भर्खरै :

कोभिडको खोपविरुद्धको जब्बर मानसिकता

कोभिड – १९ को अर्को लहरले देशलाई गाँजिसकेको छ । दैनिक १० हजार जनाभन्दा बढीमा कोभिड पुष्टि भइरहेका छन् । कोभिडको प्रतिरोध गर्ने उपायको रूपमा अहिले स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना र कोभिडविरुद्धका खोप हाम्रा अगाडि छन् । नेपाल सरकारले कोभिडविरुद्धका खोप निःशुल्क रूपमा प्रदान गरिरहेको छ । कुनै बेला पर्याप्त मात्रामा उपलब्ध नभएर सबैले खोप लगाउन नपाएको पनि सही हो । तर, अहिले १८ वर्षमाथिका सबैलाई विभिन्न अस्पताल र खोप केन्द्रहरूमा खोप दिने अभियान चलिरहेको छ । विडम्बना ¤ स्वास्थ्य मापदण्ड पालना नगर्नेहरू नै खोप बहिष्कार गरेर हिँडिरहेका छन् । कोभिडविरुद्धको खोप लगाएकाहरू पनि सङ्क्रमण हुनबाट नबचेको समाचार सतही रुपमा सुनेर त्यसैका आधारमा खोपले पनि नबचाउने तर्क समुदायमा प्रचार गरिरहेका छन् । त्यस्तै कोभिडविरुद्धको खोप लगाएको केही दिनमा नै हृदयाघात, मस्तिष्कघात तथा अन्य कुनै रोगले मृत्यु भएकाहरूको उदाहरण राख्दै खोप लगाएपछि मानिस मरिन्छ भनी गलत प्रचार गर्दै हिँडिरहेकाहरू पनि छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड उल्लङ्घन गरी भाइरसको सङ्क्रमण फैलाउनमा जानीनजानी लागिरहेका छन् । फेरि उनीहरू खोप लगाउन कसैलाई कर गर्न नहुने र खोप लगाउने या नलगाउने व्यक्तिको इच्छा र अधिकारको कुरा हो भनी तर्क पनि गर्छन् । कोभिडविरुद्धको खोपविरुद्धको कस्तो जब्बर मानसिकता हो यो ? त्यस्ता मानिसहरूको अज्ञानताले उनीहरू स्वयम्ले त दुःख पाउने नै भए, परिवार, छिमेकी, आफन्तजन र समुदायसमेत कहिल्यै कोरोनामुक्त नहुने स्थिति पो रहने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *