न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
प्रजग कोरिया अर्थात् प्रजातान्त्रिक जनगणतन्त्र कोरिया एसिया महादेशको पूर्वी भागमा अवस्थित एक राष्ट्र हो । जापानी साम्राज्यवादविरुद्ध ३० वर्ष लामो बलिदानीपूर्ण छापामार युद्धपछि मुक्त भएको देश कोरियालाई देशको दक्षिण भागमा अमेरिकी साम्राज्यवादले आफ्नो कठपुतली सरकार बनाउन लगाएर देश विभाजित हुने अवस्था निम्त्याएको थियो । सन् १९४९ मा स्थापना भएको प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई बचाउन कोरियाली जनसेना र अमेरिकीलगायत साम्राज्यवादी सेनासित भएको युद्धलाई कोरिया युद्ध (१९५०–१९५३) भनिन्छ । प्रजग कोरियाविरुद्ध संरा अमेरिकालगायत पश्चिमा देशहरूले विगत ७० वर्षदेखि अमानवीय र क्रुर नाकाबन्दी लादिरहेका छन् । दक्षिण कोरिया र जापानका विभिन्न भागमा आणविक अस्त्रसहित अमेरिकी सेना तैनाथ राखेर निरन्तररूपमा प्रजग कोरिया र कोरियाली जनतालाई युद्धको धम्की दिइरहेको छ । त्यस्तो विषम स्थितिमा साम्राज्यवादको अगाडि झुक्न नजानेका वीर कोरियाली जनताले आफ्नो आत्मरक्षाको लागि नयाँ अस्त्र–शस्त्र निर्माण गर्छन् र त्यसको परीक्षण गर्छन् भन्ने त्यसमा के आश्चर्य भो र ?
प्रजग कोरिया, त्यहाँका सर्वोच्च नेता र कोरियाली जनताविरुद्ध पश्चिमा र विभिन्न देशका पुँजीवादी सञ्चारमाध्यमहरूले गरिरहेको भ्रामक र गलत प्रचारले भने सीमा नाघेको छ । कठिन भूगोल भएको र जलवायु परिवर्तनको असरस्वरूप त्यहाँ कुनै वर्ष खडेरी तथा कुनै वर्ष अतिवृष्टिजस्ता प्राकृतिक विपत्तिका कारण बालीनालीमा क्षति भएर अन्नको अभाव भएको सत्य हो । तर, प्रजग कोरियाको समाजवादी सरकारले समानुपातिक वितरण र विदेशबाट आयात गरेर पनि जनतालाई भोकमरीबाट बचाइरहेको छ । प्रजग कोरिया स्थापनाभन्दा अगाडिको या १९५० को दशकको तस्बिर अगाडि राखेर प्रजग कोरियामा भयानक भोकमरीजस्ता कपोलकल्पित समाचार, कोरियाली जनताका महान नेताहरूलाई अत्याचारी तानाशाह बताउने दुष्प्रचार पुँजीवादी सञ्चारमाध्यमहरूले गरिरहेका छन् । प्रजग कोरिया या उत्तर कोरियाविरुद्ध यति विघ्न दुष्प्रचार किन ? के कुनै देशले आफ्नो देशको स्वाधीनता र सार्वभौमिकता कायम राख्नु नै अपराध हो ? कुनै देशका शासकहरू साम्राज्यवादीहरूसामु लम्पसार परेपछि मात्र के उनीहरू सही हुने हुन् ?
Leave a Reply