भर्खरै :

अफगानिस्तानको कहर

सन् २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँका ५ लाखभन्दा बढी मानिस बेरोजगार बनेका छन् । सन् २०२२ मा आसन्न सङ्कटले अफगानी समाजको सबभन्दा जोखिममा रहेका सामाजिक तप्का अर्थात् महिला, बालबालिका, निर्माण मजदुर र किसानहरूलाई सर्वाधिक प्रभावित बनाउनेछ । मुद्राको अभाव र लगानीको खराब अवस्थाले उनीहरू सबैलाई प्रभावित बनाएको छ । यी समस्या समाधान नगरी त्यत्तिकै छोड्ने हो भने परिणाम थप भयावह हुनसक्नेछ । अफगान सरकारले अन्तर्राष्ट्रिय रूपमा यो समस्याको समाधान गर्ने सम्भावना न्यून छ । त्यो अवस्थामा अफगानी जनजीवनलाई थप खराब बनाउनेछ । जसले त्यहाँको सामाजिक–आर्थिक अवस्थालाई थप क्षति पु¥याउनेछ ।
सत्य के हो भने लगानी, ठुला व्यापारिक क्षेत्र र बलियो संस्था कुनै पनि उन्नति गर्दै गरेको अर्थतन्त्रका आधार हुन् । तर, अफगानिस्तानको हकमा सन् २०२१ मा र त्यसअघि २० वर्ष लामो युद्धको क्रममा पनि यी तिनै पूर्वाधारको कमी थियो । सन् २०२२ को लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जारी गरेको पूर्वानुमानअनुसार यदि अहिलेकै अवस्था विद्यमान रहने हो भने सन् २०२२ को जूनसम्ममा ७ लाखदेखि ९ लाख अफगानी जनता बेरोजगार हुनेछन् । भविष्यको कुनै पनि योजनाबिना नै संरा अमेरिका हतारमा अफगानिस्तानबाट बाहिरिनु र अफगानी सम्पत्तिमाथि रोक्का लगाएरमात्र नपुगेर संरा अमेरिकी विदेश नीतिका अगुवाहरू अफगानी जनताका मानवीय समस्यालाई पनि राजनीतिबाट टाढा राख्न सकिरहेका छैनन् । शरणार्थीहरूको ठुलो सङ्ख्या र लगानीकर्ताहरूको आत्मविश्वासमा ¥हासले अवस्थालाई थप खराब बनाइरहेको छ । कुनै पनि देशको युद्धपछिको अर्थतन्त्रमा पुनःसंरचना र पुनःनिर्माणको खाका आवश्यक हुन्छ जसले अर्थतन्त्रलाई पुनःजीवन दिनुका साथै युद्धले थकित मानिसहरूलाई रोजगारी दिन्छ । यसरी रोजगारी दिनु त्यहाँका जनतालाई मानवीय सहायता दिनुभन्दा महत्वपूर्ण हुन्छ ।
अफगानिस्तानको हकमा पनि यो कुरा लागु हुन्छ । अफगानिस्तानका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनका वरिष्ठ संयोजक रमिन बेहजदले यही कुरालाई जोड दिएका छन् । उनले अफगानिस्तानको समावेशी पुनःस्थापना रोजागरीका अवसर, जनजीविका र आधारभूत सेवामा त्यहाँका जनता र विविध समुदायको समतामूलक पहुँचमा निर्भर रहने बताएका छन् । भोकमरीको जोखिममा समेत ८७ लाख अफगान जनतामध्ये अधिकांशमा त्यस्तो पहुँच नहुँदा अफगानी जनतालाई संरा अमेरिकाले दिएको अन्तर्राष्ट्रिय समर्थन फलदायी नभएको देखिएको छ । रोजगारीको अवस्था र गरिबी दरमा न्यूनीकरणबीच प्रत्यक्ष सम्बन्ध छ । अफगानिस्तानको कमजोर बैङ्किङ क्षेत्रले विविध खालका अन्योलको सामना गरिरहेको छ । समाजका सबभन्दा कमजोर क्षेत्रलाई यो अवस्थाले विशेष समस्यामा पारेको छ । सन् २०२२ को जुलाईदेखि सेप्टेम्बरसम्म अफगानिस्तानमा महिला रोजगारी दर १६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अवस्था खराब बन्दै जाँदा ज्यादै खराब वास्तविकता निम्तिन सक्छ । अहिले नै अफगानिस्तानमा पाँचदेखि १७ वर्ष उमेरका दस लाखभन्दा बढी बालबालिका श्रम बजारमा काम गरिरहेका छन् । खराब बन्दै गएको पछिल्लो अवस्थामा बालश्रम अझ व्यापक बन्दै जानेछ । बीस वर्षसम्म युद्धको चपेटामा परेको एउटा देशको लागि त्यहाँको आर्थिक अवनतिको लागि असामान्य कारणप्रति आँखा चिम्लिनु अपराध हो । त्यस्ता कारणमध्ये एउटा कारण सन् २०२२ को बेरोजगारी सङ्कट पनि हुनेछ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले अन्तर्राष्ट्रिय समुदायसमक्ष ५ अर्ब बराबरको मानवीय सहायता, अफगानी सम्पत्तिमाथिको रोक्का फुकुवा गर्न र बैङ्किङ प्रणाली चुस्त गर्न आग्रह गरेका छन् । त्यसले मात्र अफगानिस्तानको आर्थिक र सामाजिक विघटनलाई रोक्न सक्नेछ । गुटरेजको आह्वानसँगै संरा अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीले सन् २०२२ को लागि ३० करोड ८० लाख अमेरिकी डलर बराबरको सहायता अफगान जनताको नाममा जारी गरेको छ । अफगानी जनताको औसत जीवनमा सुधार सुनिश्चित गर्न बिस्तृत रणनीतिको आवश्यकता छ । रोजगारी र आर्थिक गतिविधि प्रवद्र्धन गर्न मनग्य ढाँचाबिना दीर्घकालीन दिगो विकासलाई मूर्तता दिन सकिन्न ।
संयुक्त राष्ट्र सङ्घका प्रमुखले भनेजस्तै मुख्य बाटो भनेको सहायता कोषको निकासा र लगानीमार्फत बैङ्किक प्रणालीलाई गतिशील बनाउनु हो । कुनै पनि सार्वभौम सरकार सहायता कोषमाथि पहुँच र द्वन्द्व नभएको अवस्थामा गरिब जनतालाई रोजगार बनाउने उद्देश्यले आफ्ना सरकारी नीति लागु गर्न सक्षम छन् ।
भोकमरीका साथै अफगानिस्तानलाई हेर्ने उही साँघुरो भूराजनीतिक र सुरक्षा कोण विशेषतः संरा अमेरिकाले त्याग्न जरुरी छ । संरा अमेरिकाले ऐतिहासिकरूपमा अफगानिस्तानको मानवीय क्षेत्रमा सहायता गर्दै आएको भए पनि सङ्कट नचर्काउन उसले निकै कममात्र काम गर्दै आएको छ ।
तथापि, एउटा प्रस्ट कुरा के हो भने अफगानिस्तानको व्यापक बेरोजगारीले त्यहाँको सामाजिक–आर्थिक क्षयीकरणमा थप कहर थपेको छ । अतिरिक्त जोखिमले थप समस्या निम्त्याएको छ । ती समस्या र जोखिमको समाधान नै अफगानिस्तानको भविष्यको लागि अपरिहार्य छ ।
लेखक पाकिस्तानका पत्रकार हुनुहुन्छ ।
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *