भर्खरै :

विद्यालय सञ्चालनबारे सामुदायिक तथा संस्थागत विद्यालयबीच अन्तरक्रिया

भक्तपुर, ११ माघ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक÷प्रिन्सिपलहरूको अनलाइन जुममार्फत मङ्गलबार बैठक बस्यो ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड रोकथाम तथा नियन्त्रणमा भक्तपुर नपाले खोप वितरण प्रभावकारी ढङ्गले सञ्चालन गर्दै आइरहेको र भक्तपुर नपाले एक लाखभन्दा बढीलाई कोभिडविरुद्धको खोप दिइसकेको जानकारी दिनुभयो ।
भक्तपुरमा शिक्षाको जग बलियो भएकै कारण आज यहाँ अध्ययनरत विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको हो, उहाँले भन्नुभयो ।
सरकार आफूखुसी स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटिरहेको चर्चा गर्दै स्थानीय तहको निर्वाचन संविधान र कानुनअनुसार वैशाखमै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिका स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्म बनाई लागू गर्ने देशकै पहिलो नपा रहेको उल्लेख गर्दै उहाँले भक्तपुर नपाले शिशुस्याहारदेखि कलेज तहसम्म शैक्षिक संस्थाहरू सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
आधारभूत तह परीक्षा समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुर नपाले कक्षा ८ को आधारभूत तहको परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरिरहेको उल्लेख गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि शिक्षण र सिकाइका गतिविधिलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।
बैठकमा स्थानीय पाठ्यक्रम निर्माण दलका संयोजक योगेन्द्रमान बिजुक्छेँले कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रमबारे प्रस्तुतीकरण गर्नुभयो ।
सामूहिक परीक्षा समितिका संयोजक तथा मेधा माविका प्रअ गंगाधर हाडाले विद्यालयबाटै अनलाइनमार्फत कक्षा सञ्चालन भइरहेको, खोप लगाउन छुटेका विद्यार्थीहरूलाई आवश्यक खोप उपलब्ध गराइदिन अनुरोध गर्नुभयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष तथा आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसीले अनलाइन कक्षाबाट सबै विद्यार्थी समेटिन नसकेको हुँदा भौतिकरूपमै कक्षा सञ्चालन गर्नुपर्ने, परीक्षाहरू पनि आवश्यक सुरक्षा उपाय अपनाएर भौतिकरूपमा गर्नुपर्ने बताउनुभयो ।
बैठकमा आधारभूत तह समितिका संयोजक दीपक माकले असहज परिस्थितिमा अनलाइन कक्षा सञ्चालन गर्न पूर्वाधारको कमी भएको र अभिभावकहरूमा पनि चेतनाको कमी रहँदा अनलाइन कक्षा सञ्चालन गर्न समस्या भइरहेको बताउनुभयो ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) का कृष्णराम त्वानाबासुले सिकाइ सहजीकरण निर्देशिका २०७७ बारे विद्यालयहरू प्रस्ट हुनुपर्ने, अनलाइनबाहेकका अरू विकल्पहरू पनि खोजीनीति गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्याब्सन भक्तपुरका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले स—साना विद्यार्थीहरूको लागि अनलाइन कक्षा प्रभावकारी नभएको हुँदा शैक्षिक स्तर झन्झन् खस्किने खतरा रहेको बताउनुभयो । उहाँले स्वास्थ्य मापदण्ड अपनाई भौतिकरूपमा आलोपालो कक्षा सञ्चालन गर्नुपर्ने र १२ वर्षमुनिका विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनु आवश्यक पहल गर्नुपर्ने विचार राख्नुभयो ।
बैठकमा एन. प्याब्सन भक्तपुरका संयोजक पुण्यराम कवांले विद्यार्थीहरूले कोभिडविरुद्धको खोप पाइसकेको अवस्थामा खोप कार्ड अनिवार्य गर्दै भौतिकरूपमा कक्षा सञ्चालन गर्दै जानु उचित हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *