भर्खरै :

नेपाली राजनीतिमा ‘नेमकिपा मोडल’ बारे एक बहस

‘नेमकिपा मोडल’ बारे प्रारम्भिक भनाइ
नेपाल मजदुर किसान पार्टीसँग धेरैले बिमति राख्लान् । विरोध पनि गर्लान् । नेमकिपालाई गाली पनि गर्लान् । नेमकिपाका नेता–कार्यकर्ताको समय–समयमा खरो आलोचना पनि होला । तर, नेपाली राजनीतिक वृत्तमा नेमकिपा र नेमकिपाको नेतृत्वको पृथक परिचय तथा फरक गुणको कदर नगरी बस्न नसक्नेहरू पनि उल्लेख्य सङ्ख्यामा छन् । विभिन्न प्रसङ्गमा ‘यसमा त नेमकिपालाई भन्ने ठाउँ छैन’, ‘राष्ट्रियताको सवालमा नेमकिपा जति सबै भइदिएको भए……..¤’, ‘संसदीय अभ्यास या सङ्घर्षमा नेमकिपाको परिपक्वता मान्नै पर्छ’, ‘म फरक दलको भएपनि भन्न सक्छु कि विभिन्न समयमा भएका संयुक्त सडक आन्दोलनहरूमा नेमकिपाजति भरपर्दो तथा अनुशासित पार्टी अरू कुनैपनि थिएन’, ‘नेमकिपाको नेतृत्वबाहेक कुन दलको नेतृत्व कलङ्करहित छ ?’, ‘रोहित जति निःस्वार्थी, त्यागी, निडर, नैतिकवान्, सिद्धान्तनिष्ठ तथा देशभक्त नेता अर्को जन्मिएला ?’ आदि भनाइ सर्वसाधारण जनता, निष्पक्ष राजनीतिक पर्यवेक्षक, भुक्तभोगी तथा विज्ञहरूबाट व्यक्त हुने गरेको यथार्थ हो ।
स्थापनाको अठचालिस वर्षको अवधिमा नेमकिपाले नेपाली प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनमा गरेको बेजोड योगदान तथा सङ्घर्षहरू प्रशस्त छन् । तिनको उच्च मूल्याङ्कन समयक्रमसँगै हुँदै जानेछ । तिनै पृथक परिचय, विशिष्ट गुण, बेजोड योगदान तथा भूमिका र भिन्न कार्यशैली एवम् व्यवहारलाई ‘नेमकिपा मोडल’ को उपमा दिनु समिचीन हुनेछ । राजनीतिक नैतिकता तथा इमानदारीको अपरिहार्यताबारे सुस्पष्ट विचार तथा सिद्धान्तमा अडिग, देश र जनताप्रति प्रतिबद्ध, सेवाको राजनीतिमा कटिबद्ध, तल्लो वर्गको वारेस या पक्षधर, समाजवादी गन्तव्यबारे स्पष्ट तथा दृढ, अन्तर्राष्ट्रवादमा पूर्ण विश्वास, नेपाली जनताकै भरमा तथा नेपाली मौलिक शैलीको क्रान्तिको पक्षधर आदि ‘नेमकिपा मोडल’ का विशिष्ट पक्ष हुन् भन्नु अतियुक्ति हुनेछैन । ‘नेमकिपा मोडल’ बारे गम्भीर सैद्धान्तिकभन्दा पनि केही व्यावहारिक पक्ष तथा घटनाको सेरोफेरोमा रहेर यहाँ चर्चा गर्ने प्रयत्नसम्म गरिनेछ । यस आलेखलाई विषय उत्थान या पृष्ठभूमिको रूपमा पढिए अस्वाभाविक हुने छैन । प्रबुद्ध समुदायबाट यस विषयमा थप बहस अगाडि बढाए यो लेखको औचित्य बढ्नेछ ।
नेमकिपा ः वर्गीय धरातलमा उभिएको ‘चिन्तनको चौतारी’
पञ्चायतको अन्त्य तथा बहुदलीय व्यवस्थाको पुनः स्थापनासँगै नेपाली राजनीतिमा ‘भीडतन्त्र’ भित्रियो । पार्टी, राजनीतिक सङ्गठनलाई अनियन्त्रित भीडमा परिणत गर्ने काम नियोजित रूपमा थालियो । चुनाव जित्ने उद्देश्यले नेका, एमाले, ‘माओवादी’ जस्ता शासक दलहरू हानथाप गर्न थाले । प्रजातन्त्र भनेकै ‘सङ्ख्यातन्त्र’ र राजनीति भनेकै अङ्कगणितको खेलमा रूपान्तरण गरे । चुनाव जित्न या सङ्गठन विशाल बनाउन जस्तोसुकै भ्रष्टाचारी, अपराधी, तस्कर, कालाबजारिया आदिलाई पार्टीमा हुल्न थाले । चुनाव जित्न पैसा, शक्ति, पदको चरम दुरुपयोग गर्न थाले । चुनाव जितिसकेपछि आफ्नो ‘लगानी’ को ब्याज–स्याजसहित असुलउपर गर्र्न थाले । राजनीतिक विकृति–विसङ्गतिको आँधीबेहरी चल्दासमेत नेमकिपा सतिसालको रुखझैँ दृढतापूर्वक अलग्ग उभियो । राजनीति भनेको अपराध होइन र प्रजातन्त्र भनेको टाउको गन्ती होइन, बरु राजनीति देश र जनताको निःस्वास्र्थ सेवा कर्म हो भन्ने अडानमा नेमकिपा बस्यो । सोही बमोजिम सङ्घर्ष ग¥यो । प्रजातन्त्र पुनःस्थापनाको पहिलो प्रहरमा नेमकिपाका अध्यक्ष का. रोहितले भन्नुभयो– “प्रजातन्त्र भनेको हात्तीको देखाउने दाँत होइन जीवनपद्धति हो ।”, “प्रजा होइन नागरिक बनौँ !”, “बहुदलीय प्रजातन्त्रको एक चम्चा पानीले जनताको प्यास मेटिने छैन ।”
राजनीतिक पार्टी निश्चित वर्गीय धरातलमा उभिएको ‘चिन्तनको चौतारी’ हुनुपर्छ र आदर्श समाज निर्माणको मूल उद्देश्य लिएर क्रियाशील हुनुपर्छ भन्ने विचारमा नेमकिपा विचलित भएन । आधुनिक समाजमा राजनीतिक पार्टी परिवर्तनको महत्वपूर्ण इन्जिन हो भन्ने मान्यताबमोजिम नेमकिपा आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा जुट्यो । गाउँ–ठाउँका गरिब जनताबीच पुग्यो । भोको भेरी र कहरमा बाँचेको कर्णालीमा नेमकिपा थप सक्रिय बन्यो । त्यहाँ जनतालाई शिक्षित बनाउने, राजनीतिक चेतना दिने र सामाजिक परिवर्तनका निम्ति तयार पार्ने अभियानमा अहोरात्र खट्यो । काठमाडौँ केन्द्रित राजनीति गर्नेहरूका निम्ति त्यो एउटा चोटिलो प्रहार थियो ।
विसं २०४७ मा भैरहवाको सिद्धार्थनगरमा भएको प्रथम महाधिवेशनले ‘पार्टी कार्यक्रम’ मा ‘जनताको प्रजातन्त्र’ लाई सर्वसम्मत पारित ग¥यो । ‘जनताको प्रजातन्त्र’ समाजवादको पहिलो खुड्किला हो जहाँ कामदार जनताको नेतृत्वमा राष्ट्रिय पुँजीपति वर्गसहितको शासन हुन्छ । भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीको जालोबाट मुक्त पार्दै आत्मनिर्भर अर्थतन्त्रको विकास, स्वाधीनताको प्रत्याभूति पहिलो प्राथमिकतामा पर्नेछ । त्यो समाज समाजवाद हुँदै वर्गविहीन साम्यवादी समाज निर्माणको लामो यात्रामा निरन्तर अग्रसर हुनेछ । अहिले पनि नेमकिपा समाजवादी गणतन्त्र प्रचार अभियानमा सक्रिय छ । यसप्रकार नेपाली क्रान्तिको स्पष्ट मार्गरेखा कोर्ने काम नेमकिपाले ग¥यो ।
नेमकिपा : राजनीतिक अपराधीकरणविरुद्ध निरन्तर सङ्घर्षमा
बहुदल पुनः स्थापनासँगै अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण अर्को गम्भीर समस्याको रूपमा देखाप¥यो । राजनीतिक पार्टी अपराधीले आश्रय लिने थलो बने । राजनीतिक नेता अपराधीका सरदारका रूपमा देखापरे । नेता, मन्त्री ठगहरूको घेराबाट उम्किनै नसक्ने गरी फस्न थाले । निर्वाचन तिनकै सहयोगबाट जित्न थाले । आजसम्म आइपुग्दा त भ्रष्टाचारी, तस्कर, अपराधी, माफिया स्वयम् धमाधम निर्वाचित हुन थालेका छन् । शासक दलका सङ्गठन र तिनका नेताको मुख्य काम अपराधीलाई संरक्षण दिने र छुटाउने बन्न थाल्यो । तिनको बिहानदेखि बेलुकासम्मको अधिकांश समय ती माफिया, अपराधीसँग बित्न थाल्यो । ‘एमाओवादी’ अध्यक्ष प्रचण्डको घरभेटी नै अधिकारी थरका कुख्यात ठेकेदार तथा विवादित व्यवसायी रहेको उदाहरणले धेरै कुरा प्रस्ट पार्छ । नेमकिपाले राजनीतिको अपराधीकरणको निरन्तर विरोध गर्दै छ । राजनीतिक नैतिकता तथा इमानदारीको पक्षमा अथक सङ्घर्ष गर्दै छ । नैतिकताहीन राजनीति ठगी कर्म वा अपराध बन्नेतर्फ नेमकिपाले सजग पा¥यो । विचार, सिद्धान्त नभएपछि राजनीति ख्यालठट्टा, हल्काफुल्का, कम्पासविनाको जहाज झैँ दिशाविहीन, गैरजिम्मेवार तथा अनुत्तरदायी बन्नेबारे नेमकिपाले ठाउँ–ठाउँमा बहस, छलफल तथा सङ्घर्ष तीव्र पा¥यो । नेमकिपाले अपराधी छुटाउने, कानुन हातमा लिने जस्ता कुकर्म कहिल्यै गरेन । अपराधलाई मलजल दिने काम कहिल्यै गरेन । ठ्ठमान्छे मारेर आऊ, चौबिस घण्टामा छुटाउने जिम्मा मेरो भयो ¤” भन्ने जस्ता हिंसा भड्काउने, उपद्रव मच्चाउने, अपराधलाई हाकाहाकी प्रोत्साहन गर्ने कार्यमा नेमकिपा कहिल्यै संलग्न भएन । बरु, राजनीतिक आन्दोलन तथा जनताबीच नेमकिपा ‘जे भन्छ, त्यो गर्छ । जे गर्नै मिल्दैन, त्यो बोल्दैन या गर्दैन’ भन्ने विश्वास देखिन्छ । वचनबद्धता नेमकिपाको अर्को परिचय हो । धेरै राजनीतिक दलका नेता, बौद्धिक जगतले नेमकिपाको राजनीतिक नैतिकता, इमानदारी, वचनबद्धताबारे मुक्तकण्ठले प्रशंसा गरेको बेलामौकामा सार्वजनिक भइरहेकै छ । कतिले खुला रूपमा नलेखे–नबोले पनि बैठक, भेटघाटमा व्यक्त गरेको धेरै घटना, प्रसङ्ग तथा प्रमाण छन् ।
निर्वाचनलाई वर्गसङ्घर्षको दबु मान्ने नेमकिपा
चुनाव जित्नकै निम्ति भन्दा पनि जनताको चेतनाको स्तर नाप्न नेमकिपाले पुँजीवादी निर्वाचन उपयोग गर्दै आएको हो । लेनिनवादी नीतिबमोजिम नेमकिपाले निर्वाचनको उपयोग गर्दै छ । नेमकिपाले क्रान्तिकारी संसद्वादको झन्डालाई नेपाली राजनीतिक आन्दोलनमा फहराउँदै छ । अध्यक्ष का. रोहित भन्नुहुन्छ– “चुनाव वर्गीय तथा राजनीतिक सङ्घर्षको दबु हो ।” पैसा, सामान बाँडेर, गलत आश्वासन दिएर, जातीय–क्षेत्रीय नारा दिएर, साम्प्रदायिकता भड्काएर चुनाव जित्ने पक्षमा नेमकिपा कहिल्यै उभिएन । चुनावताका जेपनि गर्ने र जेपनि बोल्ने पुँजीवादी सोचबाट नेमकिपा निकै टाढा छ । निर्वाचनको समयमा बहुसङ्ख्यक जनतालाई राजनीतिकरूपमा शिक्षित बनाउन अनुकूल वातावरण हुने भएकोले सोही उद्देश्य हासिल गर्ने अवसरमा रूपान्तरण गर्नुपर्छ भन्ने नेमकिपाको धारणा हो । त्यसको ठिक विपरीत पैसा, बल, सत्ताको तुजुक देखाउने र चुनाव जितेर नयाँ सम्भ्रान्त वर्ग बन्ने गलत उद्देश्यका कारण देशको राजनीति ‘लथालिङ्ग देशको भताभुङ्ग चाला, जो जसले सक्ला त्यस–त्यसले खाला’ को स्थितिमा पुगेको जगजाहेर छ । नेमकिपाले भनेझैँ निर्वाचन हारजितको खेलमा सीमित पार्नुभन्दा पनि सैद्धान्तिक स्पष्टता, जनजागरणका निम्ति हुनुपथ्र्यो र साम्प्रदायिकता, जातीयता, पैसाको छेलोखेलोबाट मुक्त हुनुपथ्र्यो । गलत तरिकाबाट निर्वाचित भएकाबाट सही नेतृत्व तथा परिणामको अपेक्षा आफैमा अन्तरविरोधी छ । यही दुर्भाग्य र दलदलमा नेपाली समाज फस्दै गइरहेको छ । नेमकिपाको ठम्याइ, बुझाइ आमजनतामा प्रसारित नभएसम्म स्थितिमा तात्विक फेरबदल आउने छैन । पुँजीवादी निर्वाचनबाट आमूल परिवर्तन सम्भव हुन्छ र समाजवाद स्थापना गर्न सकिन्छ भन्ने भ्रम व्यापक फैलाइएको छ । नेमकिपा त्यसमा पटक्कै विश्वास गर्दैन । माक्र्सको शिक्षाले त्यसो भन्दैन पनि । त्यो विचार संशोधनवादी तथा अवसरवादी विचार हो ।
पुँजीवादी सरकारमा नजाने एक्लो नेमकिपा !
नेमकिपाले पुँजीवादी सरकारमा नजाने नीति लिएको छ । नेपालको ३० वर्ष लामो संसदीय इतिहासमा संसद्मा निरन्तर निर्वाचित भएर पनि आजसम्म सरकारमा सामेल नभएको एक्लो पार्टी नेमकिपा हो भन्दा फरक पर्दैन । पुँजीवादी व्यवस्थामा सरकार पुँजीपति वर्गको सञ्चालक समितिमा सीमित रहन्छ भन्नेबारे नेमकिपा प्रस्ट छ । नेपाली शासक दलहरू सरकारमा गएर आफ्नो दल ठूलो बनाउने, कार्यकर्ता भर्ती गर्ने, आसेपासेलाई रोजगारी दिने, लिन मिल्ने हरेक आर्थिक फाइदा लिने आदि कार्यमा मग्न छन् । त्यसैका निम्ति ती सरकारमा जान्छन् । व्यापक जनताको सेवा तथा देशको हीत त दुर्घटनावश या अपवादमा मात्र गर्न पुग्छन् । यथार्थमा यो राजनीतिक बेइमानी या अनैतिकता हो । नेमकिपाले यसको तीव्र विरोध गर्दै आएको छ । नेमकिपा जनादेशबमोजिम प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै छ । प्रजातन्त्र बलियो बनाउन प्रतिपक्ष बलियो बन्न आवश्यक छ भन्ने मान्यतामा नेमकिपा अडिग छ । राजनीतिक भागबन्डाको फोहरी खेलमा नेमकिपा कहिल्यै सामेल भएन । भागबन्डाकै कारण हरेक विश्वविद्यालय, कलेज, विद्यालय, अस्पताल, उद्योग आदि क्षेत्र ध्वस्त भएको सबैको आँखा अगाडि छर्लङ्ग छ । यसका निम्ति शासक दलहरू नै जिम्मेवार छन् । भागबन्डा र सत्ताकेन्द्रित राजनीतिकै कारण देशले बर्बादीबाहेक केही देख्न नपाएको हो । आजको आवश्यकता जनताकेन्द्रित राजनीति हो । लोभ–लालच, व्यक्तिगत स्वार्थ, पदलोलुपता, फाइदा–बेफाइदाको राजनीतिबाट जबसम्म मुक्त हुन सकिन्न तबसम्म न समाज परिवर्तन सम्भव हुनेछ न त देश नै बलियो हुनेछ । तसर्थ, आजको आवश्यकता ‘सरकारमा नजाने’ तर जनतालाई बलियो पार्ने, भागबन्डामा भाग नलिने तर क्षमता तथा योग्यताको आधारमा जिम्मेवारी सुम्पने व्यवस्थाको सुरुआत हो । नेमकिपा त्यसैका निम्ति सङ्घर्षरत छ ।
‘नेता–कार्यकर्ता चोर’ शासक पार्टी र ‘स्कुलिङ’ मा अब्बल नेमकिपा
नेपाली शासक दलहरूले नेपाली राजनीतिमा गाईजात्रे संस्कृति भित्याए । ‘पार्टी प्रवेश’ को सस्तो राजनीतिको गलत संस्कृति थाले । गत मंसिरमा सम्पन्न एमालेको अधिवेशनले ‘सगौरव’ घोषणा ग¥यो – ‘अबको तीन महिना देशव्यापी पार्टी प्रवेश कार्यक्रम’ ! निर्लज्जताको पराकाष्ठा ! पार्टी सदस्यहरू समेत मौलिक उत्पादन होइनन्, खरिद या आयात ! सदस्यहरूको मोलमोलाई ! यो अपराध नभई के हो ?
टीका लगाएर पर्टीमा भित्याउने, अबिर लगाएर सदस्यता वितरण गर्ने, एकमुष्ट रकम लिएर चुनावको टिकट ‘बेच्ने’ र मोटो आर्थिक सहयोग दिएकै आधारमा कुख्यात व्यवसायीलाई समेत ‘माननीय’ बनाउने गलत प्रचलन शासक दलहरूले चलाए । त्यसरी नै खेतान, दुगड, गोल्छा, चौधरीहरू सांसद, मन्त्री बने । प्रजातन्त्रमाथि यो जति ठूलो घात के होला ? नेपाली जनतामाथि यो जति ठूलो धोका अरू के होला ? यी कार्यमा नेका, राप्रपा, तराईकेन्द्रित दलमात्र होइनन् एमाले, एमाओवादी दलहरू जो आफूलाई कम्युनिस्ट दाबी गर्छन्, समेत त्यतिकै अग्रसर भए । नेमकिपा एक्लै शासक दलहरूका यी अपराध, कुकृत्यको विपक्षमा उभियो । ती दललाई उदाङ्गो पार्ने काममा नेमकिपा निर्भिकतापूर्वक लाग्यो । यसैको कारण शासक दलहरूले बदनामी कमाए । जनताले तिरष्कार गरे । यी घृणित खेलले समाजमा उदासीनता, निराशा फैलायो र राजनीतिक दल तथा नेताप्रति वितृष्णा वनको डढेलोझैँ  फैलियो ।
शासक दलहरूले सांसद खरिद–बिक्री, अपहरण समेत गरेर सरकार ढाल्ने र बनाउने खेल खेल्न थालेपछि नेपाली राजनीति अत्यन्त दुर्गन्धित हुन थाल्यो । आफूले खनेको खाडलमा आफै पुरिने दिन टाढा नरहेको चेतावनी नेमकिपाले शासक दलहरूलाई दियो । आज शासक दलहरू त्यही भूमरीमा फसिरहेका छन् । ‘सांसद चोर्ने’, ‘कार्यकर्ता चोर्ने’ र ‘नेता चोर्ने’ अपराधविना बाँच्न नसक्ने स्थितिमा ती पुगेका छन् । सर्वसाधारण जनता ती दललाई सरल भाषामा ‘सांसद चोर पार्टी’, ‘नेता–कार्यकर्ता चोर पार्टी’ भनी विरोध गर्दै छन् । चोरमाथि चकारका कारण ‘………भन्दा देख्नेलाई लाज’ भइरहेको छ ।
नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँले अठचालिसौँ पार्टी स्थापना दिवसको अवसरमा दिनुभएको अन्तर्वार्ताको शीर्ष भनाइ उद्धरण गर्नु यहाँ सान्दर्भिक हुनेछ– “नेमकिपा बाटा र गल्लीमा आएका सबैलाई पार्टी सदस्यता दिएर महाधिवेशन र निर्वाचनमा गाईजात्रा देखाउनुलाई राजनीतिक संस्कृति मान्दैन ।” नेमकिपा दशौँ वर्ष लगाएर एकजना कार्यकर्ता बनाउने र सङ्गठन निर्माण गर्ने कार्यमा धैर्यपूर्वक जुटिरहेको छ । बीस–तीस वर्ष समाज र सङ्गठनको कामबाट खारिएका कार्यकर्तालाई मात्र जनप्रतिनिधि बनाउने परिपाटी नेमकिपाले बसालेको छ । टुप्पोबाट पलाएकोलाई होइन फेदबाट हुर्केको कार्यकर्तालाई प्राथमिकता दिने र सैद्धान्तिक रूपमा समेत सक्षम बनाउने कार्यमा नेमकिपा लागिरहेको छ । धेरै पार्टीका नेताहरू अनुभवपश्चात् भन्छन्– “नेमकिपाले आफ्ना कार्यकर्तालाई गज्जब किसिमले ‘स्कुलिङ’, ‘ग्रुमिङ’ गरेको छ अर्थात् तयार पारेको छ ।” नेमकिपाले जस्तै राजनीतिक संस्कार दिएर, सैद्धान्तिक स्तर उकासेर तथा गम्भीरतापूर्वक कार्यकर्ता तयार पारेको भए आजको भाँडभैलो, काटामार, पदको छिनाझप्टी हुने नै थिएन ¤ राजनीति निःस्वार्थ सेवाकर्म नै हुने थियो ¤ यो ‘राजनीतिक तथा साङ्गठनिक मोडल’ अर्थात् ‘नेमकिपा मोडल’ देशको राजनीतिले अवलम्बन गर्न जति ढिलो हुनेछ त्यति बढी राजनीतिकरूपमा नोक्सान हुने निश्चित छ । देशलाई भयङ्कर दुर्घटनाबाट जोगाउने हो भने लुटेरा र राजनीतिक नेताबीच भिन्नता हुनैपर्छ । राजनीति र डकैतीबीच ‘लक्ष्मणरेखा’ हुनैपर्छ ।
सच्चा देशभक्त पार्टी : नेमकिपा
नेमकिपालाई धेरैले एउटा सच्चा देशभक्त पार्टी भनी चिन्दछन् । नेमकिपाका अध्यक्ष का. रोहितलाई धेरैले एक सच्चा देशभक्त नेता भनी आदर गर्दछन् । यस सवालमा कसैले हाँक दिन सकेको अवस्था नरहेको जगजाहेर छ । देशको पक्षमा सदन र सडकमा नेमकिपाले गर्दै आइरहेको सङ्घर्षबाट धेरैले उत्साह, ऊर्जा, आत्मबल मिलेको अनुभव गरेका छन् । नागरिकताको विषयमा नेमकिपा एक्लै सङ्घर्षमा उभिएको अर्थात् फिजीकरण तथा सिक्किमीकरणविरुद्ध चट्टानझैँ नेमकिपा खडा भएको कसैबाट लुकेको छैन । ‘एक मधेस एक प्रदेश’ को दिल्लीको दबाबविरुद्ध नेमकिपा कडा ढङ्गमा प्रस्तुत भयो । देशलाई विखण्डनको दिशामा लाने त्यस विस्तारवादी षड्यन्त्र असफल पार्न नेमकिपा सक्रिय रह्यो । नेपाली भूमि लिम्पियाधुरा क्षेत्रमा भएको भारतीय अतिक्रमण, सुस्तालगायत भारतबाट भइरहेको सीमा अतिक्रमणविरुद्ध नेमकिपाले आन्दोलनको नेतृत्व ग¥यो । भारतसँग भएका असमान सन्धि–सम्झौता, महाकाली सन्धि, माथिल्लो कर्णाली सम्झौता, बिप्पा सम्झौता, आदिविरुद्ध नेमकिपाले सङ्घर्ष गर्न छोडेन । वि.सं २०७२ सालको भूकम्पपश्चात् भारतको मोदी सरकारले लगाएको नाकाबन्दीविरुद्ध पनि दरो ढङ्गमा सदन र सडकमा प्रस्तुत भयो । देशघाती एमसीसी सम्झौताविरुद्ध नेमकिपाको सङ्घर्ष चालु छ । यी त भए केही प्रतिनिधि घटना । यद्यपि, नेमकिपाको सच्चा देशभक्ति दर्शाउन यी उदाहरण नै पर्याप्त छन् । यी सम्पूर्ण सवालमा शासक दलहरूले या त आत्मसमर्पण गरेको या ढुलमुले नीति लिएको पनि त्यत्तिकै सत्य हो । शासक पार्टीहरूले भनेझैँ ‘सानो पार्टी’ नेमकिपाले कसरी यी सवालमा दूरदर्शिता, परिपक्वता, सुझबुझ, गम्भीरता, साहस देखाउन सक्यो र कडा सङ्घर्ष गर्ने हिम्मत गर्न सक्यो ? तर, ‘बलिया र ठूला’ दलहरू कसरी चुके ? तिनको बाध्यता के थियो ? एक राजनीतिक दलले विदेशी शक्तिसामु नझुकी आफ्नो देशको पक्षमा अविचलित सङ्घर्ष गर्नुलाई आजभोलिको भाषामा ‘नेमकिपा मोडल’ भन्नु अझ उपयुक्त हुने देखिन्छ ।
अन्त्यमा,
‘नेमकिपा मोडल’ का अनेक आयाम छन् । ती सबैको चर्चा एउटै लेखमा गर्ने धृष्टता गर्नु व्यर्थ हुनेछ ! माथि केही पक्ष उजागर गर्नेसम्म यत्न गरिएको हो । भारत प्रवासमै जन्मेको पाँच वसन्त पार नहुँदै कोपिलामै निमोठ्न खोजिएको नेमकिपा आज एउटा वृक्ष बनेर कामदार जनतालाई शितलता र सचेतता प्रदान गर्दै छ । भर्खरैको जवान वयमा पञ्चायती ‘फाँसी’ को प्रपञ्च विफल पारेर निरङ्कुश पञ्चायतलाई परास्त गरेको नेमकिपा पुँजीपति वर्गको लुटको ‘स्वर्ग’ विरुद्ध निरन्तर धावा बोल्दै छ । विस्तारवादी, साम्राज्यवादी तथा तिनका दलालहरूद्वारा ‘मौनतामा मार्न’ खोजिएको नेमकिपा अठचालिस वर्षको परिपक्व प्रौढ बनेर देशको अस्तित्व जोगाउन देशघाती ‘एमसीसी’ सम्झौताविरुद्ध एक्लै आन्दोलनमा छ । नेपालको कम्युनिस्ट आन्दोलनको ‘प्रकाशस्तम्भ’, नेपाली प्रजातान्त्रिक आन्दोलन तथा स्वाधीनता सङ्घर्षको ‘धु्रवतारा’ को समग्र रूपलाई ‘नेमकिपा मोडल’ हो भन्नु न्यायोचित होला ! अध्यक्ष का. रोहितको भनाइबाट बिट मार्नु अझ उपयुक्त हुनेछ– “बिउ सानै हुन्छ । परखनली पनि सानै हुन्छ । नेपाल मजदुर किसान पार्टी अहिले निश्चित ठाउँलाई टेस्ट–ट्युव या प्रयोगशालाझैँ बनाएर जनताको सेवा तथा देशको हितमा काम गर्दै छ । भोलि त्यो देशभरि लागु हुने दिन पनि आउनेछ । समय लाग्नु अस्वाभाविक होइन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *