भर्खरै :

सक्वको म राजदास– १२०/नेपालको चुनढुङ्गा र सिमेन्ट उत्पादन

नेपाल विश्व मानचित्रमा एक पहाडी देश हो । नेपालको कुल भू–भागमध्ये अस्सी प्रतिशतभन्दा बढी जमिन डाँडाकाँडा, पहाड र जङ्गलले ढाकेको छ । भूगोलको हिसाबले यी पहाडहरू भर्खरका नयाँ संरचना हुन् । यी पहाडहरूको उचाइ अझै बढ्दै जाने क्रममा छ । नेपालका यी पहाडहरूको सृष्टिको कारण उत्तरमा रहेको तिब्बती चट्टान र दक्षिण भारतमा रहेको डेक्कान पठारको एकआपसमा भइरहेको भौगर्भिक थिचाइले गर्दा हो । यही कारणले गर्दा होला, सायद नेपालका अफ्रिकी महादेशमा जस्तो करोडौँ वर्ष पुरानो पत्थरहरूको बीचमा पाइने हीराजन्य पदार्थहरू यी नवनिर्मित नेपाली पहाडी भागमा पाइँदैन । त्यस्तै अरब मुलुकहरू र रुसी महादेशको टाइगाजस्तो समथर जमिनमुनि पाइने पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास पनि नेपालमा पाइँदैन । तर, नेपालका यी पहाडी भूमि विभिन्न प्रकारका अधातुजन्य (नन्–मेटालिक) खनिज पदार्थहरूले भरिपूर्ण छ ।
नेपालको मध्यभागमा चुनढुङ्गा :
नेपालको मध्यभागमा अवस्थित पूर्व उदयपुरदेखि पश्चिम नेपालगञ्ज–सुर्खेतसम्म फैलिएको विशाल महाभारत पर्वत शृङ्खला क्याल्सियमजन्य पदार्थले बनेका चुनढुङ्गा, डोलोमाइट र मार्बलले भरिपूर्ण छ । यही उच्चकोटीको चुनढुङ्गाले गर्दा नेपालमा आजकल दिन प्रतिदिन नयाँ–नयाँ सिमेन्ट कारखानाहरू खुल्दै छन् । यी सिमेन्ट उद्योगहरूलाई आवश्यक मात्रामा सुनियोजितरूपमा विद्युत् शक्ति उपलब्ध गरिदिनसकेको खण्डमा आगामी १०–१५ वर्षमा नेपालमा सिमेन्ट उत्पादन आत्मनिर्भर हुनसक्ने सम्भावना धेरै देखिन्छ । तर, आजकल नेपालमा उत्पादित भनेर स्थानीय बजारमा देखिने धेरै प्रकारका सिमेन्ट पदार्थहरूले आवश्यक गुणस्तर कायम गरिराखेको देखिँदैन । नापतौल तथा गुणस्तर विभाग बढी चनाखो भएर स्वदेशमा निर्मित सिमेन्ट पदार्थको गुणस्तरमा एकरूपता ल्याउने प्रयास हुनु अति जरुरी छ ।

दोलखा जिल्ला चरिकोटको खरीढुङ्गा (Talcum)
यस खरिढुङ्गा अत्यधिक मात्रामा साबुन उद्योगमा प्रयोग हुने भएकोले यसलाई सोपस्टोन पनि भनिन्छ ।
केहि दशक अघि हेटौडा औद्योगिक क्षेत्र भित्र अवस्थित ‘पाल्मोलिभ’ उद्योगले यही दोलखा चरिकोटको खरिढुङ्गा विभिन्न प्रकारको साबुन तथा अन्य कस्मेटिक पदार्थहरूको उत्पादनमा प्रयोग गथ्र्यो ।


सिमेन्टमा हुने मुख्य समस्या
नेपालमा सिमेन्ट बनाउनको लागि आवश्यक पर्ने चुनढुङ्गा प्रशस्त मात्रामा उपलब्ध भए पनि सबै ठाउँमा पाइने चुनढुङ्गा एकै नासको गुणस्तरयुक्त हुँदैन । जस्तोः उदयपुर र धादिङ जिल्लामा अति उच्च गुणस्तरको चुनढुङ्गा पाइन्छ । कुनै ठाउँमा मध्यम गुणस्तरको र कुनै ठाउँमा निम्न गुणस्तरको पनि हुन्छ । त्यसकारण, कुनै ठाउँमा नयाँ सिमेन्ट कारखाना स्थापना गरेर नयाँ सिमेन्ट उत्पादन गर्नुपूर्व उक्त कारखानाले प्रयोग गर्ने चुनढुङ्गाको मूल स्रोतको बारेमा विस्तृत र इमानदारीका साथ अध्ययन र अनुसन्धान हुन अति जरुरी हुन्छ ।
चुनढुङ्गा स्रोतको अध्ययन र अनुसन्धान गर्दा उक्त स्थानमा आइपर्नसक्ने प्राकृतिक र पर्यावरणीय प्रभावबारे गहन र जिम्मेवारीपूर्ण अध्ययन गर्नुपर्छ ता कि उक्त चुनढुङ्गा खानी उत्खनन गर्दा स्थानीयवासीलाई पर्ने आर्थिक, सामाजिक, सांस्कृतिक दुस्प्रभाव नपरोस् । यसका साथै उक्त स्थानमा बसोबास गर्ने जलचर र स्थलचरको अस्तित्वमा पर्ने दुस्प्रभावको साथै प्राकृतिक र भौगोलिक वातावरणमा यस खनिज उत्खननले ल्याउन सक्ने दुष्प्रभावको बारेमा पनि गहन अध्ययन हुन अत्यावश्यक हुन्छ ।
त्यसपछि उक्त खनिज पदार्थ (चुनढुङ्गा) को कुल डिपोजिट कति हो र सबै ठाउँको सर्वेक्षण गरी उक्त ढुङ्गाको रासायनिक कम्पोजिसन के कस्तो छ ? त्यसको पनि विस्तृत अध्ययन अनुसन्धान आधुनिक–वैज्ञानिक प्रयोगशालामा लगेर गर्नुपर्दछ ।
सबै ठाउँको कच्चापदार्थ एकै नासको नहुने भएकोले कहिलेकाहीँ अन्य ठाउँको चुनढुङ्गा ल्याएर पनि आवश्यक मात्रामा मिसावट गरेर उत्पादित सिमेन्टको गुणस्तर कायम राख्न प्रयास गर्नुपर्दछ । यो काम कुनै पनि सिमेन्ट कारखानामा काम गर्ने केमिकल इन्जिनियर र प्रयोगशालाकर्मीहरूको हो । यदि इमानदारीतापूर्वक आवश्यक वैज्ञानिक अनुसन्धान गरी सिमेन्ट उत्पादन गरिएको खण्डमा बजारमा सिमेन्टमा ठूलो समस्या आइपर्दैन ।
सिमेन्ट उत्पादनमा मूल समस्या म्याग्नेसियम पदार्थ :
नेपालमा पाइने धेरैजसो चुनढुङ्गामा म्याग्नेसियम अक्साइड भन्ने खनिज पदार्थ प्राकृतिकरूपमा मिसिएको हुन्छ । सिमेन्टमा सबभन्दा विषालु चीज यो म्याग्नेसियम पदार्थको उपस्थिति नै हो ।
विश्वमा प्रचलित मापदण्डअनुसार तयारी सिमेन्टमा म्याग्नेसियम तत्वको उपस्थिति बढीमा पाँच प्रतिशतभन्दा बढी भएको कुरा समय–समयमा निस्किरहन्छ । उक्त खालको सिमेन्ट उत्पादकहरूलाई कारबाही गरिने भन्ने खबर पनि सुनिन्छ । तर, वास्तवमा के हुन्छ र के भइरहेको छ भन्ने कुरा बाहिर निस्किँदैन । यो सर्वसाधारण जनता र उपभोक्ताको दुःखकै कुरा हो । ठाउँ–ठाउँमा ठूल्ठूला संरचनाहरू निर्माण पूरा हुनुअघि नै भत्किने, बिग्रिने मूल कारण यही सिमेन्टमा हुने म्याग्नेसियम तत्व हो । यस कुरामा सम्बन्धित निकाय तथा सरकारले धेरै गम्भीर भएर सोच्नुपर्दछ र बढी आर्थिक लाभको लागि औद्योगिक व्यवसायीहरूले सिमेन्टमा म्याग्नेसियमको उपस्थिति पाँच प्रतिशतभन्दा बढी अथवा ६ प्रतिशतसम्मको स्वीकृति दिन दबाब दिइरहेको पनि सुनिन्छ । तर, कुनै आर्थिक प्रलोभनमा अथवा कुनै अन्य सामाजिक राजनीतिक दबाबमा परी विश्वका वैज्ञानिकहरूले निर्माण गरिसकेको मापदण्डभन्दा बाहिर जानु देश र जनतालाई धोका दिनु हुन जान्छ ।
सिमेन्टमा तौलको समस्या :
धेरै वर्षदेखि नै मूलतः सिमेन्ट बजारमा एउटा क्यान्सरजस्तो रोग फैलिरहेको छ । त्यो हो सिमेन्टको बोरामा तौल नपुग्नु ।
स्थानीय सिमेन्ट बजारमा पाइने ९० प्रतिशत सिमेन्टको बोरा जोखियो भने ४०–४५ केजीसम्मको भेटिन्छ । तर, बोरा बाहिर लेखिएको हुन्छ, नेट वेट ५० किलो । यो आजको नयाँ रोग होइन । यो कहिले कसरी समाधान गर्ने हो र कसले गर्ने हो भन्ने कुरा सर्वसाधारण उपभोक्तालाई थाहा हुँदैन । कोही उपभोक्ताले सिमेन्ट बोराभित्र ५० किलो सिमेन्ट हुनुपर्ने होइन र साहुजी भनेर तर्क गर्न थाल्यो भने उसले कुनै पसलमा सिमेन्ट किन्न पाउँदैन । समाजको ४०÷४५ किलोलाई ५० किलो भनेर लानुपर्ने यो कस्तो जमाना हो ।
दोलखा जिल्लामा उच्चकोटीको खरीढुङ्गा र म्याग्नेसाइट
नेपालको मध्य क्षेत्रमा फैलिएको महाभारत पर्वत शृङ्खलामा चुनढुङ्गाजस्तै अलि उत्तरी भेग अथवा शिवालिक पर्वत शृङ्खलाभन्दा उत्तरतिर पर्ने दोलखा जिल्लामा अर्काे बहुमूल्य दुई खनिज पदार्थ म्याग्नेसाइट र खरीढुङ्गा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *