भर्खरै :

युरोपको शान्तिको लागि जर्मनी, फ्रान्स र पोल्यान्ड एकै ठाउँमा

बर्लिन, ९ फेब्रुअरी । युक्रेन सङ्कटको पृष्ठभूमिमा जर्मनी, फ्रान्स र पोल्यान्डले युरोपको शान्ति जोगाउन ‘सङ्गठित बन्ने’ घोषणा गरेका छन् । युरोपले सामना गरिरहेका चुनौती सामनाको लागि मद्दत गर्न शीतयुद्धको समाप्तिको ३१ वर्षमा बनेको ‘वेइमर त्रिकोण’ को बर्लिनमा आयोजित शिखर सम्मेलनपछि जर्मनीका चान्सलर ओलफ स्कुजले भने ।
“कूटनीतिक र प्रस्ट सन्देश एवम् मिलेर काम गर्ने साझा चाहनामार्फत युरोपमा शान्ति कायम राख्ने लक्ष्यको लागि हामी सङ्गठित भएका छौँ”, फ्रान्सका राष्ट्रपति इमानुएल माक्रों र पोल्यान्डका राष्ट्रपति एन्ड्रेज दुदासँगै उभिएर पत्रकार भेटघाटमा चान्सलर स्कुजले भने ।
“हाम्रो साझा लक्ष्य भनेको युरोपलाई लडाइँबाट जोगाउनु हो”, उनले भने ।
नवनिर्वाचित जर्मन चान्सलर सोमबार वाशिङ्टनको भ्रमणमा थिए । त्यहाँ उनले संरा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटेका थिए । उनी अर्को साता रुस र युक्रेनको भ्रमणमा जाँदैछन् ।
युक्रेन र रुसको भ्रमण सकेको दुई दिन पछि बर्लिन पुगेका फ्रान्सेली राष्ट्रपति माक्रोंले मङ्गलबार रुससँग ‘दिगो संवाद’ कायम राख्ने र तनाव कम गर्ने त्यही नै एकमात्र बाटो भएको बताए ।
फ्रान्सेली नेताले गत सोमबार मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए । वार्तापछि उनले ‘रुस उत्तेजनाको स्रोत नहुने’ बताएका थिए ।
पोल्यान्डका राष्ट्रपतिले पनि लडाई पन्छाउन सकिने बताए ।
“हामीले लडाइँको समाधान निकालिसकेका छौँ”, दुदाले भने, “मैले भनेको छु, यो नै अहिलेको मुल काम हो । हामीले यो लक्ष्य हासिल गर्ने मेरो पूर्ण विश्वास छ । मेरो विचारमा यतिबेलाको सबभन्दा ठूलो आवश्यकता भनेको एकता र ऐक्यबद्धता हो”, उनले भने ।
मङ्गलबार नै फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरू युक्रेनको सार्वभौमिकताप्रति संयुक्तरूपमा प्रतिबद्ध रहेको उल्लेख छ । तीनै नेताले मिन्स्क युद्धविराम सम्झौताको कार्यान्वयनमा समर्थन गर्ने वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *