भर्खरै :

भारतीय गायिका लता मङ्गेशकरको निधन

नयाँ दिल्ली, ६ फेब्रुअरी । भारतका विख्यात गायिका लता मङ्केशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो । जनवरीमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि उहाँ सघन उपचारमा हुनुहुन्थ्यो ।
मङ्गेशकरको जन्म सन् १९२९ मा भएको थियो । उहाँले आफ्नो बुबा दीनानाथको तालिममा प्रारम्भिकरूपमा आफ्नो साङ्गीतिक यात्रा सुरु गर्नुभएको थियो । लताले पाँच वर्षको उमेरबाट नै आफ्ना बुबाबाट साङ्गीतिक तालिम सुरु गर्नुभएको थियो ।
लता १३ वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । त्यसपछि चार साना भाइबहिनीको लालनपालनको भूमिका खेल्न बाध्य तुल्यायो र अन्ततः १९४५ मा उहाँको परिवार मुम्बईमा बसाई सर्नुपर्यो । सन् १९६२ मा भारत–चीन युद्धमा मारिएका सैनिकहरूलाई देशभक्तिपूर्ण श्रद्धाञ्जली गराउन सन् १९६३ जनवरीमा भारतको गणतन्त्र दिवस समारोहमा सरकारद्वारा उहाँलाई निमन्त्रणा गरिएको थियो । उहाँले ‘ओ द पिपल अफ माइ कन्ट्री’ को प्रस्तुतिले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले आँसु झार्नुभएको थियो ।
उहाँले भक्ति र शास्त्रीय एल्बमहरू रेकर्ड गर्नुका साथै एक हजारभन्दा बढी चलचित्रमा गीत गाउनुभएको छ । आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उहाँले ३६ भाषामा २७ हजारभन्दा बढी गीत गाउनुभएको छ ।
सन् २००१ मा उहाँले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान ‘भारत रत्न’ प्राप्त गर्नुभएको थियो । सन् २००४ मा उहाँको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले ‘मैले उहाँको आवाजमा भगवानको आशीर्वाद देखेँ’ भनेर लेख्नुभएको थियो ।
मङ्गेशकरले विवाह गर्नुभएन । उहाँकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुनुहुन्छ । लताले नेपाली भाषामा पनि गीत गाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *