‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
(भारतका विख्यात लेखक महाश्वेता देवीको आत्मसंस्मरणात्मक पुस्तक ‘हाम्रो शान्ति निकेतन’ बाट अनुदित यो भाग बङ्गालीबाट राधा चक्रवर्तीले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । लेखकको ९६ औँ जन्म दिनको अवसरमा स्क्रोल डट आइएनले यो सामग्री गत जनवरी १४ को दिन प्रकाशित गरेको थियो । लेखकले भारतका विख्यात साहित्यकार रवीन्द्रनाथ टैगोरद्वारा सञ्चालित आदर्श विद्यालय ‘शान्ति निकेतन’ पढ्दाको संस्मरण यसमा लेख्नुभएको छ ।)
शान्ति निकेतनका रूख र बिरुवाहरू सधैँ मेरो हृदयमा बसेका छन् । त्यसकारण, तिनको विषयमा मैले केही भन्नैपर्छ ।
त्यहाँका नीमका रूखहरूबारे मैले केही भनिनँ भने तिनीहरू मसँग रिसाउनेछन् ।
मलाई थाहा भएसम्म त्यहाँ तीन जातका नीमका रूखहरू छन्– आकाश नीम, महानीम र घोरा नीम । चैतको न्यानो महिनामा तीनै थरी नीममा फूल फूलथ्यो । तिनका सुवास चारैतिर हावामा फैलिन्थ्यो । कुनै नीमको बोटमा सेतो फूल फूलेको देख्थेँ त कुनैमा निला । तर, कुन थरी नीमको रूखमा सेता फूलछन् र कुनमा निलो भन्ने कुरा म ठ्याक्कै भन्न सक्दिनँ ।
एउटा कुरा भने म निर्धक्क भन्न सक्छु, श्री भवनको ठीकअघि लहरै उभिएका शिरिषका रूख पछि उस्तै गरी लहरै उभिएका रूख नीमका थिए । बाटोछेउको ठीक माथि तिनीहरू लहरै उभिएका थिए । आज एक जना साबर (पश्चिम बङ्गाल र ओडिसामा बस्ने आदिवासी समूह) ले मलाई नीमको मह र नीमको तेल ल्याइदियो । म वर्षैभरि नीमको पात उमालेको तातो पानी पिउँछु ।
कला भवनको ठीक्क अघि ‘जाम्बुवन’ अथवा जामुनका रुखहरू थिए । त्यसलाई किन वन भनिएको होला ? किनभने त्यहाँ रहेका जामुनका रूखहरू अलगै खालका थिए । तिनमा अरूमा जस्तै रूखका टुप्पामा काला जामुन फल्दैनथ्यो । हाँगाबिँगा लामा लामा र फराकिला भए पनि ती होचा कदका रूख थिए । मलाई सम्झना भएसम्म तिनीहरूको उचाइ सिताफलको रूखजस्तै मात्र हुन्थ्यो ।
सिताफलको कुनै कमी थिएन । फलमा मासु त्यत्ति नलागे तिनका बियाँ आँपका ढुङ्गाजस्तै सा¥हो हुन्थ्यो । हेर्दा आँपका बियाँजस्ता हुन्थे । त्यत्ति गुलियो हुन्थेन । कागजमा पोको पारेर केही नुन लिएर गएर जति मन लाग्थ्यो, त्यत्ति फल खान पाइन्थ्यो । तीतो जामुनले घाँटी कोक्याउन नथाल्दासम्म नुनमा चोप्दै जामुन खाएको खाई गर्न पाइन्थ्यो ।
हामी सबै जना गएर पुरै जामुनको वन कब्जा गरेर बस्थ्यौँ ।
“जामुनका रूखहरू कति चलाख छन् है !”, कितु (कृष्ण रोय चौधरी) भन्थ्यो,“हामीले सजिलै फल टिपेर खाओस् भनेर होचो होचो मात्र हुर्केका छन् ।”
मैले त्यस्तो खालको जामुनको रूख अन्यत्र कहीँ देखेको छैन । शान्ति निकेतनजस्ता ठाउँकै लागि ती ठीक थियो ।
घण्टाघर जताबाट पनि देखिने, प्रफूलल र विशाल हृदयी थियो । पुस्तकालयको पछाडि थियो घण्टाघर । दायाँतिर । (हो कि होइन ?) त्यहीँ वर हो वा पिपलको रूख हुर्केको थियो । अरू विभिन्न थरी रूखजस्तै चिउरी, मोम स्याउ, मसला र आरुका रूखहरू हुर्केका थिए । छतिमटोला नजिकै अमिलो फल दिने एउटा उपेक्षित रूख थियो । त्यो फललाई हामी ‘नोल’ भन्थ्यौँ ।
त्यही रूखबाट गढवालको एक जना केटो (उसको नाम विनय थियो सायद) चढ्न खोज्दा चिप्लेर लडेको थियो । रूखबाट खस्दा उसको हड्डी भाँचिएको थियो । उत्तरायणतिर जाने बाटोको बायाँमा हुर्केको रुखलाई रवीन्द्रनाथले ‘वनपुलाक’ (वनको उत्कर्ष) न्वारन गरेका थिए । त्यो रूखबाट निकै मीठो सुवास फैलिन्थ्यो । त्यसको सुवास पारिजातको फूलको जस्तो भान हुन्थ्यो ।
उत्तरायण जाने बाटोको बायाँतिर बाटोमै एउटा कल्बर्ट थियो । त्यसको मुनि गहिरो खोँच थियो । त्यहीं सेवक दा बस्नुहुन्थ्यो । सेवक सेन र जमुना दि । ‘चित्राङ्गदा’ नाटकको पहिलो प्रस्तुतमा मास्टर मोसाईकी कान्छी छोरी जमुना दिले कुरूपा चित्राङ्गदाको भूमिका खेलेकी थिइन् ।
छिनाले चिटिक्क पारेर खोपेको कालो ढुङ्गा जस्तो उनको जिउडालमा बिछट्टै राम्ररी देखिएकी थिइन् ।
अँ, मैले भन्दै गरेको कुरामा फर्कौं : जाडोयाममा बाटोको त्यो कल्बर्टमुनि जङ्गली बिरुवामा फूल फुल्थ्यो । चैत महिनामा ती सबै बिरुवा सुक्थे । तर, तिनका हाँगाबिँगामा फल भने फलेकै हुन्थ्यो । फल खाने लोभमा कल्बर्टबाट सोचविचार नै नगरी म तल्तिर हामफालेँ । कसले सोचेको थियो होला र, तल झाडीभित्र बेरिएर बसेको चिज जाडोमा गुप्तबास बसिरहेको गोमन साँप होला भनी ? सर्प र मेरो खुट्टाको बीचमा एउटा झाडीमात्र भएको मलाई राम्ररी थाहा थियो । मैले त्यो बेरिएर बसेको चिज चल्न थालेको र क्रमशः फैलिन थालेको देखेको थिएँ ।
“साँप ! साँप !”, म आत्तिएँ ।
म जति ठूलो स्वरले चिच्याउन थालेँ, कक्षा सातका सबै विद्यार्थीहरू अझ चर्को स्वरमा कराउन थाले,“साँप ! साँप !”
केटाहरू मेरो छेउमा आए ।
“खुकु ! हाम्रो हात समात, खुट्टा खुम्च्याऊ, माथि आऊ ।”
धन्न सेवक दा दौडेर त्यहाँ आइपुगे । (उनी हामीलाई बीजगणित पढाउँथे सायद) उनले मलाई माथि सडकमा ताने र सर्पलाई पनि मारे ।
अनि त्यसपछि हामीले खुब गाली खायौँ ! हामी एउटा ठूलो दुर्भाग्यबाट जोगियौँ ।
रेलमार्गको छेउछाउमा जङ्गली झाडी हलक्क बढेको हुन्थ्यो । थुम्को पार गरेर हामी जङ्गली फल खोज्न जान्थ्यौँ । उत्तरायणमा बौथान (प्रमिला देवी)को निजी बगैँचाको भितोमा रती दाले अम्बाको बोटको चित्र कोर्दै थिए । ती रूखका चित्र ठ्याक्कै मुगल चित्रकलाको छनक दिने खालका थिए । चित्रमा रूखको एउटा हाँगो बाङ्गिएर भित्तामा ठोकिएको फलामको किल्लामा झुन्डिएको थियो । त्यो निकै आकर्षक देखिन्थ्यो ।
हाम्रो लागि गोलपारा गाउँको पहेँलो पलासको फूल निकै आकर्षक लाग्थ्यो । आसलको फूल फूलेजस्तो शुद्ध पहेँलो फूल फूलथ्यो । सन् १९४५ मा अविन्द्रनाथ उपकुलपति हुँदा हामी उनलाई भेट्न गएका थियौँ । उनी आफ्नोसामु राखिएको पहेँलो पलाँसको फूलमा मन्त्रमुग्ध भएर बसेको भेटाएका थियौँ । श्यामली र उदिची भवनको बीचमा के उनीहरूले पहेंलो पलाँसको रूख रोपेका थिए ? मलाई सम्झना भएन ।
रवीन्द्रनाथले हामीलाई भवनको वास्तुमार्फत सौन्दर्यबोध गराउनुभएको थियो । कुनै पनि भवनको नामकरणमा पनि सौन्दर्यलाई ध्यान दिने शिक्षा पनि हामीले उहाँबाट सिक्न सक्थ्यौँ । अमिया चक्रवर्तीका दाजु अरूणको असमयमै निधन भयो । पुरीमा अरूणका आमाबुबाले उनको नाममा बनाएको भवनको नाम ‘अरूणी’ राखियो । मलाई लाग्छ, रवीन्द्रनाथकै प्रभाव स्वरूप उनीहरूले त्यसरी नामकरण गरेको हुनुपर्छ ।
हामीले धेरै प्रजातिका चराचुरुङ्गी देख्यौँ । सन् १९३६–३८ मा उत्तरायणमा प्रवेश गरेलगत्तै जो कसैले पनि बायाँतिर अगाडि फलामको बारले बारिएको एउटा ठूलो कोठा देख्न सक्थ्यो । त्यहाँ एक जोडी हिउँ जत्तिकै सेता मयुरहरू बस्थे । ती मयुर कसैले रवीन्द्रनाथलाई उपहार दिएको हुनुपर्छ । पानी पर्दा मयुरहरू आफ्ना प्वाखँ फिजाउँदै नाच्थे । त्यो दृश्य वास्तवमै हेर्नलायकको हुन्थ्यो ।
शान्ति निकेतनले हामीलाई हेर्ने दृष्टिकोण सिकायो । हामीले हेर्न सिक्यौँ ¤
भान्छाको सीधा अगाडि छवि घर थियो जहाँ चित्रकला प्रदर्शनमा राखिएको हुन्थ्यो । त्यहाँ धेरै वटा चित्र हेर्न सकिन्थ्यो । एक साता उनीहरूले चिनियाँ चित्रकलाको प्रदर्शन गरे । कला भवनका शिक्षा र विद्यार्थीहरूले ती तस्बिर त्यहाँ प्रदर्शनमा राखेका थिए । त्यसपछि जापानी चित्रकलाको प्रदर्शनी आयोजना गरियो । त्यसपछि अरू पनि प्रदर्शनहरू भए । सबैले सबै प्रदर्शनहरू हेरे । सबैले त्यहाँबाट आउने जाने क्रममा ती तस्बिरहरू हेर्थे ।
चित्रकला अवलोकन गर्न पनि सिक्नुपर्ने रहेछ । मैले त्यो कुरा कहिल्यै पनि सिकिनँ । मेरा बुबाप्रति म आभारी छु । उहाँले हामीलाई सानैदेखि घरमा चित्रकला अवलोकनमा अभ्यस्त बनाउनुभयो । त्यत्तिबेला ‘जीवांशस्मृति’ संस्करणभित्र गेहेन्द्रनाथका तस्बिर समावेश थिए । म अहिले पनि त्यसका धेरै वाक्यहरू सम्झन्छु । शान्ति निकेतन जाँदासम्म मैले ‘जीवांशस्मृति’ पढिसकेको थिएँ । किताब पढ्ने यही नशाको कारण मैले पुस्तकहरूमार्फत जीवनको सम्मान गर्न सिकेँ र संसारको अनुभव गर्न जानेँ । अहिले मलाई त्यस्तै अनुभव हुन्छ ।
पथ भवनमा जादुपति दाले कला सिकाउँथे । कहिलेकाहीँ उनी कला भवन आउँथे । बिहानदेखि बेलुकीसम्मको लागि अनेक थरी कार्यतालिका बनेको हुन्थ्यो ।
वास्तवमै त्यो कार्यतालिका थियो । रूख चिन्नु, फलफूलको रूखबाट फल टिप्नु । झमझम पानी परिरहेको बेला पनि हामी जीवन दा र सुधिर गुप्ता दासँग पुरै शरीर भिजेर पनि कोपाई नदीतिर दौडिन्थ्यौँ । पानी परेको बेला हामी कोपाइमा बग्ने रातो हिलाम्य पानीमा पौडिन सिक्न हामफाल्थ्यौँ । हो, त्यस्तै त्यस्तै काम गथ्र्यौं ।
प्रायशः हामी राति हुँदा बैतालिक लोकगीतहरू सुन्थ्यौँ । (ती कलेजका दिनमा हो क्यार ¤) यस्तै यस्तै काम गथ्र्यौं ।
शान्ति निकेतनले हामीलाई कुनै पनि काम व्यर्थको नहुने कुरा सिकायो ।
स्क्रोल डट आइएनबाट नेपालीमा अनुदित सामग्री
Leave a Reply