“शोषणरहित समाजको लागि सामाजिकीकरण जरुरी हुन्छ”
- जेष्ठ २१, २०८३
भक्तपुर, २२ जेठ । वागीश्वरी माध्यमिक विद्यालय कमलविनायक – ९ भक्तपुरमा शैक्षिक वर्ष २०८३ सालमा विभिन्न कक्षामा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतार्थ र २०८२ सालमा विभिन्न कक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरियो ।
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले वागीश्वरी माध्यमिक विद्यालयले नेपालको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको आधारमा नेपालमा बढी विद्यार्थी सङ्ख्या भएको यो विद्यालय टप टेनमा परेको बताउनुभयो । हाल सामाजिक सञ्जाल र खेलमा बढी चासो राख्ने विद्यार्थीहरू रहेको उल्लेख गर्दै उहाँले नैतिकताहीन, खराब आचरण, विद्यालयको ख्याति गुम्ने कार्य कसैले र कुनै पनि पक्षले गर्न नहुने बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वगीश्वरी तीनवटा शैक्षिक संस्था सँगसँगै सञ्चालन भएको उल्लेख गर्दै तीनवटा संस्थाप्रति बालबालिका, शिक्षक र अभिभावकहरूको अपनत्व हुनुपर्ने बताउनुभयो । यस विद्यालयको गुणस्तरीय परीक्षाको परिणाम र वागीश्वरी कलेजले दुईपटक नेपाल प्रथम गर्न सफल भएको स्पष्ट पार्दै विद्यालयको भौतिक संरचना, सेवा र सुविधालाई सबै क्षेत्रबाट बढीभन्दा बढी लाभ लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले नेपाल सरकारको आर्थिक सर्वेक्षणमा वागीश्वरी मावि टप टेनमा परेको स्मरण गराउँदै यस विद्यालयले समुदायमा आफ्नो गौरवपूर्ण सफल उपस्थितिको लागि प्रयासरत रहेको बताउनुभयो । उहाँले सङ्ख्या मुख्य होइन गुणस्तरीय नतिजा महत्वपूर्ण हुने कुरा उल्लेख गर्दै गुणस्तरीय नतिजाको लागि विद्यार्थी, अभिभावक र शिक्षकको सहकार्य र समन्वयमा मात्र सफल हुने बताउनुभयो ।
वागीश्वरी माविका सहायक प्रधानाध्यापक उकेश सुवाल, विद्यालयका निम्न माविका इन्चार्ज विश्वराम प्रजापति, स्वागत कार्यक्रम समितिका संयोजक धनेशराज राजोपाध्याय, शिक्षक सीता कार्की र सुमन गैडाले पनि बोल्नुभएको थियो । विद्यार्थीहरूको तर्फबाट कक्षा आठका विद्यार्थीद्वय नैतिक तिवारी र विनिता सुन्दासले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक वर्ष २०८२ मा कक्षा प्लग्रुप देखि कक्षा १० सम्म प्रथम, द्वितीय र तृतीय हुन सफल उत्कृष्ट विद्यार्थीहरूलाई अतिथिहरूबाट पुरस्कार वितरण गरी सम्मानित गरिएको थियो । नव आगन्तुक विद्यार्थीहरूलाई पुराना विद्यार्थीहरूबाट सांस्कृतिक कार्यक्रम गरी स्वागत गरिएको थियो । हाल वागीश्वरी माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ९ सम्म ५९२ जना नयाँ विद्यार्थीहरू भर्ना भएका थिए भने २६८९ जना विद्यार्थीहरू हाल यस विद्यालयमा अध्ययनरत रहेका छन् ।
Leave a Reply