भर्खरै :

सत्तारुढ दलका नेताहरू इमानदारीपूर्वक राजनीति गर्दैनन्

देशका सबै राजनीतिज्ञ र बुद्धिजीवीहरू गलत विचारका छैनन् । देश र जनताको सेवा गर्न चाहने, सेवामा लागेका असल र इमानदार राजनीतिज्ञ, बुद्धिजीवी र उच्चपदस्थ कर्मचारीहरू देशमा निःस्वार्थ र इमानदारीपूर्वक काम गर्ने र गरिरहेको दलको खाँचो देख्छन् । देशलाई पराधीन बनाउने, देशको प्राकृतिक स्रोत र साधन विदेशीलाई हस्तान्तरण गर्ने, भ्रष्टाचारमा देश डुबाउने शासक दलका नेताहरूको उनीहरू धुरन्धर विरोध गर्छन् । त्यस्ता दलका नेता तथा कार्यकर्ताहरूलाई कुनै हालतमा निर्वाचन जिताउन नहुने विचार खुलमखुला व्यक्त गर्छन् । ती असल, इमानदार र निःस्वार्थी राजनीतिज्ञहरू देशको राजनीतिक छविमा दाग लगाउन चाहँदैनन्, देशलाई बर्बादीको खाडलमा जाक्ने नेता र मन्त्रीहरूलाई जनतामाझ उदाङ्ग्याउनुपर्ने बताउँछन् । इमानदार बुद्धिजीवीहरू नेपालको इज्जत र आस्था विदेशमा पु¥याउन, स्वाधीन र सार्वभौम देशलाई आत्मनिर्भर बनाउन, विदेशी शक्ति राष्ट्रसामु नझुक्न, उनीहरूको इसारामा नबस्न सुझाव दिन्छन् । त्यस्तै इमानदार कर्मचारीहरू देश भ्रष्टाचार र अनियमिततामा डुविरहेकोमा चिन्ता व्यक्त गर्दै राजनीतिक नेताहरूकै कारण देशमा भ्रष्टाचार, अनियमितता, घुस बढेको स्वीकार्छन् र सत्तारूढ दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कर्मचारीहरू इमानदार भए देशबाट ९० प्रतिशतभन्दा बढी भ्रष्टाचार र अनियमितता हट्ने विश्वास व्यक्त गर्छन् ।
ती असल र इमानदार राजनीतिज्ञ, बुद्धिजीवी र कर्मचारीहरू तिनै भ्रष्ट, जनविरोधी, देशविरोधी, विकासको रकम चुहावट गरेर नेता–कार्यकर्ता पाल्ने दलका नेता तथा कार्यकर्ताहरू निर्वाचनमा जितेर पठाउने जनतादेखि वाक्कदिक्क छन् । देशमा नेपाल मजदुर किसान पार्टीजस्तो दल र दलका नेताहरूको खाँचो देख्ने राजनीतिज्ञ, बुद्धिजीवी र उच्चपदस्थ कर्मचारीहरू नभएका होइनन् । त्यस्ता कति व्यक्तिहरूले पार्टीकै नाउँ लिएर गुणगान गर्छन् भने कति नाम नलिइकन मुख्य कुरा दल सानो र ठूलोको होइन इमानदारीपूर्वक सिद्धान्त र विचारको राजनीति गर्ने दल सम्झन्छन् । देश र जनताप्रति समर्पित भएर राजनीति गरिरहेकोमा उनीहरू सन्तुष्ट छन् । हुन पनि नेमकिपाले इमानदारीपूर्वक राजनीति गरिरहेको यथार्थ हो ।
कार्यकर्ता तथा सर्वसाधारण जनताको बानी बिगार्ने, मति भ्रष्ट बनाउने, छवि बिगार्ने काम शासक दलका नेताहरूले गरे र गरिरहेका छन् । हिजोको त्यो रोग अहिले झन् बढेको छ । ठूला दलका कति सांसदहरू त मतदातालाई पैसा बाँडेको, भोज खुवाएको, पेट्रोल तथा अन्य सामान बाँडेको सबै चुनावी खर्च नै हो भनी लाज पचाउँछन् र सारमा मतदातालाई पैसाले किन्छन् र जित्छन् । त्यसैले नेमकिपाका नेता तथा कार्यकर्ताहरू अरु दललाई सिद्धान्त र विचारको राजनीति गर्न चुनौती दिन्छन्, पैसा नबाँडिकन, लोभ नदेखाइकन र सरकारमा नगइकन इमानदारीपूर्वक राजनीति गर्न चुनौती दिन्छन् । तर, सत्तामा पसेका, पुगेका दलका नेताहरू नेमकिपाले झैँ इमानदारीपूर्वक राजनीति गर्दैनन्, साम, दाम, दण्ड र भेदको नीति अँगाल्छन् र बहुमत प्राप्त गर्छन् । तिनीहरूलाई बहुमत भए पुग्छ र सरकारको नेतृत्व गर्न पाए पुग्छ । देशमा भइरहेको यही हो । सत्तारूढ दलका नेताहरू विदेशी सहयोगमा पल्कनुको कारण कमिसन पाउन नै हो । कमिसनमा परेरै देश विकास नभएको हो । यसमा सत्तासीन दलहरू नै दोषी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *