भर्खरै :

जसरी पनि रोगी, बिरामी र कम औसत आयु हुनेमा हामी !

स्वस्थ रहनका लागि ऋताहार (ऋतुअनुसारको खाना), मिताहार (थोरै खाना) र हिताहार (शरीरलाई फाइदा गर्ने खाना)मा ध्यान पु¥याउनुपर्छ भनिएको छ । तर, अधिकांश नेपालीहरू यस कुरामा ख्यालै गर्दैनन् । उनीहरू त ‘स्वादे जिब्रो’ का पारखी छन् । उनीहरूलाई विशेषगरी माछामासु बढी मनपर्छ । बलियो हुनका लागि माछामासु खुब खानुपर्छ भन्ने मान्यताले पनि जरो गाडेको छ । जुन कुरा शाकाहारीका लागि स्वीकार्य छैन । एक अध्ययनअनुसार, संसारमा खानका लोभी मानिसमध्ये नेपाली पनि पर्दछन् रे ! यस्तो भएपछि ऋताहार, मिताहार र हिताहारको पालना गरिने कुरै भएन ।
खानेकुरालाई माया नगर्ने र यसलाई जतन नगर्नेमा हामी नेपाली पनि पर्छौँ । हामी प्रत्येकका प्रत्येक भोजभतेरमा तयार गरिएका खानेकुरा, खाएर सिध्याउनुभन्दा पनि फ्याँकेर सन्तुष्टि लिने चलन छ । मन्दिरहरूमा पनि खानेकुरा उत्तिकै चढाइन्छ र फोहोर बनाइन्छ । पितृ, आस्थाका देवता वा भूमिदेवताका नाममा गल्लीगल्लीमा राखिएको खानेकुरा पनि त्यत्तिकै नास भएर जान्छ ।
सहरका धेरै मानिसहरू श्रम गर्न पाउँदैनन् । शारीरिक व्यायाम गर्न पनि अल्छ्याइँ गर्छन् । कतिपय रिटायर्ड कर्मचारीको दैनिकी खाने र तास खेल्नेमा सीमित देखिन्छ । खान पनि विशेषगरी ‘जङ्क फुड’ रुचाइएको देखिन्छ । नेपालकै कतिपय ठाउँमा खान नपाउने समस्या पनि छ तर हाम्रा सहरियाहरू बढ्ता खाएर र रोगी र मोटा भएका छन् । उता, काम गर्ने मान्छे नभएर गाउँका खेतबारी बाँझै छन् । यता सहरमा बलियो हुनका लागि पहिला ‘डाइट’ मा खर्च ग¥यो । फेरि मोटाइ घटाउनका लागि खर्चै गरेर जिमखाना जानुपरेको छ ! बलियो र स्वस्थ रहनका लागि यो कस्तो असङ्गत र अप्राकृतिक उपाय !
हाम्रो देशलाई कृषिप्रधान भनिए पनि हामी खाद्यान्न, तरकारी र फलफुलमा आत्मनिर्भर छैनौँ । नेपाली किसानले नै उत्पादन गरेको तरकारी र फलफुलमा त विषादि हालिएको हुन्छ भने, उति टाढा भारतीय सीमानाकाबाट टनाटन भित्रिने तरकारी र फलफुलमा त झन् भक्कुमार विषादि नहालिएको भन्ने कुरै भएन । त्यस्ता विषादियुक्त तरकारी र फलफुल खाएर कसरी स्वस्थ भइयोस् !
अढाइ वर्षअघि हाम्रो मन्त्रिपरिषद्ले बाहिरबाट आउने तरकारी र फलफुलको विषादि परीक्षण गरेरमात्रै ल्याउनुपर्ने निर्णय गरेको थियो । तर, यो काम पनि नेपाल खाद्य अनुसन्धान तथा गुण नियन्त्रण विभागले अहिलेसम्म राम्ररी पूरा गर्न सकेको छैन । परिणामतः हामी विषयुक्त फलफुल तथा तरकारी नै निरन्तर खान बाध्य हुँदै छौँ । यसकारणले पनि हामी नेपाली रोगी र कम औसत आयु भएका हौँला ।
पछिल्लो समयमा संसारभर कोरोना महामारी फैलियो । यसको प्रभाव हटाउन विभिन्न देशले खोप बनाउने काममा सफलता पाए । हामीकहाँ भने, पहिला स्वास्थ्य सामग्री खरीदमै भ्रष्टाचार भयो । अहिले ठूलो मात्रामा खोपै हराएको भन्ने समाचार पनि आयो । यसै बीचमा, संसारमा कतिपय देशले आफ्ना जनतालाई पूर्ण खोप दिइसके । यस्तो सुनेका हामीले पनि, मागेर किनेर जसरी भए पनि खोप लाउनैपर्ने भयो । तर, विश्वव्यापी महामारीको यस्तो बेलामा हाम्रोजस्तो देशले चाहेको खोप र चाहिएको समयमा पाउने कुरै भएन । त्यसैले जुन बेला सरकारले जे पायो, जनताले पनि त्यही लाउनुपर्ने नै भयो ।
विश्व स्वास्थ्य सङ्गठनले, पहिलो डोजमा जसले जुन कम्पनीको÷जुन नामको खोप लाएको छ उसले पछि पनि त्यही कम्पनीको÷त्यही नामको खोप लगाउनुपर्ने भनेको हो । तर हामीकहाँ पछिल्लो लटमा आउने खोप पनि समय, सङ्ख्या र जात मिलेर आएन । त्यसैले अहिले नेपाल सरकार जान्ने भएर, एकातिर खोपकार्ड नभए सेवा सुविधा नपाउने कुरा ल्यायो भने अर्कोतिर ‘फरक फरक खोप लगाउन मिल्ने र उत्तिकै प्रभावकारी हुने’ भन्दै ‘पहिलो र दोस्रो मात्रा कोभिशिल्ड÷एस्ट्राजेनेका, मोडर्ना, फाइजर वा भेरोसेल जुन लगाएको भए पनि कोभिशिल्ड÷एस्ट्राजेनेका खोपको बुस्टर मात्रा दिइँदै छ’ भन्ने सूचनापछि धमाधम खोप लगाउने व्यवस्था मिलाइँदै छ । हामी जनताले पनि खुसी, रहर वा बाध्यता जेले भए पनि लाउनैपरेको छ । यद्यपि, यसरी खोप लगाउँदा यसको प्रभावकारिता र विश्वसनीयताबारे यसै भन्न नसकिने कुरा सङ्क्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि बताएका हुन् । नभन्दै, खोप लगाएपछि कतिपय नागरिक बिरामी पनि भएका छन् ।
यो कोरोना भन्ने नयाँ रोगका लागि आएको नयाँ खोप पनि आखिर प्रयोगात्मक चरणमै छ । त्यसैले पनि, सरकारको अराउ मानेर जथाभावी खोप लगाउँदा फेरि पनि बिरामी, रोगी र त्यसका प्रभावले औसत आयु कम हुने पनि हामी नेपाली नै त हौँला नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *