भर्खरै :

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयबाट ख्वप अस्पताल अनुगमन

भक्तपुर, २१ माघ । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आउनुभएको अनुगमन टोलीले शुक्रबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमन टोलीलाई ख्वप अस्पतालमा स्वागत गर्नुभई अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा र अस्पतालको अवस्थाबारे विस्तृतरूपमा अवगत गराउनुभयो ।
नगर प्रमुख प्रजापतिले जनताको माग र आवश्यकताअनुसार नगरपालिकाले सुविधासम्पन्न ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउँदै ख्वप अस्पताललाई स्तरोन्नति गर्दै १०० शøया क्षमताको अस्पताल सञ्चालन गर्न आवश्यक सहयोगको लागि अनुरोध गर्नुभयो ।
अस्पतालका बिरामीहरूलाई २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याब, एक्स रे र फार्मेसी सेवा, स्त्री रोग, जनरल सर्जरी, बाल रोग, हाडजोर्नीलगायतका सेवाहरू सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।
अनुगमनको क्रममा प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले ख्वप अस्पतालको भौतिक पूर्वाधार नेपाल सरकारले तोकेको मापदण्डअनुरूप नै भइरहेको पाइएको बताउनुभयो ।
उहाँले नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल अनुकरणीय, अतुलनीय र उदाहरणीय भएको बताउँदै शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका गतिविधिहरूमा अन्य स्थानीय तहले भक्तपुर नपाबाट सिक्नुपर्ने बताउनुभयो ।
उहाँले ख्वप अस्पतालको भौतिक संरचना अपाङ्गमैत्री हुनुपर्ने र जनतालाई सहजरूपमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
टोलीले निर्माणाधीन ख्वप अस्पताल, ब्रह्मायणीस्थित ख्वप अस्पताल कोभिड युनिट, छाती पुनःस्थापना केन्द्रको स्थलगत निरीक्षण गरेको थियो ।
अनुगमन टोलीमा प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रूपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशील आचार्यको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *