भर्खरै :

हिजाब आन्दोलनका छात्राहरूको फोन नम्बर सार्वजनिक हुँदा सुरक्षामा खतरा

कर्णाटक, १२ फेब्रुअरी । भारतको कर्णाटक राज्यमा हिजाब लगाएर कक्षा कोठामा बस्न पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका त्यहाँको उडुपी जिल्लाका ६ जना छात्राहरूको फोन नम्बर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै उनीहरूका अभिभावकले प्रहरीसमक्ष उजुरी दिएका छन् । उडुपीको सरकारी छात्रा उच्च माध्यामिक विद्यालयमा हिजाब लगाएर कक्षा कोठामा बस्न विद्यालय प्रशासनले रोक लगाएपछि ती छात्राहरूले सुरु गरेको आन्दोलन अहिले भारतका अन्य विभिन्न राज्यमा पनि फैलिएको छ । फेब्रुअरी ५ मा कर्णाटक सरकारले ‘समानता, सद्भाव र सामाजिक सुव्यवस्था विथोल्ने’ लुगालाई प्रतिबन्ध लगाउने निर्णय पारित गरेको थियो ।
उडुपीका प्रहरी सुपरिटेन्डेन्ट एन विष्णुबद्र्धनले छात्राहरूका अभिभावकले उजुरी दर्ता गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उजुरीअनुसार प्रमाण भेटिएलगत्तै गोप्य सूचना सार्वजनिक गर्ने व्यक्तिहरूलाई कानुनी कार्वाही गर्ने उनले बताए । उजुरीमा छात्राका अभिभावकले सामाजिक सञ्जालमा फोन नम्बर सार्वजनिक हुँदा उनीहरूको सुरक्षामा खतरा आउन सक्ने उल्लेख छ । प्रहरीले फोन नम्बर सार्वजनिक गर्ने व्यक्तिहरू पत्ता लगाइसकेको छैन ।
तर, बुधबार भारतको सञ्चारमाध्यम ‘द कुइन्ट’ लाई प्राप्त अनलाइन सन्देशमा ती छात्राहरूको सम्पर्क नम्बर समेत भएको कलेजको भर्ना फारमको स्क्यान प्रति पठाइएको थियो ।
छात्राहरूले भर्नाको क्रममा ती फारम कलेजलाई बुझाएको बताएका छन् । उडुपीका सांसद तथा भारतीय जनता पार्टीका नेता रघुपति भाट नै छात्राहरू पढ्ने कलेज विकास समितिका सभापति भएको ‘द कुइन्ट’ ले जनाएको छ । डिसेम्बर महिनादेखि नै भाटले कक्षाकोठामा हिजाब लगाएर बस्न नदिन जोडबल गरिरहेका थिए ।
आन्दोलनरत छ जना छात्रामध्ये एक अलिया अस्सादीले बुधबारदेखि नै आफुलाई फोनमार्फत धम्की र गाली आइरहेको बताइन् । उनीहरूले पछिमात्र आफ्नो फोन नम्बरु, आमाबुवाको नाम र ठेगाना ह्वाट्सएपमार्फत् सार्वजनिक भएको थाहा पाए ।
अस्सादीले भनिन्, “मलाई मेरो अनुहार देखाउनमा कुनै असजिलो छैन । म कस्तो छु र मेरो घर कहाँ हो भन्ने कुरा सबैलाई थाहा छ । कसैले मलाई निशाना बनाए के हुन्छ ?”
अर्की छात्रा हर्जा शिफा हिजाब लगाउने आफ्नो अधिकारको निम्ति सङ्घर्षमा छिन् । उनले पनि आफ्ना आमाबुवालाई कुनै अनजान नम्बरबाट फोन आउने गरेको बताइन् । बितेका केही दिनदेखि हिन्दु विद्यार्थी र भीडले कर्णाटकका शैक्षिक निकायमा हिजाब लगाउने महिलाहरूविरुद्ध प्रदर्शन गरिरहेको अवस्थामा छात्राहरूको नम्बर सार्वजनिक भए पछि उनीहरूको सुरक्षा खतरामा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *