‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
नेपाल मजदुर किसान पार्टीको हरेक राजनीतिक प्रशिक्षण देशमा आमूल परिवर्तनको लागि जनतालाई राजनीतिक र सैद्धान्तिकरूपले सुसूचित पार्ने विषयमा केन्द्रित हुन्थ्यो । नेमकिपाको राजनीतिक प्रशिक्षण वर्गीय शत्रुको विरोधमा केन्द्रित हुन्थ्यो । कुनै पनि शक्ति राष्ट्रबाट हुनसक्ने आक्रमण, हस्तक्षेप, विदेशी दबाबको विरोधमा हुन्थ्यो । नेमकिपाले निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको सेवामा लाग्न प्रेरित गथ्र्यो । राजनीति सज्जन, योग्य र इमानदारहरूले नै गर्नुपर्नेमा जोड दिन्थ्यो । कुनै काम सोचविचार गरेर गर्नुपर्ने, कुनै कसैको लोभमा फस्न नहुने, फसाउने जालसाजी गर्न नहुने विषयमा राजनीतिक कक्षा हुन्थ्यो । भ्रष्टाचार, अनियमितता नगर्न, घुस खाएर काम नगर्न अर्ती उपदेश दिन्थ्यो । यसरी नेमकिपाका नेता तथा अग्रजहरूले आफ्ना कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारण जनतालाई एक योग्य, असल, इमानदार, निःस्वार्थी, देश र जनताप्रति समर्पित बनाउने काम गरिरहेका हुन्छन् । यस्तो विचार या राजनीतिक प्रशिक्षण देशका हरेक दलका नेताहरूले दिनुपथ्र्याे र सचेत पार्नुपथ्र्यो ।
तर, देशको समग्र राजनीतिक स्थिति त्यस्तो थिएन, छैन । राजनीतिमा लागेर, जसरी भए पनि पदमा पुग्नुपर्ने, जागिर पाउनुपर्ने, कमाउधन्दामा लागेर अकुत सम्पत्ति कुम्ल्याउनुपर्ने खालको राजनीति हुन्थ्यो या प्रशिक्षण हुन्थ्यो । आफ्नो पार्टीमा कार्यकर्ता भित्र्याउन छलछाम हुन्थ्यो, लोभलालच देखाउँथ्यो । देशको आर्थिक अवस्था मजबुत बनाउन होइन राजस्वमा रजाइँ गरेर आर्थिक अवस्था दुर्बल बनाउने काम हुन्थ्यो, उद्योगहरू नियमित सञ्चालन गरेर जनताका आधारभूत आवश्यकता पूर्ति गर्नेभन्दा भएका उद्योगहरू डुबाएर, घाटामा पु¥याएर निजीकरण गर्ने या विदेशी उद्यागपतिहरूको हातमा सुम्पिन्ने काम हुन्थ्यो । विकासको नाउँमा कुन योजना कहाँ ल्याउने र योजनाको सपना बुनेर या योजना ल्याएर अकुत सम्पत्ति कमाउने, योजनाको कमिसनबाट प्राप्त रकम कार्यकर्ता पाल्ने या पैसा बाँड्ने काम हुन्थ्यो । यसरी अरू दलका नेताहरूले कार्यकर्ता तथा सर्वसाधारण जनताको मति बिगार्ने, भ्रष्ट आचरण बनाउने, पैसाकै भरमा कार्यकर्तालाई क्रियाशील बनाउने आदि काम गर्थे ।
नेमकिपाले आदर्शाेन्मुख समाज बनाउन, असल कार्यकर्ता बनाउन निरन्तर घच्घच्याइरहेको हुन्छ । जनताको सांस्कृतिक स्तर उठाउन, नागरिक भावना जगाउन पार्टी निरन्तर लागिरहेको हुन्छ । समाजमा व्याप्त अन्धविश्वास र कुरीतिको अन्त्य गर्न सुसूचित पारिरहेको हुन्छ । बहुमत जनता सचेत र सङ्गठित नभइकन, एकत्रित नभइकन आमूल परिवर्तन सम्भव हुँदैन । आमूल परिवर्तनको निम्ति आन्तरिक पक्षको तयारी मात्र होइन बाह्य पक्ष पनि तयारी गर्नुपर्ने हुन्छ । नेमकिपाले विदेशी थिचोमिचोको विरोधमात्र होइन, गलत काम गर्ने सत्तारुढ दललाई खबरदारी गरिरहेको छ, देशमा वैचारिक, सांस्कृतिक र प्राविधिक क्रान्तिको निम्ति कार्यकर्ता तथा जनतालाई प्रशिक्षित पारिरहेको छ । नेमकिपाको वर्गीय राजनीति भनेको यही हो ।
Leave a Reply