देशको बिग्रँदो राजनीतिक व्यवस्था र खस्कँदो अर्थ–राजनीति (Political Economy) ले गर्दा आजकल नेपाली जनजीवन अस्तव्यस्त छ । आफूलाई सुहाउँदो रोजगारी नहुँदा देशका दक्ष, अर्ध–दक्ष अनि अदक्ष धेरै युवा विदेशिएका छन् । ७०–८० लाख नेपाली जनता विदेशमा गएर आफ्नो रगत पसिना बगाएर देशको अर्थतन्त्रलाई टेको दिएका छन् । उनीहरूले पठाएको रेमिटेन्सले नेपाली जनजीवन केही सहज भइरहेको देखिन्छ । तर, यो सिटामोल खाएर टाउको दुखेको रोग निको पार्नुजस्तो मात्र हो । देशको दिगो विकासमा यसले महत्वपूर्ण भूमिका खेल्दैन, उल्टो देशलाई झन्झन् परनिर्भर बनाउँदै लैजान्छ । यस्तै तरिकाले देश अघि बढ्दै गयो भने आगामी ४०/५० वर्षमा देश एउटा वृद्धाश्रम र बालश्रमजस्तो हुन जान्छ । त्यसकारण, देशको विकासको लागि सर्वप्रथम राजनीतिक स्थिरताको आवश्यकता हुन्छ । अर्थ–राजनीति (पोलिटिकल इकोनोमी) मा आमूल परिवर्तन ल्याई उत्पादनमुखी अर्थतन्त्र विकासको बाटोमा देशलाई डो¥याउनुपर्छ ।
नेपाल आर्थिक हिसाबले अति कम विकसित देश भए पनि प्राकृतिक स्रोत साधनमा अन्य कैयौँ मुलुकभन्दा सम्पन्न छ । नेपालको आर्थिक उन्नतिको लागि जनशक्ति पनि प्रशस्त छ । हाल विदेशमा काम गरिरहेका नेपालीको रेकर्ड हेर्दा कुनै पनि देशमा नराम्रो भन्ने सुनिँदैन र नेपालीहरू धेरै लगनशील र इमानदार नै छन् भन्ने सुनिन्छ । तर, नाफाखोर नीति नियमले गर्दा धेरै नेपाली श्रमिकले विदेशमा अत्यन्त दुःख कष्ट भोगिरहेका छन् । धेरै युवायुवतीहरू विदेशमा शारीरिक र मानसिक यातना भोग्न बाध्य छन् । मलेसिया, कोरिया, खाडी मुलुकमात्र होइन, युरोप, अमेरिकाजस्तो देशमा काम गर्ने नेपाली युवाहरूको अवस्था पनि ज्यादै दयनीय र कठिन नै देखिन्छ ।

घरमा पालेको भैँसी स्याहार्दै लेखक
नेपाली युवाहरू विदेशमा सामाजिक र सांस्कृतिक विकृतिले पनि प्रताडित छन् । विदेशमा बसेर परिश्रम गरिरहेका धेरैजसो युवाको पारिवारिक जीवन कष्टमय भएको हुन्छ । तिनीहरूले केही पैसा कमाएर स्वदेशमा आफ्ना परिवारजनलाई पठाए पनि आफ्नो परिवार र आफन्तजनसँग चाडपर्र्व मनाएर खुसीयाली बाँड्ने अवसर कमैलाई मिलेको हुन्छ । सन् २००० देखि २००५ सम्म पाँच वर्ष अमेरिकामा बस्दा मैले जीवनमा कहिल्यै नपाएको दुःख कष्ट भोगेँ । रातदिन काम गरेको ग¥यै हुनुपर्ने र आफूलाई चाहेअनुसार र आफूले खोजेअनुसार कुनै स्वतन्त्रता नहुने अनि हाम्रो जस्तो अविकसित देशलगायत अधिकांश ल्याटिन मुलुकहरूबाट आएका श्रमिकहरूलाई दोस्रो दर्जाको मानिसको रूपमा गोरा छालावालाहरूले हेय भावले हेर्ने दृष्टिकोण छ भने विश्वकै ठूलो र सर्वसम्पन्न मानिएको देशमा खोइ कहाँ छ मानवता भन्ने कुरा ? दुई चारवटा हरियो डलरको लोभमा नेपालीले रङ्गभेद नीति र दासत्वको व्यवहार सहनुपर्ने हुन्छ ।
५०–५५ वर्षको उमेरमा पाँच वर्षको अवधिमा मैले जुन दुःख कष्ट भोगेर आएँ, सायद कसैले यहाँ नेपालमा भोगेका होलान् जस्तो लाग्छ । त्यसकारण, अमेरिकाबाट फर्केर म विगत १५÷१६ वर्षदेखि आफ्नै गाउँ साँखुमा बसेर गाईवस्तु पाल्ने, कुखुरा पाल्ने, सागसब्जी रोप्ने, फलफुल रोप्नेजस्ता एक साधारण किसानको काम गरिरहेको छु । यस काममा मैले धेरै सुख शान्तिमात्र होइन गौरव पनि महसुस गर्दै आएको छु । एक सानो अभियान पनि चलाउँदै आइरहेको छु । नेपालमा कृषि क्रान्ति ल्याउनुपर्छ र नेपालमा देशव्यापीरूपमा प्राङ्गारिक (अर्गानिक) उत्पादन गर्नुपर्छ भनेर ।

लेखक आफ्नो बारीमा काँक्रो टिप्दै
हामीले हाम्रो देश विकास गर्नु छ भने यही एक मूल आधार हो, हाम्रो कृषि क्रान्ति र त्यसमा पनि अर्गानिक कृषि उत्पादन । कृषि उत्पादन बढाउन र कृषकहरूको जीवनमा आर्थिक तथा स्वास्थ्य सुधारको लागि पनि समयअनुसार आधुनिकीकरण, यान्त्रीकरण र विद्युतीकरण गर्दै लानुपर्छ । देशमा आजकल यत्रतत्र केही ठूल्ठूला कृषि फार्महरू नभएको होइन, माछापालनदेखि लिएर कुखुरापालन र तरकारी खेती पनि भव्यरूपमा भइरहेको देखिन्छ । तर, हरेक क्षेत्रमा भद्रगोल र अनियमितता अनि स्वास्थ्यको हितविपरीत काम भइरहेको देखिन्छ । ठूल्ठूला कृषि फार्महरूमा तरकारी उत्पादनदेखि लिएर पोल्ट्री उद्योगमा जनस्वास्थ्य नीतिविपरीत काम भइरहेको देखिन्छ । सम्बन्धित सरकारी निकायहरूबाट सशक्तरूपमा खास कुनै कार्य भइरहेको देखिँदैन । यदाकदा कहीँ कतै अनुगमनको रूपमा केही कृषि फार्महरू, केही वधशालाहरू र केही खाद्य उद्योग र खाद्य भण्डारहरूमा ताला लगाउने र सानोतिनो जरिवाना गरेर छोडिदिने कार्यबाहेक केही भएको छैन ।
तरकारी उत्पादन गर्न कृषि फार्महरूमा धेरैजस्तो गोलभेँडा खेती, आलु खेती र च्याउ खेतीमा किसानले आफ्नो उत्पादन संरक्षण गर्ने र कीराफट्याङ्ग्राबाट जोगाउने हेतुले यति धेरै मात्रामा विषादीको प्रयोग गर्छन् कि वरिपरिका बासिन्दालाई घरमा बस्न पनि गा¥हो हुने गर्दछ । त्यस्ता कृषि फार्मबाट आउने विषादीको गन्धबाट मुक्त हुन घरका सबै झ्यालढोकाहरू बन्द गरेर बस्नु परेको हुन्छ । अत्यधिक तरकारी उत्पादन हुने गाउँघरमा प्रयोग हुने विषादीयुक्त तरकारी सेवन गर्दा गाउँभरिका मानिस प्राणघातक रोगहरूबाट पीडित भएका छन् । त्यसकारण, बढी उत्पादन गर्ने उद्देश्यले प्रयोग हुने यस्ता विषादीहरूको नियन्त्रण हुनु अति जरुरी छ । यस्ता विषादीको बिक्री वितरणमा नियन्त्रण गर्नुमात्र होइन आयातमा नियन्त्रण हुनुपर्छ नत्र त्यस्ता विषादीयुक्त खाद्यान्न र तरकारीजन्य पदार्थको उपभोगले गर्दा देशव्यापीरूपमा विभिन्नखाले रोगहरू आई जनस्वास्थ्यमा ठूलो सङ्कट आउन सक्छ । आजकल कुनै पनि अस्पतालमा जाने हो भने सयौँ हजारौँको सङ्ख्यामा मानिसहरू विभिन्न रोगबाट पीडित भई दौडिरहेका देखिन्छन् । एउटा क्याविनबाट अर्काे क्याविनमा अनि एउटा अस्पतालबाट अर्काे अस्पतालमा, अनि अस्पतालबाट औषधि पसलहरूमा र औषधि पसलबाट घर–घरमा औषधिको पोको बोकेर हिँडेका हुन्छन् । रोगहरू पनि आजकल यति धेरै प्रकारका आइरहेका छन् कि स्वयम् डाक्टरहरूले सो रोग के हो भनी पत्ता लगाउन गा¥हो भएको हुन्छ र अनि कुनै औषधि लेख्नु अगाडि १०/१२ थरी परीक्षण गर्न लगाउँछन्, परीक्षण गर्दा बिरामीहरू आजित हुन्छन्, पैसाका खोलो बगाइरहेका हुन्छन् । यी सबै प्रकारका रोगहरूको कारण मूलतः खाद्य पदार्थ अनि विभिन्न प्रकारका आयातीत पेय पदार्थमात्र होइन स्वयम् गाउँघरमा उत्पादन हुने दुग्धजन्य पदार्थहरूको सेवनले गर्दा पनि हो ।
हाम्रो देशमा परम्परागतरूपमा गाईभैँसीको दूध दुहुने बाल्टिनमा पानी राखी दूध दुहुने चलन छ र यद्यपि यो चलिरहेकै छ । पहिले हाम्रो देशमा विशेष गरेर गाउँ घरमा पानी शुद्ध र सफा हुन्थ्यो र केही पानी मिसिएको दूध खाँदा पनि खास असर पर्दैनथे होला, किनकि त्यसबेला स्वयम् हामी नदीको पानी पिउने गथ्यौँ । तर, आजकल कुनै पनि नदीनाला सफा छैन । खानेपानीको धाराबाट आउने पानी स्वच्छ छैन । त्यसकारण, धारा, नदी नालाबाट आउने पानी मिसाएर ल्याएको दूध, दही खाँदा विभिन्न रोग आउनु स्वाभाविक हो ।
त्यसकारण, देशमा तरकारीमा कीटनाशक औषधिको प्रयोगमा अत्यन्त कडाइ गर्नु आवश्यक छ । खाद्यान्न उत्पादन गर्ने किसानलाई विभिन्न प्रकारले उत्साहित हुने आर्थिक परियोजना ल्याएर केन्द्रीय तथा स्थानीय सरकारहरूले सहयोग गर्ने हो भने अझै पनि कृषि उत्पादन र कृषि उद्योगबाट देश धेरै धनी हुनसक्छ । यसले गर्दा देशबाट युवाहरू विदेश पलायन हुनमा रोक लाग्ने मात्र होइन हाल बाध्य भएर विदेशिन पुगेका धेरै युवा–युवतीहरू स्वदेश फर्केर आफ्नै जन्मभूमिमा सुखका साथ बस्न सक्छन् ।
Leave a Reply