भर्खरै :

कोभिडमुक्त संसारको अभिलाषा

जब चिसोले रुघा लाग्दैन भन्ने पत्ता लाग्यो
सत्रौँ शताब्दीको अन्ततिर सूक्ष्मदर्शक यन्त्रको प्रयोग गरी सबभन्दा पहिले ब्याक्टेरियासँग साक्षात्कार गरे वैज्ञानिक लिउवेन हकले । तर, अठारौँ शताब्दीको अन्तसम्म पनि चिकित्सकहरूलाई भाइरसबारे केही थाहा थिएन । ब्याक्टेरिया र मानव रोगको सम्बन्ध पनि थाहा थिएन । कुनै रोग कसरी फैलिन्छ भन्ने कुरा थाहा पाउने त कुरै भएन । सामान्यतः युद्धमा मारिनेको सङ्ख्याभन्दा कुनै सरुवा रोगको कारण मर्नेको सङ्ख्या बढी हुन्थ्यो ।
सन् १७७० मा अमेरिकी वैज्ञानिक बेन्जामिन फ्र्यान्क्लिनले रुघाको अध्ययन गरे । चिसो कपडा लगाउँदा वा चिसोमा बस्दा रुघा लाग्छ भन्ने विश्वास थियो आममानिसमा (आज पर्यन्त सामान्यतया यही विश्वास छ) । सन् १७७३ मा फ्र्यान्क्लिनले एक अर्का चिकित्सकलाई यस्तो लेखे, “बन्द कोठा, गाडी, आदिमा सँगै बस्दा मानिसलाई रुघा सर्छ । नजिकै बसेर कुराकानी गर्दा सासबाट रुघा सर्छ ।” तर, आफ्नो निष्कर्षमा फ्र्यान्क्लिन स्वयम् निश्चित थिएनन् ।
सन् १७७६ मा एउटा गज्जबको संयोग जु¥यो – फ्र्यान्क्लिन र दोस्रो अमेरिकी राष्ट्रपति हुनलागेका जोन याडम्सको साक्षात्कार । एउटा बैठकपछि फ्र्यान्क्लिन र जोनले एक रात सँगै बिताउनुपर्ने भयो । ‘होटेल’ यति धेरै भरिएको थियो कि फ्र्यान्क्लिन र याडम्स एउटा कोठामा त के, एउटै खाटमा सुत्नुप¥यो ।

भाइरस कुनै जीव नै होइन भन्ने तर्क पनि छ । भाइरस आफै वृद्धि हुनसक्दैन, कुनै जीवित कोष (होस्ट सेल) भित्र नछिरेसम्म भाइरस निर्जीव अवस्थामै रहन्छ । होस्ट सेलमा छिरिसकेपछिमात्र भाइरस सक्रिय हुन्छ । एउटा जीवित कोषमा हुनुपर्ने न्यूनतम संरचनाहरू जस्तो न्युक्लिअस, सेल मेम्बे्रनसमेत हुँदैन भाइरसमा । भाइरसमा आणुवंशिक सामग्री डीएनए (डीअक्सिराइबोन्युक्लिक एसिड) वा आरएनए (राइबोन्युक्लिक एसिड) र त्यसलाई ढाक्ने प्रोटिन र लिपिड (चिल्लो पदार्थ) मात्र हुन्छन् । भाइरस कुनै अर्को जीवित कोषविना हुर्कन वा वृद्धि हुनसक्दैन । यस मानेमा भाइरस जहिलेसुकै परजीवि हुन्छ । भाइरसको कुनै स्वतन्त्र जीवन हुँदैन ।

याडम्सलाई रुघा लागेको फ्र्यान्क्लिनलाई थाहा थियो । त्यसैले फ्र्यान्क्लिनले सुत्नुअगाडि कोठाको एउटा सानो झ्याल खोले । याडम्सले झ्याल बन्द गर्न खोज्दा फ्र्यान्क्लिनले भने, “झ्याल बन्द नगर्नुस् ! हामी निसासिन्छौँ !” याडम्सले प्रतिवाद गरे । फ्र्यान्क्लिनले आफ्नो ‘रुघाको सिद्धान्त’ बारे सबिस्तार भने, “झ्याल बन्द गरेपछि बाहिरको हावाभन्दा कोठाभित्रको हावा खराब हुन्छ ।” याडम्सले आफ्नो सहवासीको कुरा माने । फ्र्यान्क्लिनको जीवनी लेख्ने इतिहासकार वाल्टर इज्याक्सन लेख्छन्, “झ्याल खोल्ने बहसमा फ्र्यान्क्लिनले जित्नुको अर्थ उनलाई रुघा नलागेको निष्कर्ष पनि निकाल्न सकिन्छ ।”
चिसोकै कारण रुघा लाग्छ भन्ने कुरामा अनेक परीक्षण गरेका थिए, फ्र्यान्क्लिनले । उनी हरेक दुई हप्तामा चिसो हावा चल्ने नदी किनारमा २–३ घण्टा डुल्थे । मानिसहरू उनलाई चिसो लाग्छ भनी सतर्क पार्थे । “तर, मलाई किन रुघा लाग्दैन ?” उनको मनमा प्रश्न खेल्थ्यो । आखिर उनले पत्ता लगाइछाडे, “हाम्रो निश्वासमा हुने जैविक पदार्थ भएको चिसो तथा खराब हावाको कारण रुघा लाग्छ ।” सन् १९८० मा पत्ता लाग्यो, रुघा लाग्ने एक खालको भाइरस हुन्छ – रिट्रो भाइरस भन्ने । आज अनौठो लाग्छ, किटाणुकै कारण सरुवा रोग लाग्छ भन्ने सिद्धान्त ‘रोगको किटाणु सिद्धान्त’ अर्थात् जर्म थेअरी अफ डिजिज १९ औँ शताब्दीको उत्तराद्र्ध (१९६०) मा मात्र फ्रान्सेली वैज्ञानिक लुइज पाश्चरले पत्ता लगाएका थिए ।

अमेरिकी वैज्ञानिक बेन्जामिन फ्र्यान्क्लिन


कोभिड–१९ रुघाभन्दा कैयौँ गुणा खतरनाक भएर पनि रोग सर्ने सिद्धान्त भने एउटै छ । आजसम्म फ्र्यान्क्लिन जीवित हुन्थे भने उनले संसारभरका वैज्ञानिकहरूको अथक मेहनत र सफलताको मुक्त कण्ठले प्रशंसा गर्दथे । कोरोना भाइरस पत्ता लगाउन र यसको जिनको संरचना पत्ता लगाउनमात्र नभई भ्याक्सिनको विकास गर्नसमेत धेरै समय कुर्नु परेन । चिकित्सा विज्ञानले लामो फड्को मारिसकेको छ भन्ने यो ज्वलन्त प्रमाण हो ।
कोरोना भाइरस हावाको माध्यमबाट सर्ने (एअर बर्न) भएकोले सङ्क्रमणको खतरा बढी भएको हो । सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँगर्दा वा कुराकानी गर्दा, लामो निश्वास फाल्दा निस्किने थुक वा नाङ्गो आँखाले पनि नदेख्ने थुकका कणहरू (एरोसल्स) हावामा फैलिएर अरू व्यक्तिको श्वासनलीमा पुग्दछ अथवा सङ्क्रमित व्यक्तिको खकार, थुक वा सिँगानको कुनै अंशमात्र कुनै सतहमा परेको छ र अर्को व्यक्तिको हात त्यस्तो ठाउँमा परेपछि नाकमुख छुँदा भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले सबभन्दा सुरक्षित रहन मास्क लगाउने, नियमितरूपमा साबुनपानीले हात धुने, कुनै पनि व्यक्तिसँग कम्तीमा दुई मिटरको दुरीमा बस्ने उपाय नै सबभन्दा वैज्ञानिक मानिन्छ । संसारको एउटा कुनामा गरिएको अनुसन्धानको नतिजा तत्काल अर्को कुनै पनि कुनामा पुग्न धेरै समय लाग्दैन हिजोआज । धन्य आजको विज्ञान र प्रविधि ¤
नयाँनयाँ भेरिअन्टको सन्त्रास
“हैन भाइरस त बुझियो । फेरि भेरियन्ट भन्या के हो ?” एकदिन यो पङ्क्तिकारलाई एक जना अनन्य मित्रले प्रश्न गरे । ती आत्मीय मित्र नेपाली साहित्यका अध्येता तथा लेखिका पनि हुन् । ‘पढालेखा’ को निम्ति पनि गा¥हो रहेछ त्यसको उत्तर ।
भ्यारिअन्टबारे बुझ्नुभन्दा पहिले भाइरसबारे थोरै जानकारी चाहिन्छ । भाइरस कुनै जीव नै होइन भन्ने तर्क पनि छ । भाइरस आफै वृद्धि हुनसक्दैन, कुनै जीवित कोष (होस्ट सेल) भित्र नछिरेसम्म भाइरस निर्जीव अवस्थामै रहन्छ । होस्ट सेलमा छिरिसकेपछिमात्र भाइरस सक्रिय हुन्छ । एउटा जीवित कोषमा हुनुपर्ने न्यूनतम संरचनाहरू जस्तो न्युक्लिअस, सेल मेम्बे्रनसमेत हुँदैन भाइरसमा । भाइरसमा आणुवंशिक सामग्री डीएनए (डीअक्सिराइबोन्युक्लिक एसिड) वा आरएनए (राइबोन्युक्लिक एसिड) र त्यसलाई ढाक्ने प्रोटिन र लिपिड (चिल्लो पदार्थ) मात्र हुन्छन् । भाइरस कुनै अर्को जीवित कोषविना हुर्कन वा वृद्धि हुनसक्दैन । यस मानेमा भाइरस जहिलेसुकै परजीवि हुन्छ । भाइरसको कुनै स्वतन्त्र जीवन हुँदैन ।
तर, भाइरस एक सूक्ष्म जीव हो । सामान्य सूक्ष्मदर्शक यन्त्रबाट यसलाई देख्न सकिन्न । भाइरस हेर्न इलेक्ट्रन माइक्रस्कोपकै सहारा लिनुपर्छ । भाइरसलाई घरघरमा प्रयोग हुने खानेपानीको फिल्टरले पनि छान्न सक्दैन । आकारको तुलनामा भाइरस ब्याक्टेरियाभन्दा अत्यन्तै सानो हुन्छ । खानेपानीको फिल्टरले ब्याक्टेरियामात्र छान्न सक्छ । हेपाटाइटिस भाइरसको साइज ४५ न्यानमिटर (१ मिटरको एक अर्ब भागको एक भागलाई एक न्यानमिटर भनिन्छ) हुन्छ । यसबाट भाइरसको सूक्ष्मता अनुमान गर्न सकिन्छ । यदि एउटा भाइरस सामान्य सुटकेस बराबर छ भने ब्याक्टेरिया माइक्रोभ्यान बराबर हुन्छ । संरचनाको दृष्टिले ब्याक्टेरिया भाइरसभन्दा जटिल हुन्छ । त्यस हिसाबले ब्याक्टेरियामा विभिन्न शारीरिक प्रक्रिया (फिजियोलोजिकल फङ्सनस्) हुन्छन् र ती प्रक्रियामा अवरोध खडा गर्न सकेमात्र ब्याक्टेरियाको वृद्धि रोक्न सकिन्छ । भाइरस ब्याक्टेरियाभन्दा सानो हुने भएकोले पनि त्यसलाई निष्क्रिय पार्ने औषधी बनाउन वैज्ञानिकलाई चुनौती बनेको हो ।

भाइरस मानिस वा अन्य जीवको कोषमा सजिलै रजगज गर्नसक्छ । कतिपय जीवको कोषले नै भाइरसलाई स्वागत गर्दछन्, मानौँ भाइरस आफ्नै शरीरको एक अङ्ग हो । जसरी ‘ट्रोजन हर्स’ लाई विपक्ष सेनाले तानेर आफ्नो देशभित्र लैजान्छन् त्यसरी नै जीव कोषले भाइरसलाई भित्याउँछन् । अन्त्यमा जसरी ट्रोजन हर्सभित्रका सेनाले आतिथ्य दिने सेनालाई नै सिध्याएर आफ्नो साम्राज्य स्थापित गर्छ त्यसरी नै भाइरसका आणुवंशिक सामग्री (डीएनए वा आरएनए) वृद्धि हुन्छन्, ती प्रत्येक टुक्रा डीएनए वा आरएनएबाट हजारौँ नयाँ भाइरस बन्छन् । त्यसो हुँदैजाँदा कोषलाई काम नलाग्ने बनाइदिन्छन् । सबै भाइरसहरू सङ्क्रमित कोष फुटाली बाहिर निस्किन्छन्, नयाँ कोषहरू पनि आक्रमण गर्न तयार हुन्छन् र यो क्रम जारी रहन्छ । यसरी कुनै जीवकोष (होस्ट सेल) ले आफ्नो कोषभित्र पसेको भाइरसलाई आफ्नै ठानेर भाइरसको नक्कल (रेप्लिकेसन) बनाउन सहयोग गर्छ ।
कोरोना भाइरसका अनेक भ्यारिअन्ट विश्वमा देखिएका छन् तर केही भ्यारिअन्टले मात्र मानिसमा रोग पैदा गरेको देखिन्छ । सन् २०१९ मा चीनको उहानमा नयाँ कोरोना भाइरस देखियो । त्यसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सार्सकोभ–२ नामकरण ग¥यो र रोगको नाम कोभिड–१९ राखियो । सन् २०२० को सेप्टेम्बरमा बेलायतमा अल्फा देखियो, दक्षिण अफ्रिकामा त्यही वर्षको मे महिनामा बिटा भ्यारिअन्ट देखियो । त्यस्तै, नोभेम्बरमा ब्राजिलमा गामा र सबभन्दा घातक डेल्टा भ्यारिअन्ट सन् २०२० को अक्टोबरमा भेटियो भारतमा । ओमिक्रन भने सबभन्दा पहिला सन् २०२१ नोभेम्बरमा अफ्रिकाको बोत्स्वानामा देखिएको थियो ।
भाइरसको रेप्लिकेसन हुँदा सदा दुरुस्तै नयाँ भाइरस बन्दैन । केही घण्टाभित्र भाइरसको कैयाँै पुस्ताको विकास हुनसक्छ र करोडौँ अरबौँ भाइरस मानिसको शरीरमा विकास हुनसक्छन् । यसरी कैयौँ पुस्ताबीचमा त्यसको आणुवंशिक (जनेटिक) संरचनामा हल्का फरक आउन सक्छ । यस्तो परिवर्तनलाई उत्परिवर्तन (म्युटेसन) भनिन्छ । म्युटेसनलाई निरन्तर चल्ने प्राकृतिक प्रकृया मानिन्छ । म्युटेसनको खास कारण अझै पत्ता नलागे तापनि अनेक रसायन, सूर्यको प्रकाशमा हुने अल्ट्रभाइअलेट रेज लगायतका कारणबाट पनि म्युटेसन हुन्छ (आजकल म्युटेसनलाई क्रमविकास अर्थात् तेलुसनको एक मुख्य कारण मानिन्छ) । म्युटेसन हुँदै गएपछि बन्ने भाइरसको नयाँ स्वरूपलाई नयाँ भेरिअन्ट भनिन्छ । तर, म्युटेसनबाट बनेका सबै भेरियन्टले मानिसलाई रोगी बनाउन सक्छ भन्ने होइन । सबै भाइरस म्युटेसन हुनसक्छन् तर ती धेरैजसो हानिकारक हुँदैनन् । कुनै म्युटेसन भने खतरनाक हुनसक्छ । नयाँ अर्को रूप अघिल्लो वा मूल भेरियन्टबाट कडा वा नरम जे पनि हुन सक्छ । मानिसको कोषमा वृद्धि हुन नसक्ने भाइरस मरिहाल्छन् भने वृद्धि हुनसक्ने भाइरस सक्रिय रहन्छन् । क्रमविकासको सिद्धान्तका प्रतिपादक वैज्ञानिक चाल्र्स डार्विनले यसैलाई ‘सर्भाइवल अफ द फिटेस्ट’ भनेका थिए ।
ओमिक्रनको तीव्रतर हल्का स्पर्श
कोभिड–१९ महामारीको तेस्रो लहरमा ओमिक्रन भेरियन्टले संसारै हल्लायो तर यसपटक डेल्टाले जस्तो गा¥हो पारेन । यो मौसमी रुघासँग धेरै मिल्दोजुल्दो छ । ओमिक्रनमा ज्वरो आउने, थकान हुने, जिउ दुख्ने, घाँटी दुख्ने, भोक नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसले अरू जटिल रोग भएका वा बुढ्यौली उमेरकालाई भने गा¥हो पा¥यो । यसको मृत्युदर डेल्टा भेरियन्टको भन्दा निकै नै कम त छ, सङ्क्रमण दर भने डरलाग्दो छ ।
यसरी, घातक भाइरस कम सङ्क्रामक देखियो भने बढी सङ्क्रामक भाइरस कम घातक देखिएको छ । डेल्टा भेरियन्टले छातीमा सङ्क्रमण गर्दा न्युमोनिया भई मानिसको ज्यानसमेत लिएको थियो । तर, यो ओमिक्रन भाइरस हुर्किने मुख्य स्थान घाँटी क्षेत्रमात्र भएकोले श्वासप्रश्वासको समस्या देखिएन । छातीमा सङ्क्रमण हुन सकेन । नाकको माथिल्लो भाग र घाँटीमै भाइरस बस्ने भएकोले नै मानिसले खोक्दा, हाँच्यु गर्दा वा बोल्दा निस्किने थुकका मसिना कणमा तुलनात्मकरूपमा बढ्ता भाइरस देखिएको हो । कुनै स्वस्थ व्यक्तिमा जतिधेरै मात्रामा भाइरस सर्छ उसलाई रोग लाग्ने सम्भावना त्यति नै बढी हुन्छ ।
ओमिक्रन बढ्ता सङ्क्रामक हुनुको अर्को कारण – यो प्लास्टिकको सतह र मानिसको छालामा धेरै समयसम्म बाँच्न सक्दछ । जापानमा गरिएको एक अनुसन्धानअनुसार प्लास्टिक सतहमा ओमिक्रन सरदर १९३.५ घण्टासम्म बाँच्न सक्छ । कोरोनाका अल्फा, बिटा, गामा र डेल्टा भेरियन्ट क्रमशः ५६, १९१.३, १५६.६, ५९.३ र ११४ घण्टासम्म प्लास्टिक सतहमा बाँचेका सो अनुसन्धानले देखाएको थियो । यसैगरी मानिसको छालामा ओमिक्रन २१.१ घण्टासम्म बाँचेको पाइयो । कोरोना भाइरसको सुरुका भेरियन्ट ८.६, अल्फा भेरियन्ट १९.६, बिटा भेरियन्ट १९.१, गामा भेरिअन्ट ११ र डेल्टा भेरियन्ट १६.८ घण्टासम्म मानिसको छालामा जीवित रहेका पाइयो । स्यानिटाइजर प्रयोग गर्दा कोरोनाका सबै भेरियन्ट १५ सेकेन्डमा निष्क्रिय हुने भएकोले हातको सफाइमा ध्यान दिनुपर्ने वैज्ञानिकको सुझाव छ ।
हालसम्मकै सबभन्दा तीव्र गतिमा सङ्क्रमण फैलिएकै कारण ओमिक्रनले अन्य भेरियन्टलाई प्रतिस्थापन गरेको हो । यो चरित्र महामारी नियन्त्रणको निम्ति भने सुखद खबर बनेको छ । जस्तै – काठमाडौँ उपत्यकामा ओमिक्रन सङ्क्रमणको अवस्था र खोप लगाएकाको सङ्ख्याको हिसाबमा छिट्टै नै यहाँको ‘चेनव्रेक’ हुने विज्ञको भनाइ छ । सामान्यतः कुनै व्यक्तिलाई उही भेरियन्ट दोहोरिएर सङ्क्रमण हुँदैन र कोही नयाँ व्यक्तिमा सर्न नपाएपछि भाइरस पनि सकिएर जान्छ । साथै, कुनै व्यक्ति एकपटक सङ्क्रमित भइसकेपछि उसमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भैसकेको हुन्छ । कम घातक भाइरसले घातक भाइरसलाई विस्थापित गरेको खण्डमा विश्वले सुखको सास फेर्न पाउनेछ । कोरोनाको अर्को कुनै नयाँ खतरनाक भेरियन्ट नआवस् अब । आशा गरौँ, मानिसको रोगप्रतिरोधक क्षमता सबलीकरण गर्दै द्रुततर खोप अभियानबाट हाम्रो संसार छिट्टै कोभिडमुक्त हुनेछ । हाम्रो यही अभिलाषा र शुभकामना पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *