भर्खरै :

युक्रेनमा साम्राज्यवादी कपट

साम्राज्यवाद जति आक्रामक हुन्छ, त्यत्ति नै कपटी पनि हुन्छ । आफ्नो स्वार्थ पूरा गर्न साम्राज्यवादी शक्तिले सुरुमा कपटकै सहारा लिने गर्छ । कपटले नभ्याउने अवस्थामा उसले आक्रमणको सहारा लिने गर्छ ।
संरा अमेरिकी साम्राज्यवादले इराकमाथि हमला गर्न सुरुमा उस्तै कपटको सहारा लिएको थियो । संरा अमेरिकाका तत्कालीन विदेश सचिव कोलन पावलले पत्रकारहरूमाझ ‘साबुनको धुलो’ देखाएर सद्दाम हुस्सेनसँग आमविनाशकारी हतियार भएको भनी संसारभर प्रचार गरेका थिए । त्यसैलाई कारण बनाएर इराकमाथि संरा अमेरिकी सेनाले हमला ग¥यो, सद्दाम हुस्सेनलाई ज्यान सजाय दिइयो । आज इराकको प्राकृतिक स्रोत–साधनमात्र संरा अमेरिकाको नियन्त्रणमा छैन, बरु इराकी भूमि प्रयोग गरेर उसले सिङ्गो मध्यपूर्वलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
पछिल्ला एक सय वर्षको संरा अमेरिकी इतिहासलाई फर्केर हेर्ने हो भने संरा अमेरिकाले खेलेका यस्ता कपटको लामै सूची बनाउन सकिन्छ । हालसालै संरा अमेरिकी कपटको शृङ्खलामा अर्को एउटा कपट थपिएको छ ।
पूर्वी युरोपेली देश युक्रेनमाथि रुसले ‘कुनै पनि बेला हमला गर्नसक्ने’ भन्दै संरा अमेरिकी अधिकारीहरू केही सातादेखि लगातार हल्ला गरिरहेका छन् । उनीहरूका तिनै हल्लालाई पश्चिमा सञ्चारमाध्यमले जोडतोडका साथ प्रचार गरिरहेका छन् । संरा अमेरिकी नेतृत्वको पश्चिमा मोर्चाकै कठपुतली युक्रेनका राष्ट्रपतिले रूसले हमला गर्नसक्ने सम्भावित मिति नै तोके । उनले फेब्रुअरी १६ मा रूसले युक्रेनमाथि हमला गर्नसक्ने सार्वजनिकरूपमै बोले । त्यसैलाई कारण देखाएर संरा अमेरिका, बेलायत र जर्मनीले समेत युक्रेन वरपर आफ्ना हातहतियार र सैनिक उपस्थिति बलियो बनाएका छन् । तर, रूसले सुरुदेखि नै युक्रेनमाथि सैनिक हमला गर्ने आफ्नो कुनै योजना नभएको भन्दै आएको छ । सोमबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री लाभ्रोभबीचको भेटवार्तामा कूटनीतिक समाधानको लागि युरोपेली देशहरूसँग वार्ता जारी राख्ने निर्णय गरिएको छ । जर्मनीका चान्सलर ओलाफ स्कुल्ज पनि कूटनीतिक समाधानकै पक्षमा देखिएका छन् । संरा अमेरिका, बेलायत, जापान, पोल्यान्डलगायत देशले ‘कुनै पनि बेला युक्रेनमाथि रूसले हमला गर्नसक्ने’ भन्दै युक्रेनको राजधानी किभमा रहेका आ–आफ्ना कूटनीतिक नियोगबाट कर्मचारी र नागरिकहरू फिर्ता लग्ने निर्णय गरेका छन् । यसले संसारलाई थप सशङ्कित बनाएको छ । तर, रूसले भने युक्रेनसँगको सीमामा जोडिएको आफ्नो भूभागमा तैनाथ रूसी सेनालाई समेत त्यहाँबाट पछि सारेको छ । अहिलेसम्म रूसका अभिव्यक्ति, कूटनीति र व्यवहार हेर्दा ऊ युक्रेनमाथि हमला गर्ने मनस्थितिमा रहेको कतै देखिँदैन । युक्रेनमाथि रूसी आक्रामणको सम्भावना कतै छ भने संरा अमेरिका नेतृत्वको मोर्चामा सामेल देशका नेता र किभका शासकहरूको दिमागमा मात्र छ । किभका नगर प्रमुखले पनि ‘कुनै पनि बेला हमला हुनसक्ने’ भन्दै किभका विभिन्न भूमिगत आश्रयस्थलहरूबारे सूचना जारी गरेर जनतालाई थप आतङ्कित बनाएका छन् । जब कि हमला गर्ने भनिएको रूस भने आक्रामणको मनस्थितिमा नरहेको उसका कूटनीतिक भेटघाटको सघनताबाट प्रस्ट हुन्छ ।
पूर्वी युरोपमा संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चाले अर्को कपट गरिरहेको छ । नेपालभाषामा एउटा उखान छ– ‘तातोपानीले घर जलाउनु ।’ आज साम्राज्यवादले त्यस्तै षड्यन्त्र गरिरहेको छ । रूसले हमला गर्न लागेको प्रचार गरेर एकातिर उसलाई बदनाम र कमजोर बनाउने अनि अर्कोतिर आफ्नो भूराजनीतिक लक्ष्य पूरा गर्ने दोहोरो लाभको खेल संरा अमेरिकाले खेलेको देखिन्छ । साम्राज्यवादी शक्तिहरूले संसारलाई आफ्नो तखतमा राख्न र आफ्ना प्रतिस्पर्धी शक्तिलाई ‘ठेगान लगाउन’ अनेकन जालसाजी रच्छन् । अहिले संरा अमेरिकी साम्राज्यवादले रूसविरुद्ध युक्रेन मुद्दामा यही गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *