भर्खरै :

मेरो बौद्धिक विकास

आफ्नो विषयमा लेख्दा–बोल्दा पक्षपात तथा ढाकछोप र बढाएर–चढाएर भन्ने जस्ता आत्मप्रशंसा र मनोगतताको प्रवृत्ति असाध्यै बढी हुन्छ । आत्मआसक्ति र मानवमनको क्रियाकलापबारे ज्ञान र चिन्तनको अभावले गर्दा र धाकधक्कु छोडेर आफूलाई महान् देखाउन खोज्ने मानवीय स्वाभाविक प्रवृत्तिले यस्तो हुने होला । स्रोता, पाठक र स्थितिअनुसार मानिसहरू आफूलाई गरीब वा धनी, दुःखमा हुर्केका वा सम्पन्नतामा हुर्केका, व्यापक अनुभव भएका वा सम्पन्न समुदायको सीमित, एकान्त स्वर्गसँग घनिष्टरूपले सम्बद्ध खूब किताब पढेका वा व्यावहारिक ज्ञान गहिरो र व्यापक भएको र टाठो–बाठो सिद्ध गर्न हरदम प्रयास गरिरहेका हुन्छन् । यस लेखको लेखक पनि (जसलाई यस लेखमा म नूरनिधि शर्मा भन्नेछु) यी कमजोरी र दोषहरूबाट मुक्त छैन । तर, मानवमनका यी प्रवृत्तिहरूबारे अवगत भएकोले आफ्नो बोली, वचन, व्यवहार बराबर केलाउने, अरूको आँखाबाट आफू कस्तो लाग्दो हो जाँच गरिरहने, आफ्ना डायरीका पृष्ठहरूमा र आफ्ना घनिष्ट मित्रहरू, स्वास्नी–बालबच्चाहरूका बीच आफ्नो गुण, दोष र गल्तीहरूको विश्लेषण गरिरहने हुँदा अतिशय प्रदर्शनवादबाट बच्न खोजेजस्तो लाग्छ । हुन त लेख्नु, छपाउनु, बहस गर्नु नै पनि केही हदसम्म प्रदर्शनवाद नै हो । तर, आफ्नो विचार अरूलाई भन्नु आवश्यक पनि छ । नत्र बौलाहा भइन्छ । जीवनमा खास कुनै प्रबल र व्यापक उद्देश्य नभएका मानिसहरूलाई नबोली– नलेखी जीवन काट्नु केही हदसम्म सम्भव होला, तर हृदयमा (मनमा) एक आगो दन्किरहेको, एक व्यापक सपना साकार भएको देख्न छटपटिइरहेको मानिसलाई लेखेर बोलेर आत्मप्रसार गर्ने आदत नभई छाड्दैन होला । यस्तो आगो बालक अवस्थाको परिस्थिति, सङ्गत, सम्पर्क र तद्नुरूप अध्ययन, जीवनका कुनै खास घटना आदि कारणहरूबाट सल्कन्छ । तर, एकपल्ट सल्केपछि बल्दै जान्छ, अरू पनि हजारौँलाई सल्काउँछ र स्वदेश र संसारको वातावरणलाई केही हदसम्म प्रभावित नपारी छाड्दैन ।
परिस्थिति र वातावरणको उपज नूरनिधि शर्माले पनि २००५ सालदेखि आफ्नो नजिकको वातावरणलाई केही हदसम्म प्रभावित पारेको छ । उसले लेखेको हेर्न खोज्नेहरू, भाषण गर्न निम्ता गर्नेहरू, उससँग भेटेर लम्बा छलफल वा गफ गर्न खोज्नेहरू, उसलाई रुचाउने, प्रशंसा गर्ने, निन्दा गर्ने वा घोर घृणा गर्नेहरू तथा उसलाई तुरुन्तै थुन्नुपर्छ भन्नेहरू पनि सयौँ त अवश्य छन् । २०२६ कार्तिकमा ४२ वर्ष लाग्ने नूरनिधि अब मानिसहरूलाई नचिढाउने जुक्तिहरू गर्न केही सिपालु भएको छ । यो विगत बीस पच्चीस वर्षको व्यापक जनसम्पर्क, मनोविज्ञान र मानव प्रवृत्तिहरूको अध्ययन, निरीक्षण र प्रयोगबाट उसले सिकेको हो । अब ऊ घृणालाई लुकाएर मुसुमुसु हाँस्न सक्छ । अपमान, घोचपेच, व्यङ्ग्य र पछाडिबाट छुरी हानेकोमा उसलाई क्षणिक उत्तेजनामात्र हुन्छ, झूठो र खुसामदी प्रशंसाभित्र लुकेको कपट पनि बुझ्छ । ऊ आगामी बीस–पच्चीस वर्षभन्दा बढी यस संसारमा रहने सम्भावना छैन । मर्नु त छ छ । अनि रीसराग, आशक्ति र घृणाको माने र सार्थकता के ? जब–जब मनमा यी भाव उदाउँछन्, ऊ ठूला शान्ति र सन्तुलन अनुभव गर्छ । ऊ ज्यादा झुक्छ वार्ता–सम्झौता गर्छ, हठी र प्रदर्शनवादीको कुरा पनि स्वीकार गरेको जस्तो गर्छ । मानिसहरू उसलाई दब्बू, सिद्धान्तहीन, अवसरवादी, पराजयवादी पलायनवादी र बकम्फुसे सम्झन्छन् । पैसा, पद, पावर, नोकरशाही प्रतिष्ठा आदिप्रति उसलाई खास आसक्ति छैन । तर, यस्ता कुरामा प्रवल आसक्ति भएकाहरूका बीच ऊ यो कुरामा निकै चाख भएको पाखण्ड भने देखाउँछ । नत्र ऊ त्यस्ता प्राणीका दृष्टिमा बकम्फुसे, अव्यावहारिक ठहर्नेछ र सांसारिक मानिसहरू उसबाट टाढा भाग्नेछन् ।
ऊसँग सङ्गत गर्ने युवकहरूलाई थाहा छ, ऊ युवकहरूलाई समेत सङ्कोच लाग्ने किसिमका कुरा सुनाउँछ र ती सुरूमा रसिलाजस्तो कुरालाई क्रमशः दार्शनिक मनोवैज्ञानिक र जीव वैज्ञानिक गहिरा कुरामा पु¥याइदिन्छ । विगत बीस–पच्चीस वर्षको अध्ययन, मनन, विविध स्थितिको अवलोकन र सङ्घर्षमय अनुभवले उसलाई त्यसको शारीरिक र मानसिक पक्षबारे व्यक्तिगत, सामाजिक र बृहत् दार्शनिक पक्षबारे गहिरो अभिरुचि छ । साहित्य, संस्कृति, इतिहास, समाजशास्त्र, विज्ञान, अर्थशास्त्र, राजनीति, मनोविज्ञान र यी सबैलाई एक सूत्रमा बाँध्ने दर्शन उसको चाखको प्रमुख क्षेत्र हुन् । पुरानो शैलीमा भन्ने हो भने ऊ अर्थ, धर्म, काम, मोक्षमा परस्पर घनिष्ट सम्बन्ध देख्छ ।
जीवन ज्ञान आर्जनका लागि हो, द्रव्य आर्जनमा लगाउनुपर्ने समय र शक्ति अमूल्य र एक पल्टमात्र प्राप्त जीवनको अपव्यय हो । ज्ञान आर्जन गर्दै जाँदा निर्वाह गर्न पर्याप्त द्रव्य त्यसै आउँछ । प्रतिष्ठा र व्यापक रूपको पावर पनि स्वतः आउँछ । ज्ञान यथार्थवादी हुनुपर्छ । मनोगत वा काल्पनिक ज्ञान भ्रान्तिमात्र हो, यसले क्षणिक आनन्दको सृष्टिमात्र गर्न सकिन्छ, संसारलाई उन्नत, स्वतन्त्र, सुन्दर बनाउन सकिन्न, ज्ञान आर्जनमा प्रतिभाको भन्दा प्रयास र ठीक तरिकाको बढो योगदान हुन्छ, ठीक ज्ञान प्रत्यक्ष अनुभवमा आधारित हुन्छ, अनुभव छैन भने सुनेका पढेका कुराले असत्य भावुक कल्पनामात्र आउँछ र त्यसैलाई वास्तविक ज्ञान सम्झेर चल्दा व्यक्ति र राष्ट्र खाल्टोमा खस्छ, यी हुन् उसका विश्वासहरू ।
मानिसको दृष्टिकोण र विचारधारा निजी जीवनका स्थिति र अनुभवबाट बनेका हुन्छन् । नूरनिधि शर्मा काठमाडौँमा न्यौखा टोलको एक गल्लीमा एक सानो न्यूनवित्त पण्डितको सन्तानको रूपमा जन्म्यो । सन् १९८५ सालको कार्तिकको एक रात उसका पिता विद्यामा ख्याति पाएका व्यक्ति थिए । कवि, दर्शनमा आचार्य, इतिहाससम्बन्धी केही शोध कार्य गरिरहेका राणा जरसाहेबहरूको चाकडीमा व्यस्त । विद्या हुँदैमा मानिस समझदार हुँदैन । उसका पिता घोर व्यक्तिवादी र भोगवादी थिए । उनी परिवारको वास्ता गर्दैनथे । घरगृहस्थी चलाउन आवश्यक पैसा खर्च गर्न सा¥है लोभ गर्दथे । उनकी पहिली पत्नी उनको निर्दयताको शिकार भइन् । दोस्री पत्नी भने अत्यन्त उद्दण्ड, कठोर र छाडा तथा व्यक्तिवादी प्रवृत्तिकी पाए । नूरनिधि शर्मा दोस्री पत्नीपट्टिको जेठो छोरो हो । बाबु र आमा दुवैप्रति कुनै माया, ममता र कर्तव्यानुभूति नभएका विचित्र प्राणीहरू पाएकाले अलपत्र परी नूरनिधि शर्माको बाल्यकाल मामाघरमा बित्यो । मामाघर सम्पन्न वातावरणको थियो । तर, नूरनिधिको भावात्मक विकासमा त्यस सम्पन्नताले रिक्तता पूर्ति गर्न सकेन । उनले ८–९ वर्षको उमेरसम्म पनि पढ्न पाएनन् । अरूले पढेको सुनेर उनलाई अप्रत्यक्षरूपमा केही ज्ञान भने हुँदै गयो । अमरकोशका श्लोकहरू उनलाई कखराभन्दा पहिले कण्ठ हुन थाल्यो । नोकर चाकरका बच्चाहरूको ज्यादा सङ्गतले गरीबी, तिरस्कार, सेक्स, खोपी, झगडा, फसाद आदिबारे परिचय घनिष्टरूपले भयो ।
मामाघरका सबै ज्यादा काशीमा र तराईमा बस्थे । त्यसैले २–३ वर्षको उमेरदेखि उसको वर्षोँवर्षसम्म काशी र तराईमा बास हुन थाल्यो । अरूको आमा–बाबुले सन्तानलाई माया गरेको देख्दा उसलाई आफ्ना आमा–बाबुप्रति घृणाको जग बस्यो । बाल्यकालका भोग्नुपरेका अपहेलना, व्यङ्ग्य, अपमान, अशिक्षा र तल्लो वर्गको ज्यादा सङ्गतले उसमा हीनताग्रन्थी बन्न थाल्यो । बालकले भावहरू बुझ्दैन सम्झनु भूल हो । नूरनिधिलाई आफ्नो चार–पाँच वर्षदेखिका भावहरूको सम्झना छ र ती भावले उसको व्यक्तित्वलाई प्रबलरूपले प्रभावित पारेका छन् । नूरनिधि अपराधी बन्ने वातावरणमा हुर्केको थियो । उसका जेठा दाजु रक्सी, रण्डी र लफङ्गाहरूको सङ्गतमा परेर अपराधतर्फ प्रबल वेगले बढ्दै गइरहेका थिए ।
तराईमा नूरनिधिको बालक–मनमा थारू किसानहरूमाथि जमिनदारहरूबाट त्यसताका हुने अमानवीय व्यवहारले ठूलो छाप प¥यो । उसले आफूलाई ती शोषित थारूहरूसँग आइडेन्टिफाइ गर्न थाल्यो । सन् १९३० देखि १९४० (वि.सं. १९८७ देखि १९९७) सम्मको काशीमा आवारा जीवन बिताउने नूरनिधि बेलुका घुम्दैफिर्दै टाउनहल पुग्थ्यो । त्यहाँ उसले गान्धीजी, सुभाष, नेहरू, एम. एन. रायजस्ता उच्चस्तरका भारतीय नेताहरूको धेरै पल्ट दर्शन पायो । भाषण ऊ बुझ्दैनथ्यो । तर, आमसभा, नेताहरूको स्वागत–सत्कार, नाराहरू, पुलिसले घेरेको, समातेको, लाठीचार्ज गरेको भागाभाग मच्चिएको, सत्याग्रहीहरूले लाठीको चोट खाँदै नारा लगाइरहेको देख्दा, सुन्दा उसलाई भारी उत्तेजना हुन्थ्यो, नेताहरूप्रति ठूलो श्रद्धा बढ्थ्यो । काशीको घाटमा र पानपसलहरूमा मानिसहरू राजनीतिका कुरा गरिरहेका हुन्थे । बालक नूरनिधिलाई यस्तो कुरा सुनिरहने चाख बढ्दै गयो । काशीका नेपाली समुदायहरूमा राणा अत्याचारको पनि चर्चा भइरहन्थ्यो । नूरनिधिले तत्कालीन लाटसाहेब (मोहनशमशेर) को दौडाहा सवारी देखेको थियो । भैरहवानिर उसका मामाहरू हात्ती चढेर चाकडीमा सवारीक्याम्पमा रोज पुग्थे । जमिनदारहरूको भानिज नूरनिधि पनि रोइकराई हात्तीमा स्थान पाउँथ्यो । लाटसाहेब उसलाई देवताजस्तो लागेको थियो । तर, बनारसी वागियान नेपालीहरूले गरेका कुरा सुन्दासुन्दै उसको श्रद्धा घृणामा बदलिन थाल्यो ।
काशीको महाजनी पाठशालामा आफै गई भर्ना भई नूरनिधिले अक्षरज्ञान प्राप्त ग¥यो । रुद्री र संस्कृत पढ्न एक गुरुकहाँ जान थाल्यो । सन् १९३८ (वि.सं. १९९५) ताका काशीकै गुर्जर पाठशालामा तेस्रो क्लासमा भर्ना भयो । भूगोल, इतिहास, अङ्ग्रेजी, गीता, गणित, हिन्दी साहित्य, कला आदिको अब विधिवत शिक्षा प्राप्त गर्न थाल्यो । स्काउट भयो । ड्रिल गर्न थाल्यो । पाठशालाका गुरुहरूले हिन्दी बालसाहित्य पढ्न दिन्थे । राष्ट्रिय नेताहरूप्रति महापुरुषहरूप्रति श्रद्धा जगाउँथे । सहरमा सस्तो एकपैसे हिन्दी अखबार ‘दैनिक मेल’ पनि निस्कन्थ्यो । नूरनिधि त्यसको नियमित पाठक भयो । टोलमा एक सानो पुस्तकालय थियो । नूरनिधि त्यहाँ ग्राहक भयो । जासुसी टार्जन, क्रान्तिकारी, तिलस्मी र प्रेमचन्द्र आदिका उपन्यासहरू पढ्न थाल्यो । गान्धीजीको आत्मकथा नबुझे पनि एकपल्ट आद्योपान पढ्यो । अब किताब, पत्रपत्रिका, अखबार सार्वजनिक विषयमा गफ र कुनै विचारप्रति आसक्ति लिएर बहस उसको जीवनभरको बारे बन्यो । उसले केही न केही पठनसामग्री दुई–चार घण्टा पनि नपढेको दिन विगत तेत्तीस वर्षमा बहुतै कम होलान् ।
उसको मुमाको काशीमा स्वर्गवास भएपछि र त्यहीताका द्वितीय महायुद्ध सुरू भई जापानी फौज वर्मासम्म आइपुगेपछि उसका मामाहरू बनारसबाट तराई भागे । नूरनिधिको पढाई अस्तव्यस्त भयो । केही वर्ष तराईमा त्यसै बिताएर ऊ काठमाडौँ आयो । काठमाडौँमा भर्खरै जस्तो ९७ सालको पर्व आएकोले ठूलो आतङ्क थियो ।
स्कूल जीवनमा नूरनिधि अग्रगण्य छात्रहरूमध्ये थियो । बनारसमा पनि र काठमाडौँमा पनि । काठमाडौँका आजका लब्धप्रतिष्ठ र उच्च पदमा बसेका धेरै व्यक्तिहरू उसको सहपाठी पनि छन् । बनारसको उच्च चेतना लिएर आएको नूरनिधि जुद्धोदय पब्लिक हाई स्कूलमा भर्ना भएकै वर्षदेखि अध्यापकहरूको प्रिय भयो । छात्र सहपाठीहरूको नेता तत्कालीन काठमाडौँका मानिसहरूको कूपमन्डुपता देख्दा उसमा दम्भ उत्पन्न भयो ।
कक्षाका राणा बाबुसाहेबहरू उसको कुरा गराइ, हावभाव तथा धनीको सम्मान नगर्ने उद्दण्डता देखेर उसलाई धम्की दिन थाले । उता नूरनिधिले आफ्ना सहयोगीहरूको जमातमा गान्धी, सुभाष, नेहरू आदिसम्बन्धी किताबहरूको प्रचलन गर्न थाल्यो । नूरनिधिको यसताका खाने बस्ने ठेगाना थिएन । आमा हरिभजन मण्डलीहरूमै दिन बिताउँथिन् । ती वर्षहरू धेरैजसो नूरनिधिले आफैले एक थोक पकाएर खाएर स्कूल पुग्नुपथ्र्यो । राति च्युरा, मकै, भटमास आदि केही खाएर सुत्नुपथ्र्यो । दस ठाउँमा टालेको जुत्ता लाउँथ्यो । पुस, माघको जाडोमा समेत सुती कोट र सुती लुगामा हुन्थ्यो । धेरैजसो खल्तीमा एक–दुई सुकी पनि हुन्नथ्यो । मैलो लुगामा हुन्थ्यो । अत्यन्त दुब्लो र दरिद्र देखिन्थ्यो ।
कक्षाका राणाहरूले हेडमास्टरलाई अनेक कुरा लगाउन थाले । एक दिन हेडमास्टर शारदाप्रसाद उपाध्यायले आफ्नो कोठामा बोलाएर नूरनिधिलाई बेतले धुनधानसँग चुटे । राणाशाहीबाट पाएको त्यस चोटले नूरनिधिलाई व्यावहारिक क्रान्तिकारी हुने प्रेरणा दियो । अब गुप्त सङ्गठनहरू बनाउन सक्रिय भयो । गुप्त सम्पर्कतिर लाग्यो ।
यहीताका नूरनिधि बुद्धिप्रकाश पाण्डेकहाँ जान थाल्यो । तरुण बुद्धिप्रकाश पाण्डे संस्कृत साहित्यमा आचार्य थिए । तर, राजनीति, आधुनिक विज्ञान, विश्वको इतिहास, समाजवाद, माक्र्सवाद तथा हिन्दी र अङ्ग्रेजी साहित्यका गहिरो र व्यापक अध्ययन गर्दथे । उनको अगाडि सधैँ किताबहरूको डङ्गुर हुन्थ्यो । भारतीय पत्रपत्रिका र अङ्ग्रेजी किताबहरू लुकिछिपी मगाइरहन्थे । अनेक विद्वानहरू र गुप्त राजनीतिक कार्यकर्ताहरू उनको बैठकमा आइरहन्थे । अनेक विषयमा गफ हुन्थ्यो, बहस र ठट्टा भइरहन्थ्यो । राणाका जासुसहरू पनि यदाकदा त्यहाँ उपस्थित हुन्थे । यस मण्डलीमा पसेर केही वर्षमै नूरनिधि नित्य चालीस–पचास पेज गहिरो सामग्री पढ्ने लतले ग्रस्त भयो । अनेक विषयमा उसलाई चाख लाग्यो चाख जागेपछि ज्ञानसामग्रीको खोजसमेत हुन्छ । लेखक र क्रान्तिकारी बन्ने आकाङ्क्षा सुदृढ भयो । लेख र कथाहरू लेखेर साथीहरूलाई सुनाउन थाल्यो । उसको चेतना निकै बढ्यो अब गहन किताबहरू बडो मेहनतसाथ पढ्न थाल्यो । जीवनको एक विशिष्ट लक्ष्य बनाउन थाल्यो । दुःख हण्डर परिरहेकै बेला ज्ञान तीव्र वेगले पस्न थालेकोले च्यूरा, मकै, भटमास चपाएर दस ठाउँमा फाटेको सिरक ओढेर टुकीको प्रकाशमा माक्र्सवाद पढ्दै, सोच्दै सुत्ने गरेकोले सपनामा क्रान्ति र नेपालमा शोषणविहीन समाज भएको देख्न थाल्यो । एसएलसीको जाँचताका उसले महिनौँसम्म भात खान पाएन, बडो मुश्किलले परीक्षालाई आवश्यक द्रव्य जुटायो । २००१ सालमा म्याट्रिक पास गणितमा सा¥है कमजोर थियो । त्यसैले प्रथम श्रेणीलाई आठ नम्बरले पुगेन । विज्ञानमा ठूलो चाख भए तापनि गणितले गर्दा विज्ञान पढ्न सक्दैनथ्यो । तर, दरिद्रताको फलस्वरूप पाँच ६ महिना सिकिस्त बिरामी भयो । टी.बी. मामाको आग्रहले स्वास्थ्य लाभ गरी बनारस विश्वविद्यालयमा आई.कम. मा दाखिल भयो । साठी–सत्तरी रूपैयाँमा गुजारा गर्नुपर्ने भएकोले गान्धीवादी पोशाक र रहनसहन लियो । सहरबाट विश्वविद्यालय प्रायः पैदल पनि जान्थ्यो किताब र पत्रपत्रिका किन्ने बानी थियो । नखाई, छाक छोडी, पैदल हिँडी, दक्षिणा जम्मा गरी, ठगीसमेत गरी दस–बीस रुपियाँका किताब प्रतिमहिना किन्थ्यो । चिनो लगाई लगाई पढ्दथ्यो । आज आफ्नो दराजमा ती किताब हेर्दा उसलाई ती दिन याद आउँछन् ।
बनारस विश्वविद्यालयमा राजनीतिको ठूलो लहर थियो । नेहरू, कृपालानी, मौलाना आजाद, जयप्रकाश, लोहिया, अरूणा आसफ अलि आदिको भाषण भइरहन्थ्यो । सहरमा मजदुरहरूको सभामा पी.सी. जोशी, युसुफ, डांगे, डा. जेड. ए. अहमद, गोपालन आदिले पनि भाषण गर्थे । माक्र्सवादी अध्ययन मण्डलहरू चालू थिए । समाजवादी विचारधारा बढ्दै गइरहेको थियो । राहुल सांकृत्यायन, यशपाल, अमृत राय, डा. रांगेय राघव आदिले साहित्यमा यथार्थवाद र प्रगतिवादको व्याख्या गर्थे । यसताका नूरनिधिले साहित्य पनि प्रशस्त हे¥यो ।
नेपाली छात्रहरूको एक भाग समाजवादी थियो र राणाशाहीको विरुद्ध क्रान्तिको तयारीमा लागेको थियो । नूरनिधि भारतीय र नेपाली क्रान्तिकारी समुदायहरूमा पस्यो । ऊ राणाविरोधी सङ्गठनहरूको सम्मेलनहरूमा जान थाल्यो । नेपालभित्र पसेर सम्पर्कहरू स्थापना गर्न थाल्यो । क्रान्तिको कामको लागि चन्दा उठाउन थाल्यो । ‘युगवाणी’ र ‘नेपाल पुकार’ मा लेखहरू छपाउन थाल्यो । प्रिन्स क्रोपटकिन, आचार्य नरेन्द्रदेव, वट्र्रेन्ड रसेल, क्रिस्टोफर कडवेल, मन्मथनाथ गुप्त, राहुल, यशपाल, राल्फ फक्स, होवार्ड फास्ट, रजनी पाम दत्त, माक्र्स, एङ्गेल्स, लेनिन, जर्ज प्लेखानोव, ट्रट्स्की, स्टालिन, जी.डी.एच. कोल र माओ त्सेतुङका किताबहरू दोहो¥याई–दोहो¥याई अन्डरलाइन गरेर पढ्न थाल्यो । यी सब नयाँ अध्ययनमा र नयाँ कामहरूमा धेरै व्यस्त भएकोले ऊ कलेजमा धेरै पछि पर्न थाल्यो । तृतीय श्रेणीमा पास हुन थाल्यो । राति अबेलासम्म पढ्ने र ज्यादा बाल्ने तथा धपेडीले गर्दा उसको स्वास्थ्य सधैँ नराम्रो रहन थाल्यो ।
यहीताका काठमाडौँ आई एक सम्पन्न घरकी कन्यासँग विवाह गर्यो । आफ्नो विवाहको सारा काम, व्यवस्था उसले आफैले गर्नुपर्यो । उसले जीवनमा पहिलो पल्ट घडी र कस्मिराको कोट लगाएको विवाहपछि नै हो । विवाहपछि बनारसमा ऊ क्रान्तिकारी कार्यमा झन् बढी संलग्न भएकोले नेपालपट्टिको ढोका बन्द भयो । यहीबेला २००७ सालको क्रान्ति आयो । नूरनिधि त्यसमा होमियो । तर, क्रान्तिका नेताहरूको चालढाल, विचार र व्यवहारबाट ऊ चाँडै नै असन्तुष्ट भयो । राणाशाही खतम भएपछि ऊ काठमाडौँमा क्रान्तिकारी जमातहरूमा काम गर्न थाल्यो । उसको कलम पनि धेरै चल्न थाल्यो । केही कालसम्म उसले फेरि भारतमा शरण लिनुपन्यो । साहित्य, राजनीति, क्रान्ति आदिबारे उसले यसताका चालीस–पचास लेख र पन्ध्र–बीस कथा तथा तीन–चार किताब लेखेर छपायो ।
काठमाडौँमा आमाले घरबाट निकालिदिएकोले उसको बस्ने ठाउँ थिएन । पत्नीले दाइजोबाट एक सानो घर किनिन् । बास भयो गाँसको प्रबन्ध उसले ट्युसनद्वारा गर्नुप¥यो । एम.ए. (अर्थशास्त्र) भएर पनि धेरैजसो स्कूलका विद्यार्थीहरू पढाउने विषय भयो । पाटीमा बसेको एक स्कूलमा महिनाको रु. ६०÷– मा मास्टर भयो । लेखपढ र क्रान्तिकारी आन्दोलनहरूमा बढ्ता संलग्न भएकोले उसले ट्युसन र स्कूलटिचरको काम पनि दिगो राख्न सकेन । आर्थिक सङ्कट ठूलो रूपमा खडा थियो । सन्तानहरू हुन थाले, अनि आज खायो भोलिको चिन्ताले पिर्न थाल्यो । आठ दस रूपैयाँको औषधि किन्नसमेत पैसा हुन्नथ्यो । ऊ सङ्कोची छ, आफ्नो टाट अवस्था कसैलाई बताउँदैनथ्यो । विवाहका गहनाहरू बेचेर खाँचो टाथ्र्यो ।
अब उसले दर्शन, विज्ञान, साहित्य, पत्रकारिता, अर्थशास्त्र, समाजशास्त्र आदि अझ गहिरो रूपले अध्ययन गरिरहेको थियो । अङ्ग्रेजी र हिन्दीमा लेखहरू लेख्ने अभ्यास गर्दै थियो । जीविकाको आर्जन नेपालीमा लेखेर नहुने देखेर ऊ भारतीय र अङ्ग्रेजी पत्रपत्रिकाहरूमा लेख पठाउने प्रयास गर्न थाल्यो । तर, उसको कार्यक्षेत्र र जनसम्पर्कको दायरा निकै विस्तृत भइसकेकोले उसलाई अब लेखपढ र साधनालाई समय पाउने गा¥हो पर्न थाल्यो । लेखपढमा बढ्ता आसक्ति र कुशलता, खराब स्वास्थ्य, साधनको उत्कट अभाव, दलको अपरिपक्वताले गर्दा सक्रिय राजनीतिबाट ऊ क्रमशः पछि हट्दै गयो । यो उसको कायरता पनि हुन सक्दछ । विवशता पनि उसको वास्तविक प्रभावकारिताको क्षेत्र कलमको क्षेत्र हो भन्ने ठान्न थाल्यो ।
उसका रचनाहरू अब प्रचारवादी र राजनीतिक मात्र नभई दार्शनिक हुन थाले । मानिसहरूको व्यवहार, चिन्तन, मूल प्रवृत्तिहरूमा उसलाई बढ्ता चाख बढ्दै गइरहेकोले यस्तै विषयले अब उसको रचनामा प्रमुख स्थान लिन थाले । यसताका समाजवादी र पुँजीवादी अर्थशास्त्र खूब पढ्थ्यो । विकास अर्थशास्त्रबारे पनि उसले पच्चीस–तीस लेख छपायो । स्वर्गीय नरप्रताप थापासँग उसको मित्रता भयो । बारम्बार कोशिश गर्दा पनि पदासीनवादीहरूले गर्दा कलेजमा प्रोफेसर हुन प्रयास असफल भएपछि नरप्रतापको कृपाले उसले २०१२ सालमा नेपाल बैङ्क लिमिटेडमा मासिक रू. १४४÷– को कारिन्दा नोकरी भेट्टायो । त्यसको लगभग एक वर्षपछि प.स.क. परीक्षामा असी जना प्रतियोगीमध्ये दोस्रो भए तापनि राजनीतिक दाउपेचको शिकार भई नोकरी पाउन नसकेका बेला नरप्रतापको सल्लाहमा श्री ५ महाराजाधिराज सरकारमा बिन्तीपत्र चढाउँदा सरकारको निगाहबाट नेपाल राष्ट्रबैङ्क स्थापना गर्ने काममा मासिक रू.२००÷– को नोकरी भेट्टायो । २०१३ सालमा बैङ्क स्थापना भएदेखि उक्त बैङ्कमा आर्थिक अनुसन्धान अधिकृत भयो । अष्ट्रेलियामा तालिममा पठाइयो । २०१६ सालताका आर्थिक अनुसन्धान विभागमा मुख्य अधिकृतमा प्रमोसन पायो । उसको केन्द्रीय बैङ््िकङसम्बन्धी ज्ञान बढ्दै गयो, युरोप भ्रमण गर्यो । क्रमशः आर्थिक स्थितिमा सुधार आयो । तर लेख्ने–पढ्ने कार्यमा ज्यादै तन्मयताले गर्दा स्वास्थ्य भने झन्झन् बिगँ्रदै गयो । २०२१ सालमा श्री ५ को सरकारले पञ्चायत र भूमिसुधार मन्त्रालयमा उसलाई सवा दुई वर्ष काजमा लियो । त्यहाँ पनि उसको काम थियो, आर्थिक सामाजिक अनुसन्धान । यी वर्षहरूमा उसले सचिवालयका धेरै प्रभावशालीहरूलाई चिन्यो । उनले पनि उसलाई चिने । बैङ्क फर्केपछि ऊ आर्थिक सल्लाहकार भयो ।
उसको कार्यक्षेत्र ठूलै छ, उत्तरदायित्व ठूलै छ । ऊ श्री ५ को सरकार र बैङ्कको पन्ध्र–सोह« समितिहरूमा सदस्य छ, केही समितिहरूको अध्यक्ष पनि छ, केही संस्थानमा सञ्चालक छ । मन्त्रीज्यूहरू, सचिवहरू र अन्य क्षेत्रका स्वदेशी विदेशी ठूला–ठूला मानिसहरूसँग कामको सिलसिलामा रोजेजस्तै सम्पर्क हुन्छ । तर, ऊ यति व्यस्त छ, उच्च पदमा छ, ठूला ठूला जिम्मेवारीहरू बोकेको छ भन्ने कुरा अफिस बाहिरका धेरै मानिसहरूलाई थाहा हुन पाउँदैन । उसको अनुहार, रहनसहन, बोली व्यवहारको सरलताले गर्दा ऊ महत्वपूर्ण मानिस छ जस्तो देखिन्न । ऊ साधारणभन्दा साधारण मानिसहरूसँग पनि बोलिरहेको, निजीरूपले पैदल हिँडिरहेको हुन्छ । आडम्बरहीनता र सादापनले गर्दा धेरैले उसलाई लम्फू, बुद्धु, अङ्ग्रेजी नजान्ने, पाखे, देश–विदेशको, पाश्चात्य विचार संस्थाहरूबारे अनभिज्ञ आदि ठान्छन् । कोही उसलाई माक्र्सवादको अन्धभक्त, पश्चिमा देशहरूको प्रगतिको स्वरूप तथा आधुनिक पुँजीवाद र प्रजातन्त्रबारे अनभिज्ञ डरलाग्दो मूढ पनि ठान्छन् नजिकमा पुग्नेहरू मात्र क्रमशः उसको वास्तविक रूप बुझ्दै जान्छन् ।
ऊ टाइम, न्यूजवीक, टाइम्स अफ इन्डिया र यस्तै अनेक साम्यवादविरोधी प्रकाशनहरू विगत पन्ध्र वर्षदेखि अटुटरूपले पढिरहेको छ । उसको आलमारीमा साम्यवाद, समाजवाद र भौतिकवादविरोधी सयौँ किताब छन् । साथै ऊ समाजवादी पत्र वा पत्रिकाहरू र पुस्तकहरू पनि पढ्छ । सबैतिरको हेर्ने, बुझ्ने, सोच्ने गरेमात्र स्वतन्त्र चिन्तन हुन्छ । नत्र स्वतन्त्र चिन्तनको भ्रान्तिमात्र हुन्छ । वास्तवमा त्यो तथाकथित स्वतन्त्र चिन्तन एकतर्फी कन्डिसनिङ्गको प्रभाव हुन्छ भन्ने उसको विचार छ । विरोधीहरूलाई उसको चिन्तनको आधार के हो भन्ने बुझाउन खोज्छ । उच्च वर्गहरूमा प्रशस्त पसेको र मध्यम वर्गमा स्वयम् जन्मेको, हुर्केकोले सामन्ती, पुँजीवादी र निम्न पुँजीवादी मध्यमवर्गीय स्वभाव र मानसिक प्रवृत्तिहरूबारे उसलाई राम्रै ज्ञान छ ।
उसलाई अन्धश्रद्धा गर्नेहरू पनि प्रशस्त छन् । उसलाई भेट्न आउनेहरू प्रशस्तै हुन्छन् । देशका अनेक भागका शिक्षित युवकहरूले ऊसँग लेखापढी गर्छन् । भेटघाट र लेखापढीमा उसको समय र शक्ति खर्च हुन्छ । अफिसको काम घरमा पनि गर्नुपर्ने हुँदा र भेट्न आउनेहरूले तथा अन्य मिटिङ, भोजभतेर र समारोह आदि र घरको निजी कामले गर्दा उसलाई लेखहरू लेख्न समय पाउन कठिन छ । विगत बीस बाइस वर्षदेखि अटुटरूपले दुई–तीन घण्टा गम्भीर अध्ययन गर्ने, अङ्ग्रेजी, हिन्दी र नेपालीका पाँच–सात पत्रिका बराबर पढ्ने, नित्य डायरी लेख्ने, वर्षको पन्ध–बीस लेख लेख्ने, आठ दश छपाउने, अखबार र पत्रिकाहरूबाट विभिन्न विषयका कटिङ्गहरू काटी वर्गीकरण गरी फाइल गरी राख्ने, विविध तथ्याङ्कहरू सञ्चय गर्ने, अरू कहाँबाट ल्याएका गम्भीर पुस्तकहरूको नोट बनाउने, खाँदा, हिँड्दा, नित्यकर्म गर्दा र सुत्दा, सपना देख्दासमेत केही न केही गम्भीर विषयमा सोचिरहने उसको बानी भएकोले ऊ स्नायविक कमजोरीले पीडित छ, अनिद्रा रोगले ग्रस्त छ । भनसुन गरिदिन अनुरोध गर्नेहरू, भेटघाट र गफ गर्न आउने साथी, सहयोगी, इष्टमित्रहरू अचेल उसलाई उसको जीवनको बचेको पच्चीस–तीस वर्षको सोच्ने लेख्ने समयका लुटेराहरूजस्तो लाग्छ । त्यागी, उत्साही र जिज्ञासु युवकहरूलाई भने ऊ परिवर्तन र विकासको शक्ति मान्छ र उनीहरूसँग कुरा गर्नमा व्यय भएको केही समय र शक्ति सदुपयोग नै भएको ठान्छ ।
बाबुबाजेको बिँडो थामेर पैसा कमाउने लिकमा चलेर जीवन व्यतीत गर्ने प्रवृत्तिका युवकलाई ऊ भित्र–भित्र घृणा गर्छ । तिनको जीवन समाज, देश र मानवताका लागि वृथा ठान्छ । अहङ्कारी र हठवादी, घोर स्वार्थी र विलासी, अखबार, किताब र पत्रपत्रिकाको दुनियाँबाट प्रायः टाढा रहने मानिसहरू, लम्बा र मनोगत तथा भावुक कुरा बढ्ता गर्ने फिलिष्टिन टाइपका मानिसहरू, नोकरशाही पद, पावर र पैसाका लोलुपहरूप्रति नूरनिधि शर्मालाई घृणासिवाय केही छैन । यस्ताहरूलाई ऊ तल्लो खालका प्राणी ठानेर मनमनै उपेक्षाको दृष्टिले हेर्छ । कहिलेकाहीँ यस्तालाई ऊ दुई–चार तीखो व्यङ्ग्य पनि हानिदिन्छ । उसको व्यवहार यस्ताप्रति प्रायः कठोर र शिष्टाचारहीन पनि भइदिन्छ । उनीहरूले अवश्य नै उसलाई अहङ्कारी, उद्दण्ड, अभद्र ठान्दा हुन् । व्यवहारमा असफलता पाउने हो भने उसले त्यस्ता प्राणीहरूसँग पनि देखावटी नै रूपमा भए पनि प्रेमपूर्ण व्यवहार गर्न सिक्नुपर्दछ । ऊ यस्तो अभ्यास गर्दै छ । आत्मसुधार र विरोधीको मन जित्ने कलाहरूबारे यता ऊ धेरै अध्ययन गर्दै छ, प्रयोग गर्दै छ ।
उसको मनमा हरदम हतारोजस्तो, कामहरूको भारले थिचिरहेको जस्तो, जीवन बर्बाद भइरहेको जस्तो भइरहन थालेको छ । गर्नुपर्ने हजार काम, तर आयु र शक्ति कम बाँकीजस्तो लागिरहन्छ । अध्ययनशील र हृदयमा आगो भएका युवकहरूलाई ज्ञान दान गर्दा आफ्नो जीवनको लक्ष्य पूरा भएको र अस्तित्वको देश कालमा विस्तार भएको जस्तो लाग्छ । प्रत्येक लेख लेख्न ऊ प्रशस्त सोचविचार गर्छ, प्रत्येक लेख उसको निम्ति एक प्रसवपीडा हुन्छ । लेख तयार पार्दा उसको भोक प्यास खतम हुन्छ । शरीर क्षीण हुन्छ, निदा खतम हुन्छ । मस्तिष्क तातिरहन्छ । विचारहरू भलभल पलाइरहन्छन्, बिर्सिने डरले नोट गरिरहन्छ । तर, पहिले अब उसलाई एकान्त र एकाग्रताको अवसर दुर्लभ छ । एकाध घण्टा लेख्न बसेपछि विचारहरूले स्पष्ट रूप लिन प्रारम्भ हुँदा हुँदैमा अफिस र घरगृहस्थीको काम वा अरू कसैसँग भेटघाट छलफलको काम परिहाल्छ । दिव्यानन्दको यो क्षण गुमाउनुपर्दा उसलाई बडो रीस उठ्छ जागिर र गृहस्थीमा जीवन बरबाद भइरहेको जस्तो लाग्छ ।
नूरनिधि नोकरशाही यन्त्रका लागि बनेको मानिस होइन । ऊ मूलतः एक विचारक हो बाँकी बीस–पच्चीस वर्ष स्वतन्त्र जीवन बिताउन र प्रशस्त लेख्न र छपाउन उसलाई बराबर तर्कना आउँछ । उसले साहस गरे अहिले नै पनि त जागिर छोडेर अरू धेरैले गरेझैँ जीविका उपार्जनको नयाँ बाटो लिन सक्छ । उसले स्वीकार गरोस् वा नगरोस्, ऊ जागिरतर्फबाट प्राप्त गरेको आर्थिक सामाजिक टेक–अफ गुमाउन चाहन्न ।
उसले संसारका अधिकांश देश डुलिसक्यो, अधिकांश सुख भोगिसक्यो, तैपनि जागिरप्रति किन यस्तो आसक्ति उसलाई कार्यभार मुक्त गरिदिएमा उसप्रति उपकार नै हुनेछ । जसमा मौलिक विचार गर्ने क्षमता छ, उसले भनेका कुराहरू समयचक्रले धेरैजसो ठीक देखाएका छन्, उसले गरेको विश्लेषणलाई स्वदेशी–विदेशी जानकारहरूले चाख लिएर सुन्ने गरेका छन् । अङ्ग्रेजी भाषामा ती विचार र विश्लेषण लेखेर विदेशमा प्रकाशन गराए उसले सम्मान र द्रव्य दुवै प्राप्त गर्न सक्दछः उसलाई यसमा पूरा आत्मविश्वास छ । तर, अङ्ग्रेजी लेखेर विदेशमा छपाएर नेपालीको जीवन बदल्नमा, नेपालको विकासमा खास योगदान होला जस्तो उसलाई लाग्दैन । नेपालले नेपालीहरूकै प्रयासबाट मात्र उन्नतिको पखेटा लाउन सक्छ र यो नेपालीहरूको चिन्तन प्रक्रियामा सशक्त प्रभाव पार्न सकेमात्र सम्भव हुन्छ । स्वदेशी भए पनि विदेशी मन भएका मुट्ठीभर अङ्ग्रेजीबाजभन्दा व्यापक नेपाली जनता इतिहास र देश विकासको प्रमुख शक्ति भएकोले नूरनिधिले मुख्यतः नेपालीमै लेख्नु बोल्नु उचित देखिन्छ ।
नूरनिधि शर्मा यता केही वर्षदेखि युवकहरूको मनको विश्लेषण, उनको प्रवृत्तिको अध्ययन, उनको अनुभवहीनताजन्य अहङ्कार, उनको मनोगतता (सब्जेक्टिभिज्म) र दिशाच्युत विद्रोहीपन, छिटो र छरितोरूपमा व्यापक युवक समुदायलाई यथार्थवादी ज्ञान गराउने, उत्साह–उमङ्ग जगाउने तरिकाहरू आदिबारे ज्यादा पढ्छ, सोच्छ, प्रयोग गर्छ । मानिसलाई सुनाउनुभन्दा अनुभव गराइदिनु जटिल व्यवहारमा पारिदिनु, उत्तरदायित्वहरू सुम्पन पहाड र तराईका दुर्गम कठिन ठाउँमा दस–बीस महिना व्यापक जनसम्पर्क हुने काममा लगाइदिन समस्या र त्यसको समाधानबारे लेख्न लगाउन बोल्न लगाउनु, प्रतिवेदन तयार पार्न लगाउनु सहरमै पनि अनेक क्षेत्रका अनेक प्रकारका अनेक स्वभावका मानिसहरूसँग मिलेर गर्नुपर्ने काम दिनुमात्र तर्कपूर्ण वस्तुगत विश्लेषण, प्रस्ट विचार, अनेक दृष्टिकोण र गहिराइबाट सोचे अर्थात् परिपक्वता, किताबी कल्पना र विद्याको अहङ्कारबाट मुक्ति, देश विकासबारे यथार्थवादी र व्यावहारिक बाटो चिनाउने पद्धति हो भन्ने उसको विचार छ । युवकहरूलाई दुःख दिन उसलाई आनन्द आउँछ किनभने बिनादुःख सच्चा ज्ञान प्राप्त हुँदैन र सच्चा ज्ञान प्राप्त हुँदै गएको दसौँ हजार युवकहरूको सतत प्रयासबाट मात्र देश बन्छ नूरनिधिको यो विचार र क्रियाकलाप स्याडिष्टको न्युरोटिक गतिविधि पनि हुनसक्छ ।
(रूप–रेखा मासिक, वर्ष १०, अङ्क ४, पूर्णाङ्क १००, आत्मकथा विशेषाङ्क, भदौ २०२६)
स्रोतः शारदा मासिक, ०७८ कार्तिक स्व. गोविन्दप्रसाद लोहनी विशेषाङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *