भर्खरै :

सोभियत सङ्घका मार्सल जुकोभको सम्झना र संस्मरणबारे चर्चा–३

गृहयुद्धमा ऐतिहासिक विजयपछि रुसी जनता शान्तिपूर्ण जीवन यापनमा फर्के । तर, युद्धहरूले थला पारेको अर्थतन्त्र उठाउनुपर्ने चुनौती थियो । अर्थतन्त्रको हरेक पक्षमा ठूलो क्षति पुगेको तत्कालीन अवस्थामा पुनर्निर्माणको प्रश्न असाध्यै महत्वपूर्ण बन्यो । उद्योग, कृषि र यातायातजस्ता महत्वपूर्ण आर्थिक खम्बाहरू नै जीर्ण अवस्थामा पुगिसकेका थिए । त्यो परिस्थितिमा सोभियत सरकारले विजयी सेना अर्थात् फौजलाई देशको अर्थतन्त्र निर्माणमा खटाउने नीति लियो । सेना र हातहतियारमा हुने खर्च तत्कालका लागि सङ्कुचन गर्ने र सुविधाहरू कटौती गर्ने नीति बनायो । त्यति नै बेला देशको रक्षा र प्रतिकारात्मक क्षमता कायम राख्ने, बलियो बनाउने प्रश्न पनि त्यति नै महत्वपूर्ण थियो । लेनिनले भन्नुभएको थियो– “रूसविरुद्धको युद्ध आपूmलाई शक्तिशाली मान्ने देशहरूका निम्ति पनि महँगो बन्यो । हामीले हामीविरुद्ध युद्ध थोत्ने कुचेष्टा नगर्न विश्वलाई पाठ सिकाएका छौँ । यद्यपि, लामो समयसम्म युद्ध नहोला भन्ने ग्यारेन्टी छैन । हामी तयार रहनु पर्छ ।”
सोभियत सरकारले सन् १९२०–१९२१ को समयमै केही सेनालाई पूर्ण र आंशिक गरी देशको पुनः व्यवस्थापनमा खटाइसकेको थियो । ऊर्जा, कच्चापदार्थ र कृषिजन्य वस्तु उत्पादन वृद्धिमा श्रम सेनाले सुरुआति दिनमै महत्वपूर्ण योगदान पु¥यायो । सन् १९२४ सम्ममा सेनाको सङ्ख्या ५ करोड १० लाखबाट ५ लाख ६२ हजारमा झरेको थियो । किसानहरू युद्ध मैदानमा सेनाका रूपमा थिए । गाउँ–गाउँबाट उठेका श्रमिक थिए । ती युद्धपछि गाउँ फर्के र आ–आप्mनो क्षेत्रको पुनः व्यवस्थापन र पुनर्निमाणमा लागे । सोभियत रूसले सेना र सैन्य मामिलाको आधुनिकीकरणलाई जोड दिन थाल्यो । सङ्ख्याभन्दा गुणात्मक परिवर्तनमा ध्यान दिन सके देशको चौतर्फी विकास हुने सोचअनुरूप अघि बढ्यो । लालसेनालाई प्राविधिक र सैद्धान्तिकरूपमा परिपक्व बनाउने योजना अगाडि बढाइयो । प्राविधिक तयारीका निम्ति सेनालाई मेसिनगन, तोपखाना, कवच, उड्डयनलगायत धेरै सामग्रीहरूको जरुरत पथ्र्याे । यो विषयमा रुसी कम्युनिस्ट पार्टीले १० आँै र १२ औँ काङ्ग्रेस (पार्टी परिषद्) मा व्यापक छलफल ग¥यो । त्यो छलफलले ‘लालसेनाको पुनर्सङ्गठन’ आवश्यक रहेको ठहर ग¥यो । सोभियत रूसका निम्ति नियमित सेना, परिकल्पना गरिएअनुरूपको मिलिसिया निर्माण र सोभियत सैन्य विज्ञानको विकास गर्न मद्दत गर्ने निष्कर्ष निकालियो । १० औँ काङ्ग्रेसले शान्तिपूर्ण समयमा सैन्य निर्माणको लेनिनवादी नीतिलाई अगाडि सा¥यो । परिषद्मा केही व्यक्तिले लालसेना विघटन गर्नुपर्छ भन्ने तर्कपनि राखेका थिए । त्यो गलत थियो । लालसेना विघटन गरी मिलिसियामा जाने योजना गलतमात्र होइन खतरनाक पनि थियो ।
युद्धको समयमा र त्यसपछि पनि लालसेनाले कहिल्यै सुविधाको कुरा गरेन । व्यवस्थित ब्यारेक र कमान्डरहरूका निम्ति घरको व्यवस्था थिएन । प्राप्त कोठाहरू पनि असाध्यै अव्यवस्थित थिए । लालसेना जनताबीच बस्थे, गाउँ गाउँमा किसानहरूको छाप्रोमा बस्थे । किसानहरूको भान्सामा खाना पाक्थ्यो । घोडाहरू किसानका व्यक्तिगत जग्गामा राखिन्थ्यो । देशको अवस्था र परिस्थितिलाई बदल्न लालसेना कठिनतम समय सामना गर्न तयार थियो । लालसेनाका कमान्डर, कमान्ड गर्ने अधिकारीहरू अधिकांश बलियो आत्मबलसहितका युवा थिए । जोस र दृढताका साथ देशको सेवामा समर्पित थिए । तीमध्ये अधिकांश अविवाहित थिए । सेवाको विषयमा चिन्ता र चिन्तनबाहेक तिनीहरूसँग केही व्यक्तिगत जिम्मेवारी थिएन भन्दा अत्युक्ति हुँदैन । दिनको १५–१६ घण्टा काम गरेर पनि अपुग हुन्थ्यो ।
मार्सल जुकोभ पनि त्यही कमान्डर टोलीमै हुनुहुन्थ्यो । सोभियत रूसले भोली हुनसक्ने युद्धहरूको सामना कसरी गर्छ ? भन्ने प्रश्नमा जुकोभहरू चिन्तन गर्नुहुन्थ्यो । तत्कालीन समयको घोडचढी सेना अर्थात् जुकोभ लगायतका सेना कमान्डरहरूको क्षेत्रमा अब्बल तालिमको आवश्यकता बोध गरियो । भविष्यमा शत्रुले झन् शक्तिशाली भई हमला गर्नेछन् र त्यसका निम्ति रूसको सेना अर्थात् रूसको सैन्यमामिला शक्तिशाली बनाउन जरुरी थियो । वास्तवमै आधुनिक युद्धकलामा कमान्डरहरूको ज्ञान र सीप अभाव भएकै हो । जुकोभका अनुसार गृहयुद्धमा विजयपश्चात् पनि सेनालाई त्यही पुरानो जारकालीन सेनालाई जस्तैमात्र तालिम गरियो । राम्रो तालिमको व्यवस्थाका लागि कमान्डरहरू पहिले सेना विज्ञानबारे जानकार हुनुपर्दछ, आधुनिक हातहतियार चलाउने कौशल सिक्नुपर्दछ । त्यसकारण सम्पूर्ण कमान्डरहरूलाई एक चरणमा सैन्य–राजनीतिक कोर्स र एकेडेमी सञ्चालनका निम्ति सरकार र कम्युनिस्ट पार्टीले पहल ग¥यो ।
देशको रक्षामामिला बृहत्तर विज्ञानसँग जोड्न सेनालाई अध्ययन गराउनैपर्छ भन्ने मान्यता विकास भयो । राजनीतिक र सैद्धान्तिक परिपक्वतासहित सैन्य विज्ञानको अध्ययन सहजै उपलब्ध थिएन । स्वाअध्ययनलाई महत्व दिइयो । त्यतिबेला जुकोभ बुजुलुक घोडचढी फौजको कमान्डरमा नियुक्त हुनुभयो । त्यो अत्यन्त महत्वपूर्ण र जिम्मेवार पद थियो जुकोभका लागि । कुनै क्षेत्रको कमान्डर बन्नु भनेको सैन्यकलामा निपुण बन्ने मौका हो, नेतृत्व कौशल विकास गर्ने मञ्च पनि हो ।
गृहयुद्धको अन्त्यसम्ममा करिव २०० वटा सैन्य सेवाका विद्यालयहरू थिए । जहाँ पार्टी कार्यकर्तालाई पनि तालिम दिइन्थ्यो । सन् १९२० सम्म कमान्डर कोर्सले करिब २६ हजार लालसेनालाई कमान्डरको रूपमा तालिम दियो । सेना र रक्षामामिलामा बृहत् पाठ्यसञ्जाल, विद्यालय र एकेडेमीहरू धमाधम स्थापना गरियो । त्यसले सर्वहारावर्गका सेनालाई कमान्डर बनाउने, राजनीतिक कार्यकर्तालाई सेनाको कमान्डर बनाउने महत्वपूर्ण कार्यमा सघायो । सेना र कमान्डरहरूलाई स्व–अध्ययन गर्न पार्टीले हौस्याइरहन्थ्यो । सन् १९२३ मा पहिलो पटक जुकोभले नेतृत्व गरेको घोडचढी फौजका लागि तालिम क्याम्प सञ्चालन हुँदैथियो । नयाँ अवस्थामा त्यो तालिम कस्तो हुन्छ भन्ने कसैलाई अनुमान थिएन । तर, राजनीतिक प्रशिक्षक, जङ्गी जहाजको टोली कमान्डरको प्रशिक्षण पहिलो चरणमै निकै प्रभावकारी रह्यो ।
जुकोभले पुस्तकमा ए. एम यानिनलाई सम्झनुभएको छ । यानिन एक कमिसारमात्र थिएनन् कट्टर कम्युनिस्ट र असल व्यक्ति थिए । सेना र फौजका असाध्यै प्रिय कमान्डर थिए । सेना तालिमहरूमा उनको नम्र र हृदयस्पर्शी मन्तव्यले सेनालाई उत्साहित बनाउँथ्यो । सन् १९४२ मा युरोपेली उद्गमका गोरा सेनाको हमलाको प्रतिकार युद्धमा उनको मृत्यु भयो । त्यही मैदानमा उनका देशभक्त छोरा पनि मारिए । यानिन र उनको परिवार नै देशका निम्ति बलिदान भएको सोभियत रूसको इतिहास वीर योद्धाहरूले बगाएको रगतको गौरवको इतिहास हो भन्नुहुन्छ, जुकोभ ।
त्यसपछि त्यसक्षेत्रको नेतृत्व जी.डी. गाइले गरे । उनीसँगको सहकार्यको लामो कथा जुकोभले पुस्तकमा लेख्नुभएको छ । सेनालाई घोडसवार र रणनीतिक अभ्यासहरू सिकाउनुका साथै कम्युनिस्ट बन्न सिकाउनु गाइको विशेषता थियो । जुकोभ लगायतका कमान्डरहरूले नेतृत्व गरेको पहिलो तालिम क्याम्प उपलब्धिसाथ समापन भएपछि ओर्सामा जिल्लास्तरिय खेलमैदानका निम्ति खटाइयो । एक दिन ओर्साको रेलवे स्टेसनमा शत्रुले हमला गर्दै छ भन्ने सङ्केत मिल्यो । जुकोभको नेतृत्वमा मस्को ओर्सा रेलवे स्टेसनमा सेना खटाइयो । तालिममा सिकेका युद्धकौशल प्रदर्शनी गर्ने राम्रो मौका साबित भयो । त्यसपछि जुकोभको फौज मिन्स्कतिर लाग्यो जहाँ सेनाको स्थायी क्वार्टरहरू थिए । सहरमा बाटोभरि मानिसहरू लाइन लागेर सेनाको सम्मानमा उभिएका थिए । जनताको प्रगाढ प्रेम सोभियत सेनाले प्राप्त गरेको थियो । जनताको साथ र सद्भाव सोभियत आर्मीको ऊर्जा थियो । जारविरुद्ध युद्ध, किल्जार, अस्ट्राखान, पुगाचेभ्स्क र बुजुलुकमा बहादुरीसाथ लडेका सिपाहीहरूको स्मरण जुकोभले गर्नुभयो । सोभियत शक्तिका निम्ति गोरा सेना र प्रतिक्रान्तिकारीहरूसँग नझुकी लडेका थुप्रै सेनाहरूको कहानी पुस्तकमा छ । जुकोभले नेतृत्व गरिरहनु भएको सातौँ डिभिजनमा गृहयुद्धको कठिनाइ सामना गरेका सेनाहरू थिए । ती सब आपूmले लडेको युद्ध स्मरण गर्र्दै आप्mनो अनुभवलाई तिखार्दै नयाँ सम्भावित हमलाविरुद्ध जाइलाग्न तयार थिए ।
तालिम र सिकाइमा सैद्धान्तिक र प्रयोगात्मक दुवै शैली अनिवार्य थियो । प्रथम विश्वयुद्धको पेरिफेरीको विश्लेषणसँगै नयाँ युद्धकौशलको सिकाइ जरुरी थियो । सेनामा समयको महत्व निकै हुन्थ्यो । एक मिनेट पनि फजुल खर्च नगरी दत्तचित्त सिकाइमा लागेका सेनाले बढी योगदान पु¥याउने पक्का थियो । जुकोभ कडा मेहनतसाथ अध्ययनमा जुट्नुभएको र फौजलाई उत्प्रेरणा दिनुभएको सन्दर्भ पुस्तकमा छ । फौजीहरूले करिब ३–४ घण्टा स्व–अध्ययनमा बिताउँथे । यसले सेनाको प्रमुख क्षेत्र र केन्द्र निकै बलियो बन्यो । यद्यपि, सेनाका निम्ति आवश्यक सामग्री पूर्ति अपर्याप्त थियो । टोलीहरू तुरुन्तै युद्धका निम्ति तयार हुने अवस्था थिएन । यस्तो अवस्थाबारे पार्टीलाई अवगत भएपछि तुरुन्तै युद्ध विभाग, फौजका ब्यारेकहरू अवलोकन हुन्थ्यो । नयाँ कार्यदिशाबारे सघन छलफल चल्थ्यो । बलियो सेनाका लागि सैन्य सुधार आवश्यक रहेको छलफल पार्टीले अनुमोदन गथ्र्याे ।
सैन्य सुधारका लागि पहिलो सर्त लालसेना समायोजन नै थियो । लालसेना समायोजनको क्षेत्रीय सिद्धान्तलाई कार्यकर्ता सिद्धान्तसँग जोडेर अघि बढाइयो । क्षेत्रीय सिद्धान्त पैदल सेना र घोडचढी डिभिजनहरूमा लागु गरियो । यस डिभिजनका करिब १६ देखि २० प्रतिशत कमान्डरहरू पार्टी कार्यकर्ता, राजनैतिक अगुवा र सेना थिए । तिनका लागि तत्काल तालिमको बन्दोवस्त भयो । बाँकी समय ती सेना कमान्डरहरू उद्योग र कृषि क्षेत्रमा काम गर्थे । यो नीतिले तत्काल नै उपलब्धि हासिल भयो । एकातिर कार्यकर्ताहरूले आ–आप्mनो क्षेत्र र जिम्मेवारी पाए भने अर्कोतिर देशको रक्षामामिलामा सघन सुधार हुँदै थियो ।
सैन्य मामिला सुधारका निम्ति कानुनहरू पनि निर्माण गरियो । साथै, जनताका कमिसारहरू, आयोगहरू खडा गरियो । जुकोभले एक विलक्षण प्रतिभाशाली सेना, नेता र कम्युनिस्ट एम.भी.फ्रन्स सँग काम गर्दाको अनुभव साट्नुभएको छ । गृहयुद्धका नायक भनेर चिनिने भी.के ब्लुचरबारे लेख्न छुटाउनुभएको छैन । युद्ध मैदानमा सेना र फौजको लापरबाही देशको निम्ति निकै महँगो पर्ने अर्थात् देश हार्न सक्ने हुँदा सेना सदैव सतर्क, इमानदार, अनुशासित र तत्पर रहनुपर्नेमा ब्लुचर सदा जोड दिन्थे । रणकौशल सिकाउनुपर्नेमा ब्लुचर सदैव जोड दिन्थे । उनी फौजलाई शारीरिकमात्र नभई भावनात्मक रूपमा पनि बलियो बन्नुपर्ने सन्देश दिइरहन्थे । जन्मभूमि या मातृभूमिले रगत मागे आफैलाई बलिदान गर्न तयार बन्नु भन्ने आग्रह गरिरहन्थे । ब्लुचरको इमानदारी, उत्साह र आत्मगौरव जुकोभका निम्ति उत्साह बन्यो । निडर र निःस्वार्थ लडाकु ब्लुचर फौजभित्र धेरैका आदर्श थिए ।
समयसँगै सैन्य क्षेत्रमा नयाँ नयाँ प्रविधि र आधुनिकता विकास हुँदै गयो । हरेक दिन नयाँ खोज र अनुसन्धान जारी थियो । सोभियत रूसको भविष्य सुनिश्चित हुन्छ भन्ने थाहा थियो । त्यसकारण, सैन्यमामिलाका समस्याहरू, सेनाभित्रका समस्याहरूको व्यवस्थित अध्ययन जरुरी थियो । व्यवस्थित अध्ययन र समाधानका उपायहरूका निम्ति लेनिनग्रादको उच्च घोडचढी स्कुलसँग जुकोभले सम्पर्क राख्नुभयो । त्यहाँको सिकाइलाई तुरुन्त आपूm नेतृत्वको फौजमा अभ्यास गर्नुभयो । लेनिनग्रादमा पहिलोपटक पुग्दा उहाँले दृष्यहरूमै अक्टोबर समाजवादी क्रान्ति देख्नुभयो । नाजी सेनाविरुद्ध विरतापूर्वक लडेको लेनिनग्राद जुकोभको निम्ति आस्थाको केन्द्रमात्र होइन, सिकाइको अनुपम भूमि पनि साबित भयो । पार्टी सङ्गठन र सामाजिक–राजनीतिक गतिविधिबीच तालमेल मिलाउँदै अघि बढिरहेका अनुभवी कामदार र कार्यकर्ताहरूले अक्टोबर क्रान्तिको गरिमा बचाइरहेको अनुभव गर्नुभयो । लेनिनग्राद रहँदा सरद र हिउँदमा तालिम सैद्धान्तिक र राजनीतिक कक्षामा परिणत हुन्थ्यो भने वर्षे सेसनमा रणनीतिक युद्ध कौशल सिकाइन्थ्यो । जुकोभ एकपटक छुट्टीमा घर जानुभएको स्मरण छ – पुरै गाउँमा युद्धको प्रभाव बाँकी थियो । सन् १९२०–२१ को समय निकै कष्टसाध्य भएको कुरा गाउँबाटै जुकोभले थाहा पाउनुभयो । युद्धमा गाउँ पूरै भोकमरीले थला पारेको थियो । जुकोभ पुग्दा पनि गाउँवासी उठिसकेका थिएनन् । किसानहरू असाध्यै कमसल कपडा लाउँथे । घरपालुवा जनावरको सङ्ख्या स्वाट्टै घटेको थियो । कति खानै नपाएर मरे । यद्यपि, जनताको कुनै गुनासो थिएन । तिनलाई थाहा थियो – केही वर्ष भोक र गरिबी सहेनौँ भने युग–युगसम्म दासताको सिक्रीले बाँधिनुपथ्र्याे । धनी किसान र व्यापारीहरूले गरिब किसानलाई दुःख दिन कहिल्यै छोड्ने थिएनन् । सोभियत रूसले सुरु गरेको नयाँ आर्थिक नीतिले गाउँको मुहार फेरिनेछ भन्ने विश्वास गाउँका बासिन्दासँग थियो । सबैभन्दा महत्वपूर्ण कुरा लालसेना र सोभियत सरकारले आफ्नो भाग्य परिवर्तन गर्छ भन्ने दृढविश्वास थियो । कम्युनिस्ट कमान्डरहरूसँग ती निर्धक्क आप्mनो समस्या राख्थे । देशको निम्ति लड्ने, ज्यान दिने फौजप्रति तिनको ठूलो सहानुभूति र प्रेम थियो ।
एकजना फौजी प्रतिभाशाली, शिक्षित, बलियो बन्नु जरुरी छ तर त्योभन्दा बढी कम्युनिस्ट बन्नु, असल बन्नु र जनताको बन्नु महत्वपूर्ण पक्ष हो । एक क्रान्तिकारी फौजी बन्न सोभियत सेनाको मूल्यमान्यता र ‘One-Man command’ अर्थात् एक – व्यक्ति निर्देशनको नीति, कमिसारको आवश्यकतालाई ध्यान दिनुपर्छ । त्यतिमात्र होइन कम्युनिस्ट सिद्धान्त र विचार एवम् रणकौशलमा अब्बल हुन जरुरी हुन्छ ।
सेना कमान्डर पार्टीको एक जिम्मेवार पद हो । सेना जीवन सरल र उच्च बनाउन पार्टीले नै भूमिका खेलेको हुन्छ । अनुशासन र पार्टी नैतिकता सोभियत सेनाको गहना नै भन्दा फरक पर्दैन । पार्टीले अङ्गीकार गरेको माक्र्सवाद–लेनिनवादलाई राम्रो बुझेको र पढेको कमान्डरले बढी योगदान पु¥याउन सक्दछ । सेना विशेषतः प्रशासनिक मामिलामा बढी अल्झने हुँदा तालिमकै दौरान सेना र कमान्डरहरूलाई माक्र्सवाद र लेनिनवादको कक्षाहरू सञ्चालन गरिन्थ्यो । अध्ययन, अन्तरक्रिया सञ्चालन गरिन्थ्यो । बेतुक र बेअर्थको गन्थन सेनाभित्र मनाही थियो ।
सेना युद्धको औजार हो, सेनाको मुख्य उद्देश्य शत्रुसँग भिड्नु हो । सङ्घर्षमा जितका निम्ति बलमात्र भएर पुग्दैन बुद्धिमत्तापूर्ण चातुर्य जरुरी हुन्छ, रणनीतिक कौशल आवश्यक हुन्छ । यसको अभावमा अनावश्यक हार र क्षति व्यहोर्नुपर्ने हुन्छ । स्तालिनग्रादमा भएको तालिम, बेलारूसको कम्युनिस्ट फौजबारे जुकोभले लेख्नुभएको छ । साथै, गृहयुद्धको अर्को प्रतिभाशाली योद्धा यगोरोभबारे लेखिएको छ ।
सन् १९३० तिर जुकोभ ७ औँ डिभिजनको दोस्रो घोडचढी ब्रिगेडको कमान्डरमा चुनिनुभयो । सन् १९२४–२५ मा लेनिनग्रादमा दिइएको तालिम नेतृत्वका लागि फलदायी साबित भयो । त्यहाँ बटुलेको अनुभव महत्वपूर्ण सिकाइ थियो ।
सोभियत सैन्यविज्ञानले विश्वमै आप्mनो स्थान बनाउन थालेको थियो । एम.भी फ्रन्जले गरेका कार्यहरूमा त्यो प्रतिविम्बित हुँदै गयो । भविष्यको युद्धमा मानिस र प्रविधिबीचको सहकार्य तथा सम्बन्धबारे पनि फ्रन्जले व्याख्या गरेका थिए । युद्धकोे उद्देश्य, युद्धको प्रकृति, हातहतियारका विकासक्रम र मानिसको कौशलले जितहारको निर्धारण हुने सत्य उजागर हुँदै गयो । सैन्य क्षेत्रको अनुभवलाई दस्तावेजीकरण गर्नु र अनुभवलाई सिद्धान्तको रूपमा विकास गर्नुले सम्भावित युद्धहरू टर्छ । फौजको गतिशीलता, व्यवस्थापन र हातहतियारको वर्गीकरणले पनि युद्धमा हारजित हुनसक्दछ । युद्धकला, नीति र सिद्धान्तलाई लिपीबद्ध छलफल गर्नुपर्नेमा फ्रन्ज जोड दिन्थे । सेनाका आधारभूत मूल्यमान्यता, सेनाको मस्तिष्कबारे बेलाबखत भएको छलफलका निष्कर्ष व्यवहारमा उतार्न आवश्यक थियो । यगोरोभले लेखेको युद्धसम्बन्धी पुस्तक, भी.के त्रियान्दाफिलोभले तयार पारेको ‘मोर्डन आर्मीको अपरेसन’ नामक पुस्तकहरूबारे पुस्तकमा चर्चा छ । त्रियान्दाफिलोभले प्राविधिक युद्धसामग्री र सङ्गठनलाई महत्व दिएका छन् । आक्रमण र प्रतिरोधका गतिविधि सञ्चालनबारे पनि बोलेका छन् ।
सन् १९२५ पछि सोभियत सङ्घले आप्mनो अर्थतन्त्रको आधारशीला निर्माणमा हातहतियार उत्पादनलाई पनि जोड्यो । विशेषतः प्राविधिक सामग्री, आधुनिक युद्ध सामग्री निर्माणमा जोड दिने सोच अघि सारियो । सेनासम्बन्धी उच्च शिक्षा अध्ययनमा जोड दिइयो । सोभियत मोडलका नयाँ हवाइविमान र इन्जिन निर्माणको प्रयोग सुरु ग¥यो । ७६ मीमी लामो फौजीगन, गैर हवाइविमान गन उत्पादन सुधार गरियो । लालसेना अझैपनि हातहतियारको अपुग महसुस गरिरहेको थियो । साम्राज्यवादी देशहरू भने फेरिपनि युद्धको तानाबाना बुन्दै थिए । हातहतियार, बमबारुद, आणविक हातहतियार निर्माणलाई जोड दिँदै थिए । १ महिनामै ब्रिटेनले २५००, फ्रान्सले १५०० ट्याङ्कहरू उत्पादन गरिसकेका थिए । सोभियत रूसको मुकाबिला पुँजीवादी विश्वसँग हुँदैथियो । यसर्थ, सोभियत रूसले ठूलो–आकारमा हातहतियार उत्पादन नगरेपछि पराजय निश्चित थियो । रक्षा र प्रतिकार मामिलालाई बलियो बनाउने महत्वपूर्ण उपाय हातहतियारको औद्योगिकीकरण, नयाँ खोज अनुसन्धान र प्रयोग नै हो । प्रविधिमैत्री सेना तयारी र प्रविधिको विकासले मात्र साम्राज्यवादी युद्धहरूलाई हराउन सकिन्छ । जुकोभ यो विषयमा सतर्क हुनुहुन्थ्यो । मिन्स्कमा जुकोभको आठ वर्ष र बेलारूसमा भएको तालिमले उहाँलाई सिकाएको बताउनुहुन्छ । उहाँ मस्को जानुभयो र लालसेनाको घोडचढी निरीक्षणालयमा काम गर्नुभयो । चौथौ घोडचढी डिभिजनको कमान्डमा जिम्मेवारी निर्वाह गर्नुभयो । त्यो समयको अनुभव पुस्तकमा सङ्ग्रहित छ ।
बीसको दशकको अन्त्यतिर र तीसको दशकको सुरुआति समयमा अन्तर्राष्ट्रिय परिस्थिति बदलियो । जर्मनी, जापान, इटालीलगायत साम्राज्यवादी देश र एकाधिकार पुँजीका पक्षपाती राज्यहरू ठूलो आर्थिक सङ्कटमा डुबे । सन् १९३१ मा जापानले चीनविरुद्ध युद्ध छेड्यो र मञ्चुरिया हडप्यो । र त्यसको उद्देश्य भनेकै सोभियत रूसविरुद्ध हमलाका लागि स्प्रीङबोर्ड तयार गर्नु हो ।
सन् १९३३ जनवरीमा जर्मनीमा फासीवादी सत्ता उदायो । जर्मनीको फासीवादी सरकारले सुरुमै घोषणा ग¥यो –“हामी विश्व सर्वोच्चता हासिल गर्छौँ ।” त्यसपछि ब्रिटेन, संरा अमेरिका र फ्रान्सले जर्मनीको औद्योगिक क्षेत्रमा सघाउँदै आएका थिए । जर्मनीको ७० प्रतिशत दिर्घकालीन ऋण संरा अकेरिकाबाटै लिइएको थियो । हिटलरको उदयसँगै वैदेशिक पुँजीको लहर सुरु भयो ।
जर्मनी, जापान र इटालीले आप्mनो अर्थतन्त्रलाई सैन्य आवश्यकता पूर्तिसँग जोडे । अझ भनौँ, हातहतियार उत्पादन र निर्यातमा अर्थतन्त्र केन्द्रित गरे । सैन्य बजेट अकाशियो । सम्पूर्ण यूरोपलाई सैन्यमामिलामा अघि बढ्न आर्थिक सङ्कटले रोकिरहेको बेला जर्मन जबर्जस्ती ठूलो आकारको युद्धको तयारी गर्दैथियो । केही समयमै जर्मनीले सेना १० औँ लाखको वृद्धि ग¥यो । साथै, २० लाखको सङ्ख्यामा नाजी अर्धसैनिक दल खडा ग¥यो । शान्तिपूर्ण समयमा इटालीको सेना ४ लाख थियो । युद्धको तयारीसँगै सेनासङ्ख्या ५ गुणाले बढायो ।
यो परिदृश्यमा सोभियत सेनाको व्यवस्थापन र तयारी महत्वपूर्ण बन्यो । सोभियत लालसेनाको सङ्ख्या पनि गुणात्मकता प्रधान प्रश्न थियो । समाजवादी औद्योगिकीकरण, विद्युतीकरण र आधुनिकीकरणले गर्दा तीसको दशकको आर्थिक मन्दीले सोभियत रूसको अर्थतन्त्रलाई छुन सकेन, आर्थिक प्रगति रोकिएन । यद्यपि, विश्वमा नाजी आतङ्कको उदयविरुद्ध लड्न सम्भावित हमलाविरुद्ध सङ्घर्ष गर्न अझै सैन्यमामिला पूर्णतः शक्तिशाली भइसकेको थिएन ।
जर्मनीसँगै अन्य साम्राज्यवादी देशहरूका निम्ति सोभियत सङ्घ अर्थात् समाजवादी बन्दोवस्त टाउको दुखाइको विषय थियो । सोभियत सेनाको बहादुरी देखेको पुँजीवादी विश्वले रूसलाई चारैतिरबाट घेर्ने सम्भावना प्रबल थियो । त्यसका निम्ति सोभियत सरकारले अत्याधुनिक हातहतियार उत्पादन र आविष्कारमा जोड दियो । नयाँ विज्ञानमा लगानी ग¥यो । हातहतियारको सङ्ख्यासँगै गुणात्मकता वृद्धिमा सोभियत रूसले ध्यान दियो ।
रूसका लागि तत्कालको प्रमुख शत्रु जर्मनी नै थियो । जो मात्र ठूलो युद्धको तयारीमा केन्द्रित थियो । त्यो युद्ध निःसन्देह सोभियत रूसविरुद्ध हुने कुरा सोभियत नेतृत्वलाई थाहा थियो । सेना फौजहरूमा त्यही विषय सञ्चार गरियो । जल, स्थल, हवाइदेखि सम्पूर्ण खाले हातहतियार सञ्चालनमा सेनालाई खरो उतार्न सोभियत रूसले विकेन्द्रित सेना स्कुलहरूलाई परिचालन ग¥यो । पैदल, घोडचडी, जङ्गी फौजहरूलाई आ–आप्mनो विषयमा पारङ्गत बन्न युद्धाभ्यासहरू पुनः थालियो ।
कमान्डर टुखाचेभ्स्कोभले सन् १९३६ मा सोभियत सङ्घको विशेष बैठकमै बोलेका थिए –“नाजी जर्मनीको धम्की र आसन्न खतराबारे सचेत रही हामी तयारी गरौँ ! जर्मन सेनाको स्वरूप र आक्रामकतालाई न्यूनाङ्कन नगरी हामी समाजवाद रक्षाका निम्ति तयारी गरौँ !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *