भर्खरै :

संरा अमेरिकी साम्राज्यवादको नेपालमाथि नग्न आक्रमण

नेपाली जनताको प्रतिरोध र आन्दोलनको कारण एमसीसी सम्झौता पारित हुने सम्भावना क्षीण बन्दै गएपछि संरा अमेरिकाले आफ्नो नग्न आक्रमकता देखाउन थालेको छ । संरा अमेरिकी अधिकारीहरूको चर्को दबाबबीच नेपाली जनताको बलियो प्रतिरोधका कारण शासक दलहरूले अझै पनि संसदमा पेश गर्न हिम्मत नगरेको एमसीसी सम्झौता अन्ततः संसदबाट अनुमोदन नहुने सङ्केत देखेपछि संरा अमेरिकी साम्राज्यवाद तिरमिराएको छ । बिहीबार नेपालका तीन शासक दल–काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई फोन गरेर संरा अमेरिकी अधिकारीले धम्कीको भाषामा एमसीसी सम्झौता पारित गर्न दिएको दबाब त्यसैको परिणाम हो ।
केही पत्रपत्रिकाले नेपाल र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्ध जोडिएयता बिहीबार अमेरिकी अधिकारीले सबभन्दा रुखो भाषामा नेपालसँग आफ्नो कुरा राखेको लेखेका छन् । समाचारअनुसार एमसीसी सम्झौता पारित नभए संरा अमेरिकासँग नेपालको कूटनीतिक सम्बन्धमात्र प्रभावित हुने होइन, बरु संरा अमेरिकासँग साझेदारीमा रहेका देश र बहुराष्ट्रिय निकायहरूसँग नेपालले लिँदै आएको आर्थिक सहायता पनि प्रभावित हुने अमेरिकी सहायक विदेश सचिव डोनाल्ड लुले बताएका छन् । यसअघि उनै डोनाल्ड लुले कदाचित नेपालले एमसीसी सम्झौता पारित नगरे पनि नेपाल र संरा अमेरिकाबीचको सम्बन्धमा कुनै प्रभाव नपर्ने बताएका थिए । तर, अहिले एमसीसीका अधिकारीले दुई देशको सम्बन्धसँग जोडेर धम्कीको भाषामा दिएको अभिव्यक्तिले एमसीसी सम्झौतालाई उनीहरूले ‘नेपालको पूर्वाधार विकास र समृद्धि’ सँग मात्र नजोडेको पुस्टि हुन्छ । एमसीसी सम्झौता नेपालका केही बुद्धिजीवीहरूले भनेजस्तै नेपालको पूर्वाधार विकाससँग मात्र जोडिएको सम्झौता हुँदो हो त संरा अमेरिकी अधिकारीहरू यो सम्झौता पारित गराउन यति आक्रामक र नग्नरूपमा प्रस्तुत हुनुपर्ने कुनै कारण छैन ।
संरा अमेरिकाले एमसीसी सम्झौतामार्फत पूर्वाधार विकासको मुकुन्डो लगाएर नेपाललाई आफ्नो रणनीतिक आधार बनाउन खोजेको उसको आक्रामक व्यवहारबाट पुष्टि भएको छ । सम्झौता पारित नहुने छनकमात्र देख्दा त यस्तो आक्रामक बनेर प्रस्तुत हुने संरा अमेरिकी साम्राज्यवाद समयान्तरमा कदाचित सम्झौतालाई लिएर नेपाल सरकारसँग कुनै मतान्तर भए अथवा उसका मिचाहा व्यवहारको नेपाली जनताले प्रतिरोध गरे कति आक्रामक भएर प्रस्तुत हुने होला ! अहिले नै अनुमान गर्न सकिन्छ ।
बन्द कोठामा गरिएको सम्झौताका धेरै कुरा अझै पनि गोप्य राखिएको शासक दलका नेताहरू आफै भन्दै छन् । सम्झौताभित्रका धेरै रहस्यका पन्तरो खोल्न त बाँकी नै छ । तर, अहिलेसम्म बाहिर आएका विषयप्रति नेपाली जनताले कडा विरोध गरिसकेका छन् । संसदमा एमसीसी प्रस्तुत हुने चर्चासँगै काठमाडौँमा दैनिक विरोध प्रदर्शनहरू भइरहेका छन् । डोनाल्ड लुले नेपाली नेताहरूलाई वाशिङ्टनबाटै फोन गरेर एमसीसी सम्झौता पारित गर्न दबाब र धम्की दिनु नेपालमाथि संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र आक्रमण हो । उपनिवेशवाद र साम्राज्यवादविरुद्ध सङ्घर्षको लामो इतिहास बोकेको नेपाली जनताले आज संरा अमेरिकी साम्राज्यवादको आक्रमणको प्रतिरोधमा उठ्न जरुरी छ ।
वाशिङ्टनको फोनबाट शासक दलका नेताहरू लुरुक्कै परेको देखियो । कसैले पनि साम्राज्यवादी हमलाको विरोधमा वक्तव्य वा सार्वजनिक अभिव्यक्ति दिएको देखिएन । बरु वाशिङ्टनको फोनले आफ्नो उचाइ बढेको अनुभव गरिरहेका छन् । डोनाल्ड लुको फोनले शासकहरूको बोली फेरिनु कुनै अनौठो कुरा होइन । उनीहरूले संसदमा यो सम्झौता पारित गर्न सक्रियता देखाउन सक्छन् । शासकहरूलाई त्यो अपराध गर्न नदिने एउटै औजार भनेको जनताको कडा विरोध र प्रतिरोध हो । फेब्रुअरी २८ सम्ममा एमसीसी सम्झौता सदनबाट अनुमोदन गर्न अमेरिकी अधिकारीहरूले दबाब दिइरहेका छन् । त्यत्तिञ्जेल सडकबाट नेपाली जनताले शासक दल र संरा अमेरिकी साम्राज्यवादलाई खबरदारी नगर्ने हो भने नेपाल साम्राज्यवादको अर्को कठपुतली र सैनिक आधार बन्ने सम्भावनालाई कसैले रोक्न सक्नेछैन । कार्ल माक्र्सले भन्नुभएको छ, “सामान्य अवस्थाका सयौँ कार्यक्रमभन्दा सङ्कटको अवस्थामा गरिने एउटा निर्णयको धेरै ठूलो महत्व हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *