न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
आज भक्तपुर नगरपालिकाको एघारौँ सभा सुरु हुन गइरहेको छ ।
देशमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ । समाज परिवर्तनको लागि महत्वपूर्ण योगदान दिनुहुने अग्रज व्यक्तित्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै हामी नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूलाई अत्यधिक मत दिएर विजयी गराई नगर र नगरवासीहरूको सेवा गर्ने सुअवसर दिनुहुने सम्पूर्ण नगरवासीहरूमा कृतज्ञता व्यक्त गर्दछौँ । नेमकिपाको जनसेवा र विकासका कार्यक्रमले भरिएको २०७४ को स्थानीय तह निर्वाचनमा दिइएको घोषणा पत्रलाई नै आधार बनाई हामी अघि बढिराखेको यहाँहरूसमक्ष स्मरण गराउन चाहन्छु ।
२०७४ सालको स्थानीय तहको चुनावताका जनताबीच चार गुणा बढी काम गरेर जनताको सेवामा दत्तचित्त भएर लाग्ने वचन दिएअनुरूप अग्रजहरूको मार्गनिर्देशनमा जनतासँग हातेमालो गर्दै अघि बढेका कारणले गर्दा आज हाम्रो कार्यकालको अन्तसम्म पुग्दा हामीले ‘ख्वप मोडल’ को विकास गर्न सफल भयौँ । एउटा नमुना नगर र अनुकरणीय नगरको उपमा हामीले पायौँ । यो हामी जनप्रतिनिधि, जनता र कर्मचारीसँगको त्रिकोणात्मक सहकार्यको उपलब्धि नै हो । ‘जनतालाई सर्वोपरी’ मा राखी काम गर्ने उद्देश्यका साथ हामी जनप्रतिनिधिहरू जनताको लागि जनताकै साथमा अघि बढिरहेका छौँ । हामीले जनताको असीमित विश्वासका साथमा आजको दिनसम्म सफलताका सिँढीहरू चढ्न सफल भएका छौँ । तथापि यसबीच गत २०७६ चैत ११ अर्थात् सन् २०१९ देखि पटक पटक गरी फैलिएको कोभिड–१९ महामारीलगायतका कारण हामीले शतप्रतिशत काम गर्न नसकेको आत्मलोचनाका साथ सहर्ष स्वीकार गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टीले नेपाली जनताको मौलिक हक अधिकार सुनिश्चितताको लागि लडिरहेको हामी थाहा पाउन सक्दछौँ । पार्टी निरन्तररुपमा लागिनै रहेको छ । जनताको आधारभूत आवश्यकता पूरा नभई देश विकास हुन सक्तैन र जनता सुखी हुन सक्तैनन् । त्यसको निमित्त सर्वप्रथम यहाँका हरेक नागरिकलाई सक्षम बनाउनु जरुरी हुन्छ । तसर्थ, भनपामा हामी जनप्रतिनिधि र कर्मचारीहरू आफ्नो कर्तव्य ठानी हरेक क्षेत्रमा जनताको लागि जनताकै साथ लिएर अघि बढिरहेका छौँ ।
हाम्रा अग्रजहरूले २२ वर्षअघि राख्नुभएको शिक्षाको जग अहिले युवा अवस्थामा आइपुग्दा भक्तपुरमा मात्र नभई देशभरि शिक्षाको किरण छरिसकेको छ र अझै निरन्तर अघि बढिरहने छ । यसको अन्तिम लक्ष्य ख्वप विश्वविद्यालय स्थापना गर्ने नै हो । हामी यो लक्ष्यमा पुग्न लागिरहेका छौँ । हामी २१ औँ शताब्दीका सचेत, शिक्षित, सभ्य, स्वस्थ र सक्षम नागरिक तयार गर्न शिक्षालाई नै केन्द्रमा राखेर अघि बढिरहेका छौँ । समाजको लागि अति आवश्यक व्यवहारिक ज्ञानसहितको राष्ट्रसेवक उत्पादन गर्नुपर्ने आवश्यकतालाई मनन गर्दै Wholistic Approach मा युवा पुस्ताहरू तयार गर्दै जाने लक्ष्यका साथ अघि बढिरहेका छौँ । यसले शिक्षामा ‘ख्वप मोडेल’ को यो विशेषता बन्ने विश्वास लिएको छु ।
समाजलाई अघि बढाउन सर्वप्रथम नगरवासीहरू शिक्षित हुनुको साथै स्वस्थ हुन पनि त्यतिकै महत्वपूर्ण छ । यस कुरालाई मध्यनजर गरी यहाँका जनताको स्वास्थ्य उपचारको निम्ति घरदैलो नर्सिङ्ग÷विभिन्न रोग (आवश्यकताअनुसार) का स्वास्थ्य शिविरलगायत विभिन्न नसर्ने एवम् मुटु रोग, क्यान्सर, मृगौला, मस्तिष्कघात, स्पाइनल इन्जुरीजस्ता रोग लागेका नगरवासीहरूको उपचारमा भनपाले सानो सहयोगस्वरूप यस आ.व.देखि १५,०००।– (अघिल्लो आ.व. मा १०,०००।–) जनही दिँदै आएका छौँ । आज भोलिको व्यस्त जीवन÷असन्तुुलित खानपान÷प्रदूषण आदि कारणले यस्ता रोगको सङ्ख्या यसतर्फ सचेत रहन आग्रह गर्न चाहन्छु । यसका लागि भनपाले सम्बन्धित शिक्षण संस्थाहरूलाई अध्ययन÷अनुसन्धान र सुरक्षाको उपायको लागि समय–समयमा निर्देशन दिँदै आइरहेका छौँ ।
ख्वप अस्पताल कोभिड–१९ सङ्क्रमणको लागि कोभिड युनिट सञ्चालनबाट सुरु गरेका हौँ । भक्तपुर नगरलाई सुरक्षित बनाउन नगरका गतिविधिलाई सुचारु गर्न हामी नगरवासीहरू सचेत बन्नु नै आजको पहिलो आवश्यकता हो । यसर्थ सम्पूर्ण नगरवासी स्वास्थ्यको मापदण्डमा रही ‘भक्तपुर नगर सुरक्षित नगर’ बनाउनुपर्ने हामी सबैको परम धर्म, परम कर्तव्य हो । यसको लागि हामी सबैले स्वास्थ्य मापदण्ड पालना गरौँ । अघिको पीडा हामी कसैले पनि फेरि भोग्न नपरोस् ।
कोभिड–१९ को तेस्रो लहरसम्म आइपुग्दा भ.न.पा. द्वारा सञ्चालित ख्वप अस्पतालको कोभिड युनिटबाट नगर एवम् देशका विभिन्न स्थानका बिरामीहरूको उपचार जनताको अस्पताल ‘ख्वप अस्पताल’ बाट भइसकेको छ । निकट भविष्यमा नै Maternitys Unit लगायत विभिन्न युनिटहरूसहित सञ्चालन गर्ने तयारी भइरहेको यहाँहरूसमक्ष राख्न चाहन्छु ।
भक्तपुर नगरमा प्राकृतिक सम्पदाको अभावलाई पूर्ति गर्न हाम्रा पुर्खाले सिर्जना गरेका मानव निर्मित अद्वितीय सम्पदाहरूको कारण भक्तपुर विश्वमा चर्चित छ । यस्तो अभूतपूर्व इतिहास बोकेको स्थानका हामी नागरिकहरूले यहाँका सम्पदा र संस्कृति जगेर्ना गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्न भ.न.पा. कटिबद्ध भई लागिपरेको यहाँहरूमा विदितै छ । हामीले हाम्रो सम्पदाहरूको हरसम्भव संरक्षण, पुनः निर्माणको साथै ती सम्पदाहरूको अध्ययन, अनुसन्धान, अभिलेखन, सबलीकरणसहितका पुनः निर्माणका प्राविधिक प्रतिवेदनहरूसहित नयाँ पुस्ताका लागि संरक्षित गर्दै सुरक्षितका साथ राख्ने कामहरू भइरहेको यहाँहरूसमक्ष राख्न चाहन्छु (यसैका लागि हाम्रा अग्रजहरूले ख्वप सर्कल सञ्चालन गरेका थिए ।) यसलाई नै भविष्यमा प्रणालीको रूपमा अघि बढाउँदै लानेछौँ । भविष्यमा आउने विपत्तिमा हुनसक्ने क्षतिबारे सहजरूपमा उपलब्ध होस् भन्ने हाम्रो उद्देश्य रहेको छ । यो नै सम्पदा पुनः निर्माण एवं संरक्षणमा ख्वप (भक्तपुर) मोडेल बन्न सफल भएको छ । हामीले हाम्रो कार्यकालमा पुर्खाद्वारा सिर्जित कला र संस्कृति जोगाउने अठोटका साथ लागेका थियौँ । कोरोना महामारीको कारणले सम्पन्न गर्ने लक्ष्यका साथ गरेका कामहरू अन्तिम तयारीमा छन् । यद्यपि, २०७२ सालको भूकम्पले क्षति बनाएका (प्राविधिक र आर्थिक कारणले) बाहेक सबै सम्पन्न भएका छन् । अन्य सम्पदाहरू भाजु पुखु, रानी पुखुहरूको अन्तिम तयारी भइरहेको यहाँ जानकारी गराउन चाहन्छु । कला र संस्कृतिको भण्डार र सभ्यता विकासको उद्गम स्थलको संवद्र्धन गर्न हामी एक हुनुपर्नेमा भनपा जोड दिन चाहन्छ । यसो गर्न सके हामीले गरेका कामहरू दिगो हुनुको साथै हाम्रो सम्पदा र संस्कृतिलगायत सभ्यता अनन्तकालसम्म जोगिने छ । हामी भक्तपुरवासी भएकोमा गर्व गर्न सकिनेछ । हाम्रो नगरको विकास निर्माण÷सम्पदा संरक्षण शिक्षा, स्वास्थ्य आदि समाजमा भएका हरेक नागरिक जस्तै अपाङ्ग भएकाहरू÷हिंसामा परेकाहरू र अन्यायमा परेकाहरूको समस्याबारे सामाजिक दायित्वको वहन गर्ने अभिभारा संविधान (२०७२) ले स्थानीय सरकारलाई नै जिम्मेवारी तोकिएअनुरूप अपाङ्गताको परिचय पत्र वितरणसम्बन्धी अस्थायी समन्वय समिति र न्यायिक समितिमा रहेका केही कामहरूबारे सङ्क्षिप्तमा यहाँ राख्न चाहन्छु ः
भक्तपुर नगर क्षेत्रभित्र रहेका अपाङ्गता भएका नागरिकहरूको पहिचान गरी उनीहरूलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सुविधाहरूको लागि योजना निर्माण गर्न र स्थानीय तहदेखि नै विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकृत लगत राख्न सहज तुल्याउने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको चौथो नगरसभा २०७५ बाट २०७६ वैशाख १९ गते पारित राजपत्र तथा २०७५÷१२÷१९ गते बसेको बोर्ड बैठकले गठित अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्र वितरणसम्बन्धी अस्थायी समन्वय समिति
गठन भएको थियो । उक्त समितिबाट मिति २०७६।३।२ गतेदेखि आजको मितिसम्ममा पूर्ण अशक्त (‘क’ वर्ग) ९३ जना, अति अशक्त (‘ख’ वर्ग) २७७, मध्यम (‘ग’ वर्ग) १५८ जना र सामान्य अशक्त (‘घ’ वर्ग) ४२ जना गरी ५७० जनालाई अपाङ्गता परिचयपत्र वितरण भइसकेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिको प्रतिवेदन निम्नअनुसार छन् :
१. २०७६ असार २ गतेदेखि २०७८ माघ महिनासम्ममा अपाङ्गता भएका व्यक्तिहरूको परिचय पत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिको करिब ४३ पटक बैठक बसेको छ ।
२. यस समितिलाई दिइएको कार्य सम्पन्न गर्न भक्तपुर नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गताका परिचय पत्र प्रदान गर्न समय–समयमा १० वटै वडा समिति कार्यालयमार्फत सूचना जानकारी गराउँदै आएको छ । साथै सम्बन्धित १० वटै वडाका स्वयम्सेविकामार्पmत घरदैलो पठाई पुनः सङ्कलन कार्यहरू हुँदै आइरहेको छ ।
३. भक्तपुर नगरपालिका क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई वितरित परिचयपत्र यस समितिमा प्राप्त आवेदनअनुसार चिकित्सकसमेतको टोलीबाट परीक्षणपश्चात् अपाङ्गता परिचयपत्रको संशोधन कार्य हुँदै आएको छ ।
४. २०७६ मङ्सिर ७ गते २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नगरपालिका क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण (नाक, कान, घाँटी, आँखा र हाडजोर्नी) गर्न स्वास्थ्य शिविर सञ्चालनका साथै औषधि वितरण कार्य सम्पन्न भएको छ ।
५. २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मङ्सिर ७ गते विशेष खेलकुद प्रतियोगिता सम्पन्न भयो । सोही दिन विजेता खेलाडीहरूलाई पुरस्कार वितरण कार्यक्रम भयो । सहभागी खेलाडीहरूलाई मायाको चिनोस्वरूप भक्तपुर नगरपालिका लोगोअङ्कित कप तथा टि—सर्ट वितरण गरिएको थियो ।
६. २०७६ मङ्सिर २२ गतेदेखि अपाङ्गता परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूको अवस्था बुझ्न समय–समयमा घरदैलो कार्यक्रम गरिदै आएको छ ।
७. २०७८ असार ११ गते शुक्रबारका दिन कोभिड १९ लाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले नगरपालिकाभित्रका करिब ५ सय २१ जना (महिला २३९ र पुरुष २८२) अपाङ्गता भएकाहरूलाई स्यानिटाइजर, मास्क, साबुन र महिलाहरूलाई स्यानिटेरी प्याडसहितका स्वास्थ्य सामग्रीहरू वितरण गरिएको थियो । बढ्दो कोभिड १९ जोखिम नियन्त्रण तथा रोकथामको उद्देश्यले नगरभित्रका शारीरिक अस्वस्थता भएका व्यक्तिहरूलाई नगरपालिकाले उक्त स्वास्थ्य सामग्रीहरू सहयोग गरेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका १० वटै वडाका वडाध्यक्षहरूमार्फत उक्त स्वास्थ्य सामग्रीहरू एक समारोहबीच हस्तान्तरण गर्नुभएको थियो ।
८. २०७८ साल साउन ३ गते भनपाका १० वटै वडा कार्यालय, पर्यटन शाखा र जनज्योति पुस्तकालयका सहयोगी कर्मचारीहरूलाई एकमहिने साङ्केतिक भाषाको तालिम २२ जनालाई प्रदान गरियो ।
९. २०७८ मङ्सिर १ गतेबाट भनपाको आयोजनामा नगरक्षेत्रभित्रका अपाङ्गता भएका व्यक्ति वा संरक्षकहरूका लागि २ महिने सीपमूलक हस्तकला सामग्री बनाउने तालिम सम्पन्न भएको थियो । तालिम प्रशिक्षक हिमालयश्वरलाल मूल र सहायक रञ्जना जाकिबञ्जारले दिनुभएको थियो ।
१०. २९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको प्राङ्गणमा २०७७ साल मङ्सिर १८ गते वडा नं १ देखि १० सम्मका जम्मा ८९ जना अपाङ्गता भएका नागरिकहरूले माग गरेबमोजिम पूर्ण अपाङ्गता भएका २३ जना अपाङ्गता भएकाहरूलाई अपाङ्गता सहायक सामग्रीहरू ह्विल चियर, ट्वाइलेट र ह्विल चियर वितरण गर्ने कार्यक्रम सम्पन्न भयो । बाँकी अपाङ्गता सहायक सामग्रीहरू AIR Mattress, वाकर, सेतो छडी, कालो चश्मा, बैशाखी, कान सुन्ने मेसिन, हिट बेल्ट, लौरो, ट्वाइलेट चियर आदि सामग्रीहरू सम्बन्धित वडाका वडा अध्यक्षज्यूहरूबाट वितरण गरिएको थियो ।
११. २०७८ मङ्सिर १८ गते शनिबारका दिन ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । जसमा ७८ जना खेलाडीहरूको सहभागिता रहेको थियो । यसमा ३५ जना महिला र ४३ जना पुरुषले सहभागिता जनाएका थिए । यसमा निम्न खेलहरू समावेश गरिएको थियो ।
१. एथलेटिक्स (बहिराहरूको लागि)
२. टग अफ वार (१६ वर्षमाथिका बहिराहरूको लागि)
३. एथलेटिक्स (बौद्धिक अपाङ्गता र सुस्तमनस्थितिको लागि) सोही क्रममा नगरपालिकाले अपाङ्गता भएका व्यक्ति र अभिभावकहरूलाई निःशुल्क स्वास्थ्य शिविर तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताको आधारमा अपाङ्गता सहायक सामग्रीहरू लौरो, ह्वील चेयर, बैशाखी, एल्बो र एयर फोनलगायतका सामग्री वितरण गरेको थियो । कार्यक्रममा उपस्थित अपाङ्गता भएका बालबालिकाहरूले सांस्कृतिक कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रममा सबै सहभागी अपाङ्गता भएका व्यक्तिहरूलाई मायाको चिनोस्वरूप थर्मस १÷१ थान वितरण गरिएको थियो ।
न्यायिक समितिको निम्नअनुसारको प्रावधानहरूको व्यवस्था रहेको छ :
नेपालको संविधानको धारा २१७ ले गाउँपालिका तथा नगरपालिकाहरूमा उठ्ने स्थानीय स्तरका विवादहरू स्थानीय तहबाटै निरूपण गर्ने उद्देश्यले प्रत्येक पालिकामा उपप्रमुख÷उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था भएको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ देखि ५३ सम्म स्थानीय तहमा न्यायिक समितिको कार्य, क्षेत्राधिकार र कार्य प्रक्रियासम्बन्धी प्रावधानहरूको व्यवस्था भएको छ ।
उक्त कानुनमा व्यवस्था भएअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा (१) र (२) मा न्यायिक समितिलाई मुख्यतः देहायका दुई किसिमका विवादहरूमा न्यायिक निरूपण गर्ने गरी क्षेत्राधिकार १३ वटा बुँदाहरू तोकिएका छन् ।
न्यायिक समितिले मेलमिलापको माध्यमबाट मात्र विवादको निरूपण गर्नसक्ने क्षेत्राधिकार तथा विवादका विषयहरू ११ बुँदा रहेका छन् ।
न्यायिक समिति गठन भएपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ देखि ५३ सम्मको क्षेत्राधिकार, अधिकार क्षेत्रको प्रयोग, न्याय सम्पादन प्रक्रियालगायतका प्रक्रियामार्फत न्यायिक निरूपण र मिलापत्रका माध्यमबाट न्यायिक समितिमा पेश भएका विभिन्न विवादका विषयहरूमा न्यायिक निरूपण हुँदै आइरहेको र न्यायिक निरूपणको क्रममा विवादका विषयमा निर्णय वा फैसलाभन्दा न्यायिक समितिले पक्षहरूलाई सम्झाइबुझाइ गर्ने, मेलमिलापका लागि अभिप्रेरित गर्ने, सहजीकरण गर्ने, आवश्यकताअनुसार सम्बन्धित वडा कार्यालयहरूमा विवादका विषयमा छलफल गराउने पक्षहरूलाई सहजीकरण गर्ने गराउने लगायतका कार्यहरू मिलापत्रमार्फत विवाद टुङ्ग्याउन भक्तपुर नगरपालिका न्यायिक समितिले प्रयास गर्ने गरेको र मिलापत्र हुन नसकेमा कानुनअनुसार निर्णय फैसला गर्ने गरेको अवस्था छ ।
भक्तपुर नगरपालिकाको न्यायिक समितिमा पेश हुने न्यायिक समितिको क्षेत्राधिकारभित्रका न्यायिक समिति स्वयंले निर्णय फैसलामार्फत न्यायिक निरूपण गर्नसक्ने क्षेत्राधिकारको विवाद विषयहरूमध्ये स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७१ (ठ) भित्रका–कसैको हक स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिकरूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पु¥याएको भन्ने विवादका विषयहरू बढी मात्रामा न्यायिक समितिमा आउने गरेका छन् भने मेलमिलापको माध्यमबाट मात्र विवादको निरूपण गर्ने क्षेत्राधिकारअन्तर्गतका विवादका विषयहरूमा ऐनको दफा ४७२(क)भित्रका– सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक एकअर्काको हकको जग्गामा अर्कोले चापी, मिची वा घुसाई खाएको भन्ने विवादका विषयहरू बढी मात्रामा आउने गरेको देखिन्छ ।
न्यायिक समितिसमक्ष पेश हुन आएका विवादका विषयहरूमा निर्णय÷फैसला गर्नुभन्दा अगाडि न्यायिक समिति स्वयम्ले स्थलगत निरीक्षण गरी विवादका तथ्यहरूमा भौतिक जानकारी लिने, विवादित क्षेत्रको वरपरका व्यक्तिहरूसँग बुझ्ने, आवश्यक परे सम्बन्धित प्राविधिकहरूबाट प्रतिवेदन लिने प्रक्रिया र सो पछि मात्र निर्णय÷फैसला गर्ने गरिएको छ ।
भक्तपुर नगरपालिकामा स्थानीय निर्वाचन २०७४ पछाडि देहायका पदाधिकारीहरू रहने गरी न्यायिक समितिको गठन भएको छ ।
१. संयोजक – भ.न.पा.का उपप्रमुख रजनी जोशी
२. सदस्य – भ.न.पा. वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली
३. सदस्य – भ.न.पा. वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवाल
हरेक हप्ताको बिहीबारका दिन दिनको २ः०० बजे भक्तपुर नगरपालिका न्यायिक समितिको बैठक÷इजलास बस्ने र इजलासमा दुवै पक्ष वा निजहरूका कानुन व्यवसायीहरूलाई विवादका विषय (मुद्दा) मा आ–आफ्नो तर्क, तथ्य राख्न लगाउने, छलफल गर्ने÷गराउने, मिलापत्रका लागि पक्षहरूलाई अभिप्रेरित गर्ने र मुद्दाको रोहवरमा आवश्यक प्रमाण बुझ्ने, प्रमाण झिकाउने, पेश गराउनेलगायतका आदेश गर्ने र अङ्ग पुगेको अवस्थामा निर्णय गर्ने, मिलापत्र गराउने गरिएको छ । न्यायिक समितिको बैठक (इजलास) मा भ.न.पा.का कानुन अधिकृत गणेशलाल फोेजुले इजलास सहायकको रूपमा आवश्यक कार्य गर्दै आउनुभएको छ ।
सांस्कृतिक नगर भक्तपुरलाई पूर्ण सुरक्षित÷संरक्षित, स्वस्थ नगर, ज्ञान विज्ञान र प्रविधिमा आत्मनिर्भर नगर बनाउन यहाँका सम्पूर्ण बुद्धिजीवी, सङ्घसंस्था, नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूको सधैँझैँ साथ पाउनेमा भ.न.पा. विश्वस्त छ । साथै भनपाको हरेक काममा साथ दिई भक्तपुर नगरलाई आजको ‘ख्वप मोडेल’ बनाउन साथ सहयोग र समर्थन गर्नुहुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दछौँ । विशेषगरी हामी जनप्रतिनिधिहरूको ५ वर्षको अन्तसम्म आइपुग्दा यो हाम्रो कार्यकाल सफल पार्न, दुःख र सुखमा साथ दिनुहुने नेमकिपाका अग्रजहरू, नगरका विभिन्न सङ्घ, संस्था, विद्यालय, कलेज एवं सम्पूर्ण नगरवासीहरूलाई भ.न.पा.का जनप्रतिनिधि परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
अन्तमा, यस महामारीबारे फेरि फेरि विभिन्न परिवर्तित स्वरूपमा आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रही स्वास्थ्य मापदण्ड अपनाई आउँदा दिनहरू सामान्यतिर लान सहयोग गर्न आग्रह गर्दै सम्पूर्ण सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस महामारीबाट दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु ।
(२०७८ माघ २६ गते सम्पन्न भक्तपुरको नगरपालिकाको एघारौँ नगरसभाको उद्घाटन समारोहमा उपप्रमुख रजनी जोशीद्वारा व्यक्त मन्तव्य)
Leave a Reply