भर्खरै :

एमसीसी पक्षधर सांसदहरू लुकीलुकी हिँड्न नपरून्

भारतजस्ता पुँजीवादी देशका सांसदहरू भ्रष्टाचारी, कालाबजारी, हत्या–हिंसाका मतियार, ठेकेदार आदि भएको कुरा बेलाबखत सञ्चारमाध्यममा आइरहेकै हो । यसरी आपराधिक क्रियाकलापका कारण पुँजीवादी देशका सांसदहरूको बदनाम भइरहेको हो । यस्तैखाले रोग नेपालका सत्तासीन दल र ठूला दलका सांसदहरूमा पनि देखिन थालेका छन् । देशमा प्रजातन्त्र पुनः स्थापना भएपछि निर्वाचित नेपालका सांसदहरू बेचबिखनमा परे, शासक दलका नेताहरूले बेचबिखन गरे, बेपत्ता पारे । कति सांसदहरू बिनाभिसा विदेशमा पुगे र थुनामा परे त कतिले सुत्केरी महिलाको औषधि पुरुष सांसदहरूले बिल पेश गरेर सम्पत्ति कुम्ल्याए । कति सांसदहरू होटलमा केटीहरूसँग रम्दै, नाच्दै रात बिताए भने कति रक्सीमा मात्दै सडकमा हल्लिरहेका सांसदहरू पनि देखिए । सांसदहरूले गाडी सुविधा त लिए तर कतिले गाडी नै बेचेर खाए । भागबन्डा र कमिसनमा पल्केर कति दल फुटे । एक सांसदले त एसएलसी परीक्षामा नक्कली विद्यार्थीलाई परीक्षा दिलाए । सारमा सांसदहरूको बदनाम भयो । यही बदनामकै कारण सांसदहरूले त्यसबेला आफ्नो लोगो नै लुकाउँदै संसद् भवन पुग्ने या कुनै कार्यक्रममा जाने गरे । यो सांसदहरूको मात्रै बदनाम होइन, दलकै बदनाम हो । देशकै बदनाम हो । यो देशको विडम्बना हो ।
अहिले एमसीसीको पक्षमा समर्थन गर्ने नेता, मन्त्री र सांसदहरूदेखि जनता आक्रोशित छन् । त्यस्ता दलका उम्मेदवारलाई अबको निर्वाचनमा जिताउन नहुने राजनीतिज्ञहरूको विश्लेषण र अभिमत छ । एमसीसी पक्षधर सांसदहरूलाई बस्ती र गाउँमा छिर्न नदिने, हरेक कार्यक्रममा बहिष्कार गर्नुपर्ने कुरा गाउँ–गाउँ र टोल–टोलका जनताले उठाउन थालेका छन् । आफूलाई केही गर्ला कि भनी कति सांसदहरू अहिले नै डराइ–डराइ हिँड्छन्, लोगो नराखी हिँड्न थालेका छन् । एमसीसी सम्झौताबाट पाउने आर्थिक सहयोगलाई विकासको शिखर ठान्ने दलका नेता, मन्त्री र सांसदहरूले देश आत्मनिर्भर बनाउनको निम्ति केही गरेनन् ? आफूले जनतालाई राहत हुने कुनै काम नगर्ने अनि देशमा विकास देखाउन विदेशी सहयोगमा आँखा गाड्ने पाराले देश कसरी समृद्ध र जनता सुखी हुन्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *