भर्खरै :

कोभिडको नयाँ लहर सामना गर्न भनपाको तयारी

भक्तपुर, ३० पुस । भक्तपुर नगरपालिकास्तरीय विपद् व्यवस्थापन केन्द्र (सीएमसी) का अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरीय विपद व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि हालसम्म गरिरहेको कार्यहरूबारे बैठकमा जानकारी दिनुभयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले नगरपालिकाले १,४१,२३९ डोज खोप दिइसकेको, अक्सिजन प्लान्ट सञ्चालनमा रहेको र ख्वप अस्पताल कोभिड युनिटमा ५० साधारण, २५ एचडीयू गरी ७५ शय्या तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
शुक्रबार बसेको नगरपालिकास्तरीय सीएमसी बैठकले नगर क्षेत्रभित्र ख्वप अस्पतालको तर्फबाट १२–१७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई दिँदै आएको कोभिडविरूद्धको खोपलाई निरन्तरता दिने निर्णय ग¥यो ।
साथै परम्परादेखि चलिआएका महत्वपूर्ण चाड, पर्व, मेलालगायत संस्कृतिसँग सम्बन्धित गतिविधिहरू सामान्य औपचारिकतामा मात्र सीमित गर्न नगरवासीहरूमा अनुरोध गर्ने र घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न, साबुन–पानीले हात धुन, पटक–पटक स्यानिटाइजरको प्रयोग गर्न तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सूचना प्रकाशन तथा प्रसारण गरी नगरवासीहरूमा अनुरोध गर्ने निर्णय पनि उक्त बैठकले गर्यो ।
बैठकले विद्यालय÷कलेजलगायत शैक्षिक संस्थाहरूमा कोरोना जोखिमलाई ध्यानमा राखी वैकल्पिक विधिद्वारा कक्षा सञ्चालन गर्न आवश्यक निर्देशन दिने निर्णय गर्यो ।
बैठकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिट तयारी अवस्थामा राख्ने र वर्तमान कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन महामारीको जोखिम अवस्थालाई ध्यानमा राखेर जनतालाई खाद्यान्नलगायत कुनै पनि किसिमको अत्यावश्यक सामग्रीहरूको अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाउन सरोकारवाला सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको छ ।
बैठकमा उपस्थित नगरपालिकास्तरीय विपद् व्यवस्थापन केन्द्रका सदस्यहरू तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूले कोभिडको वर्तमान अवस्था र कोभिड नियन्त्रणका तयारीहरूबारे आ–आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *