भर्खरै :

शीतकालीन ओलम्पिकको सबै तयारी पूरा

पेइचिङ, १ फेब्रुअरी । आउँदो शुक्रबारबाट सुरु हुने पेइचिङ शीतकालीन ओलम्पिकको सबै तयारी पूरा भएको आयोजकले बताएको छ ।
पेइचिङ शीतकालीन ओलम्पिक आयोजक समितिले सोमबार पेइचिङ २०२२ को मुख्य सञ्चार केन्द्रमा ‘शीतकालीन ओलम्पिक, खेलकुद र संस्कृति’ विषय कार्यक्रममा चीनले ओलम्पिकको ‘सरल, सरक्षित र भव्य’ संस्करण आयोजना गर्ने बताएको छ ।
ओलम्पिक र चिनियाँ वर्ष एकै समय परेको हुनाले चीनले यसलाई संसारबाट आफ्नो देशलाई दिइएको नयाँ वर्षको उपहारको रूपमा लिएको आयोजक समितिका प्रवक्ता चाओ वेइतोङले भने ।
उनले प्रतियोगिता हुने स्थानको सबै निर्माण कार्य तथा परीक्षण, खेलाडीहरूको तयारी कक्षा, सबै तीनवटै प्रतिस्पर्धा क्षेत्रमा पुग्ने बन्दोबस्त, होटल र स्वास्थ्य सेवा तयार भएको बताए ।
त्यस्तै प्रतियोगिताको समयमा खेलाडी र खेल अधिकारीको सहजताको लागि ५ जी, रोबोट, हाइड्रोजन सवारी साधन र अन्य अत्याधुनिक प्रविधि पनि प्रयोगको लागि तयारी अवस्थामा छन् ।
ओलम्पिक स्थलमा चिनियाँ लालटिन, कागजी कला र शुभ मङ्गलको सङ्केत गर्ने ‘फु’ को कलात्मक लेखनजस्ता सांस्कृतिक महत्वका शृङ्गार सामग्री प्रयोग गरिएको पनि आयोजकले जनाएको छ ।
खेलाडीहरूलाई खुवाइने खानामा पनि सांस्कृतिक पक्षलाई ध्यान दिइएको आयोजकले जनाएको छ । खेलाडीहरूलाई चिनियाँ परिकार डम्पलिङ र पेकिङ हाँसको व्यवस्था गरिएको छ ।
“प्रतिस्पर्धा चल्दै गर्दा हामी खानाको परिकारदेखि सबै हिसाबले खेलको मज्जा लिन आमन्त्रण गर्न चाहन्छौँ”, उनले भने ।
आयोजक समितिअन्तर्गत महामारी नियन्त्रण र रोकथाम कार्यालयका सहायक उपनिर्देशक डा. ह्वाङ चुनले बन्द परिसरभित्र कोभिडका सबै नियमको कडाइपूर्वक पालना गरिएको बताए ।
यसैबीच अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सभापति थोमस बाचले सन् २०२२ को पेइचिङ शीतकालीन ओलम्पिकमा ३० करोड मानिस संलग्न गर्ने वाचा चीनले पूरा गरेको र उसको यो कामले ‘शीतकालीन खेललाई विश्वव्यापी रूपमै नयाँ युगमा पु¥याउने’ बताएका छन् ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वासँगको कुराकानीमा बाचले शीतकालीन ओलम्पिकको तयारीबारे आधिकारिक तथ्याङ्क हेर्दा निकै खुशी भएको बताए ।
“यसले सबैतिर धेरै सङ्केत, धेरै सन्देशहरू प्रवाहित गर्नेछ”, बाचले भने,“चिनियाँ जनताको स्वास्थ्य र भलाइको निम्ति त्यो ठुलो योगदान हुनेछ । शारीरिक रूपमा तपाई सक्रिय हुनुभए तपाई मानसिक र थप शारीरिक रूपमा सक्रिय हुन सक्नुहुनेछ ।”
बाचले शीतकालीन ओलम्पिकले चिनियाँ जनताको राष्ट्रिय छवि त उकासिनुका साथै अन्तर्राष्ट्रिय समुदाय र अन्तर्राष्ट्रिय ओलम्पिक अभियानको उचाइ पनि बढाउने बताए ।
“शीतकालीन खेलमा विश्वव्यापी सहभागितालाई यसले नयाँ उचाइ दिनेछ”, बाचले भने । “सबैको लागि सम्भावनाका ढोका अथाह छ । अन्तर्राष्ट्रिय महासङ्घहरूको लागि आफ्ना खेलकुद विकासको सम्भावना, खेलाडीको लागि आफ्ना समर्थक बढाउने र खेल आफैका लागि पनि खेलप्रेमी बढाउने अवसर हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *