भर्खरै :

महामारीकालीन अनुदान र छुटको लाभ धनीलाई, संसारमा बढ्यो गरिब

काठमाडौँ, ६ माघ । कोभिड–१९ महामारीको कारण बितेका दुई वर्षमा १६ करोडभन्दा बढी मानिस गरिबीको दलदलमा जाकिएका छन् । स्वयम्सेवी सङ्गठनहरूको महासङ्घ अक्सफामले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यो अवधिमा संसारका यति धेरै मानिस गरिब बन्दै गर्दा संसारका सबभन्दा धनी दस जना मानिसको सम्पत्ति भने बढेको छ । उनीहरूको सम्पत्ति दोब्बरभन्दा बढी गुणाले बढेको बताइएको छ । संसारका सबभन्दा धनी दस जनाको सम्पत्ति यो अवधिमा ७ खर्ब अमेरिकी डलरबाट बढेर १५ खर्ब अमेरिकी डलर पुगेको छ । संसारका सबभन्दा गरिब ३ अर्ब १० करोड मानिसभन्दा ती दस जना धनीको सम्पत्ति छ गुणाले बढी छ । तथ्याङ्कले अर्बपतिहरूको सम्पत्ति सन् २०२० को मार्च महिनामा ८६ खर्ब अमेरिकी डलरबाट बढेर सन् २०२१ को नोभेम्बर महिनामा १३ शङ्ख ८० खर्ब पुगेको छ । बितेका चौध वर्षमा बढेको कुल सम्पत्तिभन्दा पछिल्ला दुई वर्षमा बढेको सम्पत्ति ५० खर्ब अमेरिकी डलरले बढी छ ।
संरा अमेरिका र अन्य विकसित देशहरूले लागु गरेको ‘ठूलो परिमाणको प्रोत्साहनकारी नीति’ र विभिन्न माध्यमबाट दिइएको छुटको पैसाले यस्तो चरम विभेद देखिएको हो । महामारीको नाममा विकसित देशका सरकारले खोलेका यस्ता ‘वैधानिक’ बाटोबाट धनीहरूले लाभ उठाए । पछिल्ला दशकहरूमा जब जब विश्वव्यापी सङ्कटहरू देखापर्छ, यस्तै अवस्था बारम्बार दोहोरिने गरेको छ । सन् २००८ को अन्तर्राष्ट्रिय वित्तीय सङ्कटको बेला संरा अमेरिकी सरकारले दिएको अनुदानको अमेरिकी ठुला वाल स्ट्रिट कम्पनीहरूले लाभ उठाएका थिए । यस्ता अनुदान बेरोजगारीजस्ता सामाजिक समस्याको खास समाधानमा रूपान्तरण हुनसकेको थिएन । बरू धनी व्यापारीहरूबीच मोटो लाभांश वितरण गर्न प्रयोग गरिएको थियो । संरा अमेरिकाका सबभन्दा ठुला वाल स्ट्रिट बैङ्कहरू मोर्गन स्टान्ले, जेपी मोर्गन चेज र गोल्डम्यान स्चजहरूले त्यो अवधिमा अहिलेसम्मकै सबभन्दा बढी २९ खर्ब ७० करोड अमेरिकी डलर बराबरको लाभांश वितरण गरिएको थियो । त्यसैको झोंकमा संरा अमेरिकी विपन्न वर्गले ‘वाल स्ट्रिट कब्जा गर’ आन्दोलन छेडेका थिए ।
खासमा आजको सामाजिक सङ्कट समाधान गर्न पुँजीवादी व्यवस्थाको यो प्रणालीगत असफलता हो । पुँजीवादी व्यवस्थाले पहिलेदेखि नै केही लोककल्याणकारी बन्दोबस्त र करजस्ता माध्यम प्रयोग गरी केही हदसम्म धनी र गरिबबीचको दुरीलाई दबाइराखेको थियो । तर, यसो गर्दैमा खास समस्या समाधान हुनसक्दैन । ती समस्या बारम्बार सतहमा आइरहनेछ र अवस्थालाई अझ खराब बनाउने गरेको छ । संरा अमेरिका र अन्य धेरै विकसित देशहरूमा अहिले आम्दानीको दुरी सन् १९२९–१९३२ को ठुलो आर्थिक मन्दीअघिको अवस्थालाई नाघिसकेको छ । विज्ञान र प्रविधिको विकासले सामाजिक धन उदयीमान क्षेत्रका केही ठुलाहरूको हातमा केन्द्रित हुने अवस्था छ । जसले धनीलाई अझ धनी र गरिबलाई अझ गरिब बनाउँदै लाने गम्भीर परिणाम निम्त्याउने गर्छ ।
केही देशमा सम्पत्तिमा असमानताको अर्थ एकै खालका सामाजिक जोखिम सामना गर्न भिन्न भिन्न सामाजिक समूहको भिन्न भिन्न क्षमता हुनु हो । महामारीमा धनीले निकै सजिलै खोप पाए र महामारीले निम्त्याएको आर्थिक जटिलताबाट जोगिन बाक्लो ‘सुरक्षाकवच’ उपभोग गर्न पाए । तर, गरिब जनता उही आँधीको सामना गर्न कममात्र सक्षम भए । गरिब देशसँग भएको सम्पत्ति महामारीको बेला खुम्चिंदै गयो जसले जोखिम सामना गर्ने उनीहरूको क्षमतालाई अझ कमजोर बनायो । धनी र गरिबबीचको दुरी अहिले विभिन्न देशहरूमा अहिले प्रतिबिम्बित भएको छ । उच्च आम्दानी भएका देशहरूको खोप दर अहिले न्यून आय भएका देशहरूको तुलनामा धेरै गुणा बढी छ । विकसित देशहरूको तुलनामा विकासशील देशहरूलाई आफ्नो अर्थतन्त्र महामारीअघिको अवस्थामा फर्काउन अझ धेरै समय लाग्नेछ । उत्तर (विकसित) र दक्षिण (विकासशील) विश्वबीचको फराकिलो बन्दै गएको दुरीले महामारीपछिको अन्तर्राष्ट्रिय अवस्थालाई प्रस्ट प्रभावित पार्नेछ ।
द ग्लोबल टाइम्सबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *