भर्खरै :

दुई समाजवादी देशको मित्रता

सन् १९६० को सेप्टेम्बर २ मा क्युवाको राजधानी हवानास्थित क्रान्ति चोकमा लाखौँ क्युवाली जनताबीच उभिएर क्युवाली जनताका नेता फिडेल क्यास्ट्रोले नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरे । सार्वभौम र स्वाधीन देश क्युवाको नेताको हैसियतमा क्यास्ट्रोले गरेको त्यो पहिलो घोषणा थियो ।
क्यास्ट्रोको सो घोषणासँगै जनवादी गणतन्त्र चीनलाई मान्यता दिने क्युवा पश्चिमी गोलाद्र्धको पहिलो देश बन्यो । त्यसका साथै क्युवाले ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रका देशहरूसँग चीनको कूटनीतिक सम्बन्ध जोड्न अग्रसरता लियो ।
त्यसयता दुई देशबीचको उच्चस्तरीय राजनीतिक वार्ता र दुवै देशका कम्युनिस्ट पार्टी, सरकार र जनताबीच समानता, सम्मान र दुवै पक्षको हितमा आधारित बलियो सम्बन्ध नै दुई देशबीचको सम्बन्धको आधार बनेको छ । दुवै देशले आ–आफ्नो विशेषतासहितको समाजवाद निर्माण गर्न एक अर्काबाट सिक्दै सिकाउँदै आएका छन् । फलतः आपसमा बृहत् र व्यवस्थित अनुभव आदानप्रदान हुँदै आएको छ ।
सन् २०२१ मा क्युवा र चीनबीचको सम्बन्धमा उल्लेखनीय प्रगति भयो । कोभिड–१९ महामारीले थोपरेका सीमाबीच दुई देशबीचको सम्बन्धमा प्रगति भएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध जोडिएको ६१ वर्ष प्रवेश गरेसँगै भविष्यमा आपसी सम्बन्ध अझ बिस्तार र बलियो बनाउने प्रतिबद्धता नवीकरण गरियो ।
सबै क्षेत्रमा चीन र क्युवाबीच चाल राजनीतिक संवाद र सम्बन्ध अझ बलियो भएको छ । दुवै देशका नेताहरूबीच भएका दुई पटकको टेलिफोन वार्ताले उच्चस्तरीय राजनीतिक संवादलाई जीवन्त बनाउनुका साथै विस्तृत दुईपक्षीय सहकार्यको मुद्दामा मिलेर काम गर्नेमा दुवै देशले बलियो प्रतिबद्धता जनाएका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङका शब्दमा चीन–क्युवा सम्बन्ध समयसँगै अझ बलियो बन्दै गएको छ । दुई देशबीचको ऐक्यबद्धता र सहकार्यको उदाहरणीय ढाँचा बनेको छ । भौगोलिक दुरी दुई देशबीचको सम्बन्ध गाढा बनाउन केही अवरोध भएन । समानता र आपसी सम्मानमा आधारित सम्बन्ध बरु धेरै गाढा बन्दै गयो ।
सन् २०२१ दुवै देशका कम्युनिस्ट पार्टीको लागि विशेष महत्वको समयावधि रह्यो । अप्रिल महिनामा क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भयो भने जुलाईमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको शतवार्षिकी मनायो ।
क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत केन्द्रीय समितिको प्रतिवेदनमा चिनियाँ समाजवादको अनुभवको सान्दर्भिकतालाई खुलारूपमा स्वीकारियो । त्यसले क्युवाको नयाँ नेतृत्व चीनसँग रणनीतिक सम्बन्ध स्थापना गर्न इच्छुक भएको देखायो ।
क्युवाली कम्युनिस्ट पार्टीको महाधिवेशनले दुवै देशलाई एकताबद्ध बनाउने मित्रता र ऐतिहासिक ऐक्यबद्धतालाई स्वीका¥यो । साथै, दुवै पार्टी र सरकारबीच उत्कृष्ट सम्बन्धलाई बलियो बनाउने कुरामा जोड दिइयो । सन् २०३० सम्ममा क्युवाको आर्थिक र सामाजिक विकासमा योगदान गर्ने विभिन्न क्षेत्रमा चालु आर्थिक कार्यक्रममा चीनको सहायताको सान्दर्भिकताबारे पनि चर्चा गरियो ।
संरा अमेरिकाले आफ्ना ढाँचा र सोच थोपर्ने एकपक्षता र प्रभुत्ववादी व्यवहार गरिरहेको आजको अन्तर्राष्ट्रिय परिस्थितिबीच समाजवाद निर्माणको साझा चुनौती छिचोल्दै क्युवा र चीनको सम्बन्ध अघि बढिरहेको छ । क्युवामाथि बितेका छ दसकभन्दा लामो समयदेखि संरा अमेरिकाले नाकाबन्दी थोपर्दै आएको छ । महामारीको समयमा अमेरिकाको त्यस्तो नाकाबन्दीले थप समस्या निम्त्यायो । क्युवाको आर्थिक विकासमा त्यसले अवरोध सिर्जना ग¥यो । संरा अमेरिकाले आफ्नो क्षेत्राधिकारभन्दा माथि गएर चालेका यस्ता कदमले क्युवाको सार्वभौमिकता मिच्नुका साथै सबै देशको हितलाई प्रभावित बनाएको छ ।
सन् २०२१ मा अन्तर्राष्ट्रिय क्षेत्रमा दुई देशबीचको आपसी समर्थन अक्षुण रह्यो । संरा अमेरिकाले थोपरेको नाकाबन्दीविरुद्ध क्युवालाई चीनले अतुलनीय साथ दियो । अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीतिअनुसार उसले क्युवाको आन्तरिक मामिलामा पनि कुनै हस्तक्षेप गरेन ।
क्युवा एक चीन नीतिमा प्रतिबद्ध छ । मानवअधिकार, हङकङ, ताइवान, सिन्च्याङ, तिब्बतको विषयलाई राजनीतिकरण गर्ने तथा कोभिड–१९ को उत्पत्तिबारे चीनलाई बदनाम गर्ने र दोषारोपण गर्ने कामको क्युवाले विरोध ग¥यो । क्युवाको यो कदमको चीनले कदर गरेको छ ।
आर्थिक क्षेत्रमा दुई पक्षीय सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ । बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत क्युवा र चीनबीच सहकार्य योजनामा हस्ताक्षर भएको छ । चीन र क्युवाबीच आर्थिक सहकार्यको यो एउटा कोशेढुङ्गा हो । क्युवा बेल्ट एन्ड रोड ऊर्जा साझेदारीमा प्रवेश गरेको छ । चीनमा माछा निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । स्वास्थ्य र पर्यटन क्षेत्रमा पनि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । क्युवा–चीन जैविक प्रविधि कार्यदल र विज्ञान तथा प्रविधिमा सहकार्य संयुक्त आयोगको बाह«ौँ बैठक सन् २०२१ मा भयो । क्युवा–चीन जैविक प्रविधिको संयुक्त अनुसन्धान केन्द्रको उद्घाटन पनि यही वर्ष भयो ।
महामारी नियन्त्रण र रोकथामको सन्दर्भमा पनि दुई देशबीच भएको सहकार्यले संसारलाई यस्ता विश्वव्यापी चुनौती सामना गर्न आपसी ऐक्यबद्धता र अन्तर्राष्ट्रिय सहकार्यको महत्व उजागर गरेको छ । चीन सरकार र अन्य संस्थाहरूले क्युवामा पठाउने उल्लेखनीय सहायता कठिन समयमा आपसी सहकार्यको द्योतक बनेको छ । यो नै दुई देशबीचको सम्बन्धको आधारभूत सिद्धान्त बनेको छ ।
दुवै देशले संसारलाई ऐक्यबद्धता र सहकार्यको महत्वबारे शिक्षा दिएको छ । संसारलाई दया, रिस र राजनीतिक अतिरञ्जना होइन, आपसी ऐक्यबद्धता र सहकार्य आवश्यक भएको सन्देश क्युवा र चीनको सम्बन्धले दिएको छ । दुवै देशले आ–आफ्नो समाजवादी प्रणालीको महत्व संसारसामु प्रदर्शन गर्नुका साथै मानिसलाई नै राजनीतिक प्रक्रियाको केन्द्रमा राख्नुको उपादेयता पुष्टि गरेको छ ।
कोभिड महामारीले जनताको हित र स्वास्थ्यको साझा लक्ष्य हासिल गर्न क्युवा र चीनलाई आपसमा नजिक मात्र ल्याएन । बरु, यसले दुई देशको जहाँ जहाँ क्षमता छ, ती क्षेत्रमा मानव जीवनको हितको निम्ति नयाँ सहकार्य अघि बढाउन सम्भव पनि बनायो ।
त्यस्ता सम्भावना भएका धेरै क्षेत्रमध्ये एउटा क्षेत्र जैविक प्रविधि पनि हो । जैविक प्रविधिको क्षेत्रमा मानिसको हित गर्ने औषधि र अन्य उत्पादनको अनुसन्धानको निम्ति दुवै देशबीच सहकार्य भइरहेको छ । क्युवाली जैविक प्रविधिलाई चीनले दिएको प्राथमिकता र विश्वासले कोभिड–१९ महामारीको बेलामा उल्लेखनीय उपलब्धि हासिल गर्न सम्भव बनायो । जसले यो सहकार्यलाई अझ बलियो बनायो ।
चीनको जिलिन प्रान्तको छाङछुङ प्रान्तस्थित छाङहेपेर संयुक्त उद्योगबाट बनेको इन्टरपेरोन अल्फा २ बी को पुनःसंयोजित औषधि आफ्नो स्वास्थ्य मापदण्डअनुसार चीनमा प्रयोग गरिएका २० थरी एन्टीभाइरल औषधिमध्ये एउटा थियो । क्युवा र संसारका धेरै ठाउँमा पनि त्यो औषधिको प्रयोग भएको थियो ।
त्यस्तै क्युवाली र चिनियाँ वैज्ञानिकहरू अहिले कोभिड–१९ विरुद्ध ‘पानकोरोना’ नाम गरेको नयाँ खोपको अनुसन्धान र प्रतिरोधात्मक क्षमताको मूल्याङ्कन गरिरहेका छन् । हुनान प्रान्तको योङचाओमा रहेको जैविक प्रविधिको संयुक्त अनुसन्धान केन्द्रमा बनाइँदै गरेको सो खोप प्राणघातक मानव कोरोनभाइसविरुद्ध काम गर्न सक्षम हुने अपेक्षा गरिएको छ । यो खोप बनेपछि कोभिड–१९ विरुद्धको लडाइँमा संसारले अर्को फड्को मार्नेछ ।
सन् २०२२ सम्ममा चीनसँग दुई पक्षीय सम्बन्ध गहिरो बनाउन अझ मिलेर काम गर्ने प्रतिबद्धता क्युवाले जनाएको छ । निःसन्देह दुई देशका उच्च नेताहरूबीचको सहमतिले दुई देशबीचको सौहार्द्र सम्बन्धलाई निरन्तरता दिने कार्य योजना हो । सो योजनाको प्रभावकारी कार्यान्वयनको लागि काम गर्नु र त्यसलाई साकार बनाउनु हामी सबैको कर्तव्य हो ।
(लेखक जनवादी गणतन्त्र चीनका लागि क्युवाका राजदूत हुनुहुन्छ ।)
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *