भर्खरै :

चीनको उदाहरणीय भ्रष्टाचारविरोधी अभियान

छिमेकी देश जन गणतन्त्र चीन त्यसको बढ्दो आर्थिक र कूटनीतिक प्रभावका कारण विश्वभर चर्चामा छ । चिनियाँ विशेषताको समाजवाद र चीनमा कायम भएको सुशासनप्रति विश्वको उत्तिकै चासो रहेको छ । जनतालाई सर्वोपरी राखेर काम गरिरहेको र जनताको सेवालाई नै एकमात्र लक्ष्य राखेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिबद्ध, सदाचारी र बुद्धिमत्तापूर्ण नेतृत्वका कारण चीन आजको समृद्ध अवस्थामा पुगेको हो । चीनको सुशासनमा चिकपाका वर्तमान महासचिव सि चिनफिङ तथा अहिलेको पार्टी केन्द्रीय समितिले अगाडि बढाउँदै आएको भ्रष्टाचारविरुद्ध विशेष अभियानको ठूलो महत्व रहेको छ ।
आफू महासचिव निर्वाचित भएको दुई महिनापछि भएको केन्द्रीय समिति बैठकमा सि चिनफिङले भ्रष्टाचार र घूसविरोधी अभियान घोषणा गर्दै भ्रष्टाचारमा डुबेका उच्च ओहदामा रहेका ‘बाघहरू’ र तल्लो तहमा रहेका ‘झिँगाहरू’ लाई पनि निकालेर फ्याँकिने बताइएको थियो । नभन्दै त्यसै वर्षदेखि भ्रष्टाचारविरूद्ध शक्तिसम्पन्न उच्चस्तरीय समिति बनाई परिचालन गरियो । पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोगलाई पनि त्यतिकै सक्रिय र शक्तिसम्पन्न तुल्याइयो । त्यसपछिदेखि शक्तिमा रहेर भ्रष्टाचार गरिरहेका र अकुत सम्पति जोडिरहेका अधिकारीहरूको निद्रा हरायो, तीमध्ये कतिपय त चीन छोडेर विदेशमा भागे । एक दशकभन्दा कम अवधिमै केन्द्रीय र प्रदेश मन्त्री तहका गरी ४०० भन्दा माथिका उच्चस्तरीय अधिकारहिरूमाथि छानबिन भयो । तीमध्ये दोषी देखिएका र स्रोत नखुलेका सम्पति जोडिएकाहरूमाथि कानुनबमोजिम कारबाही गरियो ।
सन् २०१४ देखि २०२० सम्ममा देश छोडेर भागेका भ्रष्टहरूमध्ये ८३ हजार जनालाई विश्वका १२० देशबाट चीन फिर्ता ल्याई अनुसन्धान र अभियोजन गरियो । त्यसले गर्दा चीनमा भ्रष्टाचार र अधिकारको दुरूपयोगको विसङ्गति बढारेजत्तिकै समाप्त भयो र सामान्य जनताले राम्ररी नै अनुभूति गर्न सकिने गरी सुशासन कायम भयो । भ्रष्टाचार नै सबै विसङ्गतिको जड हो भन्नेमा चिकपा महासचिव तथा चिनियाँ राष्ट्रपति सि दृढ हुनुहुन्छ । त्यसैले व्यवस्थित र कानुनी तवरले नै भ्रष्टाचारविरोधी अभियान उहाँले अगाडि बढाउनुभएको छ । अभियानको क्रममा प्रमाणका आधारमा बाहेक कसैमाथि ज्यादती नगरिएको र प्रमाणले भ्रष्ट ठहर भएकाहरूमाथि कुनै किसिमको दया वा सहानुभूति पनि नराखिएको बताइन्छ । चीनको सफल भ्रष्टाचारविरुद्धको अभियानले देशको आर्थिक विकासमा मात्र नभई शैक्षिक, सामाजिक, स्वास्थ्योपचार, पूर्वाधार विकास, वातावरण संरक्षण, हरियालीकरणलगायत सबै क्षेत्रमा उल्लेख्य प्रगति भएको प्रतिवेदन छ । चीनको सरकार, प्रशासन, प्रहरी, सेनालगायत सर्वत्र स्वच्छता देखिएको अध्ययनकर्ताहरूको निष्कर्ष छ । त्यहाँको उक्त अभियानको मूल कारण वा पहिलो सर्त चिकपा नेतृत्व र चीनका उच्च अधिकारीहरूको प्रत्येक कार्यमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता रहेको बताइन्छ । आज चीनको भ्रष्टाचारविरोधी अभियान विश्वकै लागि उदाहरणीय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *