भर्खरै :

मरेको घोडामाथि चाबुक बर्साउँदै क्वाड

यो साता चारपक्षीय सुरक्षा मञ्च क्वाड देशका विदेश मन्त्रीहरूको बैठक अस्ट्रेलियामा बस्दै छ । बैठक लगत्तै वसन्तयाममा गर्ने तय भएको शिखर बैठक पनि अस्ट्रेलियामा नै बस्दै छ । क्वाडमा संलग्न चार देशहरू संरा अमेरिका, अस्ट्रेलिया, जापान र भारतका चासोमा लगातार अन्तर देखिएको छ । त्यसकारण, यतिबेला सोधिन पर्ने सबभन्दा तड्कारो प्रश्न हो – उनीहरू किन एउटा मरेको घोडामाथि चाबुक लगाइरहेका छन् ?
नौ वर्षको निस्क्रियतापछि क्वाड समूह सन् २०१७ मा पुनः जाग्यो । प्रान्त र हिन्द महासागर क्षेत्रलाई भौगोलिक तथा वैचारिक सूत्रमा बाँध्ने प्रयास स्वरूप त्यसलाई पुनः जीवन दिइयो । क्वाडको पुनःस्थापनाले केही समय उत्साहको लहर उठ्यो, खुसीयाली मनाइयो । तर, त्यसपछि भएका केही विदेशमन्त्री स्तरीय बैठक, बेलाबखत भएका शिखर सम्मेलन र नयाँ सुरक्षा सम्झौता हुनुले केही सदस्य देशहरूले क्वाडभित्र पनि असमानता भएको अनुभव गरे ।
अस्ट्रेलिया, बेलायत र संरा अमेरिकाबीच त्रिपक्षीय सुरक्षा साझेदारीको रूपमा अउकसको स्थापनापछि त्यो अङ्ग्रेजीभाषी देशहरूको गठबन्धनले क्वाडका सदस्य देशहरू जापान र भारतले आफु छेउमा धकेलिएको अनुभव गरे । अउकस अस्ट्रेलिया, जापान र बेलायतबीच आणविक पन्डुबीको विकास र फराकिलो सुरक्षा सहकार्यको लागि भएको साझेदारी सम्झौता हो ।
अउकसमा जापान र भारतलाई आमन्त्रण नगर्नुको कारण सिधा र सरल थियो । एकातिर अङ्ग्रेजीभाषी वृत्तका देशहरूले आफ्ना स्रोत प्रजातन्त्रको आफ्नो परिभाषामा नपरेका देशहरूलाई दिन तयार चाहेका छैनन् । अर्कोतिर जापान र भारतले अउकसको लागि आवश्यक मानिएको सुरक्षा सहकार्यको तहमा प्रतिबद्ध हुन तयार भएनन् ।
कुनै पनि मोर्चा, समूह वा पक्षधरतामा सामेल हुन भारतले देखाएको अरूचिको कारण उसको सन्दर्भमा यो प्रक्रिया अझ बढी लागु भएको छ । क्वाड सदस्यहरूले भारतलाई बलियो चीनविरोधी अडानमा धकेल्न खोजेको छ । तर, उनीहरूले यो कुरा स्वीकार्न तयार छैनन् । चार सदस्य देशहरूमध्ये चीनसँग सीमा जोडिएको एउटै देश भारतमात्र हो ।
त्यसबाहेक भारत असंलग्न आन्दोलनबाट अलग हुन चाहेको पनि छैन । त्यसैकारण तुलनात्मकरूपमा भारतलाई संरा अमेरिकाभन्दा रुसको नजिक राखेको छ । भारतको रक्षा सामग्री मुख्यतः रुसी प्रविधिमा आधारित छन् । क्वाडका अरू दुई सदस्यहरू –जापान र अस्टे«लियामा संरा अमेरिकी सेना तैनाथ छन् । तर, भारतले संरा अमेरिकी सेना आफ्नो भूमिमा पनि तैनाथ गर्ने तहसम्मको कुनै निर्णय गर्न खोजे रुसले सहज मान्नेछैन ।
सारमा भन्दा क्वाडमा आफैलाई भित्रसम्म समाहित गर्ने भारतको सम्भावना निकै न्यून छ ।
जापानका पनि आफ्नै कुरा छन् । क्वाडभित्र अङ्ग्रेजीभाषीहरूको एकताले जापानलाई पनि सजग बनाएको छ । चीनले जस्तै जापानले पनि अन्तर प्रशान्तीय साझेदारीको लागि विस्तृत तथा प्रगतिशील सम्झौतालाई समर्थन गरेको छ । तर, संरा अमेरिकाले भने अझै पनि यो समावेशी व्यापार सम्झौतामा फर्किन चाहेको छैन । त्यस्तै जापानले क्षेत्रीय विस्तृत आर्थिक साझेदारीलाई पनि समर्थन गरेको छ । संसारको कुल जनसङ्ख्याको झन्डै ३० प्रतिशतलाई समेट्ने योजनासहित गत महिनादेखि यो व्यापार सम्झौता कार्यान्वयनमा आएको हो ।
प्रशान्त र हिन्द महासागर क्षेत्रमा विभाजनको बीउ रोप्न खोजिरहेको संरा अमेरिकाको तुलनामा जापान आर्थिकरूपमा सो क्षेत्रमा अझ बढी एकाकार भएको छ ।
प्रत्यक्षरूपमा कममात्र सरोकार भएको संरा अमेरिकाले क्वाडलाई चीनविरोधी डङ्का पिट्न प्रयोग गर्न खोजिरहेको छ । तर, क्वाडको पछिल्लो शिखर सम्मेलनबाट जारी संयुक्त वक्तव्यमा चीनको नाम उल्लेख पनि नहुनुले क्वाडभित्रका सदस्यहरूले चीनको हितलाई उपेक्षा गर्ने मतमा सर्वसहमत नभएको देखाएको छ ।
परिणामतः संरा अमेरिकाले कोभिड–१९ खोप, पूर्वाधार लगानी र आपूर्ति प्रणाली आदि क्षेत्रमा सहकार्यको गुलियो चास्नी पोत्नुप¥यो । त्यही बेला संरा अमेरिकाले भारतमा बनेको खोपलाई कम्तीमा सुरुआती चरणमा मान्यता दिन तयार भएन । संरा अमेरिकाले भारतको पूर्वाधारमा लगानी गर्ने धेरै पटक वचन दियो । एसियाको आपूर्ति व्यवस्थामा चुस्त बनाउन मद्दत गर्ने उसको वचन अझै पनि देख्न पाइएको छैन ।
क्वाड सदस्यहरू हिन्द–प्रशान्त क्षेत्रलाई ‘स्वतन्त्र र खुला’ राख्ने कुरा भन्दै हिँड्छन् । तर, उनीहरू कोबाट स्वतन्त्र हुने हो, के कुराले उनीहरूलाई ‘स्वतन्त्र र खुला बनाउन’ रोकिरहेको छ अथवा हिन्द प्रशान्त क्षेत्रमा खुला राख्ने कुनै शक्ति छ र भन्ने प्रश्नबारे प्रस्ट शब्दमा बोल्न सक्दैनन् ।
प्रशान्त महासागर र हिन्द महासागरका जलमार्गहरूमा व्यापार र ऊर्जा ओसारप्रसार निकै बढिरहेको छ । त्यसले पूर्वी एसिया, दक्षिण एसिया, मध्य पूर्व र अफ्रिकासम्मका देशहरूलाई जोडेको छ । त्यसमाथि चीनले अघि बढाएको बेल्ट एन्ड र रोड परियोजनाले त्यसमा सामेल भएका देशहरूले सामुद्रिक र भूमिमा पूर्वाधार विकासमा टेवा पु¥याएको छ । जसले व्यापारको उनीहरूको क्षमतालाई अझ विस्तारित गरेको छ ।
यो अवस्थामा क्वाडमा सदस्य नभएका देशहरूले हिन्द–प्रशान्त क्षेत्रमा चीनको आर्थिक सहायताबारे संरा अमेरिकाको नकारात्मक बुझाइबाहेक सो क्षेत्रमा खास के समस्या छ, बुझ्न सकिरहेका छैनन् । त्यही कारणले पनि क्वाडले अस्ट्रेलियालाई बाहेक अन्य गैरसदस्य र सदस्य देशहरूलाई समेत आकर्षित गर्न सकेको छैन ।
क्वाडमा सामेल नभएका देशहरूले सो समूहको असमावेशी चरित्र अनुभव गरेका छन् । त्यसकारण, क्वाडका भनाइलाई उनीहरूले अँगाल्न तयार भएका छैनन् । हिन्द–प्रशान्त क्षेत्रमा खासै सरोकार नभएको बाहिरको खेलाडीको इसारामा उनीहरू अनावश्यकरूपमा भूराजनीतिक र आर्थिक अवस्थालाई जटिल बनाउन उनीहरूले चाहेका छैनन् ।
क्वाडका विदेशमन्त्रीहरूको आगामी बैठक र त्यसपछि हुने शिखर सम्मेलन तस्बिर खिच्न राम्रो पक्कै होला । संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘अमेरिकी पुनरागमन’ को भनाइलाई त्यसले पक्कै टेवा दिएको हुनसक्छ । तर, खासमा क्वाड क्षेत्रीय समस्याहरू समाधान गर्न ठोस काम गर्ने रचनात्मक मञ्चभन्दा गफगाफ गर्ने पसलमात्र बनेको छ ।
(लेखक व्यापार प्रशासन र युद्ध अध्ययनका विद्यार्थी तथा अन्तर्राष्ट्रिय मामिलाका अध्येता हुनुहुन्छ ।)
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *