भर्खरै :

भाषाको सुन्दरता

भनिन्छ ,भाषा भनेको जनजिब्रो हो । अर्थ बुझियो भने वक्ताले अशुद्ध नै बोले पनि त्यो भाषा हुन्छ । तर, यो भनेको भाषाको अनौपचारिक अवस्थामा मात्र लागू हुने हो । भाषा औपचारिकरूपमा प्रवेश गरेपछि त्यसलाई व्याकरणले बाँध्छ । व्याकरणले भाषालाई बाँध्न सकेन भने त्यो भाषाको मौलिकता पनि हराउँछ । यस सन्दर्भमा, अन्य भाषामा झैँ नेपाली भाषामा पनि शब्दनिर्माण र वाक्यगठनको आफ्नै नियम र सीमा छ । तर, यसमा जानेर, नजानेर, सिक्न नचाहेर वा लापरबाही गरेर पनि प्रशस्त गलत प्रयोगहरू भएको पाइन्छ । यस्ता गल्तीहरू शब्दप्रयोग र वाक्यगठनमा सराबरी हुने गर्दछन् । आजकल धेरैले, ‘म भर्खर मिटिङ सक्काएर आएको’, ‘मैले यही साल प्लस टु सकाएको’, ‘म क्लास सकाएर हिँडिहालेँ’, ‘भोज सकाएर आउँदा रातिको बाह« बजेको थियो’ जस्ता वाक्यहरू प्रयोग गरेको सुनिन्छ ।
वास्तवमा यी वाक्यहरूमा मिटिङ, प्लस टु, भोज आफैँले सिध्याएको हो । अरूलाई सक्न लगाएको होइन । गर्दागर्दै अन्त्यमा आफैँ सिद्धिएको हो । ‘सकाएर’÷‘सक्काएर’ वा ‘सकाएको’ भन्दा त, ‘पढाएको’, ‘पठाएको’, ‘पु¥याएको’ भनेजस्तो अरूका लागि काम गरिदिएजस्तो भएन र !
त्यस्तै, ‘मैले के भन्छु भने…’, ‘मैले दाल मन पराउँदिन’, ‘मैले यस्तो गल्ती गर्दिनँ’ जस्ता वाक्यहरू पनि प्रयोग गरेको सुनिन्छ । नेपाली व्याकरणमा सामान्य वर्तमान कालका वाक्यमा कर्तामा ‘ले’ लाग्दैन । त्यसैले यी वाक्यहरू पनि गलत छन् ।
यस्तै गरी अन्यत्र पनि लिङ्ग, वचन, पुरुष, काल, भाव तथा आदरका सन्दर्भमा शिक्षित व्यक्तिहरूबाटै प्रशस्त गलत प्रयोगहरू भएको पाइन्छ । यस्ता कुरामा खासगरी शिक्षक, विद्यार्थी, सञ्चारकर्मी र नेपाली भाषालाई माया गर्ने सबैले ध्यान दिन सकेमा मात्र हाम्रो भाषाको इज्जत रहन्छ ।
सानातिना कुरामा ख्याल नगर्दा भाषाको मौलिकता र सुन्दरता हराउँदै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *