भर्खरै :

क्युवाली जनस्वास्थ्य सिद्धान्तले सम्भव छ, नयाँ अन्तर्राष्ट्रिय स्वास्थ्य व्यवस्था

हामी महामारीको युगमा प्रवेश गरेका छौँ । जताततै कोभिड–१९ कै समाचारले छाएको छ । त्यसो हुनु आवश्यक पनि छ । जनवरी महिनामा संसारभर नै कोभिड सङ्क्रमणको दर उच्च रह्यो । तर, कुरा त्यतिमामात्र सीमित छैन । एड्सको महामारी पनि बढ्दै छ । सन् २०२० मा एचआईभी भएका ३४ प्रतिशत मानिसले औषधि नै पाएनन् । यही बेला जलवायुमा भइरहेको तीब्र परिवर्तनले मलेरिया फैलिरहेको छ । गर्मी मौसममा मलेरिया बोकेका लामखुट्टेहरूलाई रोग फैलाउन सजिलो हुन्छ । विश्व बैङ्कले सन् २०५० सम्ममा ५ अर्ब २० करोड मानिसलाई मलेरिया रोग लाग्ने अनुमान गरेको छ ।
तर, आजका यी सबै महामारीलाई समाप्त गर्ने हामीसँग कुनै योजना छैन । न त भोलि आउने महामारी रोक्ने कुनै हतियार नै छ । एड्स सङ्कटमा भन्दा फरक कोभिड–१९ महामारीमा सस्ता आश्वासन र मुट्ठीभर चन्दा बढी देखियो, जसले सरकारहरूले महामारी सामना गर्न चालेका झिना कदमलाई छाँयामा पा¥यो । सीमान्तकृत समुदायका दुःख अझ बल्झियो । औषधि कम्पनीहरू मालामाल भए ।
एड्स महामारीको प्रतिरोधमा मैले गरेका कामको अनुभवबाट सिकेको एउटा कुरा के हो भने हामीले औषधि कम्पनीका मालिक र विकसित देश (ग्लोबल नर्थ) का सद्भावमा मात्र भर पर्न हुँदैन । महामारीको अन्त्य गर्न हामीले आमूल परिवर्तनकारी कदम चाल्नुपर्छ । विश्वको स्वास्थ्य प्रणालीमा विद्यमान अल्पकालीन र नाफामुखी ढाँचामा ठुलो रूपान्तरण गर्न जरुरी छ । तर, त्यस्तो ढाँचा कस्तो खालको हुनुपर्छ त ?
आउनुस् क्युवामा केही कुरा गरौँ । संसारका नेताहरू कुनै निर्णायक कदम चाल्न अल्मलिरहेको समयमा क्युवाले कोभिड–१९ को खोप विकास गरिसकेको थियो । उसले आफ्ना जनतालाई खोप लगाउने अभियान थालनी गरिसकेको थियो । अब क्युवा संसारभर खोप लगाउने अभियानमा सहयोग गरिरहेको छ । क्युवाको अवधारणा दुई वटा सिद्धान्तमा आधारित छ ः जनस्वास्थ्यमा लगानी र अन्तर्राष्ट्रवाद ।
सन् २०२१ को गर्मीयाममा क्युवाको नियामक निकाय सेसमेड (ऋभ्ऋःभ्म्) ले आफ्नै देशमा बनेका दुई वटा खोप–सोबेराना र अब्दाला कोभिडविरुद्ध ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको तथ्य सार्वजनिक ग¥यो । त्यसको केही महिनापछि नै क्युवा संसारकै सबभन्दा बढी खोप लगाएका जनताको देशमा सूचीकृत भयो । अहिलेसम्म क्युवाका ८६ प्रतिशत जनतालाई पूर्ण खोप लगाइसकेको क्युवाको खोपलाई ‘न्यून आयका देशको सर्वोत्कृष्ट आशा’ को उपमा दिइएको छ । विशेषतः क्युवाका ती खोप उत्पादन गर्न निकै सस्तो भएकोले यस्तो उपमा दिइएको हो । यो खोप ठुलो परिमाणमा उत्पादन गर्न सकिन्छ र त्यसको भण्डारणको निम्ति निकै चिसो वातानुकूलता पनि चाहिँंदैन ।
विभिन्न स्वास्थ्यसम्बन्धित जर्नलहरूमा क्युवाली खोपबारे अनुसन्धानमूलक लेखहरू प्रकाशित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले क्युवाली खोपलाई आपत्कालीन प्रयोगको अनुमति पनि प्रदान गरिसकेको छ । क्युवाको फिन्ले खोप प्रतिष्ठानका प्रमुख भिसेन्टे भेरेजले सन् २०२२ को सुरुमै विश्व स्वास्थ्य सङ्गठनसमक्षा आवश्यक सबै कागजपत्र बुझाइने बताए ।
क्युवाले यो सफलता कसरी हासिल गर्न सम्भव भयो ? लामो समयदेखि क्युवाले जनस्वास्थ्य र औषधि उत्पादनलाई प्राथमिकतामा राख्दै आएको छ । यसो हुनुमा क्युवाली समाजवादी क्रान्तिपछि थोपरिएको संरा अमेरिकी अन्यायपूृर्ण नाकाबन्दीको कारण भएको अभावबाट उम्कन आफ्नै देशमा कुनै पनि वस्तु उत्पादन गर्नुपर्ने अवस्थाले पनि आंशिकरूपमा भूमिका खेलेको देखिन्छ । तर, जनस्वास्थ्यलाई निजी क्षेत्रको नाफाबाट टाढा राख्ने बलियो प्रतिबद्धताले पनि क्युवालाई यो दिशामा डो¥याएको हो ।
सन् १९९० देखि १९९६ को बीचमा मात्र क्युवाले जैविकप्रविधि क्षेत्रमा १ अर्ब अमेरिकी डलर अर्थात उसको कुल राष्ट्रिय उत्पादनको झन्डै १.५ प्रतिशत लगानी गरेको थियो । सो क्षेत्रबाट हुने आम्दानी पनि सबै त्यही खर्च गरिएको थियो । आज क्युवामा प्रयोग भइरहेका ८ सय थरी औषधिमध्ये ५१७ थरी औषधि क्युवा आफैले उत्पादन गर्छ । त्यसले क्युवाको जनस्वास्थ्य क्षेत्रलाई अझ बलियो बनायो । चिकित्सा विज्ञानमा क्युवाली राज्यको लगातारका े लगानीको लाभ क्युवाली जनतालाई नै भयो, कुनै ठुलो औषधि कम्पनीहरूलाई भएन । बरु संरा अमेरिका र बेलायतजस्ता देशका सरकारहरूले जनताको पैसा लगाएर पत्ता लगाइएको खोपको उत्पादन र वितरण अधिकार भने निजी क्षेत्रलाई दियो । फलतः खोपको ताला–साँचो सबै औषधि कम्पनीको हातमा पुगेको छ ।
सन् २०१५ मा त्यत्तिबेलाका विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक मार्गरेट चानले भनेका शब्द अहिले पनि सम्झन्छु । उनले क्युवा आमाबाट बच्चालाई एचआईभी सङ्क्रमण रोक्ने संसारकै पहिलो देश भएको बताएकी थिइन् । उनले त्यसलाई ‘जनस्वास्थ्यको क्षेत्रमा अहिलेसम्म सम्भव सबभन्दा ठुला उपलब्धिमध्ये एउटा’ भएको बताएकी थिइन् । यो अभियानमा लागेका हाम्रो लागि त्यो उपलब्धि ज्यादै महत्वपूर्ण कोशेढुङ्गा थियो जसले एड्स मुक्त पुस्ताको आशा जगाएको थियो ।
जनस्वास्थ्य र स्वास्थ्य विज्ञान क्षेत्रले एकअर्कालाई टेवा पु¥याउँदा एउटाको सफलताले अर्कोलाई पनि नयाँ सफलता दिएको हुन्छ । उदाहरणको लागि क्युवाको कोभिड–१९ को खोप प्रविधि हेपाटाइटिस बीको खोप बनाउने तरिकामा आधारित थियो । हेपाइटाइटिस बीको खोप अनुसन्धानले कोभिडको खोप अनुसन्धान गर्न सहज बनायो ।
धनी देशले खोप थुपार्दै गरेको र खोप बनाउने प्रविधि अरूलाई दिन नमान्दा ठुला औषधि कम्पनीहरूलाई मुनाफा कमाइरहेको बेला क्युवाले खुला अनुमति र न्यून मूल्यमा आफूले उत्पादन गरेका खोप वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उसले खाँचो परेका देशलाई आफ्नो देशमा उत्पादन भएका दुई थरी खोपको वितरण थालिसकेको छ । क्युवाले आफ्नो देशमा उत्पादन गर्दै आएको खोप भियतनाम र इरानमा पनि उत्पादन गर्न प्रविधि हस्तान्तरणको लागि ती देशमा विशेषज्ञ वैज्ञानिक टोली पठाउने योजना बनाएको छ ।
अन्तर्राष्ट्रवादको दोस्रो सिद्धान्तलाई क्युवाको हेनरी रिभ ब्रिगेडले उत्कृष्ट ढङ्गले पालना गर्दैआएको छ । हेनरी रिभ ब्रिगेडलाई ‘सेतो कोट लगाउने सेना’ पनि भनिन्छ । कोभिड महामारीको सुरुको चरणमा इटालीको सानो सहर क्रिमामा कोभिडका बिरामी निकै सङ्ख्यामा बढ्यो । त्यो ठाउँमा अस्पताल र स्वास्थ्यकर्मीहरू पनि कम थिए । त्यत्तिबेला क्युवाले ५२ जना स्वास्थ्यकर्मीहरूको टोली सहयोगको लागि इटाली पठाएको थियो । क्रिमाका नगरप्रमुख स्टेफानिया बोनाल्डीले क्युवालीहरूको सहयोगले ‘मानवताको भावनाले हामीलाई उद्वेवित बनाएको’ बताइन् । महामारी सुरु भएयता क्युवाले पाँच महादेशका झन्डै चालिस देशमा आफ्ना स्वास्थ्यकर्मी पठाएर सहयोग गरिसकेको छ ।
यही विरासतमा उभिएर क्युवाको सरकारी स्वामित्वमा रहेको जैविकप्राविधिक सङ्गठन बायोक्युवाफर्मा र जनस्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले यो साता क्युवाली खोपको प्रदर्शनीमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र वैज्ञानिक समुदायबीच आफ्ना अनुभव राख्दैछन् । प्रोग्रेसिभ इन्टरनेशनलले आयोजना गर्ने कार्यक्रम अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र समुदायको लागि क्युवाको विकास, नियमकारी बन्दोबस्त र कोभिड–१९ खोपको वितरणबारे प्रश्न गर्ने उपयुक्त अवसर बन्नेछ ।
अगाडिको बाटोबारे कुनै अन्योल छैन । संरा अमेरिकी नाकाबन्दीले क्युवालाई ऋण लिन र वितरण गर्न सहकार्यमा अवरोध सिर्जना गर्नेछ । जसले क्युवाली खोपको उत्पादन र निर्यातलाई सीमित बनाउनेछ । आफुले उत्पादन गरेका खोपको वितरण गर्न मात्र होइन, क्युवाले अन्तर्राष्ट्रवादको ढाँचा र सन्देशको पनि प्रवाह गर्नुपर्छ । क्युवाको राजनीतिक व्यवस्थाप्रति कसैका फरक मत हुन सक्छन् । तर, विश्वको स्वास्थ्य समतामा क्युवाको योगदान अतुलनीय छ । यदि हामीले क्युवाको बाटो पछ्याउने हो भने धनी देशले पोषेका औषधि कम्पनीहरूको शासन अन्त्य गर्न हामी सफल हुनेछौँ । नयाँ अन्तर्राष्ट्रिय स्वास्थ्य व्यवस्था सम्भ्व छ ।
(लेखक दक्षिण अफ्रिकाको ट्रिटमेन्ट एक्सन क्याम्पेनका सह–संस्थापक हुनुहुन्छ । उहाँ नोबेल शान्ति पुरस्कारको लागि मनोनयमा पर्नुका साथै नेल्सन मन्डेला स्वास्थ्य र मानवअधिकार पुरस्कारका विजेता हुनुहुन्छ ।)
अल जजिराबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *