भर्खरै :

‘मजदुर’ दैनिकप्रति आभार

कुनै कारणवश ‘मजदुर’ दैनिक पढ्न नपाएको दिन निकै बेचैनी हुन्छ । यसमा छापिने हरेक सामग्री पाठकीय हिसाबले सन्तुष्टि र वैचारिक पक्ष अनुकरणीय छ । ती सामग्रीका विषयमा केही प्रतिक्रिया लेखूँ भन्दाभन्दै अर्को दिन आइसकेको हुन्छ । यसरी नै समय बितिरहेको छ ।
माघ १५ गतेको ‘मजदुर’ दैनिकको विषयमा केही लेख्दै छु । ‘के नेमकिपा सानो छ ?’ शीर्षकीय राकस्थाको लेखले साँच्चै नै देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्धको स्मरण गरायो । वास्तवमा कुनै पनि वस्तु त्यसको आकारप्रकारले ठूलो र रङ्गीविरङ्गी ‘लुक्स’ले राम्रो हुने होइन । राम्रो र ठूलो भनेको त त्यसको गुणले हुने हो । यो शाश्वत सत्यलाई एकचोटि मनन गर्ने हो भने देश र जनताको पक्षमा राजनीति गर्ने आस्थालाई जोगाउने नेपालको एक असल पार्टी नेमकिपा हो भन्ने कुरा कसैलाई बताइरहनु पर्दैन । सरल र सारगर्भित विचारको लेख लेख्ने राकस्थालाई हार्दिक धन्यवाद छ । यस्तै कुरा इन्द्रकुमार श्रेष्ठको गीति कविता (नेपाल र नेपालीको गौरव नेमकिपा) मा पनि मुखरित भएको पाएँ । श्रेष्ठको यो गीतलाई रेकर्ड गराउने व्यवस्था गर्न सके राम्रो हुनेछ ।
इतिहासकार डा.पुरुषोत्तमलोचन श्रेष्ठ बेलाबखत भक्तपुरमा संरक्षण गर्न बाँकी पुरातात्विक महत्वका सम्पदाका विषयमा लेखेर सचेत गराइरहनुहुन्छ । भक्तपुरका असुरक्षित अभिलेखका विषयमा धारावाहिक उहाँका खोजमूलक लेख पढ्न पाइयो । यस्तैखाले लेख पढिरहन पाउने आशा गर्छु । यसबाट पुरातत्व विभाग तथा भक्तपुर नगरपालिकाको ध्यानाकर्षण हुने नै छ ।
द्वितीय विश्वयुद्धकालीन हिटलर संसारले घृणा गरेका कुपात्र हुन् । उनको पालामा यहुदीहरूलाई कसरी मारियो, यातना दिइयो भन्ने कुरा पढ्न धेरैलाई गा¥हो हुन्छ । यस्तै कुरा समेटिएको पुस्तक (म्यान्स सर्च फर मिनिङ्ग) को विषयमा चर्चा गरेर लेखक नीरजले ठूलो गुण लाउनुभएको छ ।
बालबालिकाको मानसिक क्षमता कसरी बढाउने ? शीर्षकको उपयोगी सामग्रीका लागि लेखक सुनिता गाइसीप्रति पनि आभारी छ ।
आगामी दिनमा पनि ‘मजदुर’ दैनिकमा यस्तै विचारोत्तेजक र उपयोगी सामग्री पढ्न पाइने आशा गरेकी छु । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *