भर्खरै :

मोबाइल भर्सेज किताब

  • जेष्ठ २२, २०८३
  • हरिहर तिमिल्सिना, शिक्षक तथा लेखक
  • विचार
मोबाइल भर्सेज किताब

अर्नेस्ट हेमिङ्वेले भनेका रहेछन्, “दुनियाँमा पुस्तक जति बफादार र भरपर्दो साथी अरु केही छैन ।” अहिले यसो भन्यो भने एकथरी मानिसलाई चित्त नबुझ्न सक्छ । अब दुनियाँ बदलि सक्यो । अब त मानिसको मोबाइल जति भरपर्दो साथी अरु केही हुन सक्दैन होला । के मोबाइल साँच्चै भरपर्दो मात्र छ ? यसले साराका साराको समय खोसेको छ । भोक, निद्रा र सिर्जनशीलता खोसेको छ । बालबालिकाको बालापन खोसेको छ । युवायुवतीको मौलिक बैँस खोसेको छ अनि बुढाबुढीको चैन खोसेको छ । अचेल डोरीबिना झुन्डिन मिल्ने वस्तु छ भने त्यो मोबाइल नै भएको छ । अचेल हामी जोसुकै जहाँसुकै होस् मोबाइलमै झुन्डिएका हुन्छौँ ।
एउटा तथ्याङ्कले भन्छ, ‘एक दिनमा एउटा मानिसले २६०० पटक मोबाइल छुन्छ रे ।’ यो वाक्य सुन्दा अलि हजम नहुन सक्छ । त्यत्रो पटक त कसले छुन्छ होला जस्तो लाग्छ । यसमा गोजीबाट निकाल्ने, समय हेर्ने, फोन गर्ने, रिसिभ गर्ने, सन्देश लेख्ने, सुम्सुम्याउने, बटन थिच्ने, स्क्रोल गर्ने, पेज खोल्ने, लाइक गर्ने, कमेन्ट गर्ने सबै प्रक्रिया पर्दा रहेछन् । यसको मर्म बुढीऔँलालाई जति अरुलाई कसरी थाहा होला ? खासमा मोबाइल शरीरको अङ्ग जत्तिकै अभिन्न बन्न पुगेको छ । एकछिन मोबाइल भएन भने हातखुट्टा बाँधिदिएजस्तो, मुख थुनिदिए जस्तो, सारा स्वतन्त्रताको हरण गरिदिए जस्तो कस्तो कस्तो उकुसमुकुस हुने गर्छ । सुत्नेबेलामा पनि हातले भेट्ने ठाउँनजिक यसको बास हुन्छ ।
अचेल आमाबुबाले सानो बच्चा रुँदा फुलाउन मोबाइल दिने गर्छन् । आमाहरूलाई ‘को खाई को खाई’ गरेर खाना खुवाउने फुर्सद छैन । खाना खुवाउने बेलामा मोबाइलमा गीत वा कार्टुन लगाएर अगाडि राखिदिने गर्छन् । सुत्ने बेलामा हजुरआमाको कथा र लोरी सुन्ने जमाना पनि सकिएको छ । बच्चा हुँदा पहिला पहिला बाघ आयो, भूत आयो, गुजी (बुजी) आयो, पुलिस आयो भनेर मिथ्याचार गर्नुपथ्र्यो । अहिले त बस मोबाइल दिएपछि बच्चा खुस, आमाबुबा पनि खुस । मोबाइलको कुलत यसरी लागेको छ कि अब यो सञ्चारको आधुनिक साधनमा मात्र सीमित रहेन । विद्यार्थीको गृहकार्य गर्ने साथी पनि यही छ । तपाईँ भएको जुनसुकै गृहकार्य दिनुहोस् गुगल गुरुले सजिलै बताइदिनुहुन्छ । विद्यार्थी यसैबाट कपी पेस्ट गरेर अर्का गुरुलाई बुझाउँछन् । अचेलका विद्यार्थी मोबइलमार्फत फेसबुक, टुइटर र इन्स्टामा नयाँ नयाँ फोटा टाँस्छन् । साथै सिनेमा हेर्छन्, गीत सुन्छन्, टिकटक हेर्छन्ब/नाउँछन् । गेम खेल्छन्, दोस्तीगिरी गर्छन् । अब तिनीहरूको रुचि कार्टुन हेर्नुमा मात्र सीमित रहेन । बरु, तिनीहरूले मौका हेरी बुबाआमा र शिक्षकलाई नै ‘कार्टुन’ बनाउँछन् ।
आधुनिक जमानामा मोबाइलबिना मानिसको जीवन चल्दैन । यो अत्यावश्यक सामग्री पनि हो । आवश्यकताका साथै कतिपय अवस्थामा यो काउसाको मालाजस्तो पनि बन्न पुगेको छ । विद्यार्थीलाई त मोबाइल पाएपछि बाउआमा, समाज, इस्टमित्र, संस्कार, कामकाज, घरधन्दा, जिम्मेवारी र बाहिरी संसार केही नचाहिने भएको छ । अधिकांश अभिभावकको गुनासो के हुने गर्छ भने – ‘लौन बच्चा चौबिसै घण्टा मोबाइलमा झुन्डियो ।’ यसमा बच्चाको केही दोष छैन । दोषी त विद्यालय र अभिभावक दुबै छन् । यो समस्याको एउटा मात्रै समाधान किताब हो । मोबाइल खेलाउने हातमा किताब थमाउन अब ढिला भइसकेको छ । स्टेफिन हार्गेभर्स भन्छन्, “मस्तिष्क, हृदय र आत्माको उदात्तीकरणका लागि पुस्तक जति महत्वपूर्ण कुरा अरु केही छैन ।” हाम्रा लागि भने किताबको महत्व अहिले पनि जिरा मरिच पोको पार्ने कागजबाट माथि उठ्न सकेको छैन । यहाँ भुल्नै नहुने कुरा के हो भने हामीले बच्चालाई किताबको लती बनाउन नसकेकै कारण उनीहरू मोबाइलका कुलती भएका हुन् ।
बच्चा विद्यालयमा जानुभन्दा अगाडिदेखि नै उसका हातमा विभिन्न खाले किताब पर्नुपर्ने हो । सचित्र लेखिएका कथा, कविता, गीत र अन्य सामग्रीले बालबालिकाका मस्तिष्कमा सकारात्मक प्रभाव पार्छन् । उनीहरू कल्पनाशील र सिर्जनशील बन्छन् । यहाँ त बच्चालाई विद्यालय हालेको दिनदेखि पाठ्यपुस्तकको घोकन्ते संस्कृति सुरु गराइन्छ । निश्चित कुरा घोकेर ग्याम्म नम्बर ल्याएपछि बच्चाले तगडा विद्यार्थीको पगरी पाइहाल्छ । हाम्रो शिक्षा प्रणालीको सबैभन्दा ठुलो दुष्मन के हो भने यो नर्सरीदेखि नै निश्चित पाठ घोकेर सुरु भई मास्टर डिग्रीमा नोटकपी र फोटोकपीले प्रदान गरेको ज्ञानमा पुगेर टुङ्गिन्छ । हेरिल्याउँदा खेरी सीमित पाठ्यपुस्तक पढाउने पद्धति नै सिकाइको सबभन्दा ठुलो बाधक भएको भेटिन्छ । पाठ्यपुस्तकले हदसम्म गर्ने भनेको परीक्षामा सफल गराउने हो । जीवनमा सफल बनाउने हो भने पाठ्यपुस्तक बाहिरका किताब पढाउनुको विकल्प छैन । अब परीक्षामा मात्रै सफल बनाउने कि जीवनमै सफल बनाउने हो, छान्ने जिम्मा अभिभावक र विद्यालयको ।
मैले कतिपय विद्यालयका शिक्षक, प्रिन्सिपल र व्यवस्थापकदेखि अभिभावकसम्मलाई एउटै रोगले गाँजेको देखेको छु । त्यो के हो भने कोर्स बाहिरका किताब पढ्यो भने विद्यार्थी बिग्रिन्छ रे । तिनले कोर्स बाहिरका किताब पढ्न खोज्ने विद्यार्थीलाई गाली गरेर हतोत्साहित गरेको मेरै आँखाले कैयौँपटक देखेको छु । अबको विद्यार्थीलाई पाठ्यपुस्तकको सीमित ज्ञानमा मात्र अल्झाएर राख्नु भनेको विद्यालयहरूले गर्ने पाप कर्म हो । तसर्थ, विद्यालयहरूले बढीभन्दा बढी पुस्तक भएको भव्य पुस्तकालयको अवधारणा ल्याउनु जरुरी छ । अलिकति ढङ्ग पु¥याउने हो भने कक्षाकोठा नै पनि मिनी लाइब्रेरी बन्न सक्छ । विद्यार्थीलाई उसको तहअनुसार कम्तीमा महिनाको दुईओटा पुस्तक अध्ययन गर्ने वातावरणको सिर्जना गर्नु अत्यावश्यक भइसकेको छ ।
कतिपय विद्यालय सञ्चालक र प्रिन्सिपलसम्मलाई के लाग्छ भने कोर्स बाहिरका किताब पढाउँदा नेपाली–अङ्ग्रेजीलगायतका भाषा विषयलाई मात्रै सहयोग हुन्छ । किताब पढ्ने र पढाउने काम साहित्यको मामला हो । विज्ञान, गणितजस्ता विषयसित यसको गोरु बेचेको साइनो पनि छैन । यो सोचाइ एकदमै गलत छ । बाहिरी किताब पढी विद्यार्थी सिर्जनशील, तार्किक र कल्पनाशील हुँदा यसले विज्ञान र गणितजस्ता विषयलाई पनि धेरै फाइदा गर्छ । कुनै कुनै विद्यालय र अभिभावकले एसईई र १२ कक्षाको जाँच दिने विद्यार्थीलाई झन् कडा नियम बनाएर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कोर्सका विषय मात्र रट्टु मार्न लगाउँछन् । कुनै पनि बोर्ड परीक्षा अरुभन्दा फरक होइन । बरु, उनीहरूलाई नयाँ–नयाँ किताब पढाउने, सिनेमा देखाउने अनि गीत सुनाउने चाँजो मिलाएर कोर्सको पढाइलाई सँगसँगै लैजान सकिन्छ । एसईई परीक्षाको प्रश्नपत्र र कक्षा नौको प्रश्नपत्रमा के फरक छ ? कक्षा ११ र १२ को प्रश्नपत्रमा के फरक छ ? यसरी बोर्ड परीक्षाहरूलाई चाहिनेभन्दा बढी महत्व दिँदा तल्लो कक्षामा पढ्ने विद्यार्थीमा पनि पढ्ने भनेको बोर्ड परीक्षा आएपछि मात्रै हो भन्ने भावनाको विकास भएको पाइन्छ । परीक्षाको रुटिन निस्केपछि मात्रै पढ्न सुरु गर्ने बानी लाग्न यस्तै व्यवहार जिम्मेवार हुन्छन् ।
जाडो मौसम सकियो । हामीले सन्ततिलाई न्यानो राख्न अनेक खाले ज्याकेट, सुइटर, मोजा, पञ्जा, जुत्ता आदि किनिदियौँ होला । उनीहरूको शरीर सपार्न हामी अनेक खर्च ग¥यौँ होला । गच्छेअनुसारको खुराक पनि खुवायौँ होला । शरीरको खुराकको हामी धेरै चिन्ता गर्छौँ । दिमागको खुराक किताबहरू किनिदिनु पर्छ कि पर्दैन ? अब नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । केही दिन विद्यार्थीहरू अलि फुर्सदमा हुनेछन् । विद्यालयले तोकिदिएका पाठ्यपुस्तक त हामी खुरुखुरु किनिदिइहाल्छौँ । कोर्स बाहिरका किताब किनिदिने हाम्रो योजना छ कि छैन ? कसैलाई नयाँ वर्ष वा जन्म दिनको उपहार दिनु छ भने राम्रो किताब किनेर किन नदिने ? जतिखेर पनि मोबाइल खेलाउने हातले किताब समाएको कल्पना गरौँ त ! हेर्दा यो कुरा सामान्य लाग्न सक्छ तर राष्ट्रोत्थानको जग यहीँबाट सुरु हुन्छ ।
(लेखक पढाउनेले पढौँ अभियानका अभियन्ता हुन् ।)
स्रोत : बाल विकास स्मारिका–२०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *