भर्खरै :

दुई देशबीचको सम्बन्धमै असर पर्छ’ भन्नु के धम्की होइन ?

काठमाडौँ, ३ फागुन । संयुक्त राज्य अमेरिका अहङ्कारी र आक्रमणकारी देश भएकोले अरू स्वाधीन देशहरूलाई धम्की दिनु, आक्रमण गर्नु, देश देशबीच झगडा गराएर हतियार बेच्नु र कुनै देशको आन्तरिक विवादमा मलजल हालेर चर्काउने काम गर्नु अस्वाभाविक होइन । सन्दर्भ अमेरिकी परियोजना एमसीसी जबरजस्ती देशमा लागु गर्न पटक–पटक दिइएको दबाबको हो । मिलिनियम च्यालेन्ज कर्पाेरेसन
(एमसीसी) पारित नभए दुई देशको सम्बन्धमा असर पर्नसक्ने अमेरिकी राजदूत रेन्डी बेरीको विचार के चेतावनी होइन, धम्की होइन ? अमेरिकी शासकले नेपाल सरकार र नेपालका राजनीतिक नेताहरूलाई धम्काएरै सो सम्झौता जबरजस्ती पारित गर्न लागेको घामजतिकै छर्लङ्ग भएको विषय हो । दबाब, प्रभाव, चेतावनी र धम्की होइन भने छिट्टै पारित गर्न अमेरिकी मन्त्री र अधिकारीहरूलाई किन हतारो ?
एक विदेशी कम्पनीको योजनालाई अस्वीकार गर्दा दुई देशबीचको सम्बन्धमै असर पर्ने विचार धम्की नै हो । अनि हामीले कुनै पनि नेपाली नेतालाई धम्की दिएका छैनौँ भनी प्रस्टीकरण दिएर को पत्याउँछ ? अमेरिकी सरकारले यसरी नै धम्की, चुनौती र दबाब दिएर दर्जनभन्दा बढी देशमा जल, थल र हवाई आक्रमण गरी खरानी पारेको यथार्थ कसलाई थाहा छैन ? आफै आतङ्क मच्चाउने, अरू स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने अनि त्यसको प्रतिकार गर्ने, विरोध गर्ने देशलाई कालोसूचीमा राख्ने, नाकाबन्दी गर्ने देश के संयुक्त राज्य अमेरिका होइन ? आफ्नो विचारभन्दा फरक देशका शासक या देशलाई नरसंहार गर्ने देश हो अमेरिका । समाजवादी देश क्युवा र प्रजग कोरियामा दशकौँदेखि गरिरहेको नाकाबन्दी अमेरिकाले अहिले पनि फिर्ता लिएको छैन । अमेरिकी प्रशासनकै इसारामा इराकका राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिएको यथार्थ हो । यसरी नै अन्य राष्ट्र प्रमुखहरूलाई पनि घिसारी घिसारी मारिएको कसैले छोपेर छोप्न सक्ने विषय होइन । अफगानिस्तान अमेरिकी सरकारकै कारण ध्वस्त भएको हो, जनजीवन कष्टकर बनेको हो ।
अमेरिका कहिले तिब्बतमा उत्पात मच्चाएर त कहिले हङकङमा उत्पात मच्चाएर उपद्रव गरिरहेको कुरा विश्वका जनताले बिर्सेका छैनन् । यस्ता आतङ्कित गतिविधि गरिरहेको अमेरिकाले जस्तो प्रचार गरे पनि, स्पष्टीकरण दिए पनि व्यवहारतः अमेरिका आक्रमणकारी देश हो, अमेरिकाले बुद्धि र विवेक होइन शक्ति देखाएर संसारका मुलुकलाई तर्साइरहेको हो, आक्रमण गर्ने चेतावनी दिइरहेको हो । के अमेरिकाले नेपाललाई पनि यसरी नै उपयोग नगर्ला ? नेपालको भूमि प्रयोग गरेर अरू देशमाझ युद्ध गराएर हतियार नबेच्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *