भर्खरै :

एमसीसीविरुद्ध पूर्वको यात्रा

२०७४ भदौ २९ गते शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कार्यकारी जोनाथन जी नाशबीच देशघाती एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो । एउटा स्वाधीन, सार्वभौम देशको परराष्ट्र मन्त्री र एउटा देशको सरकारी निगमको कार्यकारी प्रमुखबीच भएको सम्झौताले नेपालीको शिर निहुराउने काम ग¥यो ।
एमसीसी सम्झौता हिन्द–प्रशान्त रणनीति अन्तर्गतको सैन्य गठबन्धन हो । साम्राज्यवादी देश अमेरिकालाई उछिन्दै समाजवादी देश चीन अग्रस्थानमा आउँदै छ । आफूमात्र अघि बढूँ भन्ने सोच राख्ने अमेरिकालाई यो कुरा पाच्य भएन, त्यसैले चीनविरुद्ध विभिन्न षड्यन्त्र रच्दै छ । हिन्द–प्रशान्त रणनीति त्यही षड्यन्त्रको एउटा हिस्सा हो । संरा अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रका देशहरूलाई विभिन्न सहयोगको नाममा सैन्य गठबन्धन बनाई चारैतिरबाट चीनलाई घेर्न खोजिरहेको छ । नेपालमा पनि एमसीसी सम्झौतामार्फत जलविद्युत् परियोजना र सडक विस्तारमा सहयोग गर्ने भन्दै युद्धको लागि सैनिक क्याम्प खडा गर्न खोजिरहेको छ । हाम्रो नेपाली भूमिमा अमेरिकी सेना परेड खेलेको हामी देख्न र सहन कदापि सक्दैनौँ र हाम्रो भूमिलाई युद्धको रणभूमि बनाउन दिने छैनौँ । त्यसैले एमसीसी सम्झौताबारे जनतालाई सचेत गराउन २०७८ कात्तिक २ गते मङ्गलबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी युवा सङ्घका पूर्वअध्यक्ष उकेश कवांको नेतृत्वमा हामी ३१ जनाको समूह बिहानीको ७ :४० बजे भक्तपुरबाट प्रदेश नं २ र ३ का विभिन्न जिल्लातर्फ लाग्यौँ ।
पहिलो दिन
बिहानदेखि परिरहेको सिमसिमे पानी, न जाडो न गर्मीको अनुभव दिनभरि नै रह्यो । घामको किरण त मानौँ बिदा मनाउन गएको थियो । तर, पनि खासै चिसोको अनुभूति भएन । एक हप्ताभरि कहाँकहाँ जाने भन्ने कुराकानी गर्दै हामी युवा–विद्यार्थीको टोलीको पहिलो गन्तव्य पर्सा जिल्लाको विरगञ्जतर्फ लाग्यौँ । ठाउँ–ठाउँमा ट्राफिक जाम भयो । हरिया जङ्गल, छलछल आवाज निकाल्दै बगिरहेका साना ठूला झरनाहरू आँखा सामुन्ने आउन थाले । कतै कतै जङ्गली जनावरहरू बाटो छेउमै टहलिरहेको पनि देखियो । कतै चट्टानै चट्टानका अग्ला ढिस्का त कतै पहिरो गएका अवशेष, कतै भरिलो रहरलाग्दो नदी त कहीँ मूल सुकेको खहरे खोला ।
बिहान सबेरै हिँडेका हामी करिब ११ः०० बजे धार्के—२ सिम्लेमा खाना खान रोकियौँ । खाना खासै मिठो थिएन तर भोकले मिठो नमिठो हेर्दैन भनेजस्तै डढेको दाल पनि मिठो मानी खायौँ । धार्केमा करिब १ घण्टा बिताएपछि आफ्नो गन्तव्यतर्फ लाग्यौँ । पूर्व–पश्चिम फैलिएको चुरेको डाँडा नाघिसकेपछि समथल तराई भूभाग भेटिने हाम्रो नेपाल प्राकृतिकरूपले धनी रहेको महसुस भयो । सँगसँगै देशको सुन्दरता र सक्षमता पहिचान गर्न नसकेर विदेशी डिभी ताक्नेहरूमाथि दया लागेर आयो र देशको विकासको नाममा घात गर्नेहरूमाथि धिक्कार गर्न मनलाग्यो । विरगन्ज पुग्दा करिब ७ बज्यो । विरगन्ज प्रदेश नं २ पर्सा जिल्लाको एक सहर हो, जुन काठ्माडौँदेखि १३५ कि.मि.को दूरीमा छ । विरगन्ज नेपाल र भारतको रक्सौल नाकासँग जोडिएको छ । विरगन्ज औद्योगिक क्षेत्र पनि हो । आधिकारिक भाषा नेपाली नै भएपनि विरगन्जको मुख्य भाषा भोजपुरी हो र सँगसँगै मैथिली, हिन्दी पनि बोलिने रहेछ । विरगन्जमा प्रायः कुरमी, गुप्ता, सिं, यादव, महतो, रौनियार जस्ता थरका मानिसको बसोबास छ ।
त्यसदिन बास बस्नको लागि श्रीलक्ष्मीनारायण मन्दिर गोपाल मण्डली मारवाडी अतिथि सदनमा व्यवस्था मिलाइएको थियो । तराई भेगमा कम पैसा भएकाहरूलाई प्रायः सेवा सदन वा धर्मशालामा बस्ने ठाउँको व्यवस्था गरिँदो रहेछ । हाम्रो टोलीले पनि त्यही सेवा सदनमा पहिलो रात बितायो ।

पर्साको वीरगञ्जमा एमसीसीविरुद्ध प्रदर्शनी


दोस्रो दिन
लगातार टङ् टङ् टङ्…बजेको घन्टिको आवाजले गहिरो निन्द्रामा सुतिरहेका हामी जारुकजुरुक उठ्यौँ । त्यसपछि सेवा सदनकै पछाडि रहेको घरिअर्वा पोखरीमा फ्रेस हुनको लागि गयौँ । मौसम शितल भएको कारण हामी तराई भेगमा छौँ भन्ने आभाष नै भएन ।
पोखरी निकै व्यवस्थित लाग्यो । भक्तपुरको कमलपोखरीजत्रै पोखरी, काठ्माडौँको रानीपोखरी जस्तै बिचमा मन्दिर । साथै पोखरीको चार कुनामा साना–साना पाटीजस्ता भाग निकालिएका थिए, जहाँ कोही व्यायाम गरिरहेका थिए भने कोही ध्यान गरिरहेको थियो । पोखरीका वरिपरि स्थानीय बृद्धबृद्धा, युवा, खेलाडी, बालबच्चाहरू जगिङ् गरिरहेको थियो । यसरी उक्त घरिअर्वा पोखरी र मन्दिर एक धार्मिक स्थलमात्र नभएर व्यायाम स्थल पनि बनेको थियो ।
केहीक्षण बसेपछि सेवा सदनमा फर्कियौँ र आफ्नै समूहले बनाएको नास्ता खिर, चिया र पाउरोटी खायौँ । करिब ७ ः४५ बजेतिर हाम्रो टोलीले विरगन्जमा एमसीसीविरुद्ध कार्यक्रमको सुरुआत ग¥यो । एमसीसी सम्झौताको धारा ७ मा ‘प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागु हुने’ उल्लेख गरिएको छ । यो हाम्रो देशको संविधानलाई नै तल पार्ने प्रावधान हो । कुनै पनि देशको स्वतन्त्रता र सार्वभौम सत्ता उक्त देशको संविधानमा निहीत हुन्छ । संविधानभन्दा माथि केही पनि हुँदैन । नेपालको संविधानभन्दा माथि पर्नेे यो सम्झौता देशघाती छ । त्यसैले एमसीसी सम्झौता खारेज गरौँ भन्ने मूल नाराकासाथ पर्सा जिल्लाको विरगन्जस्थित घण्टाघर चोकबाट हाम्रो विरोध जुलुस सुरु भयो । एमसीसीका मतियारहरू होसियार, अमेरिकी साम्राज्यवाद मुर्दावाद, जस्ता नारा घन्काउँदै हाम्रो टोली विरगन्जका विभिन्न टोल र गल्ली परिक्रमा गर्दै घण्टाघर चोकमै आएर विरोधसभामा परिणत भयो ।
एमसीसी सम्झौताविरुद्ध जनताको यति धेरै समथर्न थियो कि बाटोमा हिँडिरहेका, घरघरमा बसिरहेका मानिस पनि भन्दै थिए – राम्रो काम गर्नुभयो, एमसीसी खारेज गर्नैपर्छ । यति धेरै समर्थन र साथ पाउँदा मन खुसीले ढक्क फुलेर आउँथ्यो । अझ धेरै जोशकासाथ विरोधमा उत्रिने साहस मिल्यो । करिब ९ः२० बजे कार्यक्रम सकाएर हामी करिब आधा घण्टामा बाराको कलैया पुग्यौँ । कलैया, बारा जिल्लाको सदरमुकाम हो । बारामा प्रसिद्ध गढीमाईको मन्दिर कलैयादेखि करिब ७ किलोमिटर पूर्वतिर पर्छ । बारा जिल्लामा पनि अधिकांश भोजपुरी भाषीहरूको बसोबास रहेको छ । कलैयाको बरियारपुरदेखि भरतचोकसम्म विरोध जुलुस गरी सभामा परिणत भएपछि कार्यक्रम सम्पन्न भयो ।
कलैयाको कार्यक्रम सकाएपछि नेपाल तेक्वान्दो सङ्घ, कलैया तेक्वान्दो डोजाङ्, बाराको भवनमा खाना खायौँ । त्यसपछि हामी लाग्यौँ रौतहट तर्फ । बिचमा गढीमाई मन्दिर पनि अवलोकन ग¥यौँ । गढीमाईमा हरेक पाँच–पाँचवर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला सुरु हुन्छ । गढीमाईमा थारु जातिका पुजारी रहेछन् । मेलाको समयमा त्यस ठाउँमा हजारौँको सङ्ख्यामा राँगाको बलि चढाइन्छ । किन हो संस्कृति र धर्मको नाममा जनावरप्रति यति निर्मम व्यवहार गरिन्छ । गढीमाईको बलि प्रथाको विरोधमा सर्वोच्च अदालतमा ‘रिट’ समेत परेको थियो । सर्वोच्चले धर्म, संस्कृति र परम्परादेखि चलेको सामाजिक रितको नाममा यस प्रचलनलाई कायम राख्ने निर्णय दिएको छ ।
बारा जिल्ला र रौतहट जिल्लालाई लालबकैया नदीले छुट्याउँदो रहेछ । लालबकैया नदी पार गरेर रौतहटको सीमा क्षेत्रमा प्रवेश गरिसकेपछि पप्पु कन्सट्रक्सनले निर्माण गरेको पुल देखियो । पुल त भास्सिएर काम नलाग्ने भइसकेको रहेछ । कमिसनको खेलमा सरकारी बजेट दुरुपयोग भएको पनि देखियो । राति करिब ३ः४५ बजेतिर रौतहटको गौरमा पुग्यौँ । गौरमा पनि एमसीसीविरुद्ध विरोध जुलुस गरेर बी.पी. चोकमा विरोधसभा ग¥यौँ । तराई भेगका अधिकांश गरिब जनतालाई एमसीसीबारे जानकारी नभएको पाइयो । कार्यक्रमको दौरानमा स्थानीय भाषामा मन्तव्य दिँदा त्यहाँका जनताले अलि बढि चाख दिएर सुनेको देखियो । त्यसैले कुन ठाउँमा कुन भाषाको बाहुल्यता छ, त्यही भाषामा विषयवस्तुबारे जानकारी दिन सके स्थानीय जनताले सहजै बुझ्ने रहेछन् भन्ने महसुस भयो । तराईका जनतालाई ‘एमसीसी सम्झौता देशहितविपरीत छ’ भन्ने बुझाउने हाम्रो प्रयास थियो ।
कार्यक्रम सकाएर बास बस्नको लागि रौतहटकै शिवनगर पुग्यौँ । गाडीबाट ओर्लेकोमात्र थियौ, बाटो बाटोमा माछा भेटियो, हामी माछा टिप्नतिर लाग्यौँ । यसरी दोस्रो दिनको अन्तिम क्षण पनि स्मरणीय भयो ।
तेस्रो दिन
एमसीसी सम्झौताको धारा ३.१ (च) मा उल्लेख छ– “सरकारले आफनो तर्फबाट एमसीसीलाई बौद्घिक सम्पत्तिको कुनै अंश वा अंशहरू हाल ज्ञात भएको वा यसपश्चात् विकसित हुने एमसीसीले उपयुक्त देखेको कुनै माध्यममा जुनसुकै प्रयोजन (उत्पादन, पुनःउत्पादन, प्रकाशन, परिवर्तन, प्रयोग, सञ्चय, रूपान्तरण वा उपलब्ध गराउने अधिकारसमेत) का लागि अविच्छिन्न, अपरिवर्तनीय, रोयल्टीरहित, विश्वव्यापी, पूर्णरूपमा भुक्तान गरिएको, हस्तान्तरण गर्न सक्ने अधिकार तथा प्रयोग गर्न वा गरेको हुन अनुमति प्रदान गर्दछ”, भन्ने उल्लेख छ । यसले बौद्धिक सम्पत्तिमा समेत अमेरिकी साम्राज्यवादले कब्जा जमाउने कोसिस गरेको प्रस्ट हुन्छ । यस्तो सम्झौता गर्न खोज्नेहरू देशद्रोही नै हुन् ।

उदयपुरमा एमसीसीविरुद्ध जुलुस


तेस्रो दिन बिहानैदेखि हल्का गर्मी चढिसकेको थियो । रौतहटको शिवनगरमा नास्ता गरेर करिब ७ः३० बजेतिर हाम्रो टोली सर्लाहीतिर लाग्यो । लालबकैया नदीले बारा र रौतहटको सीमा छुट्याएजस्तै बागमती नदीले रौतहट र सर्लाही छुट्याउँदो रहेछ । सर्लाहीको उत्तरी भागमा ९०० मि. देखि १३५० मि. उचाइका सिवालिक पहाड रहेको छ । सर्लाही गोलभेँडा उत्पादनको लागि निकै प्रख्यात ठाउँ रहेछ । सर्लाहीको लालबन्दी देशभरि गोलभेँडाको आपूर्ति गर्ने ठाउँ भनी प्रचलित छ । सर्लाहीको नाम हेमपुर गाउँमा सरलादेवी मन्दिरबाट रहनगएको जनविश्वास रहेछ । स्थानीयका अनुसार रातमा उक्त मन्दिरमा जो जान्छ त्यो मानिस बाँच्दैन ।
विश्व विज्ञानको प्रगतिले चन्द्रमा र बृहस्पतिमा बस्ती बसाउने लक्ष्य राखिरहँदा हाम्रो देशमा भने अझैपनि यस किसिमका अन्धविश्वास बाँकी रहेको छ । सर्लाहीमा धेरैजसो बज्जिका, मैथिली, भोजपुरी भाषा बोलिन्छ । करिब ८ः४५ बजेतिर हामी सर्लाहीको लालबन्दी पुग्यौँ । लालबन्दीमा उही जोशकासाथ नारा लगाउँदै एमसीसीविरुद्धको कार्यक्रम सुरु ग¥यौँ । लालबन्दीमा कार्यक्रम सकाएर हामी करिब १०ः३० बजे महोत्तरी जिल्लाको बर्दिवास पुग्यौँ र त्यहाँ पनि कार्यक्रम ग¥यौँ ।
महोत्तरी जिल्लामा मैथिली भाषीको बाहुल्यता रहेछ । साथसाथै भोजपुरी र नेपाली भाषा पनि बोल्ने गरेको पाइयो । सर्लाहीदेखि महोत्तरीसम्मको बाटो पार गर्दा उखु खेती निकै गरेको देखियो । तराई क्षेत्रमा पनि मुख्यतया पूर्वी तराईमा निकै उखुखेती गरिने रहेछ । टाढाबाट हेर्दा सानो–तिनो जङ्गल नै हो कि जस्तो देखिने रहेछ उखुबारी । हाम्रो टोली महोत्तरीमा कार्यक्रम गर्दै, अपिल बाँड्दै जुलुसमा सहभागी हुन आह्वान गर्दै जनमानसमा एमसीसीको बारेमा के सोच रहेछ ? भनेर बुझ्दै हिँड्यो । बर्दिवासको कार्यक्रम सक्किएपछि धनुषा जिल्लाको जनकपुरतर्फ लाग्यौँ ।
गाडीमै Why No MCC ? भन्ने बहस पनि गरियो । बहसले तराईको गर्मी बिर्सायो । गुड्दै गरेको बसमा कसैले सञ्चालन गर्ने, कसैले बहस गर्दै बाटो काटियो । यसरी हरेक क्षण केही नयाँ सिक्दै, केही नयाँ अनुभव गर्दै थियो । करिब २ः०० बजे रमानन्दचोक ८, जनकपुर पुग्यौँ । जनकपुर काठ्माडौँदेखि २२५ कि.मी. को दूरीमा पर्छ । जनकपुर एक ऐतिहासिक महत्व बोकेको स्थल हो । जनकपुर मिथिला चित्रको लागि प्रख्यात छ । जनकपुरको मुख्य भाषा मैथिली हो । साथसाथै नेपाली, मारवाडी भाषा पनि बोलिने रहेछ । भोजपुरी र अवधी पनि कतै कतै बोलिँदो रहेछ । जनकपुर जानकी मन्दिरको लागि प्रख्यात छ । जानकी मन्दिर जनकपुरको केन्द्रमा पर्छ जुन मन्दिर रानी वृषभानु कुवांरीले बनाउन लगाएको भन्ने गरिन्छ । नौ लाख रुपैयाँमा बनेको कारण जानकी मन्दिरलाई ‘नौ लख्खा मन्दिर’ पनि भनिँदो रहेछ । जनकपुरका धेरै मन्दिर र पोखरीहरू गुठीको नाममा महन्तहरूले हडपेका रहेछन् ।
जनकपुरको रमानन्दचोकबाट हाम्रो जुलुस सुरु भयो । एमसीसी खारेज गर भन्ने नारा गल्लीगल्ली, चोकचोकमा लगाउँदै हाम्रो जुलुस अगाडि बढ्यो । जनकपुरमा हाम्रो कार्यक्रम नै एमसीसीविरुद्धको पहिलो कार्यक्रम रहेको स्थानीयबाट जानकारी भयो । के को जुलुस रहेछ ? भनी स्थानीय जनतामा एक किसिमको उत्सुकता रहेको पाइयो । हाम्रो टोलीले जनकपुरका जनतामाझ एमसीसीको यथार्थ बुझाएर एक खाले तरङ्ग प्रवाह गर्यो । कार्यक्रमपश्चात् जानकी मन्दिर भ्रमण गरियो । त्यसपछि करिब ५ः३० बजेतिर जनकपुरबाट सिरहातर्फ लाग्यौँ । ७ः३० बजे सिरहाको लहानमा पुग्यौँ र रौनियार सेवा सदनमा बास बस्यौँ । खाना हामीले नै बनाएर खायौँ । जनकपुरमा अघिल्ला दिनहरूभन्दा अलिक लामो समय जुलुस र कार्यक्रम भयो । आउँदा कार्यक्रम पनि निकै प्रभावशाली हुने कल्पना गर्दै तेस्रो दिनलाई बिदा दियौँ ।
चौँथो दिन
चौँथो दिन सिरहामा बिहानको तापमानले अघिल्लो दिनभन्दा बढी गर्मी हुने सङ्केत ग¥यो । बिहान उठेर चिया नास्ता गर्नेबितिक्कै हाम्रो टोलीमध्ये केही सिरहा जिल्ला समितिका कार्यकर्तालाई लिन ‘भगवानपुर’ र ‘थारी’ गयौँ । त्यहाँबाट नजिकै नेपाल र भारतको सीमा रहेछ । त्यहीँबाट भारतीय क्षेत्रमा पनि गयौँ । त्यहाँ पुग्दा यस्तो लाग्यो, दसगजा क्षेत्र भन्नु त भनाइ मात्र रहेछ कार्यान्वयनमा रहेनछ । सीमाको गेट पार गरेर एक पाइला उता नै कपडा, भाँडालगायतका पसल थिए । यति सजिलै आवतजावत गर्न मिल्ने भएपछि कालोधन्दा गर्ने, अपराध गर्नेहरूलाई कति सुविस्ता होला ! न काँडे बार छ, न अन्य केही सीमा सुरक्षा । देशको सिमाना हाम्रो सरोकारको विषय हो । तर, सीमा मिचिँदा पनि खुलेर आफनो भूमि फिर्ता माग्न नसक्ने सामाजिक सञ्जालमा मात्र I Love Nepal लेख्नेहरूमाथि धिक्कार ! आफूलाई देशको अभिभावक ठान्ने पूर्वप्रम केपी ओलीजस्ताले नै नेपालको नक्साको केक काटेर मनोरञ्जन लिँदै भूमि मिचिएको हेरेर बसिरहेका छन् । नेपाल मजदुर किसान पार्टीले यस्ता कार्यको भत्र्सना गर्दै खुला सीमा नियमन गर्न आवाज उठाउँदै आएको छ ।
भगवानपुर र थारीबाट पार्टीका कार्यकर्ताहरू आइपुगेपछि लहानमा कार्यक्रम ग¥यौँ र सेवा सदनमै बिहानको खाना खाएपछि करिब १२ः०० बजे लहानबाट सप्तरीको राजविराजतर्फ लाग्यौँ । राजविराज सप्तरीको सदरमुकाम हो । राजविराजमा विशेष गरी कायस्थ, यादव, थारु, मण्डल, राजपुत, मारवाडी, लोहार आदि समुदायको बाहुल्यता छ । राजविराज कृषि उत्पादन, मसला र हस्तशिल्पका लागि निकै प्रख्यात जिल्ला हो । त्यसमध्ये पनि मिथिला चित्र र मिथिला संस्कृतिहरू निकै नै ऐतिहासिक पाटो हुन् । राजविराजबाट करिब ४० मिनेट टाढा ‘कोसी टप्पु वन्यजन्तु आरक्षण’ (Koshi Tappu Wildlife Reserve) छ । राजविराजको कार्यक्रमपश्चात् करिब ३ः०० बजे इटहरीतर्फ लाग्यौँ ।
राजविराजबाट इटहरीतर्फ जाँदै गर्दा कोसी ब्यारेजको पनि अवलोकन ग¥यौँ । कोसी ब्यारेज सन् १९५४ अप्रिल २५ मा नेपाल सरकार र भारतबीच भएको कोसी सम्झौतापछि सन् १९५८ देखि १९६२ मा बनेको हो । ब्यारेजको लम्बाई १,१५० मिटर छ । पानीको बहाव बढेर कोसौँ टाढासम्म नेपाली भूमि डुबानमा पर्दा पनि कोशी ब्यारेजको ५६ ओटा ढोकामध्ये निकै कम ढोका खोलिन्छन् । यो ब्यारेजलाई भारतीय पक्षले नियन्त्रण गरेको छ । हामी गएको बखत पनि ब्यारेजको ९ ओटा ढोकामात्र खोलिएको थियो र टाढासम्म नेपाली भूमि डुबानमा परेको थियो । कैयौँ नेपालीको गाँसबासै खोसिएको होला उक्त ब्यारेजको कारण । तर, देशको नदीनाला विदेशीलाई बेच्ने दलालहरूले नेपालीको पिडा कहाँ बुझ्छन् र कोशी छेउछाउका बासिन्दाहरूको दूर्दशासँग साक्षात्कार गर्दै करिब ५ः३० बजे हामी सुनसरी जिल्लाको इटहरी पुग्यौँ । इटहरीलाई पूर्वी नेपालको व्यापारिक केन्द्र मानिन्छ । त्यहाँ पुगेर हामी पशुपति गेष्टहाउसमा बास बस्यौँ । कोसी ब्यारेज वरपरको जलमग्न नेपाली क्षेत्रहरू त्यस रात अबेरसम्म दिमागमा घुमि रह्यो । त्यस रात हामी विद्यार्थी एकै ठाउँमा भेला भएर एमसीसीबारे प्रशिक्षण लियौँ र एमसीसीको विरोधमा अझ बढि कार्यक्रम गर्नुपर्ने आवश्यकता महसुस भयो ।
पाँचौँ दिन
पाँचौँ दिन बिहानको करिब ८ः०० बजे सुनसरीको इटहरीमा एमसीसीविरुद्ध जुलुस र सभा ग¥र्यौँ । एमसीसीको विरोधमा पार्टीद्वारा प्रकाशित अपिल व्यक्ति–व्यक्तिको हातमा बाँड्दै, एमसीसीबारे जनताको राय बुझदै, जनतालाई सचेत बनाउँदै हामीले इटहरीको कार्यक्रम सकायौँ । इटहरीका स्थानीयले पनि हाम्रो कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएको पाइयो । त्यसपछि खाना खाएर करिब १०ः३० बजे विराटनगरतर्फ लाग्यौँ । करिब १ घण्टापछि मोरङ जिल्लाको विराटनगर पुग्यौँ । विराटनगर मोरङको सदरमुकामका साथै प्रदेश नं १ को राजधानी हो । काठमाडौँबाट करिब ३९९ कि.मि. पूर्वमा पर्ने विराटनगर प्रख्यात औद्योगिक सहर पनि हो । जसको पुरानो नाउँ ‘गोग्राह बजार’ रहेछ । विराटनगरमा ब्राह्मण र क्षेत्री समुदायको बाहुल्यता रहेको छ र मुख्यतया नेपाली भाषा बोलिन्छ तर विराटनगरको स्थानीय भाषा ‘विराट राजवंशी’ हो जसलाई ‘खोट्टा’ वा ‘खोराथा’ पनि भनिन्छ ।
विराटनगरको भट्टाचोक, तिनपैने, हस्पिटल चोक, नेता चोकमा अपिल बाँड्दै हामीले विराटनगरका जनतालाई एमसीसीको यथार्थबारे जानकारी दियौँ । विराटनगरका जनताले उत्साहपूर्वक हाम्रो कार्यक्रम सुनिरहेका थिए । ‘नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू यहाँसम्म आएर एमसीसीको विरोध गरेर जनतालाई सचेत बनाएको’ भनेर विराटनगरका स्थानीयहरूले हाम्रो कार्यक्रमको प्रशंसा गरेको पनि सुनियो । करिब २ः०० बजे कार्यक्रम सम्पन्न गरेर केही समय एमसीसीबारे स्थानीयसँग छलफल गरेपछि करिब ३ः२० मा झापाको दमकतर्फ लाग्यौँ । झापा नेपालको चौथो ठूलो जिल्ला हो जहाँ ब्राह्मण र क्षेत्री समुदायको बाहुल्यता रहेको छ । चिया खेतीमा इलामको नाम पहिला आए पनि झापामा पनि निकै राम्रो चिया खेती हुँदोरहेछ ।
करिब ५ः०० बजे हामी झापाको दमक पुग्यौँ । पुग्दा अलिक ढिलै भए पनि दमक बजारमा एमसीसीविरुद्ध सभा गरियो । हामीले एमसीसीमा संरा अमेरिकाको स्वार्थ लुकेको कुरा प्रस्ट पार्दै सभाको वरिपरि जम्मा भएको भिडमा अपिल बाँड्दै गर्दा कतिपयले के हो यो ? किन विरोध गरेको ? भनेर पनि सोधे । त्यस्तैमा एक दुई जना मानिसहरू भन्दै थिए– ‘५० वटा देशको गुलामी गर्नुभन्दा अमेरिका एउटाको गुलाम भएर बस्नु धेरै राम्रो’ र यस्तो मानसिकता भएका मूर्खहरूले गर्दा नै नेपालमाथि विदेशीको गिद्देदृष्टि परेको हो । हाम्रो कार्यक्रमले स्थानीयलाई केही हदसम्म भए पनि सचेत बनाउन सफल भएको हामीले महसुस ग¥यौँ । दमकमा सभा सक्काएर हामी एउटा होटलमा बास बस्यौँ ।
छैठौँ दिन
२०७७ कार्तिक ७ गते बिहान ५ः३० बजे हामी इलामतर्फ लाग्यौँ । इलाम पर्यटकीय क्षेत्रमा निकै नै प्रख्यात छ । चियाखेतीको लागि निकै चर्चित छ इलाम । हर्कटे बजार कटेर उकालो लाग्दै गएपछि डाँडामा रहेको चिया बगान देखिन्छ । चिया खेतीको रोमाञ्चक दृश्य हेर्न स्वदेशी विदेशी पर्यटकहरूको भिड लाग्ने गर्दछ । इलामको नाम लिम्बु भाषाको ‘इल’ र ‘लाम’ शब्द मिलेर बनेको हो । ‘इल’ भन्नाले घुमाउरो र ‘लाम’ भनेको बाटो— अर्थात् ‘घुमाउरो बाटो’ । इलामको माने भन्ज्याङले दार्जिलिङ र इलामलाई जोड्छ । इलाम चिया, अलैँची, दूध, आलुको लागि निकै चर्चित छ ।
इलाममा हामीले दुई ठाउँ पशुपति नगर र फिक्कल बजारमा कायक्रम ग¥र्यौँ । इलाममा पनि निकै सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो । हाम्रो कार्यक्रममा इलामका जनताबाट पनि धेरै समर्थन भयो । इलाममा दुई ओटा कार्यक्रम सक्काएर हामी इलाम, कन्याममा घुम्न निस्कियौँ । जताततै चिया बगानको हरियाली, भिन्न–भिन्न जातजातिको पोशाक लगाएका आन्तरिक पर्यटकहरू, पिच रोडमा कुदिरहेका घोडा आदि निकै मनमोहक थिए । हामीले पनि गुरुङ समुदायको पहिरन लगायौँ र चिया बगान घुम्यौँ । चिया बगानमा थरीथरीका पहिरन लगाएका मानिसहरू देख्दा देशभरिका जात–जाति एकै ठाउँमा भेला भएजस्तो लाग्दोरहेछ । केही समय चिया बगान घुमघाम गरेर नजिकै रहेको सानो जङ्गलमा खाना खायौँ ।
करिब १ः०० बजे हामी इलामबाट फर्किएर झापा हुँदै ६ः०० बजे धरान पुग्यौँ । धरानमा पनि एमसीसीविरुद्ध छोटो कार्यक्रम सम्पन्न गरेर करिब ७ः०० बजे पुनः इटहरीको पशुपति गेस्ट हाउसमा बास बस्यौँ ।
सातौँ दिन
प्रदेश नं १ र २ मा एमसीसीविरुद्धको हाम्रो अन्तिम दिन बिहान ५ बजे नै इटहरीबाट हिँड्यौँ । करिब ७ः०० बजे हामी प्रदेश नं १ को सुनसरीस्थित बराह क्षेत्र पुग्यौँ । पहिरोको कारण कोसी पुलदेखि उता पैदल जानुपर्ने अवस्था देखियो । बिहानीको समयमा कसरत पनि हुने हुँदा करिब ४५ मिनेट लगाएर हामी बराह क्षेत्र पुग्यौँ । हिन्दू धर्मावलम्बीहरूको लागि चार धाममध्येको एक धाम बराह क्षेत्र पनि हो । बराह क्षेत्र धरानदेखि ५ कि.मि. उत्तर पश्चिममा पर्छ । केही समय अवलोकन गरिसकेपछि चियानास्ता गरेर करिब ८ः०० बजे बराह क्षेत्रबाट फक्र्यौँ । करिब १२ः०० बजे उदयपुरको खत्रिटारमा खाना खाएपछि उदयपुरको कटारीतर्फ लाग्यौँ । उदयपुरको कटारीमा एमसीसी के हो ? र किन देशको लागि हानिकारक छ ? भनेर स्थानीय जनतालाई बुझाउने काम ग¥यौँ । कटारीमा भएको हाम्रो कार्यक्रममा स्थानीयको पनि उत्साहजनक सहभागिता थियो । कटारीको कार्यक्रम हाम्रो यात्राको अन्तिम कायक्रम थियो । कार्यक्रमपश्चात् हामी भक्तपुर फर्कियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *