव समाजको मूल इन्धनको स्रोत बनेको छ । वैज्ञानिक अनुसन्धान कार्यहरूबाट पृथ्वीको धेरै ठाउँमा यस्ता जैविक इन्धनका स्रोतहरू फेला पारिएका छन् । यसको अझै थुपै्र अध्ययन, अनुसन्धान र उत्खनन गर्ने प्रयास हुनेछ । यही सिलसिलामा नेपालमा पनि पेट्रोलियम पदार्थको अध्ययन अनुसन्धान गर्ने काम हुँदै छ । तर, विगत ४०/५० वर्षदेखि हालसम्म कुनै ठूलो उत्साहजनक नतिजा निस्केको छैन । यद्यपि, देशका विभिन्न ठाउँमा स–साना प्राकृतिक ग्यासको डिपोजिट भएको कुरा समय–समयमा निस्किरहन्छन् ।
नेपालको पूर्वी झापा, मोरङ्ग क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भाव्यता उच्च देखिएको छ भनेर त्यस क्षेत्रमा स्थानीय खानी तथा भूगर्भ विभागको साथ र सहयोगमा अमेरिकी कम्पनीहरूले ३०÷४० वर्षअघि बृहत् अध्ययन अनुसन्धान गरेका थिए ।
तर, औद्योगिकरूपमा सञ्चालन गर्न यथेष्ट मात्रामा डिपोजिट नभएर हो वा अन्य कुनै कारणले हो, उक्त अध्ययन अनुसन्धान त्यतिकै छाडिएको अवस्था छ । आजकल उत्तरी छिमेकी देश चीनको प्राविधिक सर–सल्लाह र सहयोगमा नेपालका विभिन्न ठाउँमा विशेष गरेर पश्चिम नेपालको दाङ क्षेत्रमा केही उत्साहजनक नतिजाका साथ अन्वेषण कार्य भइरहेको सुनिन्छ ।
तर, प्राकृतिक बनोटको हिसाबले र नेपालको धेरै भाग उच्च पहाडी भूभाग भएकोले नेपालमा प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थहरू उपलब्ध हुने सम्भावना कम नै देखिन्छ । त्यसकारण हाल आर्थिक सङ्कटबाट गुज्रिरहेको हाम्रोजस्तो देशले अति खर्चिलो पेट्रोलियम अन्वेषण गर्ने विषयमा भन्दा निरन्तर बगिरहने नदी–नाला र खोलाबाट नै जलविद्युत् उत्पादनतिर ध्यान दिनु राम्रो देखिन्छ ।
भनिन्छ, नेपालमा ८० हजारदेखि एक लाख मेगावाट विद्युत् निकाल्ने सम्भावना बोकेको जलस्रोतको भण्डारण छ । तर, जनघनत्वको विस्तार र अन्य संरचनाहरूको कारणले गर्दा त्यो सम्भावना ४०/५० हजार मेगावाटमा झरि सकेको छ । यो सम्भाव्यता निरन्तर घट्नेछ । यसबाहेक आजकल विश्वमा सौर्य ऊर्जाको विकासमा धेरै प्रयास भइरहेको छ । संसारका विकसित मुलुकहरू सौर्य ऊर्जाको प्रवद्र्धनमा बढी लागिपरेका छन् । स्वयम् हाम्रै देश नेपालमा पनि आजकल पानी तताउनको लागि घर–घरमा सोलार प्यानलहरू राख्ने काम तीव्रगतिमा भइरहेको हामी देख्छौँ । कुनै दिन जलविद्युत् शक्तिभन्दा सौर्य शक्ति (सोलार इनर्जी) सस्तो हुनेछ । हाम्रो जलस्रोत भण्डार त्यतिकै खेर नजाला भन्न सकिन्न ।

नेपालको बजारमा मार्बलको व्यापार राम्रो छ


जलस्रोतझैँ नेपालमा औद्योगिक उत्पादन क्षेत्रमा चुन ढुङ्गाले ठूलो स्थान ओगटेको छ । मध्य नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको महाभारत पर्वत श्रृङ्खला (महाभारत रेञ्ज) अथवा पूर्वमा उदयपुरदेखि पश्चिममा नेपालगञ्ज, सुर्खेतसम्म फैलिएको सम्पूर्ण पहाड उच्चकोटीको चुनढुङ्गा, म्याग्नेसाइट, डोलामाइट, मार्वल आदि खनिज पदार्थबाट बनेका छन् र ठाउँ–ठाउँमा हाल यी पदार्थहरूको औद्योगिक उत्खनन पनि भइरहेका छन् ।
चुनढुङ्गा, मार्बल (सिङ्गमरमर), डोलोमाइट, म्याग्नेसाइट आदि खनिज पदार्थका स्रोत हुन् । यी पदार्थहरू हेर्दामा निर्जीव भए पनि जीवित चिजबाट बनेका हुन् । जस्तो कि चुनढुङ्गा र मार्बल (सिङ्गमरमर) दुवै एउटै रासायनिक पदार्थ क्याल्सियम कार्बोनेटबाट बनेका हुन् । चुनढुङ्गा अलि खस्रो हुन्छ र म्याग्नेसियम, सिलिका आदि अन्य पदार्थहरू धेरैथोरै मात्रामा मिसिएका हुन्छन् । मार्बल भनेको शुद्ध क्याल्सियम कार्बोनेटबाट बनेको हुन्छ । त्यसकारण मार्बलको स्वरूप र भौगोलिक संरचना चुनढुङ्गाको भन्दा धेरै फरक हुन्छ । यही भौगोलिक अवस्थाले (फिजिकल स्ट्रक्चरले) गर्दा मार्बल मूल्यवान हुन्छ । रासायनिक संयोग (केमिकल कम्पोजिन) ले हेर्दा चुनढुङ्गा र मार्बल एउटै परिवारका दुई दाजुभाइ जस्तै हुन् । तर, गुणमा धेरै फरक छ ।
चुनढुङ्गा र मार्बललाई उच्च तापक्रम (९००–१००० डिग्री सेन्टिग्रेड) मा पोल्यो भने दुवैबाट चुन निस्किन्छ । चुन भनेको रासायनिक भाषामा क्याल्सियम अक्साइड हो । चुनढुङ्गा र मार्बलको पनि रासायनिक नाम क्याल्सियम कार्बोनेट हो । खालि रूप र रङ्गमा फरक हुन्छ ।
नेपालमा चुनढुङ्गाको विशाल स्रोत छ । तर, विडम्बना ¤ हामीले न त जलस्रोत भण्डारणबाट प्रशस्त मात्रामा जलविद्युत् उत्पादन गर्नसकेका छौँ न प्रचुरमात्रामा पाइने ढुङ्गाखानीहरूबाट चुनढुङ्गा उत्पादन गर्न सकेका छौँ । देशमा जलस्रोत र जलविद्युत्को भण्डार भए पनि आजसम्म हामी विदेशबाट विद्युत् आयात गरिरहेका छौँ । आज हामी निर्माण सामग्री र चुन किन्न गयौँ भने बजारमा नेपाली चुनभन्दा बढी विदेशी चुन पाइन्छ ।
देशमा उपलब्ध स्रोतसाधनहरूको राम्ररी सुरक्षित हिसाबले प्रयोग गरिएको खण्डमा नेपालमा भवन निर्माण गर्ने चुन, कृषि चुनको खाँचो हुन्न । नेपालमा त्यस्तै उच्च कोटीको मार्बल पनि पाइँदैन भन्न सकिन्न । मार्बलको अन्तर्राष्ट्रिय बजार धेरै ठूलो छ । क्वालिटीअनुसार यसको बजार मूल्य पनि धेरै हुन्छ । त्यसकारण, चुनढुङ्गा र मार्बल (सिङ्गमरमर) को गहन अध्ययन, अनुसन्धान र उत्पादनबाट देशले धेरै आर्थिक विकास गर्नसक्दछ ।
अन्तमा, मार्बल र चुनढुङ्गाको मूलस्रोत भनेको लाखौँ–करोडौँ वर्षमा पृथ्वीको सतहमुनि थिचिएको जनावरहरूका हड्डी हुन् । जुन मूलतः क्याल्सियम तत्व हो ।
त्यसकारण, मार्बल र चुनको मूलस्रोत भनेको आर्गानिक (जैविक) पदार्थ हो । त्यो बाहिरीरूपमा निर्जीव ढुङ्गाजस्तो देखिए पनि धेरै समय पृथ्वीको सतहमुनि विभिन्न परिस्थितिमा थिचिएर बसेका विभिन्न जीव र जनावरहरूको अवशेष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *