भर्खरै :

डा. टेड्रोस र इथियोपियाको द्वन्द्व

सन् २०१७ मा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले डा.टेड्रोस अधानम घिब्रिएससलाई महानिर्देशक पदमा नियुक्त ग¥यो । त्यो पदमा पुग्ने उनी पहिलो अफ्रिकी नागरिक मात्र होइनन्, बरु विकासशील विश्व (द ग्लोबल साउथ) बाटै पनि पहिलो व्यक्ति थिए ।
उनी निर्वाचित भएको प्रक्रियामा पनि सम्झनलायकको थियो : डब्ल्युएचओको ७० वर्षको इतिहासमा पहिलोपटक सबै सदस्य देशहरूलाई समान मताधिकारसहित गोप्य मतदान गरिएको थियो । त्यसअघि महानिर्देशक पदमा कार्यकारी बोर्डमै मतदान गरेर सो पदपूर्ति गरिन्थ्यो । मतदानमा सबैले टेड्रोस भनेर चिनिएका उनले दुई–तिहाइ बहुमत पाएका थिए ।
डब्ल्युएचओको महानिर्देशकमा टेड्रोस निर्वाचित भएपछि उनको देश इथियोपियामा ठुलो खुशियाली मनाइएको थियो । त्यसअघि इथियोपियाका स्वास्थ्यमन्त्रीको हैसियतमा उनले राम्रो काम गरेका थिए । तर, अहिले अडिस अबाबा (इथियोपियाको राजधानी) को मनस्थिति बदलिएको छ । डब्ल्युएचओमा पुनः निर्वाचित हुन उनले उम्मेदवारी दिंदै गर्दा इथियोपियाले भने उनको विपक्षमा उभिने निर्णय गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप उनीमाथि लागेको छ ।
टेड्रोसको लागि महानिर्देशक पदमा दोस्रोपटक उम्मेदवारी दिन इथियोपियाको सिफारिस आवश्यक पर्दैन । पहिलो कार्यकालमा कमाएको प्रतिष्ठा नै उनलाई मनग्य छ । त्यसमाथि उनको प्रतिस्पर्धामा कसैले पनि उम्मेदवारी दिएको छैन । तथापि, उनको देश इथियोपियाको सरकार उनको बाटोलाई असहज बनाउन सक्रिय छ । विश्व मञ्चमा उनीविरुद्ध राजनीतिक प्रचारबाजी गर्न इथियोपिया दिलोज्यानले लागेको छ ।
यस्तो अवस्था के कारणले निम्तियो ? टेड्रोसले इथियोपियाको तिग्रे क्षेत्रमा स्वास्थ्य र मानवीय अवस्था खराब भएको भनी बोलेकोले इथियोपियाको सरकार उनीसँग निकै रिसाएको छ । उनले तिग्रे क्षेत्रको अवस्थालाई सङ्केत गर्दै ‘नर्क’ शब्द प्रयोग गरेका थिए । ‘त्यो मानव जातिकै अपमान हो’, उनले भनेका थिए ।
इथियोपियामा चालु गृहयुद्धको क्रममा तिग्रेका सर्वसाधारण जनताविरुद्ध जातीय युद्धअपराध हुनुको साथै त्यहाँ औषधि र खाना पठाउन पनि रोक लगाइएको छ । त्यहाँ भइरहेको अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकारको व्यापक उल्लङ्घन आम नरसंहार सरह हो ।
टेड्रोस आफै पनि तिग्रे मूलका हुन् । उनी तिग्रे जनमुक्ति मोर्चाको बलियो उपस्थिति भएको इथियोपियाको अघिल्लो सरकारका प्रभावशाली सदस्य थिए । त्यही भएर टेड्रोस इथियोपियाका वर्तमान प्रधानमन्त्रीका शत्रु भएका छन् ।
तिग्रे क्षेत्रको द्वन्द्वमा टेड्रोसका परिवार र मित्रहरू पनि निशानामा परेका छन् । संयुक्त राष्ट्रसङ्घीय नियोग प्रमुखलाई यो अकल्पनीय घटना हो । यो कुरा डब्ल्युएचओका अन्य उच्च अधिकारीलाई थाहा नभएको होइन । दार्फरमा मानवताविरोधी अपराध गरेको भन्दै सुडान सरकारविरुद्ध बोल्दा सुडानको लागि राष्ट्रीय सङ्घीय नियोगका प्रमुखका रूपमा काम गर्दैै गर्दा मलाई पनि मार्ने धम्कीहरू आएका थिए । धम्कीले मेरो परिवारलाई पनि प्रभावित बनाएको थियो । खार्तोम छोडेर तुलनात्मकरूपमा सुरक्षित थलो जेनेभा पुग्दा पनि यस्तो धम्की रोकिएको थिएन ।
इबोला र कोभिड–१९ रोकथाम र नियन्त्रण अभियानमा बलियो नेतृत्वको कारण टेड्रोस विश्वभर परिचित छन् । विश्वव्यापीरूपमा प्रभावशाली व्यक्तित्व हुनुको नाताले उनले बोलेको कुराको संसारभर अर्थ राख्छ ।
बोल्ने कि चुप लाग्ने ?
संयुक्त राष्ट्र सङ्घीय नियोगका एक जना निर्वाचित अधिकारीको भत्र्सनाले धेरै विषयलाई प्रभावित बनाइरहेको छ । डब्ल्युएचओको एउटा सदस्य देशले पालना गर्नुपर्ने स्थापित मान्यता र नियमको व्यापक उल्लङ्घन भइरहँदा अन्तर्राष्ट्रिय सङ्गठनका नेतृत्वले बोल्ने वा चुप लागेर बस्ने ?
डब्ल्युएचओ बहुपक्षीय विकास निकाय हो । तर, उसले स्वास्थ्य क्षेत्रमा गर्ने काम मानवीय कार्य हो । आजको महामारीको युगमा भन्दा बढी यो कुरा अरू बेला कहिल्यै पुष्टि हुन सक्दैन । सबै मानवीय सङ्गठनका कार्यकर्तालाई टेड्रोसको अलमलबारे विदित छ । सरकारी दमन र अत्याचारको कोपभाजनमा परेका पीडितहरूको पक्षमा उनीहरूले बोले दमनकारी सरकारले उछितो काढ्नेछ । उनीहरूले ती पीडितहरूको पक्षमा नबोल्दा अधिकारवादीहरूले उनीहरूको आलोचना गर्नेछन् । किनभने ‘आवाजविहिनहरूको आवाज’ बन्नु नै उनीहरूको मिसनको मूल लक्ष्य हो ।
तर, के कुरा ठुलठुलो आवाजमा प्रचार गर्ने र के कुरा आफू आफूमा सरसल्लाह गर्ने ? उनीहरूले भोका र बिरामीहरूको लागि स्रोतको लागि आह्वान गर्न पाउँछन् । तर, पीडा थप्ने अमानवतालाई चुनौती गर्न पाउँदैनन् । किनभने त्यसो गर्नु ‘तटस्थता’ र ‘निष्पक्षता’ को आधारभूत सिद्धान्तको उल्लङ्घन मानिन्छ । बहुपक्षीय द्वन्द्वमा उनीहरू राष्ट्रिय सार्वभौमिकताको निषेधित क्षेत्रमा पनि जान सक्छन् ।
पुरानो नियमले काम गर्दैन
इथियोपिया, यमन र म्यानमारजस्ता युद्धग्रस्त क्षेत्रमा मानवताको परिधि साँघुरो बनेको छ । ती ठाउँमा पुराना नियम र त्यससँग जोडिएका आचरणले मात्र काम गर्दैन । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्, मानवअधिकार परिषद्, अन्तर्राष्ट्रिय फौजदारी अदालत वा अफ्रिकी सङ्घ र अफ्रिकी मानवअधिकार तथा जनाधिकार अदालतजस्ता बहुपक्षीय प्रणालीका रक्षाकवचलाई शक्तिशाली देशहरूको भूराजनीतिले पङ्गु बनाइदिएको छ । जसले ती बहुद्देशीय संरचनालाई बेवास्ता वा न्यूनाङ्कन गर्दा पनि छुट दिइएको छ ।
आदर्शवादीहरू मानवीय सङ्गठनका कार्यकर्ताहरू राजनीतिकर्मी होइनन् भन्ने मिथक पालेर बसेका छन् । तर, यो भनाइलाई निर्लज्ज तरिकाले बङ्ग्याइने गरेको छ र पक्षपाती ढङ्गले उल्लङ्घन गरिएको छ । अफगानिस्तान र इथियोपियाको अनुभवले यो कुरा छर्लङ्ग पारेको छ । मानवतावादी कार्यको राजनीतिक अर्थतन्त्रमा ठुलो परिवर्तन भइरहेको छ । अधिनायकवादी महाशक्तिहरू र अफ्रिका, पूर्वी युरोप र एसियामा रहेका तिनका पक्षधरहरूले उदारवादी व्यवस्था मिच्न थाल्दा यस्तो परिवर्तन देखिन थालेको छ ।
बहुपक्षीय र नागरिक समाजजस्ता मानवीय क्षेत्रमा काम गर्ने निकायहरूलाई दुष्ट नयाँ विश्वलाई कसरी सम्हाल्ने भन्ने कुरा थाहा छैन । इथियोपियाको अनुभवले यो कुरा अझ प्रस्ट बोलेको छ । डा. टेड्रोसले आफ्नो मत राखेवापत आलोचना सामना गर्न तयार हुँदासम्म इथियोपिया सरकारले नर्वेली शरणार्थी परिषद्, एमएसएफ र अल मोकटम प्रतिष्ठानजस्ता संस्थालाई इथियोपियाले देशनिकाला गरिसकेको थियो भने संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता कर्मचारीहरूलाई निलम्बन गरिएको थियो ।
हिजोआज इथियोपियामा त्यस्ता मानवतावादी सङ्गठनहरूले मात्र काम गर्न पाउँछन् जसले त्यहाँको सरकारको चाहनाअनुसार काम गर्छ । त्यहाँको नयाँ नियम भनेको ‘कुनै खराबी नहेर, कुनै खराब कुरा नसुन र कुनै खराब कुरा नबोल’ हो । इथियोपियामा अनिकाल र रोगले पीडित मानिसहरूले सहायता पाउने अवस्थामा त यी कुरालाई पनि सहन सकिन्छ । तर, त्यसो समेत भइरहेको छैन । बरू जबरजस्ती थोपरिएको मौनताले तिग्रेमा पूर्ण युद्धले थप मानवीय खतरा बढाएको छ ।
द कन्भरसेसनबाट नेपालीमा अनुदित सामग्री 

Leave a Reply

Your email address will not be published. Required fields are marked *