भर्खरै :

वैकल्पिक शिक्षणको तयारीमा विद्यालय प्रभावकारी भएन अनलाइन कक्षा

भक्तपुर, २ माघ । कोभिड सङ्क्रमण दर बढेसँगै बन्द गरिएका विद्यालयहरूले शिक्षण गतिविधिलाई निरन्तरता दिन वैकल्पिक शिक्षण पद्धति अपनाउने तयारी थालेका छन् । महामारीको प्रभाव रोक्न सरकारले कम्तीमा माघ १५ गतेसम्म भौतिक कक्षा बन्द गर्न सूचना जारी गरिसकेको छ । यो अवधिमा कतिपय विद्यालयहरूले हिउँदे बिदा घोषणा गरेका छन् भने अधिकांश विद्यालयहरूले केही दिन बिदा गरेर अनलाइन कक्षा सञ्चालनको तयारी थालेका छन् ।
भक्तपुरका सामुदायिक विद्यालयहरूले माघ ८ गतेसम्म हिउँदे बिदा गरेर माघ ९ गतेदेखि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालनको तयारी गरिरहेको आदर्श आजाद माविका प्रधानाध्यापक श्रीकृष्ण किसीले बताउनुभयो । उहाँले विगतको अनुभवलाई पनि ध्यानमा राखी कक्षा ३ सम्मलाई हप्ताको एक–दुई दिन विद्यालयमा बोलाएर वर्कसिट दिने तरिका अपनाइने र अन्य कक्षालाई अनुकूलता हेरी अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
भीम आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक दीपक माकले आधारभूत विद्यालयहरूमा विद्यार्थी सङ्ख्या कम हुने भएकोले आवश्यक सुरक्षा नियम पालना गरी भौतिक कक्षा नै प्रभावकारी हुने बताउनुभयो । यद्यपि, उहाँले कोभिडको सङ्क्रमण दर हेरी माघ ९ गतेदेखि कसरी अघि बढ्ने भन्ने कुरा टु·ो लाग्ने बताउनुभयो ।
“विगतमा भक्तपुर नगरपालिकाले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकाअनुसार आलोपालो कक्षा, अनलाइन कक्षा र वर्कसिट वितरणजस्ता पद्धति अपनाएका थियौँ । सङ्क्रमण दर बढ्दै गए माघ ९ गतेबाट त्यही पद्धतिमा जानेछौँ । तर, सकभर भौतिक कक्षा हुँदा नै सिकाइ प्रभावकारी हुने विगतको अनुभवले देखाएको छ”, प्रधानाध्यापक माकले बताउनुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले माघ ६ गतेदेखि विद्यालयको कक्षा तालिकाअनुसार नै अनलाइन कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । “प्रयोगात्मक कक्षाको सट्टा सैद्धान्तिक कक्षा हुनेछन् । त्यसबाहेक विद्यालयमा जस्तो कार्यतालिका लागु हुँदै आएको हो, त्यस्तै खालको कार्यतालिका चलाउने छौँ”, उहाँले भन्नुभयो ।
जेन्युइन सेकेन्डरी स्कूलका प्रधानाध्यापक योगेन्द्रमान बिजुक्छेँले आफ्नो विद्यालयमा माघ २ गतेबाट नै अनलाइन कक्षा सुरू भइसकेको बताउनुभयो । “माघको तेस्रो सातादेखि मात्र सङ्क्रमण दर कम हुँदै जाने पूर्वानुमान छ । त्यत्तिबेलासम्म अनलाइन कक्षा सञ्चालनको विकल्प नै भएन । त्यसपछि परिस्थिति हेरी अघि बढ्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।
“हाल नर्सरी र केजीलाई बिहान आधा–आधा घण्टाका दुई कक्षा, कक्षा १ देखि ५ सम्म चार वटा कक्षा र कक्षा ६ देखि १० सम्म चार–पाँच वटा कक्षा अनलाइन माध्यमबाट चलाइरहेका छौँ । नर्सरी र केजीबाहेक अरू विद्यार्थीहरू बिहान ११ देखि ३ः३० बजेसम्म अनलाइन कक्षामा संलग्न हुन्छन्”, प्रधानाध्यापक बिजुक्छेँले भन्नुभयो ।
प्रभावकारी छैन अनलाइन कक्षा
महामारीको कारण वैकल्पिक शिक्षण तरिकाको रूपमा सञ्चालनमा ल्याइएको अनलाइन कक्षा सिकाइको हिसाबमा प्रभावकारी नभएको अधिकांश शिक्षकहरूको अनुभव छ । ख्वप उच्च माविका प्राचार्य श्रेष्ठ पढाइमा ध्यान दिने र मिहिनेत गर्ने १०–१५ प्रतिशत विद्यार्थीको लागि यो पद्धति प्रभावकारी देखिए पनि पढाइमा कम ध्यान दिने विद्यार्थीको लागि अनलाइन कक्षा कम प्रभावकारी भएको बताउनुभयो ।
जेन्युइन सेकेन्डरी स्कूलका प्रधानाध्यापक बिजुक्छेँको अनुभव पनि उस्तै देखिन्छ । “केही उपाय नभएको अवस्थामा अनलाइन कक्षा सञ्चालन गरेका छौँ । तर, खास यो माध्यम त्यत्ति प्रभावकारी छैन”, उहाँले भन्नुभयो ।
केही विद्यार्थीले अनलाइन कक्षामार्फत धेरै अतिरिक्त कुरा सिकेको तर अधिकांश विद्यार्थी भने अनलाइन कक्षा बस्दा माइक र भिडियो अफ गरेर अन्यत्र बढी भुल्ने गरेको उहाँको निष्कर्ष छ ।
विगतमा सञ्चालन गरेका अनलाइन कक्षाको समीक्षा गर्दा अनलाइन कक्षाले विद्यार्थीहरूको लेख्ने, नोट बनाउने र गणितको अभ्यास गर्ने बानी निकै कम गरेको पाइएको बिजुक्छेँले बताउनुभयो ।
“तर, केही विद्यार्थीहरूले भने आफै पनि इन्टरनेटबाट विषयगत जानकारी हासिल गरी थप मिहिनेत गरेको देखियो”, उहाँले भन्नुभयो ।
सहकार्यात्मक पाठ योजना (कोल्याब्रेटिभ लेसन प्लान) भन्ने अवधारणाको प्रयोगबारे अनुभव सुनाउँदै उहाँले विशेषतः प्राथमिक र आधारभूत तहका विद्यार्थीको निम्ति अभिभावकसमेतको संलग्नतामा हुने यो अवधारणाबाट सिकाइ प्रभावकारी भएको बताउनुभयो ।
अनलाइन कक्षाको सन्दर्भमा सामुदायिक विद्यालयहरूको अनुभव भने फरक खालको छ ।
“विद्यालयमा जस्तै दिनभर कक्षा सञ्चालन गर्दा मोबाइल सेटको व्याट्रीले नै नधान्ने पनि धेरै विद्यार्थी पाइयो । अनलाइन कक्षाको लागि उपयुक्त मोबाइल नै नहुने विद्यार्थी पनि धेरै छन् । त्यस्तो अवस्थामा अनलाइन कक्षा कसरी प्रभावकारी होला र ¤”, प्रधानाध्यापक किसीले बताउनुभयो ।
अनलाइन कक्षा भन्दै विद्यार्थीले इन्टरनेटका अन्य कुरामा बढी समय खेर फालिरहेको अभिभावकहरूको गुनासो भएको सुनाउँदै उहाँले यो क्रममा विद्यार्थीहरूले टिकटक बनाउने र अनलाइन गेम खेल्न बढी सिकेको बताउनुभयो ।
अनलाइन कक्षामा सिकाइएका कुरा पछि भौतिक कक्षामा दोहो¥याउनु परेको प्रअ किसीले सुनाउनुभयो ।
सुरूको चरणमा भन्दा अहिले शिक्षकहरू प्रविधिमैत्री भए पनि अझै पनि प्राविधिकरूपमा शैक्षिक सामग्रीको प्रयोग गर्न शिक्षकहरूलाई तालिमको खाँचो भएको उहाँको भनाइ छ ।
भीम आदर्श आविका प्रअ दीपक माक पनि आधारभूत तहमा अनलाइन कक्षा प्रभावकारी नभएको स्वीकार्नुहुन्छ । सामुदायिक आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकहरूले अनलाइन कक्षाको लागि आवश्यक सामान उपलब्ध गराउन नसक्ने अवस्थामा भौतिक कक्षा नै उपयुक्त देखिएको उहाँको अनुभव छ ।
विद्यार्थी सङ्ख्या कम भएका आधारभूत विद्यालयको लागि सुरक्षा मापदण्ड पालना गरी आलोपालो कक्षा नै प्रभावकारी हुने प्रअ माकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *