भर्खरै :

अझै ज्युँदै छन् पोलिब्युस

पश्चिमा देशहरूमा अहिले अनुदार राजनीतिक नेताहरूको उदयले प्रजातन्त्रको अन्त्य हुने भविष्यवाणी हुन थालेको छ । सन् २०२० मा संरा अमेरिकामा भएको निर्वाचनमा डोनाल्ड ट्रम्प पराजित भए । उनले आफू पराजित भएको निर्वाचनको परिणाम स्वीकार्न सकेनन् । उनले चुनावको नतिजा उल्टाउने प्रयास गरे । तर, उनले चुनावी परिणाम उल्टाउन भने सकेनन् । तथापि, उनी आगामी सन् २०२५ मा हुने चुनावमा फेरि पनि ह्वाइट हाउस फर्कन खोज्दै छन् । फ्रान्समा एकजनामात्र होइन, दुई–दुई जना दक्षिणपन्थी लोक रिझाइवादी (पपुलिस्ट) नेताहरू चुनावमा प्रतिस्पर्धा गर्दै छन् । इटालीमा सन् २०२३ मा चुनाव हुँदै छ । त्यो चुनावमा प्रधानमन्त्री पदको लागि द लिगका मटिओ सल्भिनी र फासीवादी पृष्ठभूमिको ब्रदर्स अफ इटाली पार्टीका जोर्जिया मेलोनी सम्भावित प्रतिस्पर्धीहरू हुन् ।
संरा अमेरिकाका दक्षिणपन्थी राजनीतिक सङ्गठन र सञ्चारमाध्यमजस्तै सल्भिनी, मेलोनी र फ्रान्सको दक्षिणपन्थी नेसनल ¥याली पार्टीका मारिन लि पेनले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनलाई शुभकामना व्यक्त गरे । उनीहरूले मौका पाउनासाथ आफ्नै शैलीको अनुदारतावाद अघि बढाउने चाहना कुनै गोप्य कुरा होइन ।
भविष्यप्रतिको हाम्रो चिन्ता विगतको हाम्रो अनुभवमा आधारित छ । फासीवादको खतराबारे हामीले हाम्रा आमाबुबा र हजुरआमा–हजुरबुबाबाट थाहा पायौँ । पछिल्ला वर्षहरूमा हामीले प्रजातान्त्रिक माध्यमबाट अधिनायकवादी नेताहरू सत्तासीन भएको देखिरहेका छौँ । उनीहरूले सरकारको नेतृत्व गर्दा संवैधानिक मूल्य–मान्यता र संवैधानिक संस्थाहरू कमजोर भएका छन् । तानाशाही शासन स्थापना गर्ने यो ‘चुनावी’ तरिका अबको सम्भावित चुनौती बन्ने देखिँदै छ ।
तर, के हामी दक्षिणपन्थी खालको प्रजातान्त्रिक अवनतिबारे चिन्ता गरिरहेका छौँ ? वास्तवमा अहिलेको सबभन्दा तड्कारो खतरा भनेको प्रजातन्त्र भिडतन्त्र (ओक्लोक्रेसी–यअजयिअचबअथ) मा पतन हुने जोखिम हो । ग्रीसका इतिहासकार पोलिब्युसले इसापूर्व दोस्रो शताब्दीमा भिडतन्त्रको व्याख्या गर्ने क्रममा ‘ओक्लोक्रेसी’ शब्दको प्रयोग गरेका थिए । आफ्नो मनलागीलाई नस्वीकार्ने मतदातालाई आफूतिर आकर्षित गर्न सस्ता आश्वासन र भ्रमपूर्ण भाषणको सहारा लिने राजनीतिक नेताहरूले ओक्लोक्रेसीको अवस्था निम्त्याउने गर्छन् । ती मतदाताहरूले कहिल्यै पनि अप्रजातान्त्रिक प्रशासनको उत्पीडन वा दमन अनुभव नगरेका हुनाले उनीहरू राजनीतिक नेताहरूको मनलाग्दी स्वीकार्न तयार हुँदैनन् ।
‘द हिस्टरिज’ मा पोलिब्युसले लेखेका छन् :
“अल्पतन्त्री शासनका खराब पक्षको अनुभव गरेको पुस्ताका मानिसहरू सरकारको वर्तमान स्वरूपबाट खुसी हुन्छन् । उनीहरूले समानता र वाक् स्वतन्त्रतालाई उच्च मूल्य दिन्छन् । तर, जब नयाँ पुस्ता आउँछन् र प्रजातन्त्र नाति पुस्ताको हातमा पुग्छ, उनीहरू स्वतन्त्रता र समानतामा यति अभ्यस्त भइसकेका हुन्छन् कि उनीहरूले तिनको (स्वतन्त्रता र समानता) मूल्यबोध गरेका हुँदैनन् । त्यसकारण, उनीहरू सत्ताका भोका हुन्छन् । जब उनीहरूले सत्ता प्राप्त गर्न सक्दैनन् अथवा आफ्नो जीत हुँदैन, उनीहरू हरेक खालका उपाय प्रयोग गरी आफ्नो क्षेत्रका जनतालाई प्रलोभन देखाएर र भ्रष्ट पारेर उनीहरूलाई बिगार्ने गर्छन् । परिणामतः प्रजातन्त्र उन्मूलन हुन्छ र शक्ति तथा हिंसाको शासनमा बदलिन्छ ।’
पोलिब्युसअघि प्लेटो र अरस्तु दुवै जनाले पनि बदलिरहने र सजिलै प्रभावित बनाउन सकिने जनमतसामु प्रजातन्त्र कमजोर हुने बताएका थिए । हाम्रो समयमा, हामी यसलाई लोक रिझाइ (पपुलिज्म) भन्दै छौँ । लोक रिझाइ यस्तो शब्दावली हो जसले हामीलाई प्रजातान्त्रिक अवनतिका सबै दोष ट्रम्प, लि पेन र सल्भिनीजस्ता लोक रिझाइवादी नेताहरूमाथि लगाउन पाउँछौँ । तर, यी नेताहरूले आप्रवासनको भय र जनमतको धु्रवीकरणको बिजारोपण गर्दै गर्दा उनीहरूले शून्यतामा काम गरिरहेका भने हुँदैनन् । उनीहरू आफ्नो पक्षका मतदाताको लागि राजनीतिक सफलताको निम्ति अग्रसर भइरहेका हुन्छन् । (ट्रम्पको सन्दर्भमा त्यस्ता मतदाता धेरै अमेरिकी अनुदार शासक वर्ग हुन् ।)
एक्काइसौँ शताब्दीको ओक्लोक्रेसीले पुरानो खालको लोक रिझाइवादभन्दा माथि उक्लिएर सार्वजनिक जीवनमा व्यापक प्रभाव पार्न खोजिरहेको देखिन्छ । यो प्रक्रियाका तीन लक्षण अहिले प्रस्टै देखिँदै छ । पहिलो, मूलधारका राजनीतिक दलहरूमा नयाँ नेताहरू अघि आउन मिल्ने गरी अमूर्त खोक्रो नीति–कार्यक्रम र उपयुक्त साँघुरो बाटो बन्दै छन् । संरा अमेरिकाको रिपब्लिकन पार्टी यसको उदाहरण हो । तर, बितेका दुई वटा राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक दलले नयाँ नेता र ताजा विचारलाई अघि बढाउनुको सट्टा लामो समयदेखिका पार्टीका नेताहरूलाई नै चुनावमा उम्मेदवार बनायो ।
बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सन पुरानो कन्जरभेटिभ दलको नेतृत्वमा पुगे । त्यसको निम्ति उनले सुरुमा ब्रेक्सिटबारे झूटको सहारा लिए । पछि युरोपेली सङ्घबाट अलग हुँदा बेलायतलाई सजिलो र लाभदायक हुने भ्रम फैलाए । त्यस्ता नेताले सिङ्गो देश महामारीको कारण बन्दाबन्दीमा बसेको बेला रात्रिभोजको आयोजना गर्नु कुनै अनौठो कुरा होइन ।
इटालीको अवस्था पनि उस्तै छ । इटालीका कुनै पनि मूलधारका राजनीतिक पार्टीभित्र नयाँ नेता छान्न वा नीति तथा कार्यक्रम तर्जुमा गर्न कुनै पनि विश्वसनीय आन्तरिक प्रजातान्त्रिक प्रक्रियाको अभ्यास हुने गरेको छैन । इटालीका राजनीतिक दलहरू यति अकर्मण्य छन् कि आफ्ना जटिल सङ्कट समाधान गर्न उनीहरू बेला–बेला कर्मचारीतन्त्रको भरपर्ने गरेका छन् । सन् २०११–१३ मा मारियो मोन्टी र अहिले मारियो द्रागी यसका उदाहरण हुन् । नयाँ राष्ट्र प्रमुख चुन्न हालै इटालीका पार्टीहरूबीच र पार्टीहरूभित्रै भएको झगडाले रोमको शासक वर्ग कति अकर्मण्य भइसकेका छन् भन्ने कुरा छर्लङ्ग पार्छ । आफ्नो इच्छा नभएर पनि सर्जो माटरेलालाई पुनः इटालीका राष्ट्रपति निर्वाचित गरेरमात्र उनीहरू राजनीतिक गतिरोध समाधान गर्न सफल भए ।
प्रजातन्त्र अवनतिको दोस्रो प्रमुख लक्षण भनेको सञ्चारमाध्यममा विशृङ्खलता आउनु हो । सञ्चारमाध्यमहरू राजनीतिक दलमा विभाजित, ध्रुवीकृत र सतही (जस्तै, शेयर बजारको अभिवृद्धिको लागि भावुक र भयको प्रचारको प्रयोग) बन्दा प्रजातन्त्रले त्यसको क्षति भोग्नुपर्ने हुन्छ । जब समाज राजनीतिकरूपमा धुव्रीकृत बन्छ, प्रकाशक र सम्पादकहरूले समान विचारका जनतालाई उत्तेजित बनाएर व्यवसायिक अवसर वा फाइदा खोज्छन् । बलेको आगोमा हम्कनु नै उनीहरूको व्यापारको ढाँचा बन्छ ।
विशेषतः पछिल्ला वर्षमा प्रमुख सञ्चारमाध्यमले ट्रम्प, जोनसन, इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लस्कोनी वा इटालीको लोक रिझाइवादी दल फाइभ स्टार मुभमेन्टका संस्थापक बिप्पी ग्रिलोजस्ता विवादास्पद नेताहरूलाई बलियो बनाउन भूमिका खेलेको देखिन्छ । धु्रवीकरणमा पक्षधरता लिएर सञ्चारमाध्यमले त्यसैलाई मलजल गरे । उनीहरूले अल्पकालीन राजनीतिक द्वन्द्वभन्दा पर जनमत बनाउन थोरैमात्र मद्दत गरे । सीबीएस न्युज (अमेरिकी टीभी च्यानल)का तत्कालीन प्रमुख कार्यकारी अधिकारी लेसलाइ मुनभेसले सन् २०१६ मा राष्ट्रपति पदको लागि ट्रम्पको उम्मेदवारीबारे भनेका थिए, “अमेरिकाको लागि यो राम्रो नहुन सक्छ । तर, सीबीएसको लागि यो ज्यादै राम्रो हो ।”
तेस्रो लक्षण, राजनीतिक दलका नेताहरूको दृष्टिकोण र निर्णय निर्माणमा सामाजिक सञ्जालमा भएको चर्चा–परिचर्चाले खेलेको भूमिका हो । एक जना पत्रकारको नाताले ट्वीटरको लत लागेका धेरै प्रमुख नेताहरूलाई म चिन्दछु । उनीहरू दिनको धेरै समय ट्वीटरमा बिताउने गर्छन् । उनीहरूको लागि ट्वीटर नै सत्य हो । तर, उनीहरूका जनता वास्तविक जीवनमा बाँच्छन् ।
खोक्रो राजनीतिक दलहरूले चलाएको राजनीतिक प्रणालीले त्यस्तो दबाब झेल्न सक्दैनन् । राजनीतिक प्रणालीले दीर्घकालीन मुद्दा समाधान गर्न असफल हुन थालेपछि त्यस्तो प्रणालीप्रति जनविश्वास गुम्ने गर्छ । जनमत क्रमशः अस्थिर बन्दै जान्छ । त्यसको परिणाम अहिले सुनिने गरेको हल्ला, अप्रभावकारी र बेपर्वाह सञ्चारमाध्यम, आक्रामक तर्क र अदूरदर्शी राजनीतिक कार्यक्रम हुने गर्दछ ।
यो नै ओक्लोक्रेसीका विशेषताहरू हुन् । पोलिब्युसको निधन भएको बाइस शताब्दी बितिसक्दा पनि उनी अझै सान्दर्भिक छन् ।
(लेखक आर्थिक पत्रकार हुनुहुन्छ ।)
प्रोजेक्ट सिन्डिकेटबाट नेपालीमा अनुदित सामग्री 

Leave a Reply

Your email address will not be published. Required fields are marked *