भर्खरै :

खर्च चाहिने भए सीधै भन्नुस् तर काम छिटो हुनुप¥र्यो 

आज बिहान कुनै कार्यक्रम र बैठक नभएकोले समयमै वडा कार्यालय पुगेको थिएँ । वडामा सेवाग्राहीहरू आइसकेका थिए । मैले सबैलाई सोफामा बस्न अनुरोध गरेँ । त्यत्तिकैमा एक जना बाहुन विनम्र स्वरमा ‘नमस्कार’ भन्दै मेरो टेबुलतिर आइपुगे । मैले नमस्कार फर्काएँ र एकछिन बाहिर बस्न अनुरोध गरेँ । उहाँले मेरो प्रशंसा गर्दै भन्नुभयो, “भर्खरको युवा वडाध्यक्ष हुनुहुँदोरहेछ । वडा कार्यालयमा यस्तै जनप्रतिनिधि चाहिन्छ । काम छिटो छरिटो हुन्छ । मेरो कागजमा तपाईँको हस्ताक्षरमात्र भए पुग्छ । एकै सेकेन्डको कुरा हो । हजुरले सही गरिदिनुस्, गइहाल्छु ।” उसको प्रशंसा र हतारलाई देखेपछि मेरो मनमा अग्रज राजनीतिक कार्यकर्ताहरूले भनेको कुरा याद आयो । भिडमा हतार भयो भनी आउने सेवाग्राहीहरूसँग सचेत हुनुपर्छ । अनि प्रशंसा गर्नेहरूसँग झन्् बढी सचेत हुनुपर्छ । त्यही सम्झेर मैले त्यस बाहुनलाई नरम स्वरमा जवाफ फर्काएँ, “वडामा बुढापाका र महिलाहरू सेवा लिन बसेको देख्नुभएकै छ । उहाँहरू म आउनुभन्दा अगाडि नै आउनुभएको थियो । तपाईँ एकछिन कुरी दिनुहोला ।” मेरो नम्र निवेदनपछि उहाँ अफिस बाहिरै गएर मेचमा बस्नुभयो । भित्र खचाखच भएकोले बस्ने अवस्था पनि थिएन ।
करिब आधा घण्टापछि उहाँको पालो आयो । मैले आफ्नो कुरा राख्न अनुरोध गरेँ । त्यसपछि उहाँले भनुभयो, “मेरो सानो जग्गा छ । जग्गाको मोही तपाईँको वडाको निःसन्तान रहेछ । जग्गा चाँगुको बाटोनिर छ । भूमिसुधार तथा मालपोत कार्यालयबाट मोही लगत कट्टाको कागज लिएर आएको हो । हजुरले यो कागज बुझेर लिई सूचना पाटीमा टाँसी दिनुप¥यो ।” मैले पत्र लिएँ र सरसरती अध्ययन गरेँ । भूमिसुधार तथा मालपोत कार्यालयबाट मोहीको नाममा आफ्नो हक दाबी गर्न आउनको लागि म्याद जारी गरिएको पत्र रहेछ । मैले जवाफ फर्काएँ, “यो पत्र अहिले टाँस्न मिल्दैन । पहिला पत्रमा उल्लेखित मोहीलाई बोलाउँछु । अनि मोहीले नलिएमात्र टाँस्न मिल्छ । तपाईँ यो पत्र छाडेर जानुस् । एक हप्तापछि सम्पर्क गर्नुहोला ।” मेरो जवाफ सुनेपछि उहाँले नरम भाषामा भन्नुभयो, “ मोही निःसन्तान हो र उनी धेरै वर्षपहिले बितिसके । त्यसैले अहिल्यै टाँसी दिनुस् ।” मैले फेरि भनेँ, “मोही लगत कट्टाको निवेदन आउँदा पहिला मोहीको खोजी गर्ने कार्य हुन्छ । अनिमात्र दोस्रो चरणमा टाँस्ने कार्य हुन्छ । अनि निःसन्तान हो वा होइन र मृत्यु भयो या भएन अनि अरू हकदार छ छैन भन्ने खोजबिन गरेपछि मात्र अर्को चरणमा टाँस्ने प्रक्रियामा जान्छ ।” मेरो जवाफ सायद उहाँलाई चित्त बुझेन क्यारे ¤ उहाँले भन्नुभयो, “होइन खर्च चाहिने भए सीधै भन्नुस् न । तर, काम अलि छिटो हुनुपर्यो । युवा वडाध्यक्ष भएर जनताको काम छिटो होला कि भनी आशा गरेको त झन्् ढिलो देखियो ।” उहाँको जवाफ सुनेर मैले भनँे, “तपाईँको यस्तो कामको लागि खर्च आवश्यक छैन । सरकारले हामीलाई मासिक भत्ता दिएकै छ । हामीले चुनावी घोषणापत्र र पार्टी नीतिअनुसार कार्य गर्ने हो । एक हप्तापछि तपाईँको काम हुन्छ । अहिलेलाई तपाईँ जानुस् ।”
त्यतिञ्जेल थप सेवाग्राहीहरूको कोठा भरिसकेको थियो । त्यस बाहुन गएपछि एक जना कुरा सुनिरहने सेवाग्राहीले प्रतिक्रिया दिए, बाहुनले तपाईँलाई घुस दिन खोजेको तर तपाईँले कुरा घुमाइ दिनुभयो । कति घुस दिनेरहेछ, एकचोटि मोलमोलाइ गर्नुपर्ने ¤
एक हप्ताभित्र पत्रमा उल्लेखित मोही सुन्दर सुवाल (नाम परिवर्तित) लाई खोज्न टोलका अग्रजहरूलाई कल गरँे । अग्र्रजहरूले मोही सुन्दर सुवाल मरिसकेको र उनी निःसन्तान रहेको जानकारी दिनुभयो । तर, उनका नजिकका हकदारहरू रहेको जानकारी पनि दिनुभयो ।
एक हप्तापछि त्यस बाहुन वडा कार्यालयमा आउनुभयो । दिनको तेस्रो प्रहर चलिरहेको थियो । सेवाग्राहीहरूको उपस्थिति थिएन । मैले सोफामा बस्न अनुरोध गरेँ र कार्यालय सहयोगीलाई चियाको लागि अनुरोध गरेँ । मैले भनेँ, “हजुरको नाम के प¥यो ? हजुरको घर कता हो र के गर्नुहुन्छ ?” मेरो कुरा सुनेबित्तिकै उनको अनुहार हँसिलो देखियो । उहाँले हाँस्दै भन्नुभयो, “धन्यवाद । मेरो नाम कृष्णप्रसाद वाग्ले (नाम परिवर्तित) हो । मेरो मुल घर पाँचखाल हो । तर, हाल काठमाडौँको स्वयम्भूमा बस्छु । पेशाले वकालत गर्दछु । अनि तपाईँले मेरो मोही भेटाउनु भयो त ?” मैले भनँे, “तपाईँले भनेजस्तै मोहीको मृत्यु भएको र निःसन्तान पनि रहेछ । तर, उनका नजिकका नातेदार हकवालाहरू चार जना रहेछन् । केही दिनमा सम्पर्कमा आउने छ । मेरो जवाफले उहाँको अनुहार बिग्रियो । होइन यति सानो कामको लागि झन्झट किन वडाध्यक्षज्यू ? बरु चाहिने खर्च लिनुस् न । तपाईँलाई पनि आनन्द मलाई पनि सजिलो । झन् अलि छिटो काम सकाउनुप¥र्यो भनेको । भूमिसुधारमा अस्ति नै पत्र ल्याउँछु भनेको थिएँ ।
मैले भनेँ, “हकदारहरू केही दिनमा वडामा आउँछु भन्नुभएको छ । हकदार भएपछि सूचना टाँस्न मिल्दैन ।” मेरो जवाफले उहाँको मन शान्त हुन सकेन र उहाँले भन्नुभयो, “यो संसारमा सबै कुरा मिल्छ । पैसाले सबै कुरा मिल्छ । पैसा नै सबथोक हो । तपाईँमात्र हो पैसाको लागि कार्य नगर्ने । भूमिसुधार तथा मालपोत कार्यालयमा पैसा दिएपछि सबै काम हुन्छ । अनि तपाईँको वडा कार्यालयमा किन नहुने ? तपाईँले हकदारलाई किन बोलाउनुप¥र्यो । हामीबीच नै कुरा मिलाउन मिल्दैन ? मान्छे पैसाको लागि के के गर्छन् । हातमा आएको माछा नै तपार्ईँ फुत्काउनु हुँदोरहेछ । तपाईँले त हकदार बोलाएर मेरो करोडौँको सम्पत्ति आधी गर्न खोज्नु भो । बरु त्यसको सट्टामा तपाईँ लिनुस् । यो देशमा यस्तै चलेकै छ । अनि तपाईँमात्र इमानदार भएर देश बन्ने त होइन ?”
मलाई वाग्लेजीको कुराले रिस उठ्यो । तापनि, मैले नरम स्वरमा जवाफ फर्र्काएँ, “मलाई दिन खोज्नुभएको पैसा पत्रमा उल्लेखित मोहीका हकदारलाई नै दिनुस् । त्यसको प्रतिफल पाउने अधिकार उसले मात्र राख्छ । मलाई त सरकारले वडाध्यक्ष भएर कार्य गरेबापत भत्ता दिएकै छ नि । तपाईँले नेमकिपाका कार्यकर्ताहरूलाई शासक दलका कार्यकर्ताहरूसँगको तहमा राखेकोमा दुःख लाग्यो । बरु मोहीका हकदारलाई आधी जग्गा यही वडामा छलफल गरी बाँडेर दिन पाए हुन्छ । त्यसको लागि मेरो अध्यक्षतामा बैठक राख्न तयार छु ।” वाग्लेज्यूले फेरि भन्नुभयो, “त्यसको लागि त मोहीका हकदार प्रमाणित हुुनुप¥र्यो । भूमिसुधार तथा मालपोतमा त पैसा भएपछि जे पनि हुनसक्छ । त्यो विषयमा तपाईँको क्षेत्राधिकार नै परेन ।” वाग्लेको जवाफ पाएपछि मैले जवाफ दिएँ, “ म यो वडाको निर्वाचित वडाध्यक्ष हुँ । यहाँ क्षेत्राधिकार तपाईँको नभई मेरो चल्छ । त्यसैले एक हप्तापछि आउनुस् । अनि हेरौँला ।” मेरो जवाफले उहाँ रिसाएर यो वडामा कहिल्यै पाइला टेक्दिन भन्दै जानुभयो ।
त्यसको दुई दिनपछि सुन्दर सुवालका हकदारहरू वडामा आउनुभयो । उहाँहरू हकदारको प्रमाण कागत लिएर आउनुभयो । मोही सुन्दर सुवालका हकदारहरू राम, कृष्ण, गणेश र महेन्द्रलाई जग्गा नामसारी गर्न पनि अनुरोध गरेँ । नभन्दै उहाँहरूले आवश्यक कागजातहरू पेश गरी जग्गा नामसारीको सिफारिस लिई नामसारी गर्नुभयो । त्यसपछि भूमिसुधार तथा मालपोत कार्यालयबाट आएको लगत कट्टाको पत्र कार्यान्वयनको लागि अगाडि बढाइयो । यसबाट मोहीका हकदारहरूले जग्गा धनीबाट आधी मोही हक पाउने अधिकार सुनिश्चित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *