भर्खरै :

हाम्रो देश र हाम्रा कूटनीतिज्ञहरू

मोटरको ड्राइभर योग्य नहुँदा जसरी नयाँ गाडीसमेत दुर्घटनाग्रस्त हुन पुग्छ त्यस्तै प्रधानमन्त्री वा शासक दलका नेताहरूलाई देशका विविध विषयको ज्ञान भएन वा जनताको आवश्यकता र तत्काल राज्य सञ्चालनको निम्ति गर्नुपर्ने कामबारे जानकारी भएन भने देश खाल्डोमा जाकिन्छ  । सरकार हाँक्नेहरूले ‘माल पाएर के गर्ने ?’, ‘नपाउनेले पायो, बोक्रासमेत खायो’ भन्ने व्यवहार धेरैपटक प्रदर्शन गरिसकेका छन् ।
१ फागुन २०७८ को अन्नपूर्ण पोष्टले ‘कूटनीतिमा भागबन्डाको छाया’, ‘२० देशमा राजदूत नियुक्ति गर्न बेवास्ता’, ‘एउटा सरकारले पठाउने, अर्कोले फिर्ता बोलाइहाल्ने प्रवृत्ति हाबी’ जस्ता विषयहरू उठाएको देखियो ।
शासक दलका नेताहरू र मुख्यमुख्य कार्यकर्ताहरूसमेत कूटनैतिक सम्बन्धको महत्व, राजदूतहरूको काम, कर्तव्य र व्यवहारबारे गम्भीर छैनन् । राजदूत देशको प्रतिनिधि हो, कुनै एक व्यक्ति वा पार्टीमात्र होइन भन्नेसमेत नबुझ्ने व्यक्तिहरूलाई राजदूत पदमा नियुक्त गरी पठाएर देशको बेइज्जत भएका धेरै घटनाहरू छन् । पार्टी ठूलो होला, निर्वाचनमा मत पनि धेरै लिएका होलान् तर कूटनैतिक मामिलामा राम्रो ज्ञान भएका नेता वा कार्यकर्ता आफूसँग नभए त्यस्तो भागबन्डामा भाग लिनु गलत हो । बन्दुक चलाउन जान्दैमा कोही हवाइजहाज चलाउन सिपालु होला भनी अनुमान गर्नु बिराम हुनेछ । दुःख पाएको कार्यकर्ता भनी कूटनीतिबारे अनभिज्ञ नेतालाई राजदूत बनाउँदा चलाउन नजान्नेलाई साइकल थमाउँदा साइकल बोकेर हिँडेजस्तो हुन जान्छ ।
सुसंस्कृत परिवारको, पढाइ राम्रो, अङ्ग्रेजी पनि राम्रो, कूटनैतिक व्यक्तिहरूसँग सङ्गत भएको तर असाध्यै घमण्डी, जनतालाई चानचुन सम्झने, आफ्नो देशभन्दा अरू देशलाई ठूलो ठान्ने व्यक्तिलाई राजदूत बनाइएमा निर्णयकर्ता नै लज्जित हुनुपर्ने निश्चित हुन्छ । व्यक्तिवादी, देशको हित नहेरी आफ्नो परिवारको मात्रै हित खोज्ने, पैसामा प्राथमिकता दिने र बिहानैदेखि रक्सी खाएर हिँड्ने ‘महामहिम’ प¥यो भने के गर्ने ? नेताहरूले कसैलाई ‘मायादया’ को भरमा ‘राजदूत’ छान्ने होइन ।
राजनैतिक दलहरूले भोलिको निम्ति आज छानिएका कार्यकर्तालाई कूटनीतिक विषयमा अध्ययन गर्न लगाउनु नै उपयुक्त हुनेछ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई नै यसको महत्व थाहा नहुनुको दोष कसलाई दिने ? सबै नेपाली जनता सचेत भएका भए यस्तो दुर्भाग्य देशले भोग्नुपर्ने थियो र ¤? हामी निर्वाचनमा जात र धर्मको आधारमा, भाषा र क्षेत्रलाई प्राथमिकता दिएर, पार्टीको वर्गीय आधार र घोषणापत्र नहेरी ‘उपहार’, ‘भोजभतेर’ ‘लेनदेन’ ठूल्ठूला आश्वासनका आधारमा मत दिन्छौँ भने ठूल्ठूला कुरा गर्नु फलदायी हुन्न ।
भारतप्रधान दृष्टिकोण
हाम्रा केही मित्र र बुद्धिजीवीहरू भारतलाई मात्रै प्राथमिकतामा राखेर सोच्छन् । ती मित्रहरूलाई भारतका केही राम्रा विषयमा थाहा होला, त्यहाँका केही महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट र चिनजान पनि भएको होला । तर, अन्य देशहरूका विभिन्न विषयमा तुलना गर्दा मात्रै भारतको ठीकठीक स्थिति थाहा हुन्छ । हामीले भेटेका र हाम्रा चिनजानका व्यक्तिहरूले हाम्रोअगाडि हाँसेर कुरा गरे पनि भारतीय शासकहरूले हामीलाई ‘बहादुर’ भन्दा माथि राख्दैनन् । अङ्ग्रेजहरूले जस्तो व्यवहार भारतीय शासकसँग गरे, त्यस्तै व्यवहार तिनीहरू हामीसँग गर्छन् । त्यो औपनिवशिक मानसिकताबाट तिनीहरू मुक्त भएका छैनन् । यसका धेरै उदाहरण छन् । खुला सीमा भएका कारण हामी सबै भुक्तभोगी छौँ ।
एमसीसीबारे
कुनै एक जना मित्रले हाम्रो प्रधानमन्त्रीलाई सल्लाह दिएको भरमा, एक दुई जना तल्लो स्तरको कर्मचारी तथा राजदूतको भरमा ठूलो (एक साम्राज्यवादी) देशसँग कुरा बुझ्दै नबुझी सम्झौतामा हस्ताक्षर गर्नु पूर्णरूपले देशलाई भड्खालोमा पु¥याउनु हो । हीनताबोधको कारण खास कुरा बुझ्दै नबुझी सम्झौतामा हस्ताक्षर गरिएको देखिन्छ । त्यस्ता अयोग्य व्यक्तिहरूलाई पदबाट बर्खास्त गर्न ढिलो गर्नुहुन्न ।
आफ्ना गल्ती र कमजोरीबाट जोगिन तेस्रो मुलुकसँग सोध्नु वा अरूतिर औँल्याएर आफू जोगिन खोज्नु ठूलो दुःसाहस साबित हुनेछ । दुई देशको बीचको झमेलामा तेस्रो पक्षलाई तान्ने दुःसाहस गर्नु कुनै पनि दृष्टिले राम्रो कूटनीतिक चाल ठहरिन्न । मित्र देशलाई जालझेल गरेको शङ्का लागेमा हामीप्रतिको विश्वास घट्नेछ । त्यसको क्षतिपूर्ति गर्न धेरै समय लाग्नेछ ।
जिम्मेवार व्यक्तिहरूलाई नसिहत दिएर अबदेखि सबै सचेत भएर एमसीसीबाट टाढा बस्नुबाहेक नेपालीहरूको अरू उपाय छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *