भर्खरै :

शासक दलको ध्यान कता ?

शासक दलको लागि जनताको समस्याभन्दा सत्ता सुख नै प्राथमिकतामा रहेको उनीहरूको व्यवहारबाट लगातार झल्किँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकारका ६ महिनाका उपलब्धिको बखान गर्दै गर्दा सञ्चारमाध्यमले हुम्लामा खाद्यान्न अभाव, कर्णालीमा सिटामोलको चरम अभाव र उपल्लो डोल्पाका जनताले कोभिडको खोप नपाएको समाचार सम्प्रेषण गरिरहेका थिए । कोभिड सङ्क्रमणको दर उकालो लागिरहेको बेला सरकारले भेरोसेल खोपको अभाव भएको भन्दै प्रवद्र्धक खोप (बुस्टर डोज) को कार्यक्रम नै स्थगित ग¥यो । आफैले निर्धारण गरेको गतिमा खोप वितरण गर्न सरकार असफल हुँदा डढेलोसरि कोभिड सङ्क्रमण फैलियो । यसले थिलथिलो बनेको देशको अर्थतन्त्रलाई अझ गम्भीर चोट पु¥याएको छ ।
बेमौसेमी वर्षा, बाढी र पहिरो आदि कारणले कृषि क्षेत्रमा भएको क्षतिको कारण यो वर्ष खाद्यान्नको मूल्य आकासिने अनुमान गरिएको छ । महामारीको कारण उद्योग कलकारखाना सुचारू नहुँदा धेरै मानिसले रोजगारी गुमाउनुपरेको छ । महामारीले अझ लामो समयसम्म देशको अर्थतन्त्रमा दिगो प्रभाव पार्ने देखिन्छ । तर, यो दुष्प्रभावबाट जोगिन न सरकारसँग कुनै योजना छ न इच्छाशक्ति नै । सत्ता गठबन्धन जनताका यस्ता समस्यामा भन्दा बढी सत्ता टिकाउने खेलमा केन्द्रित देखिएको छ ।
प्रजातन्त्रमा चुनाव नियमित राजनीतिक प्रक्रिया हो । यसलाई कुनै पनि प्रजातन्त्र र संविधानप्रति आस्था राख्ने दलले जित र हारको तुलोमा तौलिएर निर्णय गर्न मिल्दैन । आफ्नो हार हुने भएपछि पछाडि हट्ने अनि जित्ने भएपछि अघि सर्ने प्रवृत्तिले शासक दलभित्रको प्रजातन्त्रविरोधी मनसाय उजागर गर्छ । प्रजातन्त्रमाथि विश्वास गर्ने दलले चुनावको सामना गर्ने र चुनावलाई जनताको बीचमा जाने अवसरको रूपमा लिन जरूरी छ । तर, चुनावमा आफ्नो जित निश्चित भएपछि अथवा विपक्षी बदनाम भएको मौका छोप्ने झेली राजनीतिले प्रजातन्त्र र संवैधानिक व्यवस्थालाई बलियो बनाउँदैन ।
सत्तालाई नै साध्य बनाएका राजनीतिक दलको निम्ति चुनाव सत्तारोहणको भ¥याङ हो । चुनाव जितेर सत्ता प्राप्त गर्न उनीहरू आफ्नो इज्जत र प्रतिष्ठाको ख्याल गर्दैनन् । उनीहरू चुनाव जित्न अराजनीतिक व्यवहार र उच्छृङ्खल काम गर्न पनि अग्रसर हुन्छन् । उनीहरू जनतालाई चित्त बुझाएर होइन, बरू जनतालाई लोभ, आश्वासन र विभाजित बनाएर चुनाव जित्छन् । त्यस्ता दलले जनताका समस्यालाई कहिल्यै पनि प्राथमिकतामा राखेका हुँदैनन् ।
शासक दलहरूले संविधानवाद र संविधानको पक्षपाती भनी आफूलाई जतिसुकै पुष्टि गर्न खोजे पनि त्यस्तो प्रतिबद्धता ‘बेइमान हुन नपाउँदासम्मको इमानदारी’ भएको अहिले देखिँदै छ । सत्तापक्ष वा प्रमुख प्रतिपक्ष दुवै खेमाका राजनीतिक दलहरू अहिले चुनावमा कसरी आफ्नो सङ्ख्या बढाउनेमा तन्मयका साथ लागेका छन् । जनताले अहिले सामना गरिरहेका समस्या र देशको अर्थतन्त्रको खस्कँदो अवस्था सामना गर्ने विषयप्रति उनीहरूमा कम चासो छ । जलवायु परिवर्तनले पछिल्ला दशकमा नेपालले सामना गरिरहेका विभिन्न विपत्तिको दिगो समाधानबारे शासक दलहरू गम्भीर छैनन् । जलवायु परिवर्तन शासक दलको निम्ति दातासामु मागी खाने भाँडोमात्र बनेको छ ।
कुन दलले के भन्छ, महत्वपूर्ण कुरा होइन । व्यवहारमा के गर्छ महत्वपूर्ण कुरा हो । शासक दलहरूले बोलीमा एउटा र व्यवहारमा अर्को काम गरिरहेका छन् । जनतासामु उनीहरू साधुजस्तै बन्न खोजिरहेका छन् । तर, उनीहरूको भित्री मनमा जनतामाथि शोषण र देशको लुटपाट गर्ने कालो मन छ । चुनावको मितिबारे अहिलेको तानातान पनि सत्तास्वार्थ र सत्तासुखबाट अभिप्रेरित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *