राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
नेपाल मजदुर किसान पार्टीको ४८ औँ स्थापना दिवसको अवसरमा पार्टी स्थापनाको महत्वबारे पार्टी कार्यकर्ता, समर्थक र पार्टीप्रति सद्भाव राख्ने साथीहरूमाझ औपचारिक र अनौपचारिक बैठक, छलफल, अन्तरक्रिया कार्यक्रम एवम् भेटघाट हुँदा राजनीतिक कार्यक्रम, नीति र वक्तव्यमा प्रयोग गरिने शब्दहरूबारे घोत्लिन आवश्यक भएको अनुभव गरियो ।
निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने भावना बोकेका आफूलाई ‘कम्युनिस्ट’ र ‘समाजवादी’ भन्ने राजनीतिक दल एवम् त्यसका नेताहरू प्रधानमन्त्री बन्नको निम्ति किन आफ्नो दलसमेत टुक्र्याउँछन् भन्ने प्रश्नमा निम्न सम्भावनाहरू भएको औँल्याउन सकिन्छ –
क) नैतिकताको ख्यालै नगरी राजनीतिक दलहरूले ‘सत्तामा जाने’ कुरामा जोड दिएर पार्टी नै फुटाउनु परे पनि वा नयाँ पार्टी बनाउनु परे पनि पदको निम्ति मरिहत्ते गरेका हुन् ।
ख) एकपटक प्रधानमन्त्री, मन्त्री भई आर्थिक लाभ वा सरकारी सहुलियत पाएका व्यक्तिहरूले फेरि फेरि ठूलो रकम, गाडी, सरकारी भवन र अनेक भत्ताको सुविधा, ठेकेदार–व्यापारीबाट पाउने ‘मोटो कमिसन’, आफ्ना नाता–गोता र आउरे–बाउरेहरूलाई राजनीतिक नियुक्ति गर्न पाउने तथा आफ्ना आउरेबाउरे र कर्मचारीहरूलाई राम्रो ठाउँमा सरुवा र ‘प्रमोसन’ गरिदिँदा हुने प्रत्यक्ष र अप्रत्यक्ष आर्थिक लाभ, छोरा–छोरी वा नातिनाको निम्ति छात्रवृत्ति एवम् भ्रमणहरूको अवसर आउने हुँदा ती एकपटक फल चाखिसकेका नेता र व्यक्तिहरू पदका लोभि, अहङ्कारी र आत्मकेन्द्रित देखिएका छन् ।
ग) ‘पुँजीवादी राज्ययन्त्रलाई ध्वंस’ पारेपछि मात्र सर्वहारा वर्गले आफ्नो ‘सर्वहारा अधिनायकत्व कायम गर्न सकिने’ वाक्यांशहरूले कम्युनिस्ट आन्दोलनलाई कठोर बनाएका हुनाले संशोधनवादीहरूले ‘राज्य सत्ता कब्जा गर्ने’, ‘सरकारमा जाने’ जस्ता शब्द र वाक्यांशहरू प्रयोग गर्न सुरु गरे । तिनीहरू ‘शान्तिपूर्ण सङ्घर्ष’ र ‘निर्वाचनबाट पनि सरकारमा जान सकिने’ हुँदा ‘क्रान्ति, युद्ध र रक्ताम्य बाटो’ आवश्यक नहुने कुतर्कहरू प्रचार गर्दै छन् ।
पुँजीपति वर्गले ‘सर्वहारा तानाशाही’ को अर्थ कामदार वर्गले बिनाप्रजातन्त्रको शासन गर्ने, हत्या, हिंसा र पुस्तौँ पुस्ताको शोषणको बदला लिने जस्ता अर्थ लगाई कम्युनिस्ट आन्दोलनलाई हिंसात्मक र डरलाग्दो रूपमा बदनाम गर्ने दुस्प्रयास गरियो । वास्तवमा राज्यसत्ता सैद्धान्तिकरूपले ‘एक वर्गले अर्को वर्गमाथि’ अर्थात् ‘सामन्त वर्गले दास मालिकमाथि’, ‘सामन्त वर्गमाथि पुँजीपति वर्गले’ र ‘मजदुर वर्गले पुँजीपति वर्गमाथि तानाशाही चलाउँछ’ वा ‘शासन गर्छ’ भनिएको थियो ।
इतिहासमा भईआएको त्यही हो । तर, पुँजीपति वर्ग हतियार चलाउन जति खप्पिस छन् कलम चलाउन पनि त्यत्ति नै खप्पिस छन् – अर्थात् पुँजीवादी लेखकहरू ‘कम्युनिस्टहरूलाई अति अमानवीय देखिने ‘तानाशाही’ शब्द जोडेर एकातिर पुँजीपति वर्गलाई सचेत र लडाइँ गर्न तयार पार्छन् भने अर्कोतिर कम्युनिस्टहरूलाई निर्दयी देखाउन तिनीहरूमा देखिने मानवीय भावना, स्नेह, प्रेम, दया र करूणा एवम् न्यायका लागि समर्पित सद्भावनाका प्रतिक र तस्बिरलाई नै गलत अर्थमा प्रयोग गरी अरूमाथि हैकम चलाउने, बल प्रयोगबाट शासन गर्ने अत्याचारीको रूपमा चित्रण गर्छन् । त्यस्तो प्रचारले गम्भीर विषय र सूक्ष्म सैद्धान्तिक विषय नबुझ्ने कामदार वर्गकै एक पक्ष तटस्थ बस्ने भयो भने अर्कोतिर आफूमाथि लगाइएको लाञ्छनाले सङ्घर्षको मनोबललाई घटाइदियो । यसकारण, पुँजीवादी प्रचारयन्त्रको विरोधमा सर्वहारा वर्गको प्रचारयन्त्र तुलनात्मकरूपले अझ बढी कलात्मक, यथार्थ र सरल हुनु आवश्यक छ ।
पुँजीवादी पार्टीहरूको ‘महाधिवेशनहरू’ मा हुने आपसी हिलो छ्यापाछ्याप र पदलोलुपताको प्रदर्शनमार्फत साधारण जनतामा राजनीतिप्रति नै घृणा फैलाइयो । यसको अर्थ अब सत्तामा जाने स्वार्थी राजनीतिमा ‘जसले जुत्ता खान्छ र जुत्ताले हान्छ’ तिनीहरूमात्रै नेता र प्रधानमन्त्री हुन्छन् भन्ने प्रचार गरियो । परिणाम राजनीतिलाई कालाव्यापारी, तस्कर, ठेकेदार, घर–जग्गाका दलाल, चोर–डाँका, हत्याराहरू, अर्थात् सबै प्रकारका ‘माफिया’ अर्थात् अपराधी कार्य सम्झिइयो ।
राजनीतिलाई यस्तो नराम्रो छविबाट मुक्त बनाउन सरल जीवन, मेहनत र परिश्रममा जोड दिनु आवश्यक छ । बेइमानी र छल होइन इमानदार र आफ्नो व्यक्तिगत स्वार्थबाट टाढा बसेर प्रायश्चित गर्नु आवश्यक छ ।
Leave a Reply