भर्खरै :

भारतको कर्णाटकमा ‘हिजाब’ र ‘गेरु रङ्गको पगरी’ बीचको द्वन्द्व

भारतको दक्षिणी कर्णाटक राज्यका शैक्षिक निकायमा हिजाब लगाएर कक्षामा बस्न मुसलमान छात्राहरूलाई निषेध गरेको विरोधमा भारतको राजधानी नयाँ दिल्लीमा मुसलमान विद्यार्थीहरूले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी छात्र–छात्रा । तस्बिरः एपी
कर्णाटक, ८ फेब्रुअरी । भारतको कर्णाटकका शैक्षिक संस्थामा छात्राहरूलाई हिजाब लगाएर आउन अनुमति दिएको विषयमा चर्किएको विवादले उग्र रूप लिएपछि त्यहाँको प्रादेशिक सरकारले मङ्गलबार तीन दिनको लागि त्यहाँका सबै माध्यमिक विद्यालय र कलेजहरू बन्द गर्ने घोषणा गरेको छ । सरकारको सूचनाअनुसार कर्णाटकका शैक्षिक निकायहरू फेब्रुअरी ९ देखि ११ सम्म बन्द हुनेछन् ।
कर्णाटकका मुख्यमन्त्री बसवराज बोम्मईले ट्वीटरमार्फत आह्वान गरेका छन्, “म कर्णाटकका सबै विद्यार्थी, शिक्षक र विद्यालय तथा कलेजका व्यवस्थापनका साथै कर्णाटकका जनतालाई शान्ति–सद्भाव कायम राख्न अपिल गर्न चाहन्छु ।”
कर्णाटकका विभिन्न भागमा कलेज र विद्यालयमा हिजाब लगाएर गएका छात्राहरूविरुद्ध प्रदर्शन भएपछि यो निर्णय सार्वजनिक भएको हो ।
मङ्गलबार बिहान खिचिएको कर्णाटकको उदुपी जिल्लाको महात्मा गान्धी स्मृति कलेजमा दृश्यमा मुसलमान छात्राहरू हिजाब लगाएर ‘हामीलाई न्याय देऊ’ भन्दै नाराबाजी गरिरहेका थिए । अर्कोतिर ती विद्यार्थीहरूको विरोधमा गेरु रङको कपडा र पगरी लगाएका विद्यार्थीहरूले पनि नाराबाजी गरिरहेको देखिएको छ । छात्रहरू गेरु रङको कपडा हल्लाउँदै नाराबाजी गरिरहेको दृश्यमा देखिएको छ ।
यसअघि कलेजमा दुवै समूहका विद्यार्थीलाई पस्न रोक लगाइएको ‘द न्यूज माइन्युट’ ले जनाएको छ । हिन्दू समुदायका प्रदर्शनकारीहरूले आफूलाई हिन्दुवादी सङ्गठन हिन्दू जागरणा विदेकीले आफूलाई गेरु रङ्गको कपडा उपलब्ध गराएको बताए ।
एकजना मुसलमान विद्यार्थीले कलेज व्यवस्थापनले उनीहरूले लगाइरहेको हिजाब हटाउन अथवा घर फर्कन बताएको ‘टाइम्स नाउ’ को समाचारमा उल्लेख छ । अर्काे एक जना विद्यार्थीले कलेजले पहिला हिजाब लगाउन अनुमति दिए पनि अचानक हिजाब लगाउन निषेध गरेको बताइन् ।
अवस्थामाथि नियन्त्रण गर्न कलेजमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यसैबीच कर्णाटकको मन्ध्य नगरस्थित पीइएस कलेजमा एक जना मुसलमान छात्रालाई टाउकोमा गेरु रङको पगरी लगाएका केही विद्यार्थीहरूले दुव्र्यवहार गरे । घटनाको श्रव्यदृश्यका पुरुषको एउटा समूहले ‘जय श्रीराम’ को नारा लगाइरहेका थिए । जवाफमा मुसलमान छात्राले ‘अल्लाह अहो अक्बर’ को नारा लगाएकी थिइन् ।
मङ्गलबार अवस्थालाई ध्यानमा राखी तीन वटा कलेज बन्द गरिएको ‘द हिन्दु’ को समाचारमा उल्लेख छ ।
उदुपीस्थित एउटै परिसरभित्र रहेका महात्मा गान्धी स्मृति पूर्व–विश्वविद्यालय र डिग्री कलेजहरू र कन्नाडा जिल्लाको सरकारी फस्र्ट ग्रेड कलेजले पनि अनावश्यक तनाव रोक्न बिदा घोषणा गरेका छन् ।
शिवमोग्गा जिल्लाको एउटा श्रव्यदृश्यमा गेरु कपडा ओढेका एक समूह विद्यार्थीहरूले गेरु रङको झन्डा फहराइरहेका थिए । शिवमोग्गास्थित सरकारी फस्र्ट ग्रेड कलेजमा त्यो घटना भएको थियो । झन्डा फहराएपछि क्याम्पसमा ढुङ्गामुढा पनि भएको ‘द न्यूज माइन्युट’ को समाचारमा उल्लेख छ ।
देवानगिरी जिल्लामा पनि हिंसा भड्केको छ । प्रहरीले भीड तितरवितर पार्न अश्रुग्यास प्रयोग गरेको ‘द क्वीन्ट’ ले लेखेको छ ।
कर्णाटक उच्च अदालतले मङ्गलबार शैक्षिक निकायमा हिजाब लगाउने अनुमति दिने निर्णयको विरोधमा प्रदर्शनमा उत्रेका विद्यार्थीहरूलाई शान्ति सद्भाव कायम राख्न आग्रह गरेका छन् । सरकारी स्वामित्वको महिला पूर्व–विश्वविद्यालय कलेजका छात्राहरूले कलेजमा हिजाब लगाउने अनुमतिको निम्ति दायर गरेको रिटमा न्यायाधीश कृष्ण दीक्षितले हेरिरहेका छन् ।
दीक्षितले मङ्गलबारको सुनुवाइमा भने, “सडकमा प्रदर्शन गर्नु, नाराबाजी गर्नु, विद्यार्थीहरूमाथि हमला गर्नु, विद्यार्थीले अर्को विद्यार्थीमाथि हमला गर्नु, यी सबै राम्रा काम होइनन् ।”
कर्णाटकमा पछिल्ला केही दिन यता हिजाब लगाउने विषयमा विद्यार्थी समूहहरूबीच चर्को द्वन्द्व भइरहेको छ । द्वन्द्व कर्णाटकका धेरै कलेजमा पनि फैलिएको छ । फेब्रुअरी ५ मा कर्णाटक सरकारले ‘समानता, सद्भाव र सार्वजनिक व्यवस्थालाई दखल पु¥याउने’ लुगा लगाउन विद्यार्थीहरूलाई रोक लगाउने निर्देशन जारी गरेको थियो ।
सोमबार मुख्यमन्त्री बसवराज बोम्मईले उच्च अदालतले ठोस फैसला नगर्दासम्म फेब्रुअरी ५ को निर्देशन पालना गर्न सबै विद्यार्थीलाई आग्रह गरे ।
उच्च अदालतमा उदुपीस्थित महिला पूर्व–विश्वविद्यालय कलेजका धेरै छात्राहरूले निवेदन दिएका छन् । कलेजले हिजाब लगाउन नदिएपछि सो कलेजका विद्यार्थीहरू झन्डै एक महिनादेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
सोमबार छात्राहरूलाई हिजाब लगाएर कलेज पस्न दियो । तर, उनीहरूलाई कक्षाकोठामा बस्न दिइएन । बरु कलेज भवनको एउटा हलमा उनीहरूलाई बस्न अनुमति दिइयो ।
हिजाब लगाउनुपर्ने विद्यार्थीहरूको मागलाई भारतको काङ्ग्रेस पार्टीका नेता राहुल गान्धी सहित धेरै नेताहरूले समर्थन गरेका छन् । तर, सत्तारुढ भारतीय जनता पार्टीले हिजाब लगाउनुलाई शैक्षिक प्रणालीको ‘तालिबानीकरण’ भन्दै विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *